सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मिस्टर एन. मुनि नेपालमा

जब पर्दामा नाच सुरु भएथ्यो नारद ‘ओहो उर्वशी, तिमी पनि यहाँ !’ भन्दै पर्दातिर दौडेको मार भित्तामा ठोक्किएर घोप्टिन पुगे नर्तकीको खुट्टानिर । यसले गर्दा हलको पर्दा च्यातियों, करेन्ट सट भएर जनसेवा भवन हुरहुर बल्यो, त्यताबाट पाइन्ट स्यारेर कुलेलम ठोकेका नारद यहाँ पुगे उहाँ पुगे पत्तो भएन ।

Nepal Telecom ad

फ्लोरिडाको वेधशालाले उड्दाउड्दै रित्तो स्पुतनिकमा एउटा मान्छे खुत्रुक्क भित्र पसेको कुरा थाहा पायो । अमेरिकी वैज्ञानिकहरूले खूब गहिरिएर त्यसको अध्ययन गरे । वायुमण्डलभन्दा पनि माथि पुगेको स्पुतनिकमा पृथ्वीको मान्छे पसेको भन्ने त कुरै थिएन, त्यो पक्कै ‘अन्तरिक्ष-मानव’ हो भन्ने उनीहरूले ठोकुवा गरे । अनि त्यस स्पुतनिकलाई अमेरिकाभित्रै उतार्ने कोसिस चल्न थाल्यो । किनभने स्पुतनिक थियो रूसको, ‘अन्तरिक्ष- मानव’, रूसमा ओर्लियो भने त बिताइहाल्यो । उसै त ‘पहिले ब्रह्माण्डभेदन गर्ने हामी’ भनी रूस लौकाजत्रो नाक पार्छ, झन् त्यो ‘अन्तरिक्ष-मानव’ समेत उसैको भयो भने लोकलोकान्तरको सारा रहस्य पहिले पत्तो पाउने पनि उही हुन्छ । अनि चन्द्रलोकमा पनि कम्युनिस्ट घुसाइदियो भने अरूले त डाडुमा पानी तताएर डुबे भैहाल्यो । तर रूसी वैज्ञानिकहरू झन् के कम हुन्थे । आफ्नो स्पुतनिक आफ्नै देशमा उतार्न उनीहरूले पनि ज्यूज्यानले मिहिनेत गरे । दुवैतिरका आकर्षण र प्रत्याकर्षणको फलस्वरूप स्पुतनिक ढलपलाउँदै ढलपलाउँदै आएर बसिदियो, सगरमाथाको टुप्पामा ।

यस कुरोको पत्तो पाउनासाथ रेडियो मास्कोले रूसको स्पुतनिकमा आएकोले सो मानव हाम्रै हुन्छ भनी ठोक्यो । टेलिभिजन अन्तर्वार्तामा अमेरिकी प्रवक्ताले भने- स्पुतनिकमा पसेको कुरो पहिले हामीले नै पत्ता लाएको हुनाले सो मानव हाम्रै हुन्छ । भारतीय लोकसभामा प्रस्ताव आयो- हिमालयको सेरोफेरो सबै मेरो भएकाले त्यहाँ उत्रेको प्राणी अरू कसैको हुनै सक्तैन । पेकिङको ‘पिपुल्स डेली’ ले सम्पादकीय लेख्यो- सो मान्छे उत्रनासाथ स्पुतनिकचाहिँ हाम्रै सीमाभित्र गुडेकोले अन्तरिक्ष-मानव चीनको हुन्छ । यस्तो खैलाबैला चलेको ३ दिनपछि नेपालले पत्तो पायो र रेडियो ककनीले विस्तारै फुक्यो- सगरमाथामा खसेकाले अन्तरिक्ष- मान्छे हाम्रो पो हुनुपर्छ कि ?

+ + +

नाम्चेबजारमा धेरै देशका पत्रकारहरू हेलिकोप्टर र पिलाटस पोर्टर चढेर ओइरिए ‘अन्तरिक्ष-मानव’ खोज्न । हुन त रकेटको गति हेर्ने यन्त्रले उसको फोटो खिचिसकेको थियो, तैपनि ऊसँग अन्तर्वार्ता लिने सबैको धोको छँदै थियो ।

