साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आलु

मान्छेलाई बैगुनी भन्नुपर्ने कारणै यही हो, ऊ गुणको पारख गर्नुको साटो बेइज्जती गर्छ- कसैको राम्ररी टाइम नदिने घडी रहेछ भने प्वाक्क भनिदिन्छ- यो कस्तो आलुघडी । यसै हो भने भोक, रोग र शोकले सुकेर सामर्थ्यहीन भएका आजका लाखौँ मान्छे के साँच्चै आलुमान्छे होइनन् त ?

Nepal Telecom ad

भैरव अर्याल :

आलुको नामकरण कसले कसरी गरेको हो, त्यो भाषाशास्त्रीहरू नै जान्लान्, तर मलाई लाग्छ- पहिलेपहिले खेतका आलीतिर उमेर फलेको भेट्टिएकोले यसको नाम आलु रहेको होला । तर मेरै विचार सबैले मान्नुपर्छ भन्ने केही छैन, तपाई पनि आफ्नो तर्क तान्न सक्नुहुन्छ- कोही आले थरको मान्छेले पहिलो पटक पत्ता लगाएको वा खाएको हुनाले यसको नाम आलु रहेको हो कि ? भन्छन्- आलु पहिले कसैले खाँदैनथ्यो, तर अनिकाल परेको बखत उसिन्ने कुरा केही नपाएर सायद कुनै बूढाले आफ्नो बूढीलाई भन्यो होला- “आ, लेन त्यही गाँठा उसिनेर खाऊँ ।“ यसरी ‘आ लेन’ भनेकोले यसको नामै आले रहेको र खाँदा साह्रै मीठो भएकोले आलेलाई प्रेमपूर्वक पुकारी ’आलु’ भनेको पनि हुन सक्छ ।

मान्छे भन्छन्- गोलभिँडा आलुको ठिमाहा छोरो हो, तर बोट उस्तै भए पनि एउटाको जन्म जराबाट, अर्काको जन्म हाँगाबाट हुने हुँदा यो तर्क खालि पहिलेपहिले गोलभिँडा खान पल्केका बाजेहरूले छाँटेको गफ मात्रै हो जस्तो मलाई लाग्छ । बरू, साँच्चै आलुको नातागोता नखोजी नछाड्ने हो भने पिँडालुसित सोध्नुपर्छ । पिँडालु आलुको बाबु हो, त्यो किट्न सकिन्न तापनि आलु र पिँडालुमा रगतको नातो छ भन्ने कुरा दुवैको मिल्दोजुल्दो नामले बताउँछ । एक शब्दमा दुवैको जात कन्दमूल र पेसा तरकारी-कारबार हो । उपव्यवसायमा पिँडालु कहिलेकाहीँ मस्यौरा उद्योगमा सहयोग दिन्छ र यदाकदा घेवारेको तौल पुगेन भने भरथेग पनि गर्छ । यसबाहेक पिँडालुको त्यति प्रसिद्धि छैन, जति आलुको ।

पोलिएर, उसिनिएर, पाकेर, साँधिएर, तारिएर, चप, पकौडी, कट्लेट आदि विभिन्न परिकारमा परिणत भएर जुन बेला जस्तो चाहियो उस्तै बन्न सक्ने आलुको व्यक्तित्व साँच्चै नेपाली बुद्धिजीवीको जस्तै बहुमुखी छ । अर्थात् जसरी यहाँ एउटै व्यक्ति शिक्षक, दीक्षक, लेखक, सेवक, पत्रकार, अलपत्रकार, नेता, अभिनेता, जुन मौकामा जेको महत्त्व देखिन्छ, त्यसैमा फिट भइदिन्छ, त्यसै गरी आलु पनि जुन बेला जे चाहियो त्यसैमा फिट । ढिँडोलाई सितन चाहियो आलु फिट, जाँडलाई सितन चाहियो आलु नै फिट । ज्वाइँलाई झटपट खाजा ख्वाउनुपर्यो आलुको कबाफ, पाहुना धेरै लागे भने एक पाउ आलुमा एक पाथी पानी राखी छड्काइदिनोस् आलुदम काइदासाथ ।

