सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

क्या फसाद् !!!

खुट्टा अँठ्याएकोले यस्सो तलतिर हेरें- जुत्ता साटिएछ । म खुकुलो लाउँथें । यो कस्सिएको रहेछ । सबै जुत्ता एकै रंगका थिए- चाइनिज ! फर्केर जाउँ ती कनिष्ट निष्टहरूले आफूलाई पनि केरकार गर्लान् भन्ने डर ! नजाउँ जुत्ता चोरमा दरिने डर !! क्या फसाद् !!!

Nepal Telecom ad

श्यामप्रसाद शर्मा (बीरगंज, सेवासदन) पछि हात्तीसार निरको शशिकलाको बाबुको घरमा डेरा गरेर बस्नुभएको थियो । “साहित्य’ को देखादेखि संपादक ’स्वास्नी मान्छे’ को भित्री संपादक भएको नाताले कमलबाबु र म हरेक शनिवार जस्तो उहाँको डेरामा जान्थ्यौं । भाषा र साहित्य बारे छलफल गथ्र्यौं ।

उहाँकै अनुरोधमा एक दिन बेलुकी पख वसन्तपुर पुग्यौँ । भक्कुलाई राँगो दिने ठाउँनिर उभिएको एउटा मान्छेले हामीलाई बाटो देखाउँदै भित्र चोकतिर लग्यो । एक तल्ला माथिको कोठामा पुग्दा धेरै लेखकहरू सुकुलमा पलेटी कसेर बसेका देख्यौं । हामी पनि ढोकाको छेउमै बस्यौं ।’
लीलाध्वज थापाले कमलबाबुको कोटलाई लिएर छड्के हान्न थाल्नु भयो- ’यस्तो फोहर मुलुकमा बस्ता तपाईको कोटको इज्जतै रहेन के गर्ने ?’ इ.

कमलबाबुले हाँसेर जवाफ दिनु भयो- थापाजी तपाईंले कोटको बारे कुरा कोट्याउनुभन्दा पेटीकोटलाई लिएर कविता सुनाउनु भए सारै राम्रो र रमाइलो पनि हुन्थ्यो, हैन र ?’

थापाले उत्तिखेरै कथेर पेटीकोटको कविता सुनाउनु भयो । हामी सबै हाँस्यौं । मेरो हँसाइ अल्लि चर्को थियो ।

थापाले तुरुन्तं मलाई झाँट्नु भयो । त्यसमा पनि कमल बाबुले नै समाधानको उपाय निकालेर भन्नुभयो तपाईंको कविताको जवाफ कवितैमा पाउनुहुन्छ- वासुदेवजीवाट, धन्दा नमान्नुहोस् ।

मलाई पनि जोश चढेछ- होश हराए पनि सुकुलमाथि छरिएका कागतका टुक्राहरूबाट एउटा अल्लि ठूलो टुक्रो टिपेर कोर्न थालिहालेँ । केही बेरपछि शिवलिंगको महात्म्य गाएर सुनाइदिएँ । उत्ताउलो कुरा सुन्दा नहाँस्ने को हुन्थ्यो र ! रमाइलो भयो !

हामी बसेको भन्दा भित्रपट्टिको सानो कोठामा पातलो लंपटमाथि एकजना सुतिरहनु भएको थियो । श्यामजी उहाँसँग चिनापर्ची गराउँदै हुनुहुन्थ्यो । बिस्तारै उठेर उहाँले पनि के के भन्न थाल्नुभयो । हाम्रो हल्ला शान्त भयो । भर्याङ ओर्लंदा खासखुस गरेको सुनियो- विरामी भएर चीन गएको ? चीन गएको बेला बिरामी भएर आएको ? इ.

अँ त, उत्ताउला कुरामा नहाल्नु हात हालिहाले त्यसैले अरू तीन ओटा त्यस्तै उत्ताउला कुरा थपेर ’अर्पण’ मा समर्पण गरें छापिए पनि ।

पछि गठेमंगलको मङ्गलमय अवसरमा ’जय नेपाल’ नाम राखेर आठ पेजी पांप्लेट छपाएँ । पीपलको बोटमा पाँच पैसामा बिक्यो पनि ।

ठट्टा गर्दा लट्टा पर्छ भनेको ठीक हो, मदन पुरस्कार गुठीको मुखपत्र ’नेपाली ५४’ मा त्यो शिवलिंग टाँस्सियो त्यसभन्दा तगडा लेखको पुच्छर बनेर ।

म. पु. पुस्तकालयमा पनि ’जय नेपाल’ आइपुगेको रहेछ । कमलबाबुले शिवलिंग देख्ने बित्तिकै कभर पेजमा नै (कान्छा काजी’ बासुदेव लुईटेलको छद्मनाम) भनेर लेख्नु भएको रहेछ । त्यसैबाट त्यो ’नेपाली’ मा टाँस्सिन पुगेको रहेछ । त्यहाँ चाहि लेखकको नाम ’कान्छा काजी’ ने छापिएको छ ।

