सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

छेपारो रङ्

अतः म छेपारो, तिमी छेपारो, तपाईं छेपारो, उहाँ छेपारो । तपाईं हामी सबै एक भन्दा एक छेपाराहरू हौं- जो समय अनुसार रंग बदलिरहेछौँ, ढङ्ग बदलिरहेछौं र आवश्यक पर्दा अङ्ग बदल्न पनि हरदम तयार भइरहेका छौं ।

Nepal Telecom ad

नरनाथ लुइँटेल :

हामीकहाँ एउटा मीठो टुक्का छ- “छेपाराको उखान।” छेपारोसमेतको चरित्रलाई हामीकहाँ जनबोलीमा उतार्न सक्ने नेपाली पुर्खाको भाषिक पौरखलाई पारख गर्ने पर्दछ । आजै गर्नुपर्ने काम भोलि पुग्यो, भोलि पनि फत्ते नभए पर्सिलाई पर्खनुपर्यो, दुई-चारवटा पर्सि पनि बितिसकेपछि नेपाली जिब्रो प्याट्ट फट्‌कारिन्छ- “छेपाराकै उखान भो ।” साँच्ची, यो उखानभित्र एउटा गज्जबको आहान लुकेको छ । हिउँदको चिसो जाडोमा कक्रक्क परेको छेपारो रातभरि कल्पना गर्छ- पखेस् न भोलि उज्यालो त होस्, बिहे गरेर घरजम नगरी कहाँ छोडौँला र । जब साँच्चै विहान हुन्छ, सुकेको रुखको हाँगामा आइपुगेको घामको न्यानो रापमा ऊ मग्न हुन्छ । दिनभरि तातोमा टहलिँदा टहलिँदै दिन भुसुक्कै बित्छ अनि बेलुकीको चिसोले जब छेपारोको छाला छेड्न थाल्छ तब ऊ कल्पना गर्छ- पखेस् न भोलि त। भोलि विहान फेरि उस्तै । त यो आहानले अजमाएको उखान पुर्ख्याैली जिब्रोले जति बखाने पनि तिनै पुर्खाका शाखा-सन्तान “भोलि त…” भन्ने छेपारो बनिरहेका छन् । खसोखासै भन्नुपर्दा आजको औसत नेपाली विलकुल त्यही छेपारो हो, जो आजै गर्नुपर्ने कामलाई भोलि-भोलिको रटमा चट पारिरहेको छ ।

छेपारे प्रवृत्ति आजको हाम्रो मौलिक संस्कृति हो । संस्कारले बृहत् आकार ग्रहण गरेपछि संस्कृति बन्छ भन्छन् संस्कृतज्ञहरू । यो सोचाइ सोह्रै आना सत्य हाे । सायद यसैले होला यो मुलुकको वर्तमान छेपारोमय बनेको छ । राजनीतिमा छेपाराहरू छ्यापछ्‌याप्ती छन्, साहित्यमा छेपाराहरूकै बिगबिगी छ । शिक्षा, स्वास्थ्य, समाजसेवा सबैतिर छेपाराहरूकै वाहुल्यता देखिन्छ । कुर्सीमा छेपाराहरू विराजमान छन्, टेबिलमा छेपाराले टाङ पसारी रहेको छ, घर्रा, ऱ्याक, दराज र दराजभित्रका फाइल फाइलमा छेपाराहरूकै राइँदाइँ छ । यसरी पद, कुर्सी, प्रमोसन, सत्ता, भत्ता र वजेटदेखि गजेटसम्म छेपाराको प्रभाव विस्तारले घरजम गरिसकेको हुँदा मुलुक छेपारोमय बन्न पुगेको हो भन्दा फरकै पर्दैन ।

