सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हैट, यो कस्तो सपना देखिएछ !?

भित्र प्रवेश गरिसकेपछिनिकै चाक्लो आँगनको बीचमा करिव छ फिट अग्लो र त्यति नै चौडाइको उड्कलमाथि निखुर कालो रङ्गमा निकै ठूलो आकारको कौवाको सालिक देखिन्थ्यो ।

Nepal Telecom ad

आज विक्रम संवत २०८८ सालको भदौ २३ गते, वासुदेव शर्मा लुइँटेल कीर्तिशेष भएको पूरा २५ वर्ष लाग्यो । नेपाली हास्यव्यङ्ग्यको जगमा पर्याप्त मल र जल समर्पण गर्ने दुई विख्यात हास्यव्यङ्ग्य हस्ती भूतको भिनाजु अर्थात वासुदेव शर्मा र भैरव अर्यालमध्ये वासुदेवको २५ औँ स्मृति दिवस । अघिल्लो दिन बेलुका खै किन कुन्नि अलि छिटै निद्रा परेन, हास्स्यव्यङ्ग्य प्रतिष्ठानद्वारा आयोजित वासुदेव स्मृतिसभामा भोलि सबेरै जानुपर्ने कुरा मनमा खेलिरह्यो । वासुदेवको पछिल्लो जीवनकालमा आफूले प्राप्त गरेको सान्निध्यका सम्झनाहरू क्रमशः तरेली पर्दै आए, झन निद्रा बिथोलिँदै गयो । मध्यरातसम्म ओल्टोकोल्टो फेर्दैरहेकोसम्म याद छ, कतिखेर भुसुक्क निदाइएछ थाहै भएन ।

०००

बिहानीको घामले धर्ती चुमेको केही समयपछि म पुगेको छु एउटा पवित्र तीर्थस्थल, हातमा पहेँलपुर फूलको गुच्छा छ । राजधानीको पश्चिमदक्षिण अलि उच्चाइलो भूभाग नयाँ नैकाप नपुग्दै ठूलो अग्लो पिपलको चौतारो भन्दा थोरै तल, व्यस्त राजमार्गसँगैको ढुङ्गेअड्डा । सडकलाई छोडी देब्रे मोडिएर सिधा पूर्वतर्फ २५ कदम जति अगाडि बडेपछि परम्परागत शैलीमा बनेको तर अत्याधुनिक ‘गेट’सँग मेरो जम्काभेट हुन्छ । त्यही गेटभित्र थियो नेपाली हास्यव्यङ्ग्य सिर्जनाकर्मीहरूको पवित्र, सम्मानित, आस्थाको एउटा अजराअमर धाम । सुपूजित तीर्थस्थल । भित्रबाट केही कल्याङ्मल्याङ आवाज आइरहेको सुनेपछि मभन्दा पहिले नै तीर्थस्थलमा केही तीर्थालुहरू आइसकेका रहेछन् । धत्तेरी मै पो अलि ढिलो भएछु कि क्या हो ! ढोकाबाट भित्र छिर्दाछिर्दै सिस्नुपानी नेपालका पूर्व अध्यक्ष चट्याङ् मास्टर र वर्तमान अध्यक्ष लक्ष्मण गाम्नागे एउटै गाडीमा भित्र छिरेको मैले देखेँ । उ, मदनकृष्ण र हरिवंशको जोडीलाई लिएर एउटा अर्को कार पनि पछिपछि छिर्‍यो । हेर्दाहेर्दै दुवै गाडी दाहिने मोडिएर पार्किङस्थल पुगे । जहाँ १५/२० वटा गाडी लस्करै पार्क गरिरहेका थिए ।

