साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बोरिङका टी-चर

धन्न त्यो समय इङ्लिस बोडिङका  चेलाचेलीले बाहेक अरुले बोल्थेनन्, बुझ्थेनन् र अहिलेसम्म कसैले केही गुनासो गरेका छैनन् । नत्रभने त इङ्लिसमै मलाई मेरो बाबुको बिहे हेर्ने अवसर मिल्थ्यो होला ।

Nepal Telecom ad

बुझ्नुभएको भए बेश नै भयो, नबुझ्नुभएकाले अर्को अर्थ नलगाउनुहोला । यहाँ बोरिङका भन्नाले बोडिङ स्कुलका अनि टि-चर भन्नाले शिक्षक भएको व्यहोरा अनुरोध गर्दछु । सानैदेखि बाबाआमाले पढ्-पढ् भनेर हैरानै पार्नुहुन्थ्यो । कति पढ्नु भन्दाभन्दै यति धेरै पढिएछ कि एस.एल.सी. भन्ने फलामे गेट चौथो श्रेणीमा पास गरेको भोलिपल्टदेखि नै बोरिङको टी-चर बन्ने सौभाग्य भनूँ कि अहोभाग्य मिल्यो । त्यो पनि लिखित परीक्षा नदिइकन, मौखिक इन्टरभ्युको भरमा । शुरुमा अलि-अलि डर लाग्यो, इन्टरभ्यूमा के-के सोध्ने होलान् भन्ने पिरले । बिस्तारै डर हराउन थाल्यो । त्यो बोरिङका सञ्चालक मध्येका सबैभन्दा प्रमुखलाई मेरै आफ्नै बाबाले फ्रिमा एउटा खसी बेच्नुभाको नातो छ रे । अनि अहिले भएका प्रिन्सिपल महाशयलाई त झन् उनी प्रिन्सिपल हुनको लागि उनले भन्दा मेरै बाबाको ज्याक राम्रो लागेको रे ।

मन ढुक्क भयो । अन्तरवार्ता भन्ने कुरा शुरु भयो । पाँच जनाको समुह, प्रिन्सिपल, सञ्चालक मध्येका प्रमुख, अनि उनीहरूका निकै सानदार आसेपासे यसो हेर्दा सत्तरी वर्ष मात्र काटेका जस्ता देखिने युवा तीन जना । कमालको भो नि इन्टरभ्यू । पहिलो प्रश्न थियो- बाबुले कति पढ्नु भो ? छाती खोलेर जवाफ दिए, यसै वर्ष फलामे गेटलाई चौथो श्रेणीमा उडाएँ । दोस्रो प्रश्न-बाबु स्कुल समयमा गाई खाने भाषामा मात्र बोल्न अनि पढाउन सक्नुहुन्छ नि ? त्यति मामुली कुरा पनि सोध्न पर्छ र ? प्रिन्सिपल ज्यूले फलामे गेटलाई पाँचौँ श्रेणीमा पास गर्नुभाकोले त अङ्ग्रेजी फरर बोल्नुहुन्छ भने म त झन् चौथो श्रेणीमा पास भएकालाई त फरररर…….। अन्तिम प्रश्न थियो, तपाइँले यहाँ पढाएर कति कमाउछु भन्ने सोच्नु भएको छ ? प्रश्न गाह्रो भो । धेरै भनूँ भने मलाई फेल गर्छन् कि भन्ने पिर । थोरै भनुँ भने यसो गासबासको जोहो गरेर त्यही पैसोले एउटी प्रियसीलाई पनि पट्याउनु थियो । अलपत्र परेँ, भित्रभित्रै त दाँतबाट पसिना आइसक्यो । मेरो अनुहार पढेर होला भैगो नि त बाबु, नआत्तिनू, यसो दायाँवाँया गरेर टी खान पुगिहाल्छ अन्यलाई त बाबुले अन्य समयमा अन्त्यै काम गर्नुपर्छ । मन्जुर छ भने हामी तपाइँलाई इन्टरभ्यूमा पास गराउँछौँ । उहाँहरूले प्रश्न गरेर नसक्दै अनायासमै मैले टाउको हल्लाएर मौन स्वीकृति दिएछु ।