तपाईं-हामी सबैलाई थाह भएकै कुरा हो- छेपाराले मौसमअनुसार रङ्ग बदल्ने गर्छ । छेपारो प्रवृत्तिको मानिसले चेपारो मात्र पार्दैन, उसले पनि समय परिस्थिति र तात्कालिक स्थितिअनुरूप आफ्नो रङ्ग बदल्छ । प्रसङ्गले अर्को अर्थ नलगाई भन्नुपर्दा रङ्ग भनेकै ढङ्ग हो । ढङ्गअन्तर्गत मानिसका यावत् कियाकलापहरू पर्दछन् । बोल्नु मात्र होइन, हात मोल्नु र आफ्नो मात्र होइन कोढीको समेत पाउ मोल्नु, जुसको रूपमा घुस ख्वाएर खुसखुस आफ्नो काम पट्‌याउनु, नेताको पछि पुच्छर डोलाउँदै निजि उन्नति बाेलाउनु, कोसेली कमिसनको कुम्लो कोल्ट्याएर ठूल्ठूलो ठेक्का कुम्ल्याउनु, चुक्ली र चाकरीको भरमा खुस्किसकेको जागिर जोगाउनु अथवा त्यो पुऱ्याउन नसक्दा खाईपाई आएको जागिरमा गिर खेलाउनु, यी सबै कुरा रङ्ग अनुसारकै ढङ्गका ढर्राहरू हुन् ।

रङ्गसँगसँगै ढङ्ग बदलिने प्रक्रिया पनि वडो गजबको न छ । मेरो एउटा अन्तरङ्ग मित्र सरकारी विभागमा अधिकृत जागिर खान्छ । ०४६ सालको अन्दोलन सुरु हुँदा नहुँदै ऊ स्थाई अधिकृत हुन पुगेको थियो । आन्दोलनले जोड पक्ड्न थालेपछि ऊ कार्यरत विभागका कर्मचारीहरू विभागीय बोर्ड नै लिएर सडकमा ओर्लिएका थिए । मेरो अधिकृत मित्र भने त्यो बेला बोर्ड झिकेर सडकतिर घिसार्ने कर्मचारीका नामनामेसी बोकेर केही बेरमै मन्त्रालय पुगेको थियो । खैर, उसको बाबुको केही दैया चलेन, पञ्चायतका चारवटै टायर पन्चट भए तथापि उसको अधिकृत पद चौपट भएन। ऊ पनि आफ्नो पुरानो रङ्ग खुर्कीखार्की गर्नेतिर निर्लिप्त भएरै लाग्यो । संसदको पहिलो निर्वाचन भएर नयाँ मन्त्रिमण्डल बन्दा नबन्दै मेरो अधिकृत मित्र आफ्नो अभिवादन शैली र शब्दमा आमूल परिवर्तन गर्न सफल बन्यो । “जय नेपाल ।” त्यो परिवर्तित अभिवादनको नयाँ शब्दावली यही थियो । त्यसपछिका अरू तीन वर्षमा मेरो अधिकृत मित्रले आफूलाई परापूर्व कालदेखिकै “जय नेपालवादी” हुँ भन्ने देखाउन र लेखाउन कुनै कसर बाँकी राखेन । यही अवधिमा ऊ एक तह माथि पदोन्नति पनि भयो ।

त्यसपछि असयमै मुलुकमा अर्को चुनाव ओइरियो । चुनावको परिणाम जेजस्ताे देखा परे पनि “लालसलामवाला” दलले सरकार बनाउने छेकछन्द आउनासाथ मेरो अधिकृत मित्र लालसलाम दलको केन्द्रीय कार्यालयतिर टोलाउन पुगिसकेको थियो । उसको त्यस
बेलाको लेनिनकट दारी र हातमा सयर गरी राखेको टोपी हेर्नलायक देखिन्थ्यो ।

नौ महिनाकाे अवधिमा अधिकृत मित्र आफूले रोजेको विभागमा सरुवा पनि भयो। नयाँ मन्त्रीहरूको क्वाटर र हेड्क्वाटरतिर धाउने र धद्दाउने उसको दिनचर्या बन्नुमा कुनै अस्वाभाविकता थिएन । छोटै अवधिमा जोकसैको विश्वास जित्न सक्ने उसको खुबीलाई मुक्तकण्ठले प्रशंसा गर्ने पर्दछ । बडो सान-सौकत र मोजमस्तीमै उसका दिनहरु बित्दै थिए ।