भित्र प्रवेश गरेपछि थाहा भयो- भैरव पुरस्कार गुठीका अध्यक्ष रोचक घिमिरे, उपाध्यक्ष विजय चालिसे, बसन्त रिजाल, निर्मल अर्याल लगायत अन्य पदाधिकारी र अरुअरु हास्यव्यङ्ग्यकारहरूको बाक्लो उपस्थिति भइसकेको रहेछ । अरु थपिनेहरू पनि थपिँदै छन् । भित्र प्रवेश गरिसकेपछि निकै चाक्लो आँगनको बीचमा करिव छ फिट अग्लो र त्यति नै चौडाइको उड्कलमाथि निखुर कालो रङ्गमा निकै ठूलो आकारको कौवाको सालिक देखिन्थ्यो ।  कौवाको एकातर्फको पखेटा चाहिँ फ्यार्र परेर थोरै तल झरेको थियो । हातमा फूलको गुच्छा लिएर आउनेहरूले त्यही कागे सालिकको फेदमा क्रमैसँग गुच्छा अर्पण गरिरहेछन् । हेटाैडाबाट आएका संप्रसले काैवाकै सालिक चाहिँ किन ? वासुदेवकाे पाे सालिक हुनु पर्ने हैन र ? भनि साेध्दै थिए । उनलाई लक्ष्मण गाम्नागेले वासुदेवले मेराे सालिक बनाएर टाउकामा काैवालाई हगाउन मन छैन भनी धेरै पटक भनेकाे कुरा पढ्नु पर्याे नि भन्दै सम्झाएकाे सुनियाे ।

निकै वृद्ध देखिने जयराम शर्मा, उत्तमकृष्ण मजगैयाँ, नरेन्द्रराज पौडेल, पिँडालु पण्डित, आर.सी.रिजाल, हेटौडाबाट भर्खरै आइपुगेका हास्यकर्मीहरूको हुलमा संप्रस पौडेल, राजकुमार लामिछाने, किसन पौडेलहरूको हँसिलो अनुहार मैले प्रष्ट देखेँ । झापाका चूडामणि रेग्मी र काठमाडौंकै श्रीधर खनाल, रामकुमार पाँडे, विष्णु प्रभात, मुन पौडेल, यादव खरेलहरू, रमेश खकुरेल (भाइ साब) गुच्छा चढाइ सकेपछि सालिकको दायातर्फ लौरो टेकेरै गफिँदै थिए । पोखराबाट हिजैको नाइट बस चढेर अहिले भर्खरै ढुङ्गेअड्डा ओर्लिएका विश्व शाक्य र शेषराज भट्टराईले पनि हस्याङफस्याङ गर्दै फूलको गुच्छा त्यही सालिकमा चढाए ।

सिस्नुपानीका अर्जुन पराजुली, मनोज गजुरेल, धीरेन्द्र प्रेमर्षि, टङ्क आचार्य, सरोज घिमिरे, देवी घिमिरे, हरिकला उप्रेती, माणिकरत्न शाक्य, थरेन्द्र बराल, चक्र दवाडीहरूको डफै कौवा सालिकको पृष्ठ भागमा उभिएर गफिँदै गरेको देखियो । स्याङ्जाकी गायत्री परिरोशनी, काठमाडौंकै सुमी लोहनी, धादिङका बद्री दाहाल, पाल्पाका चोलेश्वर शर्मा, झापाका कोमल पोख्रेल, चूडामणि वशिष्ठ, होम सुवेदी, नुवाकोटका केशवराज अर्याल, उदयपुरका माधव पोख्रेल गोज्याङ्ग्रे, पुण्य कार्की, विराटनगरका लक्ष्मण नेवटिया, धनुकटाका धनकुटे कान्छा, झापाकै तिलक लुइँटेल, जीवन दाहाल र कृष्ण निराकार, उर्लाबारी माेरङका इरान राईसमेत त्यो भीडमा मैले अलग्गै चिनेँ । भाउपन्थी, श्यामल, विमल भौकाजी र विमल निभा, प्रेम वलीहरू अर्को लङ्मा उभिएर कौवाको सालिक निहालिरहेका देखिन्थे । अर्को छेउमा दुर्गा बराल, अविन, बासु, रविन, ढिकेड, राजेश लगायतका कार्टुनिष्टहरू छापाखानातिरको ब्लक हेर्दै थिए । सन्तोष पन्त, बसुन्धरा भुसाल, दीपक गिरी, धुर्मुस, राजाराम पौडेल लगायतका हास्यकलाकारहरू एकातिरको पङ्क्तिमा देखिन्थे ।

