
युद्ध आतङ्क
ॐ शान्ति जप्दै अस्त्र बेच्ने कथित नायकहरू कहिलेसम्म चल्छ— खोक्रो राष्ट्रवादको यो नाटक मञ्चन ? कसरी हुन्छ— माटो लजाएर राष्ट्रियताको संरक्षण ?

युवराज भण्डारी :
मलाई लागेको थियो
यी त्रासदी पूर्ण दिन दोहोरिनेछैन
इतिहाससँग समय नै आतङ्कित हुनुपर्ने
समय फेरि आउनेछैन
हत्या, हिंसा
जगत्मा नियति बन्नेछैन ।
मैले देखेका सपनामा बारुद थिएन
अहङ्कारको लडाइँमा
जगत् मास्ने कपुत थिएन
आयातित इशारामा
आफ्नो देश जलाउने
कठपुतली राष्ट्रवाद थिएन ।
आज मेरो विश्वास आतङ्कित छ
अहङ्कार आफ्नो सीमा नाघेर
घरघरमा नियन्त्रण गर्दै छ
धरतीको सन्तान
धर्तीको छातीमा निर्मम प्रहार गर्दै छ
स्वयम् उभिएको धरातलमा
खै, किन कोही शान्तिको विनाश रोप्दै छ !
ए !
अशान्ति फलाएर
बाँड्दै हिँड्ने शान्ति बादशाहहरू !
ॐ शान्ति जप्दै अस्त्र बेच्ने कथित नायकहरू
कहिलेसम्म चल्छ—
खोक्रो राष्ट्रवादको यो नाटक मञ्चन ?
कसरी हुन्छ—
माटो लजाएर राष्ट्रियताको संरक्षण ?
०००
तनहुँ, हाल: क्यानडा
