साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रभुजी ! कवि बनाइदिनोस्

हे व्यासका औतार। हजुर साहित्यकार उत्पादन गर्ने ’फ्याक्ट्री’ हुनुहुन्छ, शरणमा आएको छु, लम्फू छु, बज्रलण्ठ छु र प्रतिभाहीन छु, मलाई कवि बनाइदिएर उद्धार गर्नोस् ।

Nepal Telecom ad

हे प्रजातन्त्र रेडियो हे नेपाल रेडियो । हे रेडियो नेपाल । तपाईं मेरो नमस्कार लिनोस् । आज यो तुच्छ दास प्रभुको शरणमा आएको छ । हे महामहिम हजुर अपार हुनुहुन्छ हजुरको महिमा हजार जिब्रो भएका शेष नागले पनि वणर्न गर्न सक्दैनन्, म जाबो त के हुँ र ? तर हे भक्तवत्सल गरिबको यस ते-ते पे-पेलाई नै हजुर सबथोक सम्झिदिनुहोला । लगन र शक्तिका साथै उल्टो ’मरा’ जपेरै पनि त व्याधा महाकवि भएथे, कमसेकम म त सुल्टो जपिरहेछु । त्यसैले मलाई आशा छ- मेरो यो स्तुतिबाट हजुर अवश्य पनि प्रसन्न हुनुहुनेछ र मलाई कवि बनाइदिनुहुनेछ । महाप्रभो । मलाई कवि बन्न बिछट्टे मन लागेको छ । हे रेडियो- देव । मैले तपाईंलाई अब राम्रै चिनें, तपाईं साहित्यिक सष्टा हुनुहुन्छ । म प्रतिभाहीन, लण्ठ अब अन्त कताकता भट्किरहूँ, प्रभुजी ! मलाई कवि बनाइदिनोस् ।

श्री ५ महाराजाधिराज रणबहादुर शाहको माले साँढे पनि साँढे र संसारका अरू साँढे पनि साँढे । त्यस्तै नेपाल रेडियो पनि रेडियो र संसारका अरू रेडियो पनि रेडियो, त्यसैले म भन्छु, हे रेडियो नेपाल। तपाईं रेडियोहरूको सम्राट् हुनुहुन्छ, विभ्राट् हुनुहुन्छ । विश्वका कुनै रेडियो पनि एक नामदेखि दुई नाम भएको मलाई थाहा छैन । तर हे रेडियोपुङ्गव । तपाईंको तीन-तीन नाम छ प्रजातन्त्र रेडियो नेपाल रेडियो र रेडियो नेपाल । अर्जुनले त्यत्रा त्यत्रा पराक्रम गरे, महाभारत जिते, जीवनभरमा दश नाम मात्र कमाउन सके । तर हजुरले पाँच वर्षको छोटो अवधिभित्रै तीन-तीन नाम कमाइदिनु सानो कुरा हैन । यही क्रम रहेमा चाँडै हजुरको सहस्र नाम हुँदैन भनेर को भन्न सक्छ ? रेडियोराज । हजुर अर्जुनभन्दा पनि ठूलो हुनुहुन्छ । गाण्डीवको टङ्कारले सारा काँप्दथे त हजुरको घोषले विश्व का‘पिरहेछ। हजुरको एक-एक नाम एक-एक श्रीले युक्त छन् यसैले पनि हजुर श्री ३ कहलाउनुहुन्छ । कुशल व्यवसायीहरू पुराना नामको दिवाला पल्टाउँदै नयाँ-नयाँ नामले व्यापार गरी धन अर्जन्छन् । त्यस्तै हजुर पनि पुराना नामको दिवाला पल्टाई नयाँ नामबाट प्रसारण व्यापार गरी यश आर्जन गर्नुहुन्छ । हे महाप्रभो । यसरी नामको टाट पल्टाउने काममा तपाईं मारवाडीको पनि बाबु हुनुहुन्छ ।