तारानाथ शर्माले ’नेपाली साहित्यको इतिहास’ भन्ने किताबमा- (पे.नं. २५०) “प्रारम्भका गोविन्दप्रसाद लोहनी र भवानीप्रसाद शर्मा घिमिरेका लेखहरू र संगठनहरू राजनैतिक उग्रताबाट पीडित थिए । कृष्णचन्द्रसिंह प्रधान र उहाँका सहयोगीहरूले प्रगतिशील लेखक संघको स्थापना गरे पनि त्यो धेरै दिन चलेन । वीरगंजबाट श्यामप्रसादले ’सेवा’ निकालेर यस आन्दोलनलाई बढाउनु भयो । पछि तारानाथ शर्मा २०१६ मा काठमाडौं आएपछि नेपाल प्रगतिशील लेखक संघको स्थापना भयो । यसको उद्देश्य राष्ट्रिय फाँटमा सामन्तवाद विरोधी र अन्तर्राष्ट्रिय फाँटमा साम्राज्यवाद विरोधी साहित्यको विकास गर्नु थियो । यसमा कमल दीक्षित र वासुदेव लुईंटेल जस्ता देब्रे ढल्कुवा राजनीतिसित संपर्क नभएका व्यक्ति पनि सदस्य भएर आउनु भएको थियो भन्ने लेखेको देख्ता कमलबाबु र म छक्क पर्यौँ । हामीहरू त झण्डै ’भाइ भाइ’ भैसकेका रहेछौं । कहाँको प्रगतिशील लेखक संघ ! कहाँ कमलबाबु !! कहाँ लीलाध्वज थापासँग मैले खेलेको जुहारी !!!

धेरै वर्ष बिते ।
आज बिदाको दिन परेकोले गाउँले अड्डामा थुप्रै मान्छे जम्मा भएका थिए । कनिष्ट निष्टहरूले स्वनाम धन्य एकजना वृद्ध अरिष्टसँग सोधे- ’रस्सा रिटर्न’ माफ गर्नुहोस् । चीनबाट फर्कनु भएका हाम्रा कर्मठ कार्यकर्ताको वसन्तपुरको कोठे-सम्मान- समारोहमा तपाईं पनि उपस्थित हुनुहुन्थ्यो भन्ने कुरो हामीले पत्ता लगायौं । पूरा विवरण लेखिएको कागत भेटिएन । त्यसलाई लिपिवद्ध गरिराख्नु पर्छ भन्ने हाम्रो जमातले निधो गर्यो । तपाईंले देखे सुने भोगेका कुराहरू हामीले टिप्न सक्ने गरी सुस्तरी भन्न सक्नुहुन्छ ?

बिचरा वृद्ध अरिष्ट निधारमा चाउरी पारेर घोरिंदै थिए, म फुत्त निस्केर जुत्तामा खुट्टा हुल्दै हिडें । किनभने म यस विषयको वरिष्ट होइन गरिष्ट विद्वान् थिएँ । आँगनमा पुगेपछि खुट्टा अँठ्याएकोले यस्सो तलतिर हेरें- जुत्ता साटिएछ । म खुकुलो लाउँथें । यो कस्सिएको रहेछ । सबै जुत्ता एकै रंगका थिए- चाइनिज ! फर्केर जाउँ ती कनिष्ट निष्टहरूले आफूलाई पनि केरकार गर्लान् भन्ने डर ! नजाउँ जुत्ता चोरमा दरिने डर !! क्या फसाद् !!!

(’साँग्रिला’ वर्ष ४, अंक १, असोज-का-मंसीर २०४२ बाट)
(‘….बाट’ जस्ताको तस्तै)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
ए मान्छे !

ए मान्छे !

वासुदेव लुइँटेल
म लामो कुरो जान्दिनँ !

म लामो कुरो जान्दिनँ...

वासुदेव लुइँटेल
गाउँले– गुण्डा

गाउँले– गुण्डा

वासुदेव लुइँटेल
निम्तालुमा नाम दरिएन

निम्तालुमा नाम दरिएन

वासुदेव लुइँटेल
फेरि दर्शन पाइनँ !!!

फेरि दर्शन पाइनँ !!!

वासुदेव लुइँटेल
नलेखे पनि हुने कुरो

नलेखे पनि हुने कुरो

वासुदेव लुइँटेल
मेरो पुच्छर

मेरो पुच्छर

राजेन्द्र सुवेदी
नयाँ वर्ष

नयाँ वर्ष

भूपी शेरचन
यमपुरीको यात्रा

यमपुरीको यात्रा

केशवराज पिँडाली
ए मान्छे !

ए मान्छे !

वासुदेव लुइँटेल