अचानक एक दिन उसलाई लेनिनकट दारी सफाचट गरिएको र सफा लवेदा सुरुवालमा भेटियो । हातमा झुन्डिइरहने टोपी आइरनले मचक्क भाँचेको डाम आलै थियो। उसलाई त्यस रूपमा देख्नासाथ मैले सजिलै अनुमान गरेँ- मुलुकमा कुनै फेरवदल हुँदै छ । नभन्दै भोलिपल्टै प्रस्ट भयो, मुलुकमा सरकार परिवर्तन भई मेरो अधिकृत मित्र कायरंत रहेको विभाग स्याहार्ने गरी हलो दलका भू.पू. पञ्चले पो मन्त्री पदको सपथग्रहण गरे । मेरो अधिकृत मित्र स्वादसँग जागिर खाइरहेको छ । ती अमूक मन्त्रीका पिए त देखाउने दाँत मात्रै हुन्, खाने दाँत भने अहिले त्यही छेपारो अधिकृत बनेको छ । रङ्ग सँगसँगै मनुवाले ढङ्ग बदल्ने याे प्रक्रिया गज्जबलाग्दो छैन त ?

छेपारो वर्गका भित्ती, गोही, माउसुलीजस्ता घस्रने जीवहरूका चार हातपाउ विशिष्ट किसिमका हुन्छन् । भित्ती वा माउसुली भित्ता वा पर्खालबाट लडी मरेको आजसम्म कसैले देखे-सुनेको छैन । छेपारो वा गोहोरो रूखको हाँगाबाट खुट्टा चिप्लिएर खसेको कसैलाई थाह छैन । यो विशेषता छेपारो प्रवृत्तिका मनुवाहरूमा जस्ताको तस्तै सरेको हुन्छ। यसखाले मनुवाहरू छेपारो वा गोहोरोजस्तै घस्रन औधी खप्पिस बनेका हुन्छन् । सिर्फ घस्रिएकै भरमा उनीहरू आसमान छुन पुग्छन्, अन्तरिक्ष पुग्न सक्छन् । मन, वचन र कर्ममा छेपारे प्रवृत्ति बोकेकाहरूले कहिलै तल झर्नुपर्दैन, पछारिनुपर्दैन । घोडा चढ्ने मनुवा लड्न सक्छ तर छेपाराको रङ्ग र सोहीअनुरूपको ढङ्गसँग चल्ने मनुवा कहिल्यै लड्नुपर्दैन ।

छेपारोले रङ्ग बदले जस्तै आफ्नो ढङ्ग बदल्न नचाहने लठुवा लठेब्राहरू यस धर्तीका मूर्खका पनि महामूर्ख हुन् । जमाना छेपाराहरूको हो भन्ने कुरा ती विचराहरूले कहिल्यै बुझ्न सकेनन् । समय स्वयं छेपारो हो, छेपारोले जस्तै रङ्ग बदलिरहेको छ भन्ने कटु यथार्थलाई नबुझने बबुराहरूको सुदिन कहिले फिर्नेवाला छैन । यदि त्यस्तो मूर्ख कुनै जागिरमा छ भने ६।६ महिनामा जनकपुर टु जुम्ला तथा पाल्पा टु डोल्पा गरी रहनु पर्छ । यसको ठीक विपरीत सज्जन छेपारो भने डोल्पा टु पाल्पा तथा जुम्ला टु जनकपुर गर्न सक्ने हैसियत राख्छ । त्यति मात्र होइन यदि ऊ लम्पसार पर्यो भने फुडिल्काकै आदेशमार्फत सुनको धन्सार मानिने एयरपोर्टको भन्सार वा दोस्रो भन्सार भनेर चिनिने रेडियोको संसारतिर हामफाल्न पनि सक्छ । त्यसकारण जँड्याहा हुनुको मज्जा जँड्याहाले थाहा पाएझैं छेपारो हुनाको मज्जा छेपारोले मात्र थाह पाउँछ । च्याउ नखाएकोले के स्वाद पाओस् ?