हास्यव्यङ्ग्य भनेपछि मरिहत्ते गर्ने गोकर्णेश्वर, जोरपाटी, आरुबारी र दक्षिणढोका (भैरवको गाउँ) सम्मका मानिसहरू आइपुगेका थिए । उता भारतीय भूमिमा नेपाली हास्यव्यङ्ग्यको झण्डा फहराउनेहरूको अर्को डफा कृष्ण प्रधानको नेतृत्वमा उपस्थित थियो । दार्जिलिङ, सिक्किम, असमदेखिका प्रतिनिधि हास्यव्यङ्ग्यकारहरू त्यहाँ जुटेका थिए । मुख्यद्वारको बायाँतर्फ वासुदेवका प्रिय भाइ (छोरा) डा. विद्यादेव, छोरी डा.सुषमा, बुहारी डा. नन्दिता, नाति विनयदेव, अन्य नातिनातिनाहरू पङ्क्तिवबद्ध भएर आगन्तुकहरूलाई स्वागत गरिरहेको दृश्य झनै लोभलाग्दो देखिन्थ्यो ।

०००

वासुदेव हास्यव्यङ्ग्य प्रतिष्ठानको त्यो भव्य भवनका तीनवटा ब्लक थिए । सालिकको सिधापूर्व तीनतले एउटा ब्लकले २०५८ सालमै सिस्नुपानी नेपालले वासुदेवलाई प्रमुख अतिथि बनाएर आयोजना गरेको दहीच्युरा काव्यगोष्ठीको ऐतिहासिक स्थललाई ओगटेको थियो । त्यसको भुइँतलामा अत्याधुनिक छापाखाना सञ्चालित थियो । छापाखानामा ‘छ्याकन’को ७५ औँ संस्करणको अन्तिम फर्मा छापिँदै थियो । ‘डाढो’को ५० औँ संस्करण भने ग्लुबाइण्डिङ हुँदै रहेछ । प्रेस अपरेटरले बताए- “‘डाडो’ र ‘छ्याकन’ ५०, ५० हजारप्रति छाप्दा पनि छ महिनापछि बजारमा सकिन्छ । ‘भालुपराण’, ‘सेलको माला’ र भैरवका अरु कृतिहरूको हालत पनि त्यसै छ । पाठक र विक्रेताहरूको मागलाई आपूर्ति गर्न प्रेसको क्षमताले भ्याइरहेको छैन ।” दोसो तला कटिङ मेसिन, कागज र प्रकाशित भएका पुस्तकहरूले टनाटन भरिएको देखिन्छ । अनि तेस्रो तलामा चाहिँ प्रतिष्ठान र प्रेस कामदारहरूको लागि आवास व्यवस्थापन गरिएको छ ।

मुलगेटबाट सिधा उत्तर अर्थात कौवाको सालिकभन्दा पृष्ठभागको भवन दोस्रो ब्लक हो । यो पनि तीन तलाकै छ । पहिलो तलामा कौवा प्रकाशनले ओगेको छ, प्रकाशनका सबै सबै व्यवस्थापन त्यहीँबाट हुने गरेको छ, आधा दर्जन सम्पादकहरूको कार्यकक्ष त्यहीँ अटाएको छ । दोस्रो र तेस्रो ब्लक प्रतिष्ठानको कार्यालय, पदाधिकारीहरूको कार्यकक्ष र मुख्य निर्देशकको कार्यकक्ष व्यवस्थित छ । तेस्रो ब्लक चाहिँ पहिले वासुदेवको पुरानो आवास भवन रहेको स्थानमा तीन तलामै विस्तारित छ । ठूलो हलजस्तो देखिने पहिलो तलामा कौवा प्रकाशनद्वारा पहिलेदेखि अहिलेसम्म छापिएका हास्यव्यङ्ग्य प्रकाशनहरू बडो आकर्षक ढङ्गले ‘डिस्प्ले’ गरिएको छ । फराकिलो ढोकाबाट छिर्नेबित्तिकै देब्रेतिरबाट एक फन्को मारेर दाहिने हुँदै फेरि ढोका छेउ आइपुग्दा, बीच बीचमा शिसाका पारदर्शी दराजहरूमा सजाएर राखिएका प्रकाशित सबै पुस्तक ग्रन्थ र अन्य सामग्रीहरू अवलोकन गरिसकिन्छ ।

