फित्काैली डटकमझिल्का कवितासङ्ग्रह ‘आँगन’को समीक्षा कार्यक्रम सम्पन्न
वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैँयाकाे प्रमुख आतिथ्यमा साहित्यकार सुरेशकुमार पाण्डेको झिल्का कवितासङ्ग्रह 'आँगन'को शुक्रवार समीक्षा कार्यक्रम सम्पन्न भएको हाे ।
दाङ । वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैँयाकाे प्रमुख आतिथ्यमा साहित्यकार सुरेशकुमार पाण्डेको झिल्का कवितासङ्ग्रह ‘आँगन’को शुक्रवार समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
राप्ती साहित्य परिषद् दाङ शाखाको नियमित २०० औँ कृति समीक्षा शृङ्खला अन्तर्गत आयोजित उक्त कार्यक्रममा कृतिका सम्पादकसमेत रहनुभएका साहित्यकार एवम् झिल्का साहित्य समाज नेपालका अध्यक्ष वसन्त अनुभवले उक्त झिल्का काव्यकृतिको समीक्षा गर्नुभएको थियो ।
समीक्षाको क्रममा समीक्षक वसन्त अनुभवले आँगन एउटा पुस्तक मात्र नभएर सामाजिक, राजनैतिक, सांस्कृतिक चेतना ल्याउने महत्वपूर्ण दस्तावेज हो भन्नुभयो । आँगनले देशमा विद्यमान सामाजिक, राजनीतिक एवम् सांस्कृतिक कुरुपता मात्र नदर्शाई सुधारका लागि आह्वान पनि गरेको उहाँले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैँयाले शुभकामना मन्तव्य दिनुहुँदै झिल्काकार पाण्डे बहुमुखी प्रतिभाको धनी भएको उल्लेख गर्नुभयो । पाण्डेका हरेक सृजना अत्यन्त गहन र मर्मस्पर्शी हुने गरेको बताउनुभयो । पाण्डेको अन्य कृतिहरूमा झैँ यस कृतिमा पनि वर्गसंघर्ष, विद्रोह र सामाजिक, राजनैतिक द्वन्द्व, चेतनाका कुरा रहेकोे उल्लेख गर्नुभयो ।
एउटा हिन्दी भाषाको सहित ३ वटा लघुकथासङ्ग्रह, २ वटा गजल सङ्ग्रह र एउटा झिल्का कवितासङ्ग्रह प्रकाशन गराइसक्नुभएका पाण्डेका थुप्रै संयुक्त सङ्ग्रहहरू प्रकाशित छन् । ‘आँगन’ उहाँको छैटौँ एकल कृति हो ।
कार्यक्रममा विशिष्ट अतिथि पुरुषोत्तम खनालले शुभकामना मन्तव्य राख्नुका साथै कृतिकार सुरेशकुमार पाण्डेले कृतिका बारेमा बोल्नुभएको थियो । साथै परिवारका तर्फबाट धन्यवाद मन्तव्य साहित्यकार हरिप्रसाद पाण्डेले दिनुभएको थियोे ।
कार्यक्रममा पदम प्रसाद शर्मा, डा.टिकाराम उदासी, दीपक शर्मा समीर, सविन प्रियासन, नरेशजङ्ग राणा लगायत ३ दर्जन बढी साहित्यकारहरू एवम् सर्जकका पारिवारिक सदस्यहरूको उपस्थिति रहेको थियोे ।
परिषद्का अध्यक्ष यम रेग्मीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन सचिव घनश्याम के.सी. गर्नुभएको थियो ।
०००
सुरेशकुमार पाण्डेकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest







