आदिकालमा देव र दानवहरू मिली समुद्रमन्थन गरे । त्यस मन्थनबाट ऐरावत हात्ती निस्क्यो, चन्द्रमा निस्क्यो, अमृत निस्क्यो, लक्ष्मी निस्किन् र निस्क्यो कालकूट विष पनि । अरू सबै थोकको बण्डा शान्तिपूर्वक नै भयो । तर अमृतका निम्ति झगडा पन्यो र कालकूट विष ग्रहण गर्न सक्नेचाहिँ कुनै शक्तिवान् निस्केन, संसार दग्ध हुन थाल्यो र भगवान् शङ्कर अगाडि सरी त्यस गरलको पान गर्नुभयो । त्यस्तै हामीकहाँ पनि २००७ सालमा एक कोटी नेपाली मिली राणामन्थन गरे । समुद्रमन्थनबाट झैँ राणामन्थनबाट पनि प्रजातन्त्र निस्क्यो, नागरिक हक निस्क्यो, वाक्स्वतन्त्रता निस्क्यो, उच्छृंखलता निस्क्यो, कुर्सी निस्क्यो र निस्क्यो कालकूट विषजस्तै अवाञ्छित कुरो, ’श्री ३’ पनि । अरू सबै कुराको बाँडचुँड यथाविधि भयो । अमृतमा झैं कुर्सीलाई लिई लुछाचुडी हुँदै नै छ । तर श्री ’श्री ३’ जस्तो गरल धारण गर्न सक्ने सामर्थ्यवान् कुनै निस्केन, देश दग्ध हुन थाल्यो । प्रभुको तीनै नाम एक-एक श्रीले युक्त भएको भई प्रभु स्वयं नै ’श्री ३’ हुनुहुन्थ्यो । अतः यस अतिशय अनाथै ’श्री ३’ लाई पनि हजुरले आफूमा लीन गराउनुभयो ।

हे रेडियोकेशरी । नेपालमा तपाईंको जन्म भएपछि साहित्य र सङ्गीतले कति उन्नति गरिसक्यो त्यो लेखेर लेखिन्न । तपाईंको गीतले कति रोई रोई बसे। तपाईंको लेखले कतिले आफ्नो आफ्नो जीवनसन्ध्यामा रिमझिमता ल्याए, तपाईंको लेख सुनेर कतिले इन्साइक्लोपीडिया बिर्से । हे महाप्रभो तपाईं गीतकार, सङ्गीतकार, साहित्यकारको स्रष्टा हुनुहुन्छ । यसैले त तपाईंलाई लोकले गीतकारको बाबु, सङ्गीतकारको बाजे र साहित्यको बराज्यू भनेको । रेडियोराज ! कसमा विदित छैन- तपाईंले गर्दभराजलाई तानसेन, तुककारलाई गीतकार र लम्फूलाई साहित्यकार बनाइदिन सक्नुहुन्छ भनेर ? यसैले त आज श्रीकृष्णका भक्तभन्दा तपाईंका भक्त र भक्तिनी नेपालमा धेरै छन् ।

हे रेडियोसम्राट् । तपाईंका साहित्यिक प्रोग्रामको स्तर पनि साह्रै नै उच्च थियो । तर के गर्नु । तपाईंको त्यो उच्च स्तरमा नेपालदिग्गज साहित्यिकहरू पनि ’फिट’ उत्रन सकेनन् । अतः यी धासलेटी साहित्यकारहरूलाई लिई
उक्त प्रोग्राम चलाउनु व्यर्थ थियो, राष्ट्रिय घुनको दुरुपयोग थियो, प्रजातन्त्रको विकासका निम्ति यस किसिमबाट साहित्यलाई प्रोत्साहन दिनु राष्ट्रको हानि थियो । यसैले प्रभुवाट उक्त साहित्यिक प्रोग्राम नै बन्द गरियो । यसरी राष्ट्रको खर्च बचाई ख्वामितले अर्थशास्त्रीलाई पनि मात गर्नुभयो र आफ्नो देश सेवाको परिचय दिनुभयो ।