त्यसैले आलु साद्वै जनप्रिय छ । विचार गर्दा आलु पिँडालुभन्दा निकै बाठोटाठो र अपटुडेट लाग्छ, त्यसैले यसलाई बूढो भन्न मेरो आलुप्रिय जिभ्रोले कदापि सक्तैन । बरू बूढो बाबुचाहिँ पिँडालु नै होला, किनभने यसका मुखभरि रौं र कत्ला देखिन्छन् । तर आलुको अनुहार सधैँ सुकुमार, मानौँ उठ्नेबित्तिकै अपटुडेट सैलुन पुगेर आएको युवकजस्तो । दाह्रीजुँगा नभएका भन्दा तपाईंहरू शङ्का गर्नुहोला- के आलु स्त्रीजाति त होइन ? कुन्नि बा गोलभिँडालाई आलुको ठिमाहा छोरो भनेको कारण आलुले पिँडालुसित लभ गर्दागर्दै पाएकोले पो हो कि ? जे होस्, को कसरी जन्मेको हो र कसको जात के हो त्यो नालीबेली लगाइरहनुपर्ने जरुरत छैन । मैले त आलुको सामान्य परिचय मात्र दिन खोजेको हुँ, मैले चिनेसम्म आलुको नाम आलु, आलुको थर आलु, आलुको बाबु-बाजे-बराज्यू आलु, आलुको छोरा-नाति-पनाति आलु, आलुको मामा- भानिज-साला-जेठान आलु, आलुको लोग्ने-स्वास्नी, प्रेमी-प्रेमिका, जार-नाठो सप्पै आलु ।

आलु कस्तो मिलनसार छ भने गान्टोमा स्वयं गान्टेमूलादेखि लिएर अग्लोमा लौकासम्म, चुच्चेमा स्वयं चुच्चेकरेलादेखि लिएर बुच्चेमा परबरसम्म, खादिएकोमा गुन्द्रुकदेखि लिएर बाँधिएकोमा कुरिलोसम्म, जेसँग जसरी मिलाइदिनुहोस् आलु ठ्याम्मै मिलिहाल्छ । त्यसैले धनी, गरिब, मानी, मगन्ते, विद्वान्, लम्फू, बुद्धिमान् लट्ठू साराका भान्सामा आलुको समान सम्मान छ, समान प्रवेश र प्रतिष्ठा छ । यस अर्थमा आलुलाई समाजवादी, समन्वयवादी, साम्यवादी तपाई जे नाम दिनुहोस्, वस्तुतः आलुको मूल सिद्धान्त आलुवाद नै हो । जतिसुकै समानताको आदर्श राखे पनि आफूआफूमा मेल नगर्नु आलुवादको विशेषता हो । आलु वणर्ले रातो र सेतो हुन्छ, सायद अफ्रिकाका फाँटतिर काला आलु पनि होलान् । तर अहिलेसम्मको अध्ययनमा सेतो आलु नै ठालु मानिन्छ । त्यसैले सेतो र रातो आलुको भाउमा मसिनु र उसिनुको जत्तिकै फरक पर्दछ भने सेतो र कालोमा चाहिँ मार्सी र कोदोजत्तिकै । त्यस्तै फलाइका, तछाइका, कटाइका, पकाइका भेदले पनि आलुलाई विभिन्न वर्गमा बाँड्न सकिन्छ, जसको वणर्न गरेर यहाँ साध्य छैन ।

कसैलाई ढाक्रेवाट सोझै भन्सारअड्डाको हाकिम हुने काकताली पो र यता बहाली गरेको भोलिपल्टै उता जेठी सासूको अपुताली पनि पर्‍यो भने हामी भन्छौ – फलानाको तालुमा त आलु फलेछ । यसरी फल्ने आलुलाई न मल चाहिन्छ, न जल, न माटो चाहिन्छ, न स्थल । कसैको रौँ पनि उम्रन नसकेर बाँझो पल्टिरहेको तालुमा पनि रोप्नु न गोड्नुसित आलु फलिदिन्छ । यसरी तालुमा आलु फलेपछि मगजमा पिँडालु भरिएका र मुटुमा नालु बेरिएका भलादमी पनि ठालु हुन्छन् । जसको तालुमै आलु फल्छ, उसलाई तरकारी-समस्याले त के पिर्थ्यो र, सरकारी नियमकानुनले पनि केही लछार्न सक्तैन । त्यसैले आलु परम भाग्यको प्रतीक हो, जो लालुमा फलाउन सक्यो भने आफ्नो जीवन मात्र होइन, सालीपट्टिका सात पुस्ता र भिनाजुपट्टिका नौ पुस्तासम्म सङ्कटमुक्त हुन्छन् ।

