डा. लोकेन्द्रप्रसाद पौड्यालविवेक जिन्दावाद
ममात्र होइन धेरै छन् मजस्ता दोधारेहरू मनले भन्दैछ यसपालीको स्वस्तिक छाप जहाँ लग्ला विवेकले । विवेकको निर्णय जिन्दावाद !

भोलि अर्थात्
चार मङ्सिर ०७९
छैठीको दिन
भावीले होइन
हामीले
यो देशको भविष्य र
भाग्य लेख्ने दिन ।
म दोधारमा छु
कुन रंगको मसीमा कलम चोबेर लेखौं
यसपाली मैले मेरो देशको भाग्य र भविष्य ?
म आजसम्म डगमगाएकी छैन
अरु कतैतिर कलम चोबेकी पनि छैन
सिवाय रातो छोडेर ।
पहिले सूर्यको रातो रङमाथि भर गरेकी हुँ
तर महाकालीमा डुबेर कालो भयो त्यो सूर्य
त्यसपछि यो मनमा त्यो रातो भएर कहिल्यै उदाएन ।
त्यसपछि हँसियाभित्रको ताराको रातो रङमा चोबेकी हुँ कलम
विनासित्तिमा मेरा काँधहरू सिढी बन्दैछन्
बालुवामै पानी हाल्दैछु भन्ने लाग्यो ।
मनै त हो
मनले नमानेपछि मेरो के लाग्छ र?
विश्वास थिएन खासै
भर पनि थिएन
मर न त ! एकपटक हेरौं भन्दै
हँसियाहतौडामा चोबियो कलम
सत्ता स्वार्थभन्दा माथि उठ्न सकेनन्
बहुमतको मातमा डुबेर सबै खुइल्याइदिए ।
चहकिलो रातो रंङ
झोले हुन मन छैन
चम्चा हुन जानिएन
देशभन्दा माथि अर्को कोही छैन
देशसंग साँटिने अरु केही छैन ।
तर कसैको भर पनि त छैन
तैपनि भोट नहाली भाछैन
कस्तो दोधारमा परियो !!
ममात्र होइन
धेरै छन् मजस्ता दोधारेहरू
मनले भन्दैछ
यसपालीको स्वस्तिक छाप
जहाँ लग्ला विवेकले ।
विवेकको निर्णय जिन्दावाद !
०००
झापा
२०७९/०७/२८
Subscribe
Login
0 Comments
Oldest






