प्रतिष्ठानका निर्देशक कुमुद लुइटेलले अगुवाइ गर्दै हामीलाई दोस्रो तला उकाल्नु भयो । यो तला पनि पूरै हलजस्तो देखिन्थ्यो । यसको पश्चिमी भित्ता पूरै ढाकेर नेपाली हास्यव्यङ्ग्यका नवग्रहरूको एउटै सिङ्गो तेलचित्र देखियो, चारवटा ग्रहआकृति दायाँ, चारवटा बायाँ र बीचमा चाहिँ वासुदेवको अहिले भरखरै बोलिहाल्नुहोला कि जस्तो चित्र देखिन्थ्यो । हलभरि पारदर्शी शिसाद्वारा बनाइएका अनेकौँ क्याविनहरू छन्, हरेक क्याविनमा वासुदेवले प्रयोग प्रचलन गरेका सरसामग्रीहरू व्यवस्थित ढङ्गले सजाएर राखिएका छन् । एउटा अलि ठूलो आकारको क्याबिनमा हामी पुग्यौँ । त्यहा वासुदेव सुत्ने गर्नुभएको भुइँखाट, खाटमाथि ओढ्ने, ओछ्याउने सिरक डसना, तकिया, छेउका काठे ह्याङ्गरमा वासुदेवको कस्मिरे कोट, सेता लबेदा सुरुवाल, दराजमै पहिले जसरी नै राखिएका पुस्तकहरू, पुरानो पानासोनिक टेपरेकर्डर, क्यासेट, चक्काहरू, कलम, कागज, मसिदानी, तल भुइँमा दरी, दरीमाथि खोल हालिएका पहिलेकै चकटीहरू । पहिले मूलघरको पूर्वतिर रहेको एकतले कटेरोमा रहेको उहाँको पुस्तकालय करिब करिब उस्तै ढाँचामा । उबेलाकै काठ र स्टील दराजहरूमा उसैगरि व्यवस्थित गरिएको । पुरानो टेपमा वासुदेव स्वयमले रेकर्ड गर्नु भएका भैरवदेखि बलमकनद, राजेश्वर देवकोटा, भवानी भिक्षुदेखि भीममिधि तिवारीसम्मका साहित्यकारहरूसँग गफिँदाका कुराकानी रेकर्ड आधुनिक प्रविधिमा रुपान्तर गरी कम्प्युटर सिस्टममा अटो प्ले भएर मधुर स्वरमा सुनिरहुँ लाग्ने गरि गुन्जिइ रहेको ।

तेस्रो तला उक्लिँदा हामी पुग्यौं एउटा अत्याधुनिक भव्य स्टुडियोमा । आधा दर्जन हास्यकर्मीहरू र त्यतिनै प्राविधिक जनशक्तिका साथ अडियो, भिडियोमा हास्यव्यङ्ग्य कार्यक्रमहरूको उत्पादन गरिरहेका छन् । स्टुडियोका मुख्य प्रबन्धकले हामीलाई जानकारी दिए- हरेक दिन टेलिभिजन च्यानलहरू, रेडियो र एफएम स्टेशनहरूले खरिद गर्न चाहेका अडियो भिडियोका हास्यव्यङ्ग्य कार्यक्रमहरू दर्जनभन्दा बढी छन् । हामी यही स्टुडियोमा उत्पादन गरेर उनीहरूको माग पूरा गरिरहेका छौँ । दुइवटा हास्यव्यङ्ग्य सिरियल त मनोज गजुरेलको टिमले यही स्टुडियोमा सुटिङ गर्ने गरेका छन् । हिजो मात्रै सन्तोष पन्तको अर्को टिम अर्को हास्य सिरियल सुटिङका निम्ति सम्झौता गर्न आएको थियो । सायद एक दुई दिनमा सम्झौता होला ।”