मानें प्रभु । मानें, मैले तपाईंको व्यक्तित्वको विद्याको, बुद्धिको र बलको लोहा मानेँ । तपाईं अजय हुनुहुन्छ, यसमा सन्देह छैन । प्रभो । यता तपाईंको साहित्यकार पारख गर्न सक्ने शक्तिको पनि म कायल छ । हे रेडियोदेव । साहित्यकारहरू नाडी हेरी असल-कमसल छुट्टयाउनमा तपाईं साँच्ची नै साहित्यिक धन्वन्तरी नै हुनुहुन्छ । दबिराखेको, लुकिराखेको साहित्यिक प्रतिभा खोजेर निकाल्नमा त तपाईंको आँखाले गिद्धको आँखालाई मात गर्छ, तपाईंको घ्राणशक्तिलाई जित्छ । किलोवाट मिडियम वेभ ट्रान्समिटरको उद्घाटनको दिन गोलकुंडाको खानीबाट कोहेनूर निकालेझैं तपाईंले एक दबिराखेको साहित्यिक कोहेनूरलाई प्रकाशनमा ल्याई नेपाली साहित्यलाई चमत्कृत पार्नुभयो ।

हे रेडियोमणि । तपाईंको साहित्यिकलाई असाहित्यिक र असाहित्यिकलाई साहित्यिक बनाउन सक्ने शक्तिको पनि म कायल छु। मलाई खूब याद छ प्रभो ! जाडोको महिना थियो, तपाईंको खुला प्राङ्गणमा घामको न्यानोमा एउटा कविसम्मेलन भएथ्यो । त्यस सम्मेलनमा आफूलाई ख्यातनामा सम्झने कति साहित्यिक असाहित्यिक ठहरिए । यता मान्छेले त्यस बेलासम्म असाहित्यिक ठानिएका तत्कालीन मन्त्रीहरू र केही लम्फूहरूले रचना पढी ती साहित्यिक बने। महाप्रभो । विद्वान्हरूको यो भनाइ छ कि ’कवि जन्मिन्छ बनाइन्न’ त्यस दिन एकदम झूटो साबित भयो । कवि बनाइन्छ’ भनेर तपाईंको यो सिद्धान्त मैले मान्न थालेको पनि त्यसै दिनदेखि त हो नि । हे व्यासका औतार। हजुर साहित्यकार उत्पादन गर्ने ’फ्याक्ट्री’ हुनुहुन्छ, शरणमा आएको छु, लम्फू छु, बज्रलण्ठ छु र प्रतिभाहीन छु, मलाई कवि बनाइदिएर उद्धार गर्नोस् ।

महाप्रभो ! कवि बन्नलाई चाहिने सारा सद्गुण ममा विद्यमान छन् । युवतीहरूसँग प्रेम गर्न म जान्दछु । सहधर्मीको बेइज्जत र अपमानमा म आफ्नो इज्जत र मान सम्झन्छु । ओरालो लागेको सहकर्मी देखेर म आफू उकालो चढेको सम्झन्छु । साहित्यिकहरूमा एकता गर्ने कुरा म व्यावहारिक हैन कि सैद्धान्तिक मात्र ठान्छु । सहृदयता र भावुकता त लेखनीमा मात्र ल्याउनेछु, स्वयंमा हैन ।

म अरूको प्रशंसा कहिल्यै गर्दिनँ, गर्नुपरे आफ्नै गर्छ । मुख्य कुरो म हजुरले ’चेई’ भने पुच्छर हल्लाएर आउँछ, ’धर्’ भने पुच्छर हल्लाएर भाग्छु, ’पक्डी’ भने अरूलाई टोक्न जाइलाग्छ र हाड फ्याँके बसेर चपाउन थाल्छ । म आफूलाई युगको निर्माता र युगको नेतृत्व गर्ने कहिल्यै ठान्दिनँ। प्रभुलाई नै म साहित्यिकहरूको निर्माण र नेतृत्व गर्ने ठान्दछ। म अपमान पिएर बस्न जान्दछ । यसैले म भन्छ ’हे रिडियोदेव । मलाई चाँडै नै कवि बनाइदिनोस् ।’