सानैदेखि साथीहरूले हामी त टर बन्ने हो भन्थे । टर माने मास्टर, डाक्टर, गफास्टर, कन्डक्टर आदि । आफू भने उनीहरूजस्तो टर नबनेर चर बन्न पाएकोमा मेरो भूँइमा खुट्टा थिएन माने बोरिङको टि-चर पास गरेकै दिन बाबालाई फकाएर टिलिक्क टल्कने छालाको कालो जुत्ता लगाइयो नि त खुट्टामा । सबै जना जिब्रो लरबराएर इङ्लिस बोलेको सुनेर आफू पनि दुईचार दिनमै फरर भइयो । यसरी बोल्न थालियो-केही सोध्न पर्‍यो भने यो भनेको ह्वाट हो ? अर्डर दिन पर्‍यो भने- फल्नो काम गर्न यु गो । खाजा खाऊ भन्दा- सबै कुरा बाँडीचुँडी इट-इट । केही नगर भन्दा-नो-नो । छोटो समयमा नै यति धेरै अङ्ग्रेजी बोलियो कि त्यतिबेलाको अङ्ग्रेजी सिकाइले अहिले अङ्ग्रेजीमै पि.एच.डी गर्दैछु । धन्न त्यो समय इङ्लिस बोडिङका  चेलाचेलीले बाहेक अरुले बोल्थेनन्, बुझ्थेनन् र अहिलेसम्म कसैले केही गुनासो गरेका छैनन् । नत्रभने त इङ्लिसमै मलाई मेरो बाबुको बिहे हेर्ने अवसर मिल्थ्यो होला ।

पढाउन थालेको एक महिना त सजिलै बितेछ । स्कुलमा भुराभूरीको होमवोर्क चेक गर्दा अनि घरमा आएर आफू कसरी स्मार्ट बन्ने भनेर ऐना हेर्दाहेर्दै थाहा नै नपाइकन । स्यालरी बुझ्ने दिन बोरिङका एकान्टेन्टले खुसुक्क बोलाउनु भो अनि एउटा भरपाईमा सही गराएर, एउटा बन्द खाम मेरो हातमा थमाउनु भो । अनि भन्नु भो । एक वर्षसम्मलाई तपाइँको सेलरी यति नै तोकिएको छ । त्यसपछि तपाइँको योग्यता, क्षमता र अन्य धेरै कुरा मूल्याङ्कन गरेर बढाउने वा घटाउने निर्णय हुन्छ । आफूले यति सेलरी पाएँ भनेर अरु कसैलाई नभन्नुहोला । यहाँ त तपाइँले भन्दा कम खाने पनि धेरै छन् । मैले केही नबोली मुन्टो हल्लाएर हुन्छ भने । मनभित्र निकै खुल्दुली भो । पिसाप नलागे पनि त्यतिबेलाको ट्वाइलेटमा छिरेँ र बन्द खामलाई मज्जाले खोले । बाबै पैसो त निकै धेरै हो तर हजुरहरूलाई रुपैयाँमा बताउँदा एउटा बाघ गुणा पाँच रहेछ ।

जे होस् एकान्टेन्टको कुरा भने सोह्रै आना ठिक लाग्यो । त्यत्रो धेरै तलब अरुलाई सुनाउन हुने भए पो सुनाउनू ? त्यही भएर कसैलाई नभन्नु भनेका रहेछन् । बोरिङ आउन किनेको कपडा, जुत्ताको पैसा तिर्न जम्मा तीन महिनाको सेलरीले पुग्ने भो भनी म निकै खुशी भएँ । घरका बाबाले सोध्दै थिए -केटा तँलाई सेलरी दिएका छन् कि भोलिन्टर नै हो ? मलाई भोलिन्टर भनेको थाहा थिएन, पक्कै पनि राम्रै कुरा होला भनेर हजुर बाबा भोलिन्टर नै हुँ भनिदिएँ । पछि बल्ल थाहा पाए भोलिन्टरको अर्थ । बाबाले त्यही बुझेर होला अहिलेसम्म मेरो जुत्ता किनिदिएको पैसा माग्नुभएको छैन ।

