साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म एउटा वृद्धाश्रम खोजिरहेछु

एकदिन आउने वृद्दावस्थालाई ध्यानमा राख्दै मैले आफ्नै लागि एउटा वृद्धाश्रम खोज्नु छ । यस्ता वृद्धाश्रमका बारेमा तपाइँहरुलाई थाहा छ भने कृपया मलाई जानकारी दिनुहोला।

Nepal Telecom ad

डा. व्यन्जना शर्मा :

हामी एउटा जीवनमा विभिन्न चरणहरु पार गर्दछौँ । जन्मिनु, हुर्किनु, जवान हुनु र बुढो हुँदै गएर मर्नु एक प्राकृतिक नियम हो । हाम्रो वाल्यकाल समाप्त हुन्छ र किशोरावस्थामा प्रवेश गरिन्छ । त्यो बितेको वाल्यकाल फेरि कहिल्यै फर्केर आउँदैन । हामीले बिताएका अन्य चरणहरु पनि त्यसैगरी बित्छन् । सम्पूर्ण चराचरले यो प्राकृतिक चक्रबाट गुज्रिनै पर्दछ । ससाना किट पतंगदेखि बडेमानका हात्ती, गैँडा,  ह्वेलले समेत यो प्राकृतिक चक्रको पालना गर्नु नै पर्छ । मानिस प्रजाति पनि यस नियमलाई पालना गर्न बाध्य छ । लगभग पचासको हाराहारीमा नपुगुन्जेल बुढेसकालको हेक्का त्यति रहँदैन । मानिसहरु सान्सारिक दुष्चक्रमा पर्ने र स्वास्थ्य अवस्था पनि सामान्यतयाः राम्रै रहने भएकाले पछिल्ला कालखण्डको बारेमा सोचिरहने फूर्सद पनि मानिसलाई हुँदैन ।

बुढ्याईँ क्रमशः आउने कुरा हो । शरीरका अवयवहरु क्षीण हुँदै जाने क्रमलाई नै बुढौलीका लक्षण मान्न सकिन्छ । लगभग साठी वर्षको हाराहारीमा सक्रिय जनशक्तिले पूर्ण सेवा दिन सक्दैन भन्ने अवधारणा रहेकोले प्रायःजसो त्यस उमेर समूहका मानिसहरु सेवानिवृत्त हुन्छन् । मानिसहरु सेवानिवृत्त भैसकेपछि पनि आ–आफ्नै किसिमले कुनै न कुनै आफ्नो रुचीको पेशा व्यवसायमा संलग्न भइरहेकै हुन्छन् । तर जीवनमा कस्तो पनि अवस्था आउँछ भने विभिन्न कारणले गर्दा ब्यक्ति आफू  पूर्ण रुपमा आफ्नै हेरचाह गर्न नसक्ने अवस्थामा पुग्दछ । हो, यहि अशक्तताको स्थितिमा के गर्ने त भन्ने सोचाइले पनि मानिसहरुलाई कुटुकुटु खाइरहेको हुन्छ ।

हाम्रो पूर्वीय परम्पराअनुसार वृद्धावस्थामा छोराछोरीहरुले बाबुआमाको हेरचाह गर्नुपर्ने कर्तव्य हुन्छ । त्यस कर्तव्यलाई अहिलेको समयमा कति छोराछोरीले पालना गर्न सक्लान् त ? अहिलेको समयमा खेतीपाती गर्ने र एकै स्थानमा बसेर गुजारा गर्ने प्रचलन हराइसकेको छ । त्यस अवस्थामा आमाबाबु र छोराछोरी एकै ठाउँमा रहन पनि असम्भव छ । कतिपय छोरीछोरीहरु विदेशमा रहन्छन् र बाबुआमा मात्र नेपालमा रहेका छन् । वृद्ध भइसकेका बाबुआमालाई छोराछोरीहरुले सँगै लैजान सक्ने अवस्था पनि सधैँभरी नहुन सक्छ । बाबुआमाहरु यता आफू जन्मे, हुर्केको, आफूले सिर्जना गरेको ठाउँ र इष्टमित्र, नातागोता, आफन्त त्याग गरेर परदेशको भूमिमा गएर बस्न पनि मन पराउँदैनन् । यस अवस्थामा वृद्धहरुलाई एक्लै रहन र मर्न भन्दा पनि अशक्त अवस्था आउला र कसैको भरमा बाँच्नु पर्ला भन्ने कुराको पीर बढि हुनेरहेछ । शारीरिक र मानसिक अवस्थामा ह्रास आएपछि हुने चिन्ताले पनि वृद्धजनहरुलाई खाइरहने रहेछ ।

