साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फित्कौली धुलो टकटक्याउँदै उठेको छ

कुनै बेला प्रति महिना सवालाख भिजिटर अङ्कन हुने गरेको फित्कौली डट्कम पछिल्लो केही समय अलि सुस्ताएको थियो । प्रतिकूल अवस्थामा सुस्ताउनु छुट्टै कुरा हो तर यो अस्ताएको थिएन । सुस्ताएको बेलामा लागेको धुलो टकटक्याउँदै फेरि यो पुनर्जागृत भएको छ ।

Nepal Telecom ad

राज्य सञ्चालनमा सबै नीतिहरूको मेरुदण्ड भनेको राजनीति हो । पञ्चायती राजनीतिको अवसानपछि हामीले ल्याएको प्रजातन्त्र, लोकतन्त्र भनूँ या गणतन्त्र बिस्तारै गाँणतन्त्रमा फेरिँदै गएको यथार्थले हामी आम नागरिकलाई वाक्कदिक्क पारिरहेको छ । राजनीतिका नाममा देखिएको यो लुटतन्त्र अब उपरिढाँचाबाट क्रमशः तल झर्दै वडातहसम्म पुगिसक्यो । नेताबाट कार्यकर्तासम्म झरिसक्यो र उनीहरूका विकृत मनमस्तिष्कमा छिरिसक्यो । विसङ्गति र विकृतिले नढाकेकोको एक बित्ता जमिन पनि अब कहिँ नभेटिने भयो ।

विसङ्गत फोहोरको यो डङ्गुर जति अग्लिँदै जान्छ, हास्यव्यङ्ग्य सिर्जनाकर्म त्यत्तिकै मौलाउँदै जान्छ । तर हामी चाहन्छौँ हास्यव्यङ्ग्य मौलाउने पर्यावरण विनष्ट होस् । यसको अर्थ यो देशमा भ्रष्टाचार, अनाचार, दूराचार, पापाचार समग्रमा भन्दा अहिले चलिरहेको लुटतन्त्र समूल नष्ट होस् । विसङ्गत पर्यावरणलाई उधिनेर छ्याल्लब्याल्ल पार्दै सङ्गति निर्माणको कामना हास्यव्यङ्ग्यको अभीष्ट हो र फित्कौलीको अभीष्ट पनि यही हो । गालीगलोज र लाजभाँडको बोली हास्यव्यङ्ग्यको गोली हुन सक्दैन भन्ने मानक मान्यतालाई फित्कौलीले आरम्भदेखिनै आत्मसात् गर्दै आएको छ । यही मान्यतामा आधारित भएर हामी फित्कौलीको आगामि यात्रालाई निरन्तरता दिइररहेका छौँ ।

नेपाली हास्यव्यङ्ग्य साहित्यको अभ्युत्थानका लागि शुरु भएको सिस्नुपानी अभियानको लगत्तै प्रकाशन आरम्भ गरिएको हास्यव्यङ्ग्य प्रधान फित्कौली मासिक ४० अङ्कसम्म निस्केर रोकियो । क्याम्पसको पार्टटाइम जागिरबाट आएको पारिश्रमिक बालबच्चा र पत्नीका आँखा छल्दै प्रेसमा भुक्तानी गर्न गएको हिजो जस्तै लाग्छ, तर आज दुई दशक नाघिसकेछ । आफ्नै रहर वा लहड पनि ४० अङ्क निस्किएपछि लड्खडाउन थाल्यो ।

प्रविधिमा आईसकेको ठूलो परिवर्तनले फित्कौली नामको हास्यव्यङ्ग्य अभियानलाई जीवित राख्न एउटा अर्को सम्बल प्रदान गरेको हो । फित्कौली मासिक अब फित्कौली डट्कममा रुपान्तर भयो । देख्दा फित्कौलीको पल्टन देखिए पनि बिलकुल एकल प्रयत्नबाट आठ वर्ष अघिदेखि वेभसाइटको सागरमा फित्कौली डटकम तैरिइरहेको थियो । वेभको दुनियाँमा सञ्चार सुविधाले छलाङ मारिसक्दा पनि त्यसको गतिलाई फित्कौलीले समात्न सकिरहेको थिएन । कारण अनेक छन्– मेरो आफ्नै अस्तव्यस्तता, आर्थिक अभाव र प्राविधिक विज्ञताको कमी ।

त्रिविबाट निवृत्त भइसकेपछि मेरो एक खालको अध्यापन अस्तव्यस्तता पनि सकियो । किफायत भएको अलिकति समय खर्च गरेर फित्कौली हास्यव्यङ्ग्य अभियानको भाग्य र भविष्यका बारेमा थोरै चिन्तन मनन गरेँ । यसको जगमा मल हाल्ने वासुदेव शर्मालाई सम्झिएँ । हौसला एवम् प्रोत्साहित गर्ने रमेश विकल, जनक हुमागाइँ, भवानी घिमिरे, श्याम प्रसाद, गाविन्द भट्ट, मोराश, राजेन्द्र सुवेदी, लक्ष्मण लोहनी, घिमिरे मैदेली र केवलपुरे किसानहरूलाई सम्झिएँ, जो अहिले यस धरामा छैनन् ।

