सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हाकिमको आतङ्क

उनले क्लियोपेट्रादेखि लिएर घरपालुवा कोदेसम्म र स्टार वियरदेखि लिएर जाँडसम्मको विशाल इन्तजाम गरे । सुरा प्रेमीहरूका लागि त्यस दिन उनको कारखानामा सातै समुद्र उर्लिएका थिए । मानो सोमरसको मानसरोवर नै छचल्किएको थियो ।

Nepal Telecom ad

नरेन्द्रराज पाैडेल :

हो ! हजुर हाकिमको आतङ्क । हुन सक्छ झापामा अलि दिन अगाडि भएको हात्तीको आतङ्कवारे तपाईंले सुन्नुभयो होला । सुने पनि बिर्सिएको हुन सक्छ । तर यो आतङ्क त्यस्तो होइन । चितवनको गैंडाको आतङ्क पनि यो होइन । सुन्दरवनको बाघ अथवा गोसाई-थानको भालुको आतङ्क त योसँग मिल्ने कुरै आएन । त्यस्तै स्पेनका बास्क राष्ट्रवादी, आयरल्यान्डको आई आर.ए. अथवा इरानका कुर्दहरूको आतङ्कजस्तो आतङ्क पनि यो होइन । अनि पहाडतिर कहिलेकाहीँ भनिने र सुनिने जुरौमन्त्र अथवा वनमान्छेको आतङ्क पनि यो पक्कै होइन । त कसरी आतङ्क भयो त त्यसो भए भनेर तपाईं प्रश्न गर्नुहोला। जवाफले चित्त नबुझ्ला । तैपनि यसलाई एउटा सम्पूर्ण आतङ्क भनेर सभ्य संसारले नमाने पनि तपाईं हामीजस्ता बर्वरलाई भने अवश्य यो आतङ्क लाग्नेछ ।

पत्रपत्रिकामा तपाईंले पढ्नुभएकै होला । अन्तर्राष्ट्रिय सहयोगबाट ढाँडखोलाको किनारामा स्थापित विशाल हाँडी कारखानाका जनरल म्यानेजरको टाइल कारखानामा सरुवा भएछ । अनि उनको ठाउँमा नयाँ हाकिम आउने भए । विधिपूर्वक सरुवापत्र आयो। कार्यवाहक जि.एम.ले चिठी खोलेर तोक लगाए। अनि सबै कर्मचारी तथा कारखानाका कामदारहरू जम्मा पारेर मेहनतसाथ काम गर्न आदेश दिए। तर कार्यवाहक म्यानेजरको मनमा त्यति बेरदेखि नै आतङ्क सुरु हुन थाल्यो । सोचे, कामदारलाई काम लगाउनु मात्रले अवश्य जस पाइन्न । नयाँ हाकिमको स्वागत भव्य तरिकाले गर्नुपर्ने हो । हाकिम खुसी भए हाँडीको निर्माण कम भए पनि त हुन्छ । यसभन्दा अघि हाँडी कारखानै पो कहाँ थियो र ? तैपनि नेपाली जनताले मकै-भटमास भुटेकै थिए। धान भुटेर चिउरा कुटेकै थिए । आज दुई दिनको तिरीमिरी झ्याइँ न हो यो छुसी कारखाना ? भने हाँडी-साँडी जेसुकै होओस् हाकिमको स्वागत हुनै पर्छ । उनले टेबिलमाथि हात बजारे ।

घन्टी लगाए। पियन आयो । सबै थरी कामदार जम्मा गर्ने आदेश दिए । सबैको भेला भयो । कुर्लिएर हुकुम जारी गरे- “हाँडी बन्द गर। सबै मिलेर स्वागतद्वारहरू बनाओ। कारखाना भित्र-बाहिर सबैतिर भव्य द्वारहरू बनाओ । झ्याउ र फूलमालाहरूले सकेसम्म सजाओ। बत्तीका तारहरू फिट गर र तिरीमिरी झ्याइँ पार ।”