अँ साँच्चि जीवनमा धेरै कुराको अनुभव हासिल गरियो बोरिङको टी-चर भएर । उहिलेका बोरिङका टी-चर र अहिलेका बोरिङका टी-चरमा खासै आमुल परिवर्तन भएको छैन । त्यो बेला फलामे गेट चौथो, पाचौले पनि भर्ना हुन पाउँथे भने अहिले बि.ए., एम. ए. प्रथम श्रेणीमा पास गरेकालाई पनि छिराउन थालिएको छ । त्यतिबेला हामीले पाउने बाघको ठाउँमा अहिलेकाले हात्तीले काम चलाएका छन् । अरु त सबै सेम माने उस्तै जस्तै त हो । केही बाठा त भएका छन् है अहिलेका टि-चर । उनीहरूसँग अथाह ज्ञान छ तर सबैलाई पुर्‍याइपुर्‍याई पढाउँछन् । बोरिङले बैंक खातामा पठाउने हात्ती जति बोरिङकालाई पढाउँछन् । समय मिलाएर कलेजले दिने हात्ती जति कलेजलाई पढाउँछन् । टिउसनमा पाइने हात्ती बराबरको ज्ञान ट्युशन पढ्नेलाई मात्र साँचेर सिकाउछन् । अन्य दायाँबायाँ श्रम गरेर कमाउने हात्ती जतिको ज्ञान उनीहरूलाई नै बाँड्छन् । निकै राम्रो र न्याय भएको जस्तो लाग्छ मलाई यो मानेमा ।

नेपालीको बुद्धि निकै पछि खुल्छ भनेको सुनेको थिएँ हो रहेछ । पहिला पहिला मलाई लाग्थ्यो कि सरकारी स्कुलमा पढाउनेलाई शिक्षक अनि बोरिङमा पढाउनेलाई टी-चर किन भनेका होलान् ? अहिले भने अर्थ आफै स्पस्ट भो । सरकारी स्कुल पढाउनेले आफ्नो आवश्यकताका सबै कुरा आफ्नो तलब बाट पुरा गर्ने हुनाले उनीहरूलाई शिक्षक भनिँदो रहेछ । बोरिङ्काले बोरिङ् पढाएर पाएको सेलरीले मात्र चिया सेल गर्न पुग्ने भएकोेले टी-चर भनिँदो रहेछ । हाम्रा कुरा यहाँहरूलाई कस्तो लाग्यो कुन्नि ? सबैका कुरा एउटै बसाइमा के काट्नु ? बोरिङका चेलाचेलीका कुरा अर्को भेटमा गरौँला ।

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
छु मन्तर- बेरोजगार चट्

छु मन्तर- बेरोजगार चट्

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- (७)

बोक्सीका ताजा बात- (७)

गायत्री परिरोशनी
बोक्सीका ताजा बात– (६)

बोक्सीका ताजा बात– (६)

गायत्री परिरोशनी
घण्टी बजेपछि !

घण्टी बजेपछि !

गायत्री परिरोशनी
बोरिङका टी-चर

बोरिङका टी-चर

गायत्री परिरोशनी
गुट उद्योग

गुट उद्योग

गायत्री परिरोशनी
लभराजको प्रेम !

लभराजको प्रेम !

गायत्री परिरोशनी
लौन लायो !

लौन लायो !

गायत्री परिरोशनी
रुद्रघण्टी हरायो !

रुद्रघण्टी हरायो !

गायत्री परिरोशनी
0
Would love your thoughts, please comment.x
()
x