त्यस दिन भारतबाट आएका तीन साहित्यिक महारथीहरूका सम्मानमा तपाईंले नेपालका प्रतिनिधि कविहरूको एक कविसम्मेलन गर्नुभयो । तपाईंको यो सम्मेलन हिन्दी साहित्यसँग नेपाली साहित्यको परिचय थियो । प्रभुजी । यसै सम्मेलनले हो नेपालीका कहलाएका साहित्यकारहरूप्रति मेरो गलत धारणाको पर्दाफास गरेको पनि । मैले त्यसै दिन बुझें जो डाकिए ती सबै एक-एक क्षेत्रका प्रतिनिधि, एक-एक धाराका प्रवर्तक र एक-एक वादका गुरु हुन् । जो डाकिएनन् ती सारा गाइने, भाँड र चारण। अहहह ! नेपाली साहित्यगगनमा दुइटी सर्वतोमुखी प्रतिभाहरू एक्कासि उदाएका पनि त यसै सम्मेलनमा हो नि । यी दुइटी प्रतिभा कहिलेदेखि अन्धकारमा दबेका थिए । बुर्जुवाहरूले प्रकाशमा आउनै दिएका थिएनन् । सायद यिनीहरूको कविताले हजुरको हृदय छोयो होला, (ख्वामित पारखी जो हुनुहुन्छ) र अन्धकारबाट समातेर प्रकाशमा ल्याइदिनुभयो । यिनको कविता सुनी देशी-विदेशी सारा दङ्ग भएथे। प्रभुजी । लौ मलाई पनि यस्तै कवि बनाइदिनोस् । तपाईंले ननिम्त्याएको कुनै पनि एक गाइने कविद्वारा मैले आफ्नो नाममा कविता लेखाएर राखेको छु । त्यही कविता पाठ गराई मलाई पनि प्रतिनिधि कविको थान्कामा राखिदिनोस् ।

हे साहित्यकारका बराज्यू ! तपाईंले कविसम्मेलनमा कविहरू निम्त्याउने काइदा पनि मलाई त खूब मन परेको छ, कविहरूलाई बुद्धिचालको गोटीझैँ मन लागी अगाडि र पछाडि चाल्ने कलाकै म कायल छु। आज दश त भोलि बीस कवि, पर्सि पाँच त निपर्सि पन्ध्र कवि- यस किसिमले निम्त्याउन नै तपाईंको महानताको द्योतक हो तर म अझै असल एउटा अर्को काइदा भन्छु, प्रभो ! फाइदा तपाईंकै छ । श्री ५ बडामहाराज जस्ताले पनि जाबो बीसे नगर्चीको सल्लाह मानेका थिए । म त जे जस्तो भए पनि एउटा बाहुने-चरी हुँ । आज एउटा कविसम्मेलन गर्नु पन्ध कवि डाक्नु, भोलिकोमा चाहिँ दश मात्र, किनकि भोलिसम्ममा पाँच कविहरू तपाईंको फ्याक्ट्रीका कारिन्दाहरूबाट तयार भइसकेका हुन्छन्

