साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कालिदासकाे ‘क’

विदेशी प्रभुको आशिर्वाद, न्यायालयको सेटिङ र माई आमाको आशीर्वाद पाइन्जेल मेरो रौं पनि झर्दैन भनेर बसेका उनी बन्दाबन्दैको धरहराको टुप्पोबाट सुनधाराको फेदमा एकै चोटी किन खँगारिने थिए र ?

Nepal Telecom ad

अहिले चाडपर्वको माहोल भएको भए पनि चुनावको गरमागरम बहस छ जताततै । फलानोले यसरी जित्ने छ र फलानोले यसरी हार्नेछ । दुई ठूला ग्याङको निकै चर्चा छ । प्रतिगमनकारीको नेतृत्व कालिदास बाले गरेका छन् भने अर्कोतर्फको नेतृत्व अक्षम काकाले गरेका छन् ।

पहिले पहिले पो उम्मेदवार हुन पार्टीमा योगदान गरेको, लोकप्रिय र स्वच्छताको योग्यता हुनुपर्छ भन्ने मान्यता रहेको थियो । अहिले त सबैभन्दा ठूलो पूँजी भएको, जसरी पनि जित्न सक्ने, ठूलो ठेकदार, डन, अपराध गरेर जेल बसेका वा प्रहरीले फरार सूचीमा राखेको भए झन् बेस्ट । अहिले त एक हातमा सिंदूर अर्को हातमा नागरिकता भने झैँ एक हातमा पार्टी प्रवेशको माला अर्को हातमा उम्मेदवार बनाउने टिकट ? वर्षौदेखि भुइँमान्छेसँग जोडिएको खाँट्टी पार्टीको नेता मूल नेतृत्व रिझाउन नसकेको अपराधमा टिकटबाट बन्चित ? निकै सन्सनीपूणर् र रोचक छैन त अहिलेको चुनावी माहोल ?

नीति, कार्यक्रम, विचार र चुनावी मुद्दाको आधारमा भन्दा पनि अरु नै कुराको आधारमा लडिने लडाईं बेग्लै हुँदोरहेछ । जसले जसलाई जोसँग मिलेर जिते पनि हारे पनि कुनै खतबात नलाग्ने ! कम्ताको स्वतन्त्र चुनाव हो यो ? क्या सरिवरी चुनाव ?

एक छिन् अघिसम्म तँ अराष्ट्रिय तत्व, तँ बिखन्डनकारी र तँ प्रतिगमनकारी भनेर सामाजिक सञ्जालमा पाँडेगालीमा उत्रिएकाहरू एक छिन्पछि आफ्नो ग्याङमा सामेल भएपछि महान् क्रान्तिकारी, राष्ट्रवादी र अग्रगामी ! कम्ता लाजै लाग्ने गरी अङ्कमाल गरेर हग् गरेका छन् ! … भन्दा देख्नेलाई लाज !

कुन ग्याङमा लाग्यो ? परमादेशी कि प्रतिगमनकारी ? छुट्याउन नै मुश्किल ? फास्स न फुस्स ? बेकारमा गरिएछ एक अर्कोमा छोइछिटो ! घाम पार्टी विभाजन भएपछि घाम र मसी पार्टी बन्यो । घामका मान्छेले मसीका मान्छेलाई, मसीका मान्छेले घामको मान्छेलाई देखिनसहने । लोग्ने एकातिर स्वास्नी अर्कैतिर । दाजु एकातिर भाइ अर्कैतिर । यसरी पूरा समाज विभाजन भयो । भारो पर्म, ऐचो पैंचो, मर्दापर्दाको सम्बन्ध सब चौपट ? अक्षम काकाको दिन बलियो भएर उनलाई चिठ्ठा परेको छ । बिस वर्षसम्म यिनीहरूलाई केही गर्न नसकिने भयो भन्दै कमन्डलु र लौरो बोकेर शिवपुरीतिर तपस्या गर्न हिँडेका अक्षम काका निकै फाइँफुइँ गरेर डुक्रन थालेका छन् ।

म बबुरोलाई छरछिमेकी, साथीभाइ इष्टमित्रले यो कालिदासको भर छैन त्यता नलाग्नु भन्दाभन्दै आफूले आधा शताब्दीसम्म काम गरेको, घाम चिन्हमा बाहेक अन्य चिन्हमा कहिले पनि भोट नहालेको भनेर यही पार्टीमा टाँसिएर बसें । तर अब परेन फसाद ?