+ + +

सोलुखुम्बुको स्यार्पादाइको पिंढीमा एउटा अनौठो जोगी बसेको रहेछ । पहेँलो धोती फेरेको, कपाल सिनित्त खौरेको, तर झन्डै एक हात लामो टुप्पी धरहराझैं ठड्याएर कुशले बाँधेको देख्दा निकै रातोपिरो, खुपै बक्ने होला जस्तो । एकातिर सितार र कमण्डलु, अर्कोतिर डोकाभरि पिंडालु राखेको स्यार्पादाइको फलैँचामा बसेर ऊ कुपकुपु उसिनेको तरुल खाइरहेको थियो । पत्रकारहरूले एक घण्टाको निरीक्षणपछि ठम्याए- ‘अन्तरिक्ष-मानव यही हुनुपर्छ ।’ अनि सबैले एकै स्वरमा ‘हल्लो मिस्टर !’ भन्दै ह्यान्डसेक गर्न हात दिए । तर उसले चाहिं यिनीहरूले खानेकुरो मागेका होलान् भन्ने ठानी आफूले खान थालेको तरुलका एक-एक ठुन्का भाँचेर सबैका हातमा राखिदियो । पत्रकारहरूले पनि यो ‘अन्तरिक्ष-फल’ होला भन्ने सम्झी बोक्रैसहितका तरुलका ठ्यौका च्याम्च्वाम् चपाए ।

अन्तवार्ता लिन पर्‍यो समस्या भाषाको । अङ्ग्रेजी, फ्रेन्च, जर्मन, रसियन, चाइनिज जे बोले पनि ऊ नबुझ्ने । वैदिक, संस्कृत, तान्त्रिक, मान्त्रिक उसले जे बोले पनि उनीहरू नबुझ्ने । दुई घण्टाको कपालदुखाइपछि बल्लबल्ल थाहा पाइयो, उनी त स्वर्गका नारदमुनिजी पो रहेछन् ! कस्तो अचम्म ! पत्रकारहरूले हत्त न पत्त नोट गरे, नाम- मि. एन्. मुनि, नागरिकता स्वर्गेली, आगमनको उद्देश्य- थाहा छैन ।

+ + +

‘कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भनेझैं स्वर्गका समस्यामा ब्रह्मासँग सरसल्लाह लिन सत्यलोक जान लागेका नारद रित्तो स्पुतनिक भेट्टाएर बसिदिएछन् त्यसैमा । पस्न त पसिहाले, तर बीचमा स्पुतनिक ढलपलाएर बिचराको सातोपुत्लो उडेछ । तै सासै नफेरीकन निर्गुणानन्द भजन गाइदिएछन् र मात्रै, नत्र चौटा खान आएको सम्धी झोलमा डुबेर मर्‍यो भनेझैं स्पुतनिक चढ्ने रहरले कुन खाँदमा गएर घुसमुन्टिन्थे होलान् बरा !

जे होस्, नारद पृथ्वीमा ओर्लेको समाचार सुन्दा दुनियै छक्क पर्‍यो । नेपाल र भारतका मान्छे हाम्रा नारद भनी गजक्क फुले । काठमाडौँमा रातारात गरी नारद-स्वागत समिति गठित भयो । स्वर्गबाट आएका नारदको स्वागत चानचुने ढङ्गले गर्न भएन । हलिउड पेरिस र बम्बैबाट मै हुँ भन्ने अभिनेतृहरू निम्त्याइए, गौचरदेखि शीतलनिवाससम्म ऐना ओछ्याइयो । सोह्रओटा हात्तीले तान्ने त बग्गी थियो अब !

+ + +

नाम्चेबजारबाट हेलिकोप्टरमा उड्दा नारदलाई अचम्म लाग्यो । अस्ति स्वर्गबाट झर्दा यो विमान बाटुलो थियो, अहिले त साँच्चै लामो भैसकेछ । ‘यसरी मान्छे च्यापेर विभिन्न अवतारमा आकाशमार्गबाट विचरण गर्ने यो भगवानकै मत्स्यावतार त होइन’ भन्ने शङ्का उनले झिके र मनमनै साष्टाङ्ग दण्डवत् गरे । जति पर जान्छन् उति गडरङगुडुरुङ गरी मेघ गर्जेको सुनित थाल्यो, तर भगवानकाे पेटमा बसेका नारदलाई केको डर ! अब सोझै स्वर्ग पुग्ने ढुक्कमा थिए उनी ।

