सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चिल्लो गधा

मैले आशालाग्दो नजरले नेपथ्यतिर नियालेँ । नेपथ्यबाट पनि गधाकै स्वर आइरहेथ्यो, “ड्वाँ ! ड्वाँ !!” नियालेर हेरेँ— मेरो हातमा मतपत्र थियो । मलाई गधाहरूकै बीचबाट सबभन्दा चिल्लो गधा छान्नु पर्ने थियो ।

Nepal Telecom ad

अँध्यारोमा छामछुम-छामछुम गर्दै थिएँ, अकस्मात् बत्ती आयो । बत्ती आउनासाथ नराम्रोसँग आँखा तिर्मिराए । अलिकति चिम्रिएका आँखाहरूलाई अलिअलि खोल्दै थिएँ, फेरि बत्ती निभिहाल्यो ।

वाक्क लागेर बाहिर के निस्किएको थिएँ, बाहिरको अँध्यारोले झन् नराम्रोसँग गाँज्यो । म थुचुक्क बसेँ । अँध्यारोमै कल्याङमल्याङ सुनिन थाल्यो । बिस्तारै केही स्वरहरू स्पष्ट हुँदै आए । लाग्यो— मानिसहरूकै हुल मतर्फ आउँदै छ । नजिकै आएपछि नियालेर हेरेँ— अँध्यारोमै ती आकृति मान्छेमान्छेजस्ता लागे । तैपनि मान्छे हो कि होइन ? ठम्याउन निकै गाह्रो भइरह्यो ।

“को हो तपाईंहरू ?” म अँध्यारोमै जुरुक्क उठेँ ।
“हामी मान्छे हौँ ।” तिनीहरूले एकसाथ उत्तर दिए ।
“तपाईंहरू यस बखत किन यहाँ आउनुभएको ?” मैले प्रश्न गरेँ । उनीहरूले फेरि संयुक्त उत्तर दिए, “हामी भोट माग्न आएका !”
“ए चुनाव आएछ !” मैले बल्ल सम्झिएँ । तैपनि यस्तो अँध्यारोमा भोट माग्न आउनुको रहस्य मैले बुझ्न सकिनँ । सोधिहालेँ, “यस्तो अन्धकारमा किन आउनुभएको त ? उज्यालो भएपछि आउनुभएको भए भइहाल्थ्यो नि !”
“कहाँ अँध्यारो छ र ? चारैतिर उज्यालै-उज्यालो छ नि !”

तिनीहरूले फेरि एकसाथ चिच्च्याए । मैले आँखा मिचेर हेरेँ— उज्यालोको एक छिटा पनि देखिएन ! जताततै अन्धकार ! चारैतिर अँध्यारो ! अँध्यारोबाहेक कतै पनि केही देखिँदैन ! यतिसम्म कि अँध्यारोको कारण ती भोट माग्नेहरूलाई देख्न पनि मलाई धौ-धौ परिरहेको थियो । तैपनि सबै मिलेर ‘उज्यालो छ’ भनेपछि मैले ‘उज्यालो छैन’ भन्न सकिनँ । सोचेँ— सायद मेरा आँखाहरू नै कमजोर भएछन् ! मैले अँध्यारो र उज्यालोको विवाद कोट्याउन नचाहेर प्रसङ्ग बदल्दै सोधेँ, “तपाईंहरू एउटै पार्टीको मान्छे हुनुहुन्छ ?”

उनीहरूले एकै स्वरमै एकमात्र उत्तर दिए, “होइन । हामी अलगअलग पार्टीका मान्छे हौँ ।”
“त्यसो भए मैले कसलाई भोट दिने त ?” मैले अलमल तेर्स्याएँ ।
“मलाई दिनूस् !”
“मलाई दिनूस् !”
“त्यस्लाई होइन, मलाई दिनूस्……!”

तिनीहरू निकै बेर चिच्याइरहे । सबैले फरकफरक वाक्य बोल्न थालेपछि उनीहरूको आवाज बुझिन छाड्यो । बोल्दाबोल्दै उनीहरूबीचमा हातै हालाहाल पनि भयो । निकै मुस्किलले मैले छुट्ट्याएँ अनि भएभरको स्वर निकालेर चिच्च्याएँ, “एक-एक जना गरी पालैपालो बोल्नूस् !”

फेरि उनीहरूबीच को पहिले बोल्ने भन्ने कुरामा विवाद चर्कियो । हैरान भएर मैले छेउदेखि बोल्ने क्रम लगाइदिएँ ।
सबैभन्दा पहिले दाहिनेतिरको आकृति अगाडि सर्‍यो, “म यो देशको सबैभन्दा ठूलो पार्टीको मान्छे हुँ । मलाई भोट दिनुभयो भने म मन्त्री बन्न सक्छु, प्रधानमन्त्री बन्न सक्छु ।”
त्यसपछि दाहिनेतिरको अर्को बोल्न थाल्यो, “ठूलो भनेर हुन्छ ? ठूलो भन्दैमा हात्तीको मासु खान त मिल्दैन नि !”