मैले नजिकबाट चिनेको एक मित्र हुनुहुन्छ । उहाँका दुई दाजुभाइ विदेशमा छन् । उहाँ आफैं पनि अमेरिकामा हुनुहुन्छ । यता वृद्ध आमा नेपालमा । त्यस अवस्थामा उहाँले आमालाई के गर्ने भन्ने मनस्थितिमा केहि वर्ष गुजार्नुभयो । एकजना घरेलु सहायक बन्दोवस्त गरेर नेपालमा आमालाई छाड्नुभयो । यसो गर्दा पनि अवस्था सहज नभएपछि उहाँले आमालाई अमेरिका नै लिएर जानुभयो । तर मेरा मित्रजस्तै सबैले वृद्ध आमा बालाई आफू बसेकै ठाउँमा लिएर जाने अवस्था हुँदैन । बाबुआमा मात्र एक्लै स्वदेशमै छाडिराख्ने अवस्था पनि हुँदैन । यस्तै समस्या र द्विविधाका बीचमा पनि मेरी  एकजना साथीले आफ्नी आमालाई काठमाडौँको सुविधासम्पन्न नीजि वृद्धाश्रममा छाडिराखेर बेलायत गएकी छन् । अशक्त आमालाई उता लिएर जान पनि नसकिने र उताको बसाई माया मारेर यतै वस्न पनि नसकिने । यस्तै भुर्महत्तेबीच उनले आमासँगै सल्लाह गरेर उत्कृष्ट सेवा सुविधा सहितको वृद्धाश्रममा आमालाई राखेकी छन् । अहिले नीजि स्तरमा भनेजस्तो सुविधा सहितका वृद्धाश्रमहरु खुल्न थालेका छन् । चित्त बुझ्दो र भनेजस्तो ठाउँमा राख्दा बाबुआमाको लागि मासिक पचास हजारमाथि तिर्नुपर्ने हुँदोरहेछ । मेरी साथी विदेशमा बस्ने भएकोले उनले त्यो खर्च गर्ने क्षमता राख्छिन् तर सबैको अवस्था यो नरहन सक्छ । एउटा न्यून आय भएको व्यक्तिले आफ्ना बाबुआमालाई खर्च गर्न सक्ने वार्षिक बजेट नै पचास हजार नहुन पनि सक्छ । यस अवस्थामा सरकारी तवरबाटै एक स्थानीय निकायमा एक वृद्धाश्रमको व्यवस्था गर्नु जरुरी देखिन्छ ।

यसरी हेर्दा, बुढेसकालका निम्ति वृद्धाश्रम मात्र एक सहज विकल्प हो भन्ने लाग्दछ । पश्चिमा देशहरुमा यो प्रचलन नौलो होइन । छोराछोरी आफूसँग नरहने सामाजिक व्यवस्था भएकोले आफू अशक्त भएपछि वृद्धाश्रममै जानुपर्छ भन्ने धारणा पश्चिमाहरुमा छ । तर हाम्रो पूर्वीय संस्कृतिले त्यसलाई मान्दैन । छोराछोरी हुँदाहुँदै बाबुआमालाई वुद्धाश्रम पठाउने कार्यलाई अत्यन्त निन्दनीय र गैरजिम्मेवार कार्य मानिन्छ । त्यसरी बाबुआमा वृद्धाश्रममा बस्ने अवस्था आयो भने ती छोराछोरीलाई समाजले अत्यन्त निकृष्ट दर्जामा राखिदिन्छ । तर अहिलेको बदलिँदो समाजमा त्यस कार्यलाई अबका पुस्ताले सहज रुपमा लिन जरुरी छ । बाबुआमा आफैंले पनि छोराछोरीहरुको खुशी र स्वतन्त्रतामा हामीले वाधक बन्नुहुँदैन भन्ने कुरा बुझिदिनु पर्छ ।