उनको बोली भुईंमा झर्नेबित्तिकै सबै कामदारहरू स्वागतद्वार र फूलमालाहरू तयार पार्न थाले। कसैले डाँडाकाँडादेखि बटुलेर झ्याउ ल्याए । कसैले पाखा पखेरा चहारेर थाकलका सेउलाहरू ल्याए। कसैले पहरामा झुन्डिएर बावियो बटुले । कसैले लहरा ताने । वरपरका बाग-बगैंचाहरू सारा उजाड पारेर फूल जम्मा पारियो । कामदारका स्वास्नी र पाले-पहराहरूलाई रातभरि आँखामा खुर्सानी दलेर माला गाँस्ने आदेश भयो । यता रातभरि लगाएर ढोका बने ।

राती कार्यवाहक हाकिमलाई केही गरे निद्रा लागेन । सोचे, कुनै जनप्रिय नेताको जस्तो भव्य स्वागत गर्ने तरखर गर्दा उनका हाकिमले उल्टो सम्झिन सक्छन् । कारखाना कारखानै हो। कुनै स्वागत मञ्च होइन । यहाँबाट हाँडीको उत्पादन हुनुपर्छ । भाषण र व्याख्यान छाँटेर मतलब आउँदैन। फेरि त्यसो गर्दा कारखानाभित्रको भ्रष्टाचार, निष्क्रियता र पक्षपातलाई ढाकछोप गर्न बढी चाकरी देखाएजस्तो पनि हुन सक्छ। हुन त विदेशबाट सेकेन्ड ह्यान्ड मेसिनरी झिकाउने ताकत आफूमा छैन । दुई-चार सयभन्दा बढी नातेदार राखिएको छैन । कारखानाबाट उत्पादित हाँडीहरू चोरीनिकासी गरिएको छैन । ठूलो मात्रामा एकै चोटि मोल बढाएर विदेश निकासीबाट बोनस लुँड्याइएको छैन । यो त गलैंचा कारखाना नभएर हाँडी कारखाना मात्रै नै हो ?

तैपनि हाकिम भन्ने जीव हाकिम नै हो । यसको मस्तिष्कमा कति बेर के रङ्ग चढ्छ कुन्नि ! उत्तिवेरै जङ्गिने अनि उत्तिवेरै मक्ख पर्ने गर्छ। वास्तवमा उसको मनोविज्ञान जान्न कोही पनि सक्तैन । त्यसैले जाबो एउटा हाँडी कारखानाभित्र यत्रो स्वागतको तयारी देख्ता नयाँ हाकिमलाई अवश्य राम्रो प्रभाव पर्ने छैन । उनलाई चित्त बुझेन । यसो घडी हेरे। दुई बजेको रहेछ। उठेर घन्टी लगाए कोही आएन । दुई-चार पल्ट जोडले लगाएपछि आँखा मिच्दै पाले आइपुग्यो। उनते तुरुन्त कारखानाको सङ्कटकालीन कलवेल लगाएर कामदारलाई बोलाउन भने । नभन्दै पाँच मिनेटभित्रै सबै तहका कामदारहरू आँखा मिच्दै जम्मा भए।

उनले तयार पारिएका सबै ढोकाहरू भत्काउने आदेश दिए। अनि जसले दिउँसो बनाएको ढोका अहिले आफैले तुरुन्त भत्काउँदैन भोलि नै उसको जागिर खुस्कन सक्ने कुरासम्म बताए । सारा ढोकाहरू तहसनहस पारेर रातारात भत्काइए । तर भोलिपल्ट विहानसम्म उनलाई निद्रा परेन । उज्यालो भएपछि हेर्दा राती भत्काएका ढोकाहरूले वरपरको वातावरण औधी उजाड र कुरूप देखियो । उनलाई लाग्यो- कि ढोकै नबनाउनु थियो, बनाइसकेपछि फेरि किन भत्काएको ? पक्कै पनि नयाँ हाकिमले यस्तो अलच्छिनको वातावरण आफ्नो विरुद्ध प्रदर्शन गरेको ठान्ने छन् । त्यस बेला कारखानै पजनी हुन बेर छैन । उनले हतार-हतार सम्पूर्ण कामदारहरू जम्मा पारेर भत्काएका ढोकाहरूलाई फेरि तयार पार्न भने । ढोकाहरू तयार भए।