त्यसपछि एकदुई अरू आकृतिहरूले पनि मलाई त्यस्तै खालका बकम्फुसे भाषण सुनाए । अर्को न दाहिनेतिरको; न देब्रेतिरको आकृति उफ्रियो, “यिनीहरू सबै काम नलाग्नेहरू हुन् ! ममात्रै राम्रो हुँ । हिजो पनि राम्रो, अस्ति पनि राम्रो, खान पाए पनि राम्रो, नपाए पनि राम्रो । मलाई भोट दिनूस् ।”

पालोकै क्रममा सबभन्दा देब्रेतिरको आकृति बोल्न थाल्यो, “यी बीचकाहरू भनेका छिचिमिराहरू हुन् । यिनीहरू सबै उड्दाउड्दै आफैँ झरेर खत्तम हुन्छन् । त्यो पल्लो छेउको र मेरोबीचमा मात्र प्रतिस्पर्धा हुन सक्छ । तर, त्यो पल्लो छेउको मान्छे मान्छे नै होइन । त्यसले मान्छेको खोलमात्र लगाएको छ ।”

देब्रेतिरको आकृतिको कुरा काट्दै दाहिनेतिरको उफ्रियो, “तैँ होलास् मान्छेको खोल लगाएको ! तेरो त अनुहारमात्रै मान्छेको हो; बाँकी सबै अर्थोकै छ !”

त्यसपछि फेरि भनाभन चर्किन थाल्यो । दाहिने र देब्रे आकृतिको चर्को स्वरका बीचमा बीचका सानासाना आकृति स्वरहरू ओझेलमा पर्न थाले । मलाई बेफ्वाँकमा झन्झट बेहोर्नुपरेकोमा चिच्च्याट लाग्न थालिसकेको थियो । तर, तिनीहरू मेरो वरिपरि यसरी गोलबन्द भएर चिच्याइरहन थाले कि मैले उम्किएर भाग्ने ठाउँ नै पाइनँ । त्यस्तैमा सबैलाई थर्काउने गरी नेपथ्यबाट एउटा स्वर आयो, “ओइ मान्छे ! तँ यो लफडामा नपर् ! कसैलाई पनि भोट न दे ! सिद्धिहाल्यो नि !”

मलाई नेपथ्यबाट आएको स्वर बरु डनिकै आकर्षक र यो झन्झटबाट मुक्ति दिने खालको लाग्यो ।
त्यस्तैमा अकस्मात् बत्ती आयो । चारैतिर झलमल्ल उज्यालो पोखियो । तिर्मराएका आँखा मिचेर मैले हेरेँ, अघिका मान्छेजस्ता आकृतिहरू एउटा पनि थिएनन् !

मेरो वरिपरि त मेरै हरियो बाली सोत्र्यान्त पारेर आएका गधाहरूमात्रै थिए । मैले अघि आफूले मिलाएर लगाइदिएको लस्करतर्फ हेरेँ— त्यहाँ सबभन्दा देब्रे र सबभन्दा दाहिनेतिर अलि ठूलाठूला गधाहरू थिए । बाँकी पनि दुब्ला, पातला, मरन्च्याँसे गधै थिए, मान्छेको आकृतिका एउटा पनि थिएनन् । चारैतिरबाट गधाकै स्वर आइरहेको थियो । मैले आशालाग्दो नजरले नेपथ्यतिर नियालेँ । नेपथ्यबाट पनि गधाकै स्वर आइरहेथ्यो, “ड्वाँ ! ड्वाँ !!”
नियालेर हेरेँ— मेरो हातमा मतपत्र थियो ।

मलाई गधाहरूकै बीचबाट सबभन्दा चिल्लो गधा छान्नु पर्ने थियो ।

०००
गीताञ्जली, २०५८

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
कहिल्यै ननिभ्ने धुवाँ

कहिल्यै ननिभ्ने धुवाँ

प्रोल्लास सिन्धुलीय
म लोग्नेमान्छे

म लोग्नेमान्छे

प्रोल्लास सिन्धुलीय
जन्मजात बाहुनको विज्ञप्ति

जन्मजात बाहुनको विज्ञप्ति

प्रोल्लास सिन्धुलीय
राष्ट्रिय सहमति

राष्ट्रिय सहमति

डा. टीकाराम पोखरेल
सतीको सराप

सतीको सराप

ह्यारी- ८०
भत्काउन सजिलो छ

भत्काउन सजिलो छ

अशोककुमार शिवा
नेपालको खेती

नेपालको खेती

चाेलेश्वर शर्मा
आँखाले नदेखे पो मुटुले सहन्छ !

आँखाले नदेखे पो मुटुले...

चिरञ्जीवी दाहाल