संसारमा मानिसका दुई जात लोग्नेमान्छे र स्वास्नीमान्छे भएजस्तै यो मुलुकमा बुद्धिजीवी दुई जातका छन् । एउटा जात हो, सरकारी र अर्को जात हो, गैरसरकारी । तर जातमा जेसुकै भए पनि बुद्धिजीवी आखिर बुद्धिजीवी ने हो । बुद्धि बढेको होस्, घटेको होस् या थोपै नहोस् टी. यु. ले प्रदान गर्ने गरेको लकेट जे जसरी होस्, लफन्याउन सकेको छ भने ऊ बुद्धिजीवीमा दरिएकै हुन्छ ।

यहींनेर सम्झना हुन्छ, यो मुलुकका वौद्धिक छेपाराहरूको । यसखाले छेपाराहरूको रङ्ग झन् गाढा र मिहिन पो हुन्छ त ! हत्तपत्त चिन्न र छुट्टयाउन नै सकिन्न । कुनचैँ वुद्धिजीवी छेपारो हो र कुनचैँ छेपारो होइन भनेर जाँच्न एउटा साँचो निर्माण गर्नुपर्ने भएको छ । साँचोको काम यो एउटा प्रश्नले अवश्य गर्ने छ । “बुद्धि पहिले जन्मियो कि बुद्ध ?” यो प्रश्नको बल्छी तपाईं कुनै पनि बुद्धिजिवीतर्फ तेर्स्याउनुस् त, बौद्धिक छेपारो चाहिँ तपाईंको बल्छीमा बुद्धिको चारा हाल्दै तपाईंतिर तानिइहाल्छ । वौद्धिकताका भय‌ङ्कर भयङ्कर विचरा यी भकारीहरूलाई कतिपय वज्रस्वाँठहरू कुनै विचारै नगरी बौद्धिक वेश्यावृत्तिको मिथ्या आरोप लगाइदिन्छन् । यो त सोह्रै आना बेठीक कुरा हो र जुन कुराप्रति वेश्यावृत्तिको आरोप लगाइन्छ, त्यो बुद्धिजीवीहरूको व्यवसाय हो, पेसा हो। अनि व्यवसायले व्यापार बढाउँछ र पेसाले पैसा फलाउँछ । बस् वौद्धिक छेपाराहरू यसरी नै बुद्धि चलाइरहेका छन् । कसैले टाउको फोरेर के हुन्छ ?

जेहोस् मुलुकको मुटु मुठ्‌याउने बौद्धिकहरू नै छेपाराको अनुकृति बनिरहेका छन् भने छेपारे संस्कृतिले विकास गर्नु अवश्यंभावी हुन जान्छ । जुन मुलुकमा संस्कार-संस्कृति, वृत्ति-मनोवृत्ति सबै छेपारो-प्रवृत्तिमा बाँधिएको, छाँदिएको र खाँदिएको छ भने कुन मनुवा यसको बाघपञ्जाबाट मुक्त र अलग्गै हुन सक्ला ? अतः म छेपारो, तिमी छेपारो, तपाईं छेपारो, उहाँ छेपारो । तपाईं हामी सबै एक भन्दा एक छेपाराहरू हौं- जो समय अनुसार रंग बदलिरहेछौँ, ढङ्ग बदलिरहेछौं र आवश्यक पर्दा अङ्ग बदल्न पनि हरदम तयार भइरहेका छौं ।

०००
लेखन अविध ०५३ साउन
चम्चा चिन्तन (२०५५)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
प्रजातन्त्रको दीर्घायु कामना

प्रजातन्त्रको दीर्घायु कामना

कृष्णचन्द्र सिंह प्रधान
भरी खल्ती जता पनि चल्ती

भरी खल्ती जता पनि...

कृष्ण शर्मा सुमु
मलाई गाह्रो छ

मलाई गाह्रो छ

अशोककुमार शिवा
0
Would love your thoughts, please comment.x
()
x