बिहान उठेर दाह्री काट्न थाले। कौवाले नगिचै आएर भनिदियो – नयाँ हाकिमले जुँगा राखेका छन् । उनी टक्क अडिए । लाग्यो उनले पनि दाह्रीजति काटेर जुँगा राख्नु वेस । त्यसले गर्दा उनको व्यक्तित्व पनि हाकिमकै परिपूरक बन्नेछ । भनौं हाकिमकै सच्चा सहायक भन्न सुहाउने छ । सौन्दर्यबोधमा समन्वय आउनेछ । फेरि नयाँ हाकिमजस्तो मान्छे । उनको मुखमा कति बेर के आउने हो, जुँगा नराख्ता तेरो अनुहार क्रियापुत्रीको जस्तो रहेछ भनिदिए के जवाफ दिने ? कसको ताकत जवाफ दिने ? उनले दाह्रीजति खौरिएर जुँगा बाँकी राखे । अनि फेरि पाले बोलाएर कलवेल लगाउन भनिदिए । कलवेल लाग्यो। सारा कामदार र कर्मचारीहरू जम्मा भए । अनि उनले प्रत्येक पुरुष कामदारहरूले जुँगा राख्ने र दाह्री काट्‌ने तथा आइमाई कामदारहरूले किरिम-पाउडर लगाएर मुहार सजाउने र नयाँ हाकिमको स्वागत गर्दा खिसीखिसी हाँसेर लजाउने आदेश दिए। अनि उनका आँखा कति बेर कसमाथि कहाँ पर्ने हुन् र कस्तो इसाराले के आशय व्यक्त गर्ने हुन्; त्यसप्रति सधैं सतर्क भइरहने आग्रह गरे। कामदारहरू दीक्षा पाएको शिष्य भएर हिँडे ।

अलि बेरपछि सोचे- हाकिम आउनेवित्तिकै केही चीज त अवश्य खुवाउनुपर्छ । चिया-विस्कुटले मात्र काम दिने कुरा आएन । अलि राम्रै प्रवन्ध गर्नुपर्यो । उनले तुरुन्त खसी कटाए। घिउ झिकाए । पुलाउ पाक्न थाल्यो । सोचे, नयाँ हाकिम पैंटे पनि हुन सक्छन् । घ्याम्पे पनि । गिलासे र घैंटेसम्म त ठीकै छ । तर घ्याम्पे नै भए त राम्रै प्रवन्ध हुनुपर्यो । नभन्दै उनले क्लियोपेट्रादेखि लिएर घरपालुवा कोदेसम्म र स्टार वियरदेखि लिएर जाँडसम्मको विशाल इन्तजाम गरे । सुरा प्रेमीहरूका लागि त्यस दिन उनको कारखानामा सातै समुद्र उर्लिएका थिए । मानो सोमरसको मानसरोवर नै छचल्किएको थियो । मासुका विभिन्न थरीका परिकारहरू-पुलाउ-चटनी र सोमरसले पाहुना घरको भान्साखण्ड भरिभराउ देख्दा उनी एकछिनसम्म ढुक्क भए ।

घोरिँदा-घोरिदै एकछिनपछि उनलाई सम्झना आयो – हाकिम भन्ने प्राणीको विकास वानरबाट भएको न हुनुपर्छ । किनभने सालाखाला वानरहरूको स्वभाव एउटै पाइन्छ । तर चार जना हाकिम जम्मा भए भने उनीहरूको स्वभाव कम्तीमा पनि अठार थरीको हुन्छ । कतिबेर उनीहरू बाघ हुन्छन् भने कति बेर स्याल पनि हुन बेर मान्दैनन् । कतिबेर सर्पले जस्तो खुट्टा नबजारी कान सुन्दैनन् भने कति बेर लाटोकोसेरोझै आँखा देख्तैनन्, कतिमा रङ्गान्धताको रोग हुन्छ र गुहु-गोबर छुट्ट्याउन सक्तैनन् भने कतिमा छारे रोगकै अंश हुन्छ; जसले गर्दा दुई-चार पैसा आउने ठाउँमा फिँज काडेर लडीबुडी गर्छन् । बूढा डार्विनले हाकिमको उत्पत्तिमाथि केही उल्लेख नगरेकोमा उनलाई डार्विनवाद पनि एकदमै अधुरो र अपूर्ण लाग्यो ।

