कृष्णदेव रिमालउल्टो गर्भाधान
हामी मात्र किन गर्ने उल्टो गर्भाधान ? आऊ युग जन्माउने गरि हामी सुल्टो गर्भाधान गरौं । दुनियाँले उल्टो भने पनि अब हामीले गर्ने र गराउने युगसापेक्ष सुल्टो गर्भाधान हो ।

कुकुरले गर्भाधान गर्छ
कुकुर्नी गर्भवती हुन्छे
दसमास पूणर् हुँदा
अचम्मको खित्का छोड्दै
स्यालहरू जन्मन्छन्
त्यस्तै
घोडीहरूले अचेल
गधा जन्माउँछन् ।
बघिनीहरू लाजै पचाएर
बिरालाहरू जन्माउँछन्
मान्छेले मात्र यहाँ
कसरी सक्छ हँ अब
आफूजस्तै मान्छे जन्माउन ?
नक्शापास गर्दा नगरपालिकाले
बेस्मेन्ट पार्किङ जन्माउने भन्छ
इन्जिनियर र घरपतीको
अँध्यारोमा गरिएको त्यो
अवैध साँठगाँठले
ग्यालग्याल्ती सटर जन्माउँछ ।
तरकारी जन्माउने भन्दै
किसानी भेषमा
काला ब्यापारीहरूले
भाडाका जमिनमा
सम्झौताको गर्भाधान गर्छन्
दसमास पूरा भएपछि
सैयौं भाडाका कोठा जन्माउँछन् ।
बहाल कर तिर्नु पनि नपर्ने
अबैध आप्रबासी पनि राख्न पाइने
आफू कतै टाढाको महलमा बस्ने हुँदा
सामाजिक कलुषता भोग्नु नपर्ने
वाह ! क्या गजबको गर्भाधान है
गणतन्त्रका गजुवाहरूको !
उल्टो गर्भाधानको यो चक्रमा
हामीले मात्र किन यहाँ
आफूजस्तै यथास्थितिवादी
मान्छे नै जन्माउनुपर्छ हँ ?
जन्माइदिन्छौं हामी पनि अब
टुकुचा उधिन्ने डोजरहरू
बस्तीमा पानी पुर्याउने
लामालामा पाइपहरू ।
छाप्राहरूमा खुलेका
अगणित भट्टीहरू बढार्नु छ
महलहरूमा दिनभरी जम्ने
जुवाका खालहरू छोप्नु छ
बाँझो बारीमा पसिनाले भिजाएर
जोत्नु छ चररर दुबोको चपरी पल्टाउँदै
त्यसैले अब जन्माउने हो ट्याक्टरहरू ।
हामी मात्र किन गर्ने उल्टो गर्भाधान ?
आऊ युग जन्माउने गरि
हामी सुल्टो गर्भाधान गरौं ।
दुनियाँले उल्टो भने पनि
अब हामीले गर्ने र गराउने
युगसापेक्ष सुल्टो गर्भाधान हो ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































