नरनाथ लुइँटेलबिब्ल्याँटो गति
उनीहरूकै हाेमा हाे मिलाऔँ र उनीहरूसँगै आफूलाई पनि विसर्जनकाे अँध्याराे अथाह सुरूङभित्र घचेटाैँ । सम्झनाेस् हिजाेका हाम्रा तमाम सङ्घर्ष, समर्पण, त्याग र वलिदान यही बिब्ल्याँटाे गतिका निम्ति समर्पित थिए ।

नरनाथ लुइँटेल :
हैन यो कस्तो आसर्जे देख्नु परेको हो यी आँखाले ! सुल्टो-सग्ल्याँटो दृश्य मात्र हेर्नमा अभ्यस्त आँखा रनमुल्ल परेका छन् । किन भने धर्तीको चतुर-चण्डाल मान्छे आफ्ना सारसौदै दुई खुट्टालाई अनाहकै ठाडा पारी टाउकाले टेकेर हिँड्न थाल्यो । खुट्टा हिँड्नकै निम्ति थिए । अहँ, उसलाई अब खुट्टाले हिँडेर पुगेन । संसार हेर्नका निम्ति सुन्दर दुई आँखा थिए, तर उसलाई आँखाले हेरेर पुगेन । खानका निम्ति एक बित्ता च्यातिएको गतिलो मुख छँदै थियो । मान्छे त्यो मुखले खाएर मात्र पटक्कै अघाएन । मान्छेको जातमा आएको यो प्रवृत्तिगत परिवर्तन देखेर अरु जीव-जन्तु तीनछक्क पर्न थालेका छन् । अरू त अरू परै जाओस् तन्दुरूस्त आफ्ना दुई पाँसुला हुँदाहुँदै ती दुवै डुँडुला आकाशतिर फर्काएर हरिविजोकसँग टाउको उभिन्डो पारी भुइँमा घिसार्दै हिँडिरहेछ मान्छे । धर्तीको यो नवौँ आश्चर्य हो। होइन भन्ने को ?
यो लखरठ्याकले आज कसलाई पाँडेगाली गर्न यसरी भूमिका बाँध्यो भन्ने लाग्यो होला तपाईंलाई । अहँ, यो कुरो मरेकाटे हुँदै होइन । कसैलाई गाली गर्नु परेकै छैन। गाली नै गरिहाले पनि यो लखरठ्याकको गालीले कसैलाई केही लछारपाटो लगाइहाल्ने पनि हैन । लौ तपाईं नै भन्नुहोस् त यहाँ ककसले ककसलाई कति विघ्न गाली गरिरहेका छन् ? आखिर गाली खानेको एउटा रौँ समेत हल्लिएको छैन । अनि गाली गर्नेको मुख खुइलिएको पनि छैन । बरु उल्टै गाली खानेको फलिफाप हुँदो छ ।
गाली कसैका निम्ति ताली बनिरहेको छ त कसैका निम्ति फुपूको अपुताली बनेर उपस्थित भइरहेको छ । अनि व्यर्थैमा म कसलाई र किन गाली गरौं ? सत्य, म पनि यही धर्तीको एकदम विकसित प्राणी मध्येको एक एक मानिस हूँ। मेरा बराँठिएका दुई हात छन् । मान्छेको ज्यान जस्तो हुनुपर्ने हो दुरूस्त त्यस्तै ज्यान छ । गजधुम्मको भुँडी छ, नाक, मुख, कान, आँखा सबुत छन् । उस्तै परे पैदलै हिँडेर सैयौँ कोस पार गर्न सक्ने गठिला दुईवटा खुट्टा छँदै छन् । तर म आफै अहिले टाउकाले टेकेर हिँडिरहेको छु ।
हिंड्ने काम अब खुट्टाको होइन । खुट्टाले हिँड्ने जमानाले नेटो काटिसक्याे। अब त खुट्टाले हिँड्ने मान्छे मान्छे हुनै सक्दैन । हिजोआज ‘देखासिकी गरिखा अहारिसे मरिजा’ भनेको सुन्न छोडियो । तर यसको अर्थ अझै मरिसकेको छैन । बाँदर हाम्रा पुर्खा हुन् भनिंदै छ । र, हामीले बाँदरको देखासिकी गरेको भए पनि दुई खुट्टा र अगाडिका दुई हात टेकी हिँड्नुपर्ने थियो। तर त्यसो भएको छैन। हामी मान्छे खुट्टा ठाडो पारेर टाउकाले टेकी हिंडिरहेका छौँ । खुट्टाले टेकेर हिँड्ने काम त उहिले उहिलेका मान्छेको काम हो। उहिलेका कुरा खुइलिइ सके । टाउकाले टेकेर हिँड्नु आजको नवीन सभ्यता हो। असभ्य, पाखे र पामरहरू मात्र खुट्टाले टेकेर हिँड्छन् । वर्तमानको सभ्य मानिस टाउकाले टेकेर लुखुरलुखुर हिँडिरहेको छ । यो लखरठ्याक आफूलाई असभ्य जनावरका रूपमा प्रस्तुत गर्न चाहँदैन । अझ खुलस्त भनौं मलाई खुट्टाले हिँडेर असभ्यताको परिचय दिनु परेको छैन । टाउको उभिन्डो पारेर हिँड्नु अहिलेका हामी सभ्य र सौम्य मानिसहरूको निम्ति सर्वाधिक गौरवको विषय हो ।
वर्तमान साँच्चै नै उभिन्डोमय बनेको छ । कुनै पनि सुल्टो कुराले अब कुनै अर्थ राख्नेवाला छैन । टन्टलापुर घामले विपत्तासँग चिसो सिरेटो फालिरहेको छ । फलफूलले लटरम्म हुनुपर्ने वटवृक्षहरू आजन्म थाराजस्ता बनेका छन् । यो देखेर कसैको पारा तात्नु जरूरी छैन । धर्तीका उच्च सर्वाेच्च टाकुराहरू होचिएर मैदान चाटिरहेका छन् । आकाश आकाश रहेन अब त्यो पाताल बनिसक्यो । पाताल अब पाताल रहेन त्यो पनि हाम्रा पैतालामाथिको ब्रह्माण्ड बनिसक्यो । बित्ते पोखरीका मरन्च्याँसे भ्यागुताहरू सगरमाथा नाघ्नमा व्यस्त छन् । उनीहरूको पट्यारलाग्दो ट्यारट्यार सुमधुर सङ्गीतमा अनुवाद भइरहेको छ । सर्वोच्च हिमालबासी हिमचितुवाहरू जगर फैलाएर कोशीको सुखा बगरमा हाइ काडिरहेका छन् । परिस्थिति कतिविधि उभिन्डिएको छ भने जवाँमर्द ज्यूँदाहरू चिहानमा पुरिइसके अनि चिहानका नरकङ्कालहरू ठमठमती उठेर बाँसुरी फुकिरहेका छन् । अनि हामी खुट्टाले टेकेर हिंड्नुको न त कुनै तुक छ, न त कुनै तर्क छ । संसार उभिन्डो बनिरहेको बेला म मान्छे सुभिन्डो बनेर किन व्यर्थमा लाखे नाच नाचौँ हँ ?
