
भन न तिमी कहिले फर्कने ?
हेर न तिमी जन्मेको देशमा न बल छ, न बुद्धि बाँकी छ छ त केवल बाजेको छाला छ त्यहि रुँगेर बसेका बुढाबुढीको न हाँसको न बकुल्लाको चाला छ बरु त्यसैमा पनि लुछाचुँडी छ ।

कृष्णदेव रिमाल :
हे बिभिन्न लोकमा पुगेका
बिशेष गरी पाताल पुगेका
मेरा दाजुभाइ दिदीबहिनी !
फर्केर हिमवत खण्ड आऊ !
तिमी गएदेखि बलबुद्धि
अभाव भएको छ यहाँ
तिमी फर्किएर आए मात्र
बाँझो पल्टेको खेतबारी
ज्ञान विज्ञानले सुन्दर हुनेछ ।
ऊ तलबाट आँखा तर्दै
अझै तल गएको नदीले
टार र फाँटहरू भिजाउँ
बारीका पाटाहरू भिजाउँ
डाँडाहरू हरियो बनाउँ ।
हामी पनि प्रदर्शनीमा राखौंला
गोल्ड कार्डभन्दा महँगो भाउमा
खाशमा कसैले किन्नै नसक्ने
एभरेष्ट नेचर कार्ड
लुम्बिनी नलेज कार्ड
पशुपति रिलिजन कार्ड
मिथिला कल्चर कार्ड
बर्दिया पार्क कार्ड
इलामे ग्रीन कार्ड
र सबैभन्दा दुर्लभ
हिमवत गोल्डेन कार्ड ।
हे यहाँ जन्मेर उडेका
बलबुद्धिका पखेटाहरू !
पहिले तिमीले लगेको त्यो
बल र बुद्धि त ल्याऊ
अनि मिलेर गरौंला काम
सँगै बसेर खाउँला माम ।
हेर न तिमी जन्मेको देशमा
न बल छ, न बुद्धि बाँकी छ
छ त केवल बाजेको छाला छ
त्यहि रुँगेर बसेका बुढाबुढीको
न हाँसको न बकुल्लाको चाला छ
बरु त्यसैमा पनि लुछाचुँडी छ ।
आउ न प्यारा बचेरा हो
घर सम्झेर आऊ
पहिलेको जस्तै
हिमालको गीत गाऊ
मधेशको गीत गाऊ
पहाडको गीत आऊ ।
तुच्छ कार्डहरूमा नबिक
स्वच्छ कार्ड लिन सिक
तिमीलाई घचेटिन बाध्य पार्ने ती
उडुस, उपियाँ र जुकाहरूलाई
चेतनाले निर्मुल पार्नु छ
म पर्खीरहेछु आँखा तानेर !
भन न तिमी कहिले फर्कने ?
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest