
मलाई पुरस्कारबाट डर लाग्छ !
कतै कतै त गोल घुम्छ दिने कहाँ नै फर्केर पुग्छ सामुन्ने कति राम्रो आहा ! भन्दै बधाई पछाडि आलोचना भ्याई नभ्याई त्यसैले हो ! लेख्न कर लाग्छ मलाई पुरस्कारबाट डर लाग्छ।

लक्ष्मण नेवटिया :
हो हजुर ! लेख्न कर लाग्छ,
मलाई पुरस्कारबाट डर लाग्छ।
सानो पुरस्कार पनि कविका लागि
जस्तै नायकले पाउने ओस्कार
पहिले निर्णायकलाई
प्रभावमा पार्न मारामार।
पुरस्कार एकले पाउँदा
अरूमा हाहाकार
पाउनेको जन्मकुण्डली
खँगाल्न सबै तैयार।
त्यसैले हो हजुर !
लेख्न कर लाग्छ
मलाई पुरस्कारबाट डर लाग्छ।
नपाउनेलाई हुँदा पीर
कटाक्षको चल्छ तीर
पाउनेको त घिउमा शिर
नपाउने हतप्रभ अधीर।
टाउको कन्याउँछ
पाउनेको कमजोरी खोजेर ल्याउँछ
अखबारभरि सप्रमाण छपाउँछ।
त्यसैले हो ! लेख्न कर लाग्छ
मलाई पुरस्कारबाट डर लाग्छ।
पुरस्कार हुनु पर्ने त थियो
आफ्नो क्षमता निखार्न
तर अहिले प्रयोग हुन थाल्यो
चोरबाटोबाट असल नायकलाई बिगार्न।
बैठक कोठा सिंगार्न
विपरीतगामीलाई तल झार्न
मरेको बिउलाई गमलामा उमार्न
त्यसैले हो ! लेख्न कर लाग्छ
मलाई पुरस्कारबाट डर लाग्छ !!
जसले विद्यावारिधि गरे सदविचारमा
सुँगुरजस्तै मुख पार्छन्
अरूको हिस्साको पुरस्कारमा।
कतै कतै त गोल घुम्छ
दिने कहाँ नै फर्केर पुग्छ
सामुन्ने कति राम्रो
आहा ! भन्दै बधाई
पछाडि आलोचना भ्याई नभ्याई
त्यसैले हो ! लेख्न कर लाग्छ
मलाई पुरस्कारबाट डर लाग्छ।
०००
विराटनगर
Subscribe
Login
0 Comments
Oldest