शड्का उठ्‌यो – नयाँ आउने हाकिम कहीं कतै शाकाहारी पो छन् कि ? यदि शाकाहारी भए उनी आउनेबित्तिकै पन्ध्र थरी मासु, रक्सी र पुलाउले स्वागत गर्न थाल्दा उनको मर्यादामाथि कत्रो आघात पर्ला ? उनको सात्त्विक आचरण र नैष्ठिक स्वभावमाथि कत्रो व्यङ्ग्य होला यो ? अझ यसको परिणाम भोलि के होला भन्ने त उनले कल्पनै गर्न सकेनन् । अनि तुरुन्त घन्टी लगाएर सबै कामदारहरूलाई बोलाए । अनि भएभरको मासु, रक्सी एउटा अँध्यारो कोठामा लुकाउन भने । त्यसपछि सात्त्विक खाना बनाउने आदेश दिए। नभन्दै तुरुन्तै दहीका विशाल हाँडीहरू ल्याइए। मनभोग बन्न थाल्यो । यता हलुवा घोट्न थालियो । उता जेरी पाक्न थाल्यो । अगि मात्र पेरिसको बारजस्तो लाग्ने पाहुनाघरको भान्छाकोठा अहिले भर्खरै बनारसी मिठाई पसलमा परिणत भयो। नौ थरीका सलाद बने। स्याउ, सुन्तला र केराहरू छोडाइए। मसलाका बट्टाहरू भरिभराउ भएर सजिए। यति बेर उनलाई फेरि अर्कै किसिमको आनन्द आयो । किनभने नयाँ हाकिम सात्त्विक र मतुवाली जस्तोसुकै भए पनि उनले आफ्नो स्वागत गर्ने कर्तव्यलाई पूरा गर्ने तयारी गरिसकेका थिए ।

हाकिम आउने समयको टुङ्गो थिएन । तैपनि दिउँसो तीन-चार बजे आउलान् भनेर सबै कर्मचारीहरू फूलमाला लिएर ढोकानिर भेला भएका थिए। यता केही कामदारहरू बेलुकीको कार्यक्रमका लागि नाचगानको पूर्वाभ्यासमा व्यस्त थिए । कोही हाकिमको आवास सफा गर्ने र पलङ-ओछ्‌यानहरू मिलाउने काममा थिए । तर उनको मनमा अझै उही नयाँ हाकिमको डरलाग्दो मूर्ति नाचिरहेको थियो । त्यसैले उनी कहिले कारखाना, कहिले आवासगृह र कहिले पाहुनाघरतिर चहारिरहन्थे ।

घडी हेर्दाहेर्दै चार बज्यो । एउटा हुलाकीले आएर चिठी दियो। उनले हतपत खोले । नयाँ हाकिमको सरुवा हाललाई स्थगित भएको र उनलाई कार्यवाहक हाकिम नियुक्ति गरिएको जानकारीपत्र रहेछ । उनी हर्षले तीन फिट उफ्रिएर सबै कामदारहरूलाई त्यो पत्र देखाए । तत्काल भएभरका फूलमाला उनीमाथि वैरिए। अनि पाहुनाघर अगाडि सवै जम्मा भए। खाने र पिउने कार्यक्रम सुरु भयो । अगिसम्म नयाँ आउने त्यो हाकिमदेखि सातो उडेका हाकिम अहिले अरू सबैको सातो उडाउँदै सोमरसको गिलास हातमा लिएर कामदार ठिटीहरूको कम्मर समातेर नाच्न थाले ।

०००
घरभित्रकाे गाईजात्रा (२०६२)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
थाहा छैन पार्टी !

थाहा छैन पार्टी !

नरेन्द्रराज पौडेल
चस्मा र म

चस्मा र म

नरेन्द्रराज पौडेल
जय बोकाराज

जय बोकाराज

नरेन्द्रराज पौडेल
चाकरीको चोला

चाकरीको चोला

नरेन्द्रराज पौडेल
लोभीपापी जिन्दावाद !

लोभीपापी जिन्दावाद !

नरेन्द्रराज पौडेल
प्रजातन्त्रको दीर्घायु कामना

प्रजातन्त्रको दीर्घायु कामना

कृष्णचन्द्र सिंह प्रधान
भरी खल्ती जता पनि चल्ती

भरी खल्ती जता पनि...

कृष्ण शर्मा सुमु
मलाई गाह्रो छ

मलाई गाह्रो छ

अशोककुमार शिवा
0
Would love your thoughts, please comment.x
()
x