नारदलाई लिएर आएको हेलिकोप्टर गौचर विमानघाटमा उत्रनासाथ नारदमुनि जिन्दावाद, नारदमुनि हाम्रै हुन्, स्वर्गेली नेपाली भाइ भाइ’ आदि नारा र करतल ध्वनिले आकाश थर्किरहेको थियो । हेलिकोप्टरबाट ओर्लनासाथ उनी झस्के- क्यामेराका तन्द्रङतुन्द्रुङ भिर्ने मान्छे, कोही यताबाट ताकिरहेका छन्, कोही उताबाट । उनलाई लाग्यो यी जन्तरमन्तर पैह्रने तान्त्रिकहरूले बाण ताके बा ! तर महामुनि नारद के दब्थे ? वीणाको बिंडले झन्डै फोटोग्राफरहरूको टाउको नफोरेका ! बीचैमा स्वागतमण्डलले नम्रतासाथ बुझाएपछि पो उनले सबै कुरा बुझे । अनि बैँस फुलेका कन्याहरूद्वारा टक्य्राइएका फूलका गुच्छा एक-एक गरी बटुलेर स्यार्पिनी भाउज्यूले सोतर काखी च्यापेझैं सकीनसकी मुनिजीले काखी च्यापे । स्वागत गर्नेहरू पनि थोरै हुन् र ? सबले माला पैह्राउँदापैह्राउँदा एकछिनपछि त नारद कता हुन् कता, फूलैफूलको रास हिँडेको पो देखियो त्यहाँ । तै टुप्पीको फुर्को अलिअलि देखिएर मात्र, नत्र नारद हराए भनी पुलिस कुदिसक्थे होलान्, रातो जिप लिएर ।

नासेर आऊन् कि नेहरू, नौला पाहुना आएको बेला जेजति हुनुपथ्र्यो त्यसको १८ खण्ड बढ्ता उनको स्वागत भयो । स्वागतभाषणको प्रत्युत्तरमा करैशान्ति नारदले पनि धर्मकर्मका केही उपदेश सुनाए तर माइकमा बोल्न लाग्दा बिचराको खुट्टा थुरथुर काम्यो । यस्तो चुइँक्क गर्दा ढ्वाइँक्क हुने यन्त्र त न स्वर्गमा थियो न वैकुण्ठमा । भाषण सिद्धिएपछि मञ्चैमा उपहारहरू दिइन थालियो । नेपालीहरूले भादगाउँले टोपी लगाइदिन आँटेका; एक हात लामो टुप्पीले दिँदैदिएन । एक जनाले सोध्यो- “मुनिज्यू, टुप्पी अलिकति छाँटौँ कि ?” नारद केही बोलेनन् । भारतीय स्वागतमण्डलले एक टोकरी मिठाई दिँदै भन्यो- “गुरुजी, भारतीय मिष्टान्न ।” ’कसैलाई केही धन्दा घरज्वाइँलाई. खानकै धन्दा’ भनेझैँ भोकले खहरिएका विचरा नारद, अरू अभिनन्दनपत्र पढ्न थाले, उनी लागे चपाउन लड्डु, मञ्चमै ! बृटिस स्वागतमण्डलले एक जोर सबभन्दा महंगो सुट ल्याएको रहेछ, तर यो लगाइदिन भने साह्रै फसाद पर्‍यो । मञ्चमा धोती फुकाल भन्नु कसरी ? भित्र कट्टु छ-छैन, अन्तरिक्ष- मानवको के विश्वास ! आखिर एउटाले हिम्मत गरेर भन्यो- “ऋषिजी, कसो होला ?” उनी चुप्प लागे । पर्दाभित्र लगेर लुगा फेराउने काम सम्पन्न भयो । अमेरिकी प्रतिनिधिले झुन्ड्याइदिए- घाँटीमा कोडाकको क्यामेरा ! चिनियाले खराउ झिकेर चाइनिज फ्लेक्स लगाइदिए । स्विट्जरल्यान्डका प्रतिनिधिले नारदको नाडी छाम्दै भने- “मिस्टर मुनि, यो कुशको सट्टा घडी लगाऊँ कि ?” नारदले ओल्टाईपल्टाई घडी हेरे- आफैँझैँ घुमिरहने सुई, टिक् टिक् टिक टिक चराको बोली, जन्तु त विचित्रको हो ! निकैबेर गम खाएपछि उनले सोधे- “होइन, यो प्राणी चारा के खान्छ नि ?”

