साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विज्ञानका पाँच रहस्यमय चट्याङ

त्यतिकैमा गड्याङगुडुङ गरेर पानी पर्न थाल्यो । समिर रमाउँदै हात फैलायो, "आमा, म पनि एकदिन पानीजस्तै घुम्न चाहन्छु !" आमाले टाउको सुम्सुम्याइन्, "तर, बाबु, पानी बन्न त ऊर्जाको साहस चाहिन्छ !"

Nepal Telecom ad

सङ्कलक- नन्दलाल आचार्य :

१. 🔴 चमत्कारी बिऊ
        – गरिमा आचार्य

“बाबा, यदि म चन्द्रमामा बारी जोत्न सक्थें भने, त्यहाँको ढुङ्गा माटो बन्थ्यो होला ?” अमिशले बाबालाई सोध्यो ।

बाबा मुस्कुराए, “गतिलो बिऊ भए, सर्वत्रको माटो उब्जाउ बन्न कर लाग्छ, छोरा ।”

अमिशले आफ्नो सानो बगैंचामा रोपेको रोबोट बिरुवा हेर्यो । उसको विज्ञान शिक्षकले दिएको त्यो बिऊ पानी हाल्दा चम्किन्थ्यो, घाम लाग्दा हरियो हुन्थ्यो, अनि माटो नै सुधारेर बोट झैँ हुर्किन्थ्यो ।

केही हप्तामै उसको बगैंचामा हावा शुद्ध बनाउने सानो यन्त्र पलायो । छिमेकी बालकहरूले चकित भएर हेरे ।

एकदिन, उसको सानो रोबोट बिरुवाले सूक्ष्म सन्देश झरायो, “अब म तिमीलाई अक्सिजन दिन सक्छु ।”

अमिश दङ्ग पर्‍यो । उसले बुबालाई हेर्योर। आफूले पहिले नै भनेको भन्दै बाबाले हाँस्दै भने, “बिऊ राम्रो भए, माटो कहीं पनि उब्जाउ हुन्छ ।”

०००
गाईघाट, उदयपुर ।

२. 🔴 पानीको जन्म
        – रोजिना धमला

“आमा, बादल किन रुन थाल्छ ?” समिरले आकाशतिर हेर्दै सोध्यो ।

“रुन होइन, बाबु ! जब बादल धेरै भारी हुन्छ, ऊ बर्सिन्छ ।” आमाले मुस्कुराउँदै भनिन् ।

“तर पानी आउँछ कहाँबाट ?” समिरको आँखामा कौतूहल चम्कियो ।

“एउटा रहस्य सुन ! साना बुँदाहरू नदी, पोखरी र हाम्रा परेला हुँदै आकाश चढ्छन् । बादल बनेर खेल्छन् । अनि, फेरि माटोको मायाले तान्दा वर्षा भएर झर्छन् ।”

“अनि सागर ? त्यो किन यति ठूलो छ ?”

“किनभने ऊ नजिकै फर्किएकाहरूको कथा संकलन गर्छ, कहिलेकाहीँ आकाश फर्किएर जानेहरूको पनि ।”

त्यतिकैमा गड्याङगुडुङ गरेर पानी पर्न थाल्यो । समिर रमाउँदै हात फैलायो, “आमा, म पनि एकदिन पानीजस्तै घुम्न चाहन्छु !”

आमाले टाउको सुम्सुम्याइन्, “तर, बाबु, पानी बन्न त ऊर्जाको साहस चाहिन्छ !”

०००
लिटिल हेभेन मावि, चौकीडाँडा, उदयपुर ।

३. 🔴 अल्छीको जालो
       – हरि आचार्य

“सुरज, तँ किन सधैं यत्तिकै बस्छस् ?” अर्नबले सुरजलाई उकास्दै थप्यो, “घामले पर्खिरहेको छ, खेल्न जाऔं !”