हिमाल पहाड तराई कहाँ कसले कसलाई भोट हाल्न पर्ने हो ? केही ठेगान छैन । पन्चेतका मुसे काका घामचिन्ह लिएर हेटौंडामा उठेका छन् रे । होली वाइनका ढकाल काका समानुपातिकतर्फ तेस्रो नम्बरमा छन् रे । छायाँ पार्टीका महतो चाचासँग पनि कसिलो गाँठो कसिएको छ रे । घाम, छायाँ, गाई, गोरु सबैलाई मिलाएर एक बनाउन सक्ने कालिदास बाको खुबीलाई मान्नैपर्छ । मिलाउन सक्ने क्षमता थियो भने त त्यत्रो दुई तिहाई नजिकको संसद दुई दुई पटकसम्म बिघटन गर्ने थिए र ? विदेशी प्रभुको आशिर्वाद, न्यायालयको सेटिङ र माई आमाको आशीर्वाद पाइन्जेल मेरो रौं पनि झर्दैन भनेर बसेका उनी बन्दाबन्दैको धरहराको टुप्पोबाट सुनधाराको फेदमा एकै चोटी किन खँगारिने थिए र ?

हुन त उनको ढोकामा बा भन्दै चाकडीमा नधाउने र मोटो भेटी चढाएर आरती नगर्नेलाई फुटेको आँखाले पनि देखिसहदैनन् रे भन्ने सुनेको थिएँ हो रछ । सबै कमिटीले एकल सिफारिस गरिएको सुपका डा. काजीलाई टिकट नदिएर बन्दुके काजीलाई टिकट दिए । सधैं बामतालमेलको एकोहोरो राग अलाप्ने हम्मर गुरुलाई पन्छाएर पञ्चेती डनलाई उनको क्षेत्र दिएर पार्टीबाटै लखेटे । त्यो मार्क्सवादी अध्ययन केन्द्रको नामबाट कार्यकर्ता जगाउँदै हिड्ने ? लौ जगाओस् अब । कालिदास बाको स्मरण शक्तिलाई त मान्नैपर्छ ।

देशैभरि उनको एकल प्रहशनबाट लट्ठ भएर पार्टी प्रवेश गरेकाहरू उनको व्यवाहार देखेर दंग परेका छन् । चैतेहरूले जे माग्यो पाउने असारेहरूले चैतेको हेरेर हिस्स बुढी हरिया दाँत देखाउनु परेको छ टिकट बितरणमा । भुईंको उठाउन खोज्दा पोल्टाको चट् । रातभरि करायो दक्षिणा हरायो । एउटा नाथे टिकटका निहुँमा १६ पृष्ठ लामो आरोपपत्र लगाउला भन्ने अनुमान गर्न सकेको भए घाम पार्टीको अवस्था छताछुल्ल हुने थिएन ।

बाहिरी प्रभुको आशिर्वाद मिलुन्जेल भित्री प्रभु (जनता) को जति अपमान गरे पनि केही फरक पर्दैन भन्ने मान्यता राख्ने कालिदासलाई आची पुछेर फालेको झुम्रो त कुनै दिन काम लाग्छ भने ती त आफ्नै सहयोद्धा भनेर कसले सम्झाइ देओस् खै ? नत्र त कालिदासको ‘क’ झै खिइएर सकिन बेर नलाग्ला भन्न सकिन्न !

०००
मड्गाल ,जोरपाटी
२०७९/०६/३०
भैरव पुरस्कार गुठीको सञ्चालक समिति सदस्य

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x