तर एकातिर परम सौभाग्यको प्रतीक गनिने हाम्रो महामान्य आलु अर्कातिर दुर्भाग्यको गाली पनि भइदिन्छ । हिँड्दाहिँड्दै कसैले तपाईलाई “ए फलानाले त आलु खाएछ नि थाहा पाइस् ?” भनी सुनायो भने कहिले, कहाँ, कसरी र कति प्लेट आलु खाएछ भनी बुझ्नु भन्दा पहिल्यै ‘हरे शिव’ भनी अपसोच प्रकट गर्नुहुन्छ । दुनियाँमा कोको केके खान्छन् केके ? कोही माड खान्छन् त कोही जाँड खान्छन्, कोही जुस खान्छन् त कोही घूस खान्छन्, कोही ताली खान्छन् त कोही अपुताली खान्छन् । यी सबै खाएको सुन्दा तपाईंलाई कुनै अपसोच लाग्दैन (पाए आफै उडाउनुहोला बरू) तर कसैले आलु खाएको सुन्नासाथ मुख बिगारेर च्चः च्चः भन्ने किन ? किनभने यहाँ सबै थोक खाए पनि आलु खान हुन्न, फलानाले आलु खायो भन्नुको मतलब उसले परीक्षामा पुल्टुङबाजी खाएछ या आलु भनी आफ्नै जिभ्रो टोकेर परमधामको बाटो तताएछ भन्ने बुझिन्छ । अब तपाईं नै भन्नोस्, जुन आलु तालुमा फल्दा मान्छे ऐश्वर्यशाली भनिन्थ्यो, यही आलु खाएछ भन्दा गुल्टिएछ भन्ने बुझिन्छ भने आलु आफैँ सौभाग्यको वस्तु हो कि दुर्भाग्यको ? आलुवादी दर्शनमा यो महत्त्वपूर्ण प्रश्न हो ।

जिभ्रो मिठ्याउन होस् वा भुँडी उक्स्याउन, आलु सबै खान्छन् । तर कसैलाई आलु खान लागेकै बखत “तपाईंले आलु खानुभो कि क्या हो ?” भनेर मुस्कुराई सोध्नोस्, त्यही आलुको चौटोले तपाईंको तालु ताक्छ । कस्तो विचित्रता, आलु खाए पनि मान्छे आलु खाएको कुरा सकार्न सक्तैन । सायद यसैले होला ‘आलु खाएर पेडाको धाक’ लगाउने चलन चलेको । उसिनाको भात हसुरेर मसिनाको भुजा ज्यूनार गरेँ भन्नेदेखि लिएर बम पड्काई शान्तिको अभियान चलाएको भन्नेसम्म दर्जादर्जाका धक्कुबाजहरू संसारमा पाइन्छन् । वास्तवमा यी सबै आलु खाएर पेडाको धाक लगाउने हुन्, अर्थात् कर्मले गरेका नीचतालाई धाकले ढाक्नु आलुवादको धार्मिक पक्ष हो, जो बीसौँ शताब्दीका प्रत्येक व्यक्तिले पालन गर्ने पर्छ ।

तर आलु त्यति तुच्छ वस्तु कहाँ हो र जसलाई पेडाको तुलनामा यत्रो इन्सल्ट गरिएको छ । भनूँ भने कति हलुवाई दाजुलाई पेडा बनाउन मद्दत गर्दो हो- यही आलुले । मान्छेलाई बैगुनी भन्नुपर्ने कारणै यही हो, ऊ गुणको पारख गर्नुको साटो बेइज्जती गर्छ- कसैको राम्ररी टाइम नदिने घडी रहेछ भने प्वाक्क भनिदिन्छ- यो कस्तो आलुघडी । यसै हो भने भोक, रोग र शोकले सुकेर सामर्थ्यहीन भएका आजका लाखौँ मान्छे के साँच्चै आलुमान्छे होइनन् त ? किन होइनन् ? आलु खाएर पेडाको धाक नलगाउने हो भने वास्तवमा आलु नै मान्छे र मान्छे नै आलु हो- त्यसैले कहीँ उसिनिन्छ, कहीँ कबाफ लाग्छ ।

तर जेसुकै होस्, म सधैँ आलु खान्छु, तर मलाई सधैँ आलु खान डर लाग्छ किनभने म पनि बीसौँ शताब्दीकै आलुमान्छे, जसको कर्म हो आलु खानु, तर धर्म हो आलु खाएर पेडाको धाक लगाउनु ।

त्यसैले आलुको बारेमा लेखिएको यो निबन्धलाई कसैले आलु-निबन्ध भन्छ भने भनिरहोस्, मेरो दृष्टिमा यो पूरापूरा पेडा-निबन्ध हो ।

०००
भैरव पुरस्कार गुठीद्वारा प्रकाशित  भैरव  कृतिबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डाढो

डाढो

भैरव अर्याल
हराम पाँडे हजुर

हराम पाँडे हजुर

भैरव अर्याल
वेदजात्रा

वेदजात्रा

भैरव अर्याल
साँढे

साँढे

भैरव अर्याल
0
Would love your thoughts, please comment.x
()
x