अनि पर्सिको सम्मेलनमा पाँचै जना कवि मात्र डाक्यो, पर्सिसम्ममा तपाईंका मादले र तबल्चीहरूबाट दश कवि बनिसकेका हुन्छन् । अनि त यसपछिका सम्मेलनमा बाहिरिया कवि डाक्नै पर्दैन, यस अवधिभित्रमा तपाईंको पूरा स्टक कवि बनिसकेका हुन्छन् । तब म गर्वका साथ भन्दै हिँड्नेछु, ’नेपालमा यथार्थवादी कवि को ? ’रेडियोको तबल्ची ।’ ’नेपालमा रहस्यवादी कवि को ?’ ’रेडियोको ट्याम्के ।’ ’नेपालमा नवीनतावादी कवि को ?’ ’रेडियोको प्यून ।’ ’नेपालमा अभिनय जनवादी कवयित्री को ?’ ’रेडियोकी पोडिनी ।’ ’नेपालमा एक मात्र आलोचक को ?’ ’रेडियोको बिकुले ।’ तर प्रभुजी । मलाई त नविर्सनुहोला नि, कवि मलाई बनाइदिनैपर्छ, केही नभए पलायनवादी नै सही ।

प्रभो । तपाईंको साहित्यप्रतिको अनुराग र प्रेम पनि कस्तो विकट छ । त्यस दिन श्री ५ महाराजाधिराजबाट एघार महिनाको प्रत्यक्ष शासनको अन्त गरी देशैले चाहेको प्रजातन्त्रको पुनः संस्थापना भयो । त्यसै दिन मौसुफको सवारी पनि लुम्बिनीका तर्फ भयो । यी दुवै महत्त्वपूर्ण खबर संसारका रेडियोले फुके । तर प्रभुले ? प्रभुले त्यस दिन आफ्नो अपरिचित शक्ति र साहित्यानुरागको परिचय दिई संसारलाई चकित र स्तम्भित पारिदिनुभयो । आजसम्म कुनै रेडियोको इतिहासमा नघटेको घटना हजुरको इतिहासमा घट्यो । त्यसै भएर हजुर रेडियोसम्राट् कहलिनुहुन्छ । त्यस दिन दिउँसोको निर्धारित समयमा खबरको प्रसारणकार्य भएन । प्रतिनिधि कविसम्मेलन चलिरह्यो, चलिरह्यो, चलि नै रह्यो ।

हे साहित्यका प्रवर्तक ! हे साहित्यका स्तम्भ ! सुन्दछु हजुर ५ किलोवाटको ट्रान्समिटरको उद्घाटन गर्नुहुनेछ र चाँडै नै फेरि एउटा कविसम्मेलन गर्दै हुनुहुन्छ । महाप्रभो ! यस सम्मेलनका पनि एक-दुई नयाँ प्रतिभाहरू सुँघिसक्नुभएकै होला । बाहिरिया साहित्यकारहरूलाई बाँडिने निम्तामा पनि बुद्धिचाल खेल्नेजस्तै अगाडि, पछाडि, पछाडि र तेर्सो गरी ऊँट, प्यादा, राजा, मन्त्री आदिको चाल नै चाल्नुहोला र साथै मन्त्रिमण्डल बनेकाले केही मन्त्रीहरूलाई पनि कवितापाठको निमित्त निम्त्याउनु नै होला । मुखमीठोको निम्ति पेडा होला, बर्फी होला, र सगुल्ला होला र लिप्टनको चिया पनि होला । जम्छ, प्रभो ! सम्मेलन जम्छ, अवश्य पनि जम्छ । सम्झँदैमा मेरो राल आइसक्यो, लौ न प्रभुजी ! मलाई पनि कवि बनाइदिनोस् !
‘प्रगति’

‘खै खै’ (२०१७)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
माथि पर्ने तरिका

माथि पर्ने तरिका

केशवराज पिँडाली
गोदीप्रसाद वदेहाम

गोदीप्रसाद वदेहाम

केशवराज पिँडाली
नामको अर्थको अनर्थ

नामको अर्थको अनर्थ

केशवराज पिँडाली
अब कुरा काट्ने कि त ?

अब कुरा काट्ने कि...

केशवराज पिँडाली
यमपुरीको यात्रा

यमपुरीको यात्रा

केशवराज पिँडाली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x