उतापटिको अर्को सानो हलमा पूर्वीय र पाश्चात्य हास्यव्यङ्ग्य अध्ययन, अनुसन्धानशालाको रूपमा व्यवस्थित गरिएको छ । जहाँ टाढा टाढाबाट आएका हास्यव्यङ्ग्यका अनुसन्धाताहरूलाई हप्तौँसम्म पनि आवासीय सुविधा प्रदान गर्ने गरिएको छ । हास्यव्यङ्ग्यका मासिक, द्वैमासिक, अर्धवार्षिक र वार्षिक हास्यव्यङ्ग्य गोष्ठी, प्रवचन, शिविर, प्रशिक्षण, घोषित पुरस्कार, प्रोत्साहन आदिको व्यवस्था प्रतिष्ठानको यही भवनबाट गरिँदै आएकाको छ । प्रतिष्ठानको नेतृत्व र अगुवाइमा यसरी हास्यव्यङ्ग्यको प्रकाशन, उत्पादन, वितरण, प्रशारण सबै कार्यहरू सुचारु भइरहेका छन् । हरेक दिन सयौँ हास्यव्यङ्ग्यप्रेमीहरू यो हास्यव्यङ्ग्यको तीर्थस्थलमा आउँछन्, हेर्छन्, अवलोकन गर्छन् आफूलाई मन परेका सामग्रीहरू लिन्छन्, हाँस्छन् रमाउँछन् र फर्किन्छन् ।

लस्कर लागेर सबै अवलोकन गर्दै हामी ठूलो सभाकक्षमा प्रवेश गर्‍यौँ । अत्याधुनिक लाइट सिस्टमले सभाकक्ष झकिझाउ थियो । चारैतिरका भित्तामा दिवङ्गत नेपाली हास्यव्यङ्ग्यकारका ठूलाठूला तस्विरहरू मुस्काइरहेका रहेका देखिन्छन् । निकै आकर्षक डिजिटल पर्दामा ‘हास्यदेव वासुदेवको २५ औँ स्मृतिसभा’ अङ्कित व्यानरमुनि वासुदेवको ठूलो तस्विर मुसुक्क मुस्काइरहेको थियो । डिजिटल ढङ्गले तयार साउन्ड सिस्टमबाट सभा शुरु हुने निर्धारित समयको सङ्केत-सूचना प्रशार हुँदै थियो… अब हामी केहीबेरमै यो सभा आरम्भ गर्नेछौँ …।

वासुदेव माड्साव बित्नुभएको २५ वर्ष पूरा भइसक्यो तर यो हास्यव्यङ्ग्य प्रतिष्ठानले उहाँलाइ जीवित राखेको छ, जीवन्त बनाएको छ । लाग्छ उहाँ यहीँ हुनुहुन्छ, नेपाली हास्यव्यङ्ग्यको विकास र सम्बर्धनका निम्ति अहिले पनि उहाँ सक्रिय हुनुहुन्छ । हास्यव्यङ्ग्यका क्षेत्रमा अर्को पुस्ता जन्माउन र हुर्काउन उतिकै जोश र जाँगरका साथ उहाँ जुटिरहनु भएको छ । क्रियाशील हुनुहुन्छ । जीवित हुनुहुन्छ ।

०००

“बाबा ! बाबा ! हजुर निद्रैमा हुनुहुन्छ, हुनुहुन्छ भनेर कराइरहनु पो भा रेछ ! सात बजिसक्यो, उठ्नोस् न बाबा !” यसो भन्दै मेरो ११ वर्षे नातिले घचघच्याएपछि पो म झल्याँस्स ब्युँझिएँ । हैट, कस्तो सपना देखेछु मैले त ! म जुरूक्क उठेँ र झ्यालको पर्दा हटाएँ । दक्षिणतर्फ गौर गरेर हेरेँ, ढुङ्गेअड्डाको सेरोफेरो सबै छर्लङ्ग देखिन्छ तर म ब्युझिनुभन्दा केही बेर अघि देखेको सपनामा नेपाली हास्यव्यङ्ग्यलाई व्यवस्थित ढङ्गले नेतृत्व गरिरहेको त्यो हास्यव्यङ्ग्य प्रतिष्ठानको नामोनिसाना कतै देखिएन । आखिर सपना न हो, हुनैपर्ने मात्र  कहाँ देखिन्छ र ?!

०००
२३ भदौ २०७९
फित्कौली अड्डा, कलङ्की
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad