साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाली शिक्षा परिषद्ले गोपाल पाँडे असीमको ११४ औँ जयन्ती मनायाे

परिषद्का अध्यक्ष रमा शर्माज्यूको सभापतित्व तथा लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेशप्रसाद मैनालीज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको हाे ।

Nepal Telecom ad

काठमाडाैं । नेपाली शिक्षा परिषद्को ७६ औं वार्षिकोत्सव तथा संस्थापक गोपाल पाँडे असीमको ११४ औँ जयन्ती परिषद्का अध्यक्ष रमा शर्माज्यूको सभापतित्व तथा लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेशप्रसाद मैनालीज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

लेखनाथ साहित्य सदनको प्राङ्गणमा स्थापित श्री असीमको प्रतिमामा प्रमुख अतिथि तथा सभापति लगायत विशिष्ट महानुभावबाट माल्यार्पण भएपछि सभाकक्षमा राष्ट्रिय गानबाट आरम्भ भएको समारोहमा स्वागत तथा कार्यक्रमबारे प्रकाश सदस्य पूर्वसचिव एवं परिषका कोषाध्यक्ष शङ्करप्रसाद पाण्डेबाट भएपछि “गोपाल पाँडे असीम पुरस्कार” बाट यस वर्ष सम्मानित हुन लागेको संस्था श्री राप्ती साहित्य परिषद्, दाङको परिचय गजलकार तथा साहित्यकार सन्तोष श्रेष्ठले प्रस्तुत गर्नुभयो ।

यसपछि माला र सम्मानपत्रसहित रु.५०,०००।– (पचास हजार) राशिको पुरस्कार सभापति तथा प्रमुख अतिथिज्यूले संस्थाका अध्यक्ष कमलमणि देवकोटालाई अर्पण गर्नुभयो । यसपछि लेबाल त्रिरत्न पुरस्कारबाट सम्मानित हुनुहुने संस्कृतिविद् डा. जगदीशचन्द्र रेग्मीको परिचय साहित्यकार भीष्म बाँस्कोटाले प्रस्तुत गर्नुभएपछि माला र सम्मानपत्रसहित ७५,०००।– (पचहत्तर हजार) राशिको पुरस्कार सभापतिज्यू तथा प्रमुख अतिथिज्यूले प्रदान गर्नुभयो ।

भानु माध्यमिक विद्यालयबाट २०८२ सालको एसईई परीक्षामा नेपाली विषयमा सर्वाेत्कृष्ट अङ्क ल्याउने विद्यार्थी रियाकुमारी गुप्तालाई रु.७,५००।– (सात हजार पाँच सय) सहित “गोपाल पाँडे असीम उत्कृष्ट नेपाली पुरस्कार” पनि प्रदान भयो ।

गोपाल पाँडे असीम पुरस्कार प्राप्त गर्नुहुने राप्ती साहित्य परिषद्का अध्यक्ष कमलमणि देवकोटाले मोफसलमा विभिन्न रचनात्मक क्रियाकलापद्वारा आधा शताब्दीदेखि नेपाली भाषाको श्रीवृद्धिमा कार्य गरिरहेको संस्थाले पाउने गौरवपूर्ण अवसर मिलेकोमा पुरस्कार प्राप्तिले संस्थाको रचनात्मक गतिविधिमा हौसला थपिएको बताउँदै आभार प्रकट गर्नुभयो ।

लेबाल त्रिरत्न पुरस्कार प्राप्त गर्नुहुने डा. जगदीशचन्द्र रेग्मीले परिषद्प्रति विशेष धन्यवाद दिनुहुँदै विशिष्ट एवं सशक्त प्रतिभाका नाममा स्थापित पुरस्कारबाट सम्मानित हुन पाउँदा खुशी लागेको भन्नुहँदै यो सम्मान समस्त संस्कृति विधामा कलम चलाउने स्रष्टाको समेत सम्मान भएको बताउनुभयो ।

परिषद्का अध्यक्ष रमा शर्माले तिथि अनुसार श्रावण १७ गते आफ्नो जीवनको सहस्रचन्द्रदर्शन (चौरासी वर्ष) को गौरवपूर्ण एवं ऐतिहासिक अवसर प्राप्त गर्नुभएको पावन अवसरमा हार्दिक सम्मानका साथै सादर उच्च श्रद्धा अभिव्यक्त गर्दै सुस्वास्थ्य, सुखसमृद्धि तथा निरन्तर कर्मशील जीवनको हार्दिक मंगलमय शुभकामना व्यक्त गरियो ।

नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा पुर्याउनुभएको अविस्मरणीय योगदान, अदम्य समर्पण तथा प्रेरणादायी अभिभावकत्वप्रति उच्च सम्मान व्यक्त गर्दै परिषद्का सदस्यहरुबाट तयार गरिएको अभिनन्दन पत्र समर्पण गरियो ।
परिषद्प्रति सद्भाव राख्नुहुने विशेष अतिथि वाग्मती प्रदेशका सांसद दीपेन्द्र श्रेष्ठलाई माल्यार्पण सहित सम्मानपत्रबाट सम्मानित गरियो ।

प्रमुख अतिथि उमेशप्रसाद मैनालीले निरन्तर रुपमा सक्रिय भएर संस्थाले गत साल ७५ वर्षको भई अमृत महोत्सव मनाउनाका साथै अहिले राष्ट्रभाषा अमृत महोत्सव विशेषाङ्क प्रकाशित गरेकोमा हर्ष व्यक्त गर्नुभयो । पुरस्कृत हुने राप्ती साहित्य परिषद्, दाङ तथा संस्कृतिविद् डा. जगदीशचन्द्र रेग्मीलाई बधाई ज्ञापन गर्नुभयो । विशेष अतिथि सांसद दीपेन्द्र श्रेष्ठले आफूलाई सम्मानित गरेकोमा खुशी लागेको बताउनुहँदै अविछिन्न रुपमा भाषा साहित्यको सेवामा लागेको यस परिषद्लाई आफ्नो तर्फबाट सकेको सहयोग गर्ने बताउनुभयो ।

सभापति शर्माले परिषद् सहयोग र भावनाबाट चलेको संस्था भएकाले परिषद्लाई माया गर्नुहुने सबैमा कृतज्ञता ज्ञापन गर्दै आज यसरी आफूले कल्पना पनि नगरेको आकस्मिक रुपमा परिषद्का सदस्यहरुले अभिनन्दन पत्र तयार गरी आफूप्रति देखाउनुभएको माया, स्नेह र शुभेच्छाको लागि कृतज्ञता ज्ञापन गर्नुभयो । कार्यक्रमको सञ्चालन सदस्य कवि दिव्यचन्द्र आचार्यले गर्नुभएको थियो ।

०००
समाचार श्राेत : शब्दपथ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x