सुरज लत्रिएर भन्यो, “के गर्ने ? शरीर नै भारी जस्तो लाग्छ ।”

अर्नबले आफ्नो ट्याब देखाउँदै भन्यो, “थाहा छ, हाम्रो दिमाग एउटा ठूलो कम्प्युटरजस्तो हो । धेरै आराम दियो भने सुस्ताउन थाल्छ ।”

“तर म के गर्न सक्छु ?” सुरजले आँखा मिच्दै सोध्यो ।

“बिजुलीका तार जस्तै शरीरका नसामा सन्देश बोक्ने प्रवाह हुन्छ । जब हामी अल्छी गर्छौं, मस्तिष्कले सक्रियता घटाउँछ । कम्प्युटरमा लामो समय चलाइएन भने स्लो हुन्छ, जस्तै हाम्रो दिमाग पनि ।”

सुरजले केही बेर सोच्यो । अर्नबले साइकल निकाल्दै भन्यो, “हिँड, हामीले दिमागलाई रिफ्रेश गर्नुपर्छ ।”

सुरज मुस्कुरायो, साइकलमा चढ्यो र भन्यो, “साच्चै, मस्तिष्कलाई स्लो हुन दिनु हुँदैन, होइन?”

०००
बेलका-२, गल्फडिया, उदयपुर

४. 🔴  भोकको रहस्य
       – लक्ष्मी रिजाल

“आमै, किन मेरो पेट गडगड गरिरहेको छ ?” सानु भोकले छटपटाउँदै सोध्छ ।

आमाले मुस्काउँदै भनिन्, “बाबु, तिम्रो शरीर एउटा कारजस्तै हो । पेट इन्धन राख्ने ट्यांकी हो, र खाना पेट्रोल । जब पेट खाली हुन्छ, कार चल्दैन ।”

सानुले आँखा चम्काउँदै सोध्यो, “त्यसो भए, म पनि रोबोट भएँ त ?”

आमाले टाउको हल्लाउँदै भनिन्, “हो, तर प्रकृतिले बनाएको चमत्कारी रोबोट । पेटमा एउटा घडीजस्तो प्रणाली छ, जसले समय समयमा संकेत गर्छ- अब पेट्रोल हाल्नुपर्छ ।”

सानुले पेट मिच्दै भन्यो, “मलाई त अब पेट्रोल हाल्नै पर्‍यो !”

आमाले हाँस्दै भातको थाल अघि सारिन् । सानुले खुशीले खाना खायो ।

थोरै बेरमा सानु मुस्कुरायो, “अब मेरो कार दगुर्न तयार छ, आमै !”

०००
कञ्चनरूप-१२, प्रगतिटोल, उदयपुर

५. 🔴  आँसुको रहस्य
        – नन्दलाल आचार्य

“दाइ, मान्छे खुशी हुँदा पनि किन रुन्छ ?” सानूले उत्सुकतासाथ सोधी ।

दाइले मुस्कुराउँदै भन्यो, “सानू, हामी भित्र एउटा सानो बादल हुन्छ, जसले भावना अनुसार पानी झार्छ । जब हामी धेरै खुशी वा धेरै दुःखी हुन्छौं, त्यो बादलले आफ्ना थोपा छोड्छ ।”

सानू चकित परी, “तर बादल त आकाशमा हुन्छ नि !”

दाइले भर्खरैको घटनालाई सम्झायो । बिहान बाबा परदेशबाट फर्किनुभएको थियो । आमा हाँस्दै रुँदै उहाँलाई अँगालो हालिरहनुभएको थियो ।

“त्यसैलाई आँसु भन्छन्, सानू ! विज्ञान भन्छ, जब मन अघोरै भावनाले भरिन्छ, दिमागले आँसु निकाल्न आदेश दिन्छ । यो आँसु आँखाले मात्र देख्छ, मनले अनुभूत गर्छ ।”

सानूले आँखामा चमक पार्दै भनी, “अनि त आमा भित्रको बादलले पनि बाबा देख्नेबित्तिकै पानी छोडेछ !”

०००
एनेलकुटी, सिरहा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x