झाँक्रीखाेलेस्नेहले हँसाउने बुबामुमा सुखी रहून्
वृद्ध चिन्तना हुँदा बुढाबुढी अरू बढून् प्रौढ ब्रह्मचेतले विवाद ती सबै पढून् मोह ,शोक आयुको विमर्श तर्क जे गरून् स्नेहले हँसाउने बुबामुमा सुखी रहून् ।।
झाँक्रीखाेले :
काख राख्न सेक्नमा लुगा थपक्क बेर्दथे
त्रास, रोग, भोकमा मुहार झट्ट हेर्दथे
घामजून हुन् दुबै कथा व्यथा खुसी कहुन्
स्नेहले हँसाउने बुबामुमा सुखी रहून् ।।१
पीठमाथि कोकरी जतै लगी डुलाउँथे
वस्तुभाउ गोठमा कि चौरमा भुलाउँथे
आयु ऐस भोग्नमा चिरायु छन् उँभो सरून्
स्नेहले हँसाउने बुबामुमा सुखी रहून् ।।२
भोलि नै उदाउने बिहान सम्झना गरी
भाग्य थाप्न हातमा खटे सधैँ मरीतरी
पौरखी म जो भएँ विशिष्ट चाहना गरून्
स्नेहले हँसाउने बुबामुमा सुखी रहून् ।।३
स्वर्ग जानु मृत्यु हो सिँढी समात्नु छैन है
अन्धकूप,नर्कको जँघार तर्नु छैन है
जन्मभूमि लोक यो छ स्वर्ग पाउमा परून्
स्नेहले हँसाउने बुबामुमा सुखी रहून् ।।४
सान मान राख्नमा म नै कृतज्ञ पौरखी
काम, दान, राममा बनूँ उदार नैतिकी
धर्म ,कर्म,अर्थले ममाथि कामना गरून्
स्नेहले हँसाउने बुबामुमा सुखी रहून् ।।५
वृद्ध चिन्तना हुँदा बुढाबुढी अरू बढून्
प्रौढ ब्रह्मचेतले विवाद ती सबै पढून्
मोह ,शोक आयुको विमर्श तर्क जे गरून्
स्नेहले हँसाउने बुबामुमा सुखी रहून् ।।६
०००
२०८३।०४।२४
दमक, झापा
Subscribe
Login
0 Comments
Oldest






