भैरव अर्याललाई सिरानी हालेर रोचक घिमिरे, चूडामणि खनाल (जो अहिले ओछ्यानमै थला पर्नुभएको छ), चूडामणि रेग्मी, विश्व शाक्य, शेषराज भट्टराई, डा.मुकेश चालिसे, राकुपा, विष्णु प्रभात, खलु, लक्ष्मण गाम्नागे, चट्याङ मास्टर, मनोज गजुरेल लगायत सिस्नुपानीको सिङ्गै टिम, भैरव पुरस्कार गुठी र बासुदेव विद्यादेव लुइटेल गुठी समेत सवैसवैले मौन रुपमै फित्कौलीको हास्यव्यङ्ग्य अभियान अजराअमर रहोस् भन्ने कामना गरिरहे जस्तो लाग्यो ।

पारिवारिक सरसल्लाह त हुने नै भयो, यसका अतिरिक्त नजिकका भाइसाथीहरुसँग पनि सल्लाहसाउती गरियो । एकल प्रयत्नबाट मात्र यो अभियान अघि बढाउन सकिन्न, फित्कौलीले सामुहिकता र पूर्ण व्यवसायिकता ग्रहण गरोस्, यो आफै स्वचालित हुनेछ भन्ने निस्कर्षलाई आत्मसात् गरिएको छ । तदनुरुप यसको वेभ डिजाइनदेखि समग्र कायाकलेबरलाई फेरि एकपटक अत्याधुनिक वेभ प्रविधिमा रुपान्तरण गरिएको छ । राजधानीको कलङ्कीमा यसको व्यवस्थित कार्यालय स्थापित गरिने छ र प्रदेश एवम् जिल्ला तहमा यसका सहयोगी प्रतिनिधिहरूको व्यवस्थापन गरिने छ भने वैदेशिक क्षेत्रमा शुभेच्छुहरूको छुट्टै सहयोगी संयन्त्रको अवधारणा तयार गरिएको छ ।

फित्कौलीलाई यो अवस्थासम्म ल्याइपुर्याउन धेरैले दिनु भएको सबै प्रकारको साथ सहयोगप्रति हामी शिर निहुराएर कृतज्ञता जाहेर गर्दछौँ । आरम्भदेखि नै नेपाली हास्यव्यङ्ग्यमा स्थापित स्रष्टाहरूले सहृदयतापूर्वक प्रदान गर्नुभएका सामग्रीहरू यसभित्र अहिले पनि सङ्गृहित छन् । प्रथमोप्रथम फित्कौलीमा रचना प्रकाशित गर्दै हास्यव्यङ्ग्य सिर्जनाकर्ममा ओर्लिएर अहिले स्थापित हुन लागेका नवस्रष्टाहरू पनि छन् । फित्कौलीमा कार्टुन कोरेर यस क्षेत्रमा प्रवेश गर्ने कलाकारहरू पनि छन् । विशेषाङ्ककै खर्च प्रायोजन गर्ने शुभेच्छु मित्रहरू पनि छन् ।

अहिलेसम्म झन्डै आठ हजार सामग्रीको यो विराट सङ्ग्रह फेरि पनि तपाइँ पाठक भिजिटरहरूमै समर्पित छ । कुनै बेला प्रति महिना सवालाख भिजिटर अङ्कन हुने गरेको फित्कौली डट्कम पछिल्लो केही समय अलि सुस्ताएको थियो । प्रतिकूल अवस्थामा सुस्ताउनु छुट्टै कुरा हो तर यो अस्ताएको थिएन । सुस्ताएको बेलामा लागेको धुलो टकटक्याउँदै फेरि यो पुनर्जागृत भएको छ ।

वेभमा प्रवेश गरेदेखि निरन्तर आठ वर्षसम्म प्रविधिमार्फत साथ दिने विनोद गिरी र प्रकाशनको आरम्भदेखि अहिलेसम्म कार्टुन बनाएर अथकित सहयोग प्रदान गर्ने राजमानप्रति फित्कौली सदासदा आभारी छ । इतिहास निर्माता कसैलाई पनि हामी कहिल्यै बिर्सने छैनौँ । अबको प्राविधिक यात्रामा वेभ दुनियाका पारखी मित्र सञ्जीव बर्मा जोडिनुभएको छ । उहाँलाई फित्कौलीको न्यानो स्वागतम् ।

फित्कौली डट्कमलाई नेपाली हास्यव्यङ्यको एउटा सारथि सम्झेर सदाझैं आफ्ना अमूल्य रचना, कृति र कार्टुनहरू उपलब्ध गराउन हामी समस्त स्रष्टा एवम् नव स्रष्टा मित्रहरूप्रति हार्दिक आग्रह गर्दछौँ । देश विदेश जहाँ भए पनि फित्कौलीलाई माया गरिरहनुभएका मित्रहरूप्रति फेरि पनि त्यो अमूल्य सहयोगलाई निरन्तरता प्रदान गर्न विनम्रतापूर्वक अनुरोध गर्दछौँ ।

आउनोस् सहयात्रामा जोडिँदै नेपाली हास्यव्यङ्ग्यको अभ्युत्थानमा एक साथ डटौँ । सबै क्षेत्रमा सुसङ्गति कायम होस् भनेर विसङ्गतिको लेथ्नु काड्ने हास्यव्यङ्ग्यको यस अभियानमा मन खोलेर सहभागी होउँ ।

✍नरनाथ लुइटेल
प्रधान सम्पादक
पुस ८, २०७८

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x