हाम्रो भाषा-भेष, आचार-विचार, परम्परागत मान्यता र संस्कार पर्लक्कै पल्टिएर उल्टिई सकेका छन् । जागिर खानुको परम्परागत अर्थ उल्टिएर अब फुपूको श्राद्ध खाए झैं राष्ट्रिय ढुकुटी खानुमा परिणत भएको छ । सामाजिक सेवामा समर्पित हुनुको अर्थ डलर डकार्दै निम्छराहरूलाई हकार्नु हो भन्ने बुझिन थालेको छ । अगुवा हुनु भनेको सङ्कट र समस्या आईपर्दा तीनपाथी फोहरले सुरुवाल खराब गरी भगुवामा दर्ता हुनु हो । अनैतिकता भरिएको कन्टेनरमा घाँटीसम्म पुरिएर नैतिकताको गीता रट्नेहरू अगणित छाैँ । जनसेवाका स्वादिलो नारा दिँदै मेवा बटुल्नमा हामी माहिर छौँ । आमाको अस्मिता बेचेर नोटका गड्डा थुपार्नु हाम्रो शौख बनेको छ । जङ्गेकाे जडाउरीलाई सराप्दै मौका पर्नासाथ हामी कोतपर्व मच्चाउन तयार छौँ। के यो उभिन्ड्याइँको पराकाष्ठा होइन र ?
भत्काउनु भनेकै बनाउनु हो । बिगार्नु नै सपार्नु हो । हामी बिगार्नमा व्यस्त छौँ । भएको कुरा नभत्काई नबिगारी नयाँ कहाँ बन्दछ ? मत्ता साँढेले डुक्रँदै डिल भत्काएझैं बिनामेसै सिंगौरी खेल्दै हामी हाम्रा आस्थाका डिलहरू लडाइरहेका छौँ । विश्वासका पहाडहरू भत्काइरहेका छौँ । भत्काउनु, बिगार्नु, बिनष्ट गर्नु हाम्रो सभ्यता हो । बाँदर हाम्रै पुर्खा हुन् । अहिलेका बाँदरहरू हाम्रा पुर्खा जस्ता छैनन् । तर हाम्रो सभ्यता बाँदरभन्दा धेरै माथि उठेको छ । त्यसैले हामी खुट्टाले होइन टाउकाले टेकेर उल्टो दिशा हिँडिरहेका छौँ । टाउको अब खुट्टा भएको छ र बिब्ल्याँटो दिशा नै हाम्रो लक्ष्य बनेको छ ।
मान्छेको जातमा आएको यो प्रवृत्तिगत परिवर्तन देखेर अरू जीव-जन्तु तीनछक्क पर्न थालेका छन् । अरु त अरू परै जाओस् तन्दुरूस्त आफ्ना दुई पाँसुला हुँदाहुँदै ती दुवै हुँडुला आकाशतिर फर्काएर हरिविजोकसँग टाउको उभिन्डो पारी भुइँमा घिसार्दै हिँडिरहेछ आजकाे मान्छे ।
खबरदार ! अब कसैले पनि यो बिब्ल्याँटो गतिलाई सुल्ट्याउने दुष्प्रयास नगरोस् । उभिण्डिएकाे परिस्थितिलाई सुल्टाे गतिमा ल्याउनु पर्ने नायकहरू नै अहिले टाउकाले टेकेर दम्भ र अहंकार वान्ता गर्दै रणसङ्ग्रामकाे व्युहरचनामा निर्लिप्त छन् । उनीहरूकै हाेमा हाे मिलाऔँ र उनीहरूसँगै आफूलाई पनि विसर्जनकाे अँध्याराे अथाह सुरूङभित्र घचेटाैँ । सम्झनाेस् हिजाेका हाम्रा तमाम सङ्घर्ष, समर्पण, त्याग र वलिदान यही बिब्ल्याँटाे गतिका निम्ति समर्पित थिए ।
०००
‘कान्तिपुर’ दैनिक, (२०६० असार १५)








































राम्राे खुराक ।
पठनीय लेख।