मेरो आफ्नो विचारमा वृद्धाश्रममा वस्नुमा कुनै खराबी छैन । आफ्ना उमेर समूहका मानिसहरुसँग गफगाफ गरेर, रमाइलो गर्दै बाँकी जीवन बिताउनु पटक्कै नराम्रो होइन । यसमा मेरो आफ्नो के शर्त हुन्छ भनेँ — आश्रमले आफैंले खोजेको जस्तो सुविधा उपलब्ध गराइदेओस् । अहिले हामी वृद्धाश्रम भन्नाले परित्यक्त मानिसहरुलाई आश्रय दिने स्थल भन्ने बुझ्छौँ । एउटै कोठामा सात आठ जना असहाय मानिसहरु ढलेको देख्छौँ । कसैले दानमा दिएका खानेकुरा लहरमा बसेर खाएको देख्छौँ । मैले भन्न खोजेको वृद्धाश्रम त्यो होइन । त्यो त एक शेल्टर मात्र हो । आधारभूत सुविधाहरु पनि मुश्किलले प्राप्त हुने त्यस्ता स्थानहरुलाई मेरो मनले छानेको होइन ।

आफूले वृद्धाश्रम खोज्ने बेला सम्ममा हरेक समूदायमा एक एक वृद्धाश्रम होस् । आफ्नो गच्छेले भ्याउने सम्मको सुविधायुक्त वृद्धाश्रम पनि होस् । त्यहाँ कुनै किसिमको कठिनाई महसूस गर्न नपरोस् । बुढ्याईँसँगै हाम्रा आफ्नै शारीरिक र मानसिक समस्याहरु प्रशस्तै हुन्छन् । जीवनको त्यस अवस्थामा थप वाह्य कठिनाई नहुने हो भनेँ र आफूले सन्तोष लिन सक्ने हो भनेँ कसैको लागि बोझ हुनुभन्दा मलाई त वृद्धाश्रमको बसाइ नै उचित लाग्छ ।

मैले आफूले देखेजस्ता, विदेशमा भएजस्ता, आफ्ना आफ्ना युनिट भएका, सम्पूर्ण कुराहरुले भरिपूर्ण वृद्धाश्रम त यहाँ नहोलान् । तैपनि आधारभूत सुविधा भएका, शान्तसँग आफ्नो कोठामा बस्न पाइने, लेखापढी गर्न सकिने स्थान भए मलाई पुग्छ । एकदिन आउने वृद्दावस्थालाई ध्यानमा राख्दै मैले आफ्नै लागि एउटा वृद्धाश्रम खोज्नु छ । यस्ता वृद्धाश्रमका बारेमा तपाइँहरुलाई थाहा छ भने कृपया मलाई जानकारी दिनुहोला।

०००

दमक, झापा

(डा. व्यन्जनाकाे ब्लगपाेष्टबाट)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अब म केही बोल्दिनँ

अब म केही बोल्दिनँ

वासुदेव गुरागाईं
बुढ्यौलीका सच्चा साथी

बुढ्यौलीका सच्चा साथी

वासुदेव गुरागाईं
वृद्ध मनोविज्ञान

वृद्ध मनोविज्ञान

बद्रीप्रसाद ढकाल
नमरी स्वर्ग देखिन्न

नमरी स्वर्ग देखिन्न

वासुदेव गुरागाईं
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
0
Would love your thoughts, please comment.x
()
x