रूसी प्रतिनिधिले दिएको मस्कोभिच कारमा गुडेर शीतलनिवास पुग्दा त नारद साँच्चीकै मिस्टर एन्. मुनिजस्तै देखिए । आसमानी रङ्गको सुट, चाइनिज जुत्ता इत्यादिले ठाँट्टिएका । तर घाँटीमा तुलसीको कण्ठी र हातमा वीणा भने छँदै थियो । बेलुका बेलाइती बैठकको कक्टेल पार्टीमा उनी सन्ध्या नगरी भोजन ग्रहण नै गर्दिन भनी अड्केकोले आयोजकहरूले फकाइफुल्याई बाथरुमभित्र पसाइदिए । तर घण्टाभर बितिसक्यो, सन्ध्या गर्न गएका नारद अहिले आउलान् छैन, भरे आउलान् छैन । लाचार भएर पार्टीका आयोजक ‘हल्लो मिस्टर मुनि !’ भन्दै बाथरुमभित्र पसेर हेर्छन् त मुनि समाधिमा ! बल्लबल्ल समाधि खुलाइयो- जापानी प्रतिनिधिले ल्याएको ट्रान्जिस्टरको सहायताले समाधि छुटेपछि जापानी प्रतिनिधिले त्यही ट्रान्जिस्टर समर्पण गर्दै मुनिजीसँग निवेदन गरे- “यो सबभन्दा पछिल्लो प्रडक्सन हो ।” बजिरहेको ट्रान्जिस्टर हातमा लिएर नारदले सबैतिर छामछामछुमछुम गरे, मीठो स्वर मात्र सुनिन्छ, देखिने केही होइन । नारद साँच्चै जिल्ल परे । यो सानो बाकसभित्र कुन संसार छ, जहाँ अप्सराका छमछम र किन्नरीका कोकिल कण्ठबाहेक अरू केही सुनिदैन । उनले सोचे- भगवान्को छातीमा विराट् ब्रह्माण्ड छ भन्थे, कसो यही त होइन ? चर्मचक्षुले के देखिन्थ्यो र भन्ने ठानेर उनले ट्रान्जिस्टरलाई ढोगिदिए । अनि विचार गरे यस्ता अलौकिक वाकस छोडेर को यो वीणाको घाँडो भिरोस् । पार्टी सकिएपछि जर्मन युवतीले घाँटीको कण्ठी फकालेर एन्टी क्रिज टाई बाँधिदिइन् ।

ट्रान्जिस्टर र क्यामेरा भिरेर भोस्तोक युगको जेन्टलम्यान भएका मिस्टर एन मुनि जनसेवा भवनमा च्यारिटी शो हेर्न लगिए । अनेकौं नरनारीको जमघटले जनसेवा हल धिपिक्के भएको थियो । नारदले देखे- भित्र फेरि अर्को संसार रहेछ, त्यस्तै हँसीखुसी र रहरमिताको । गायनवादन गरुन्जेल त उनलाई त्यति अचम्म लागेन, तर जब पर्दामा नाच सुरु भएथ्यो नारद ‘ओहो उर्वशी, तिमी पनि यहाँ !’ भन्दै पर्दातिर दौडेको मार भित्तामा ठोक्किएर घोप्टिन पुगे नर्तकीको खुट्टानिर । यसले गर्दा हलको पर्दा च्यातियों, करेन्ट सट भएर जनसेवा भवन हुरहुर बल्यो, त्यताबाट पाइन्ट स्यारेर कुलेलम ठोकेका नारद यहाँ पुगे उहाँ पुगे पत्तो भएन ।

मिस्टर एन्. मुनि वेपत्ता भएपछि उनलाई खोज्न विश्वका प्रमुख राष्ट्रहरूको एउटा खोज कमिसन गठित भयो र कमिसनका प्रतिनिधिहरूलाई लिएर अन्तरिक्ष-मानवको खोजी गर्न न्युयोर्कबाट उडेको विमान आजसम्म काठमाडौं आइपुगेको छैन ।

०००
‘काउकुति’ (२०१९),
‘भैरव अर्यालका हास्यव्यङ्ग्य’, भैरव पुरस्कार गुठी, (२०६०)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
नेपालको खेती

नेपालको खेती

चाेलेश्वर शर्मा
आँखाले नदेखे पो मुटुले सहन्छ !

आँखाले नदेखे पो मुटुले...

चिरञ्जीवी दाहाल
चम्किस् कि थच्चिस् !

चम्किस् कि थच्चिस् !

चूडामणि रेग्मी
लाइन

लाइन

नगिता लेप्चा राई
भयो भो नभेटौँ

भयो भो नभेटौँ

भागवत खनाल
जय जोकतन्त्र

जय जोकतन्त्र

माधव पोखरेल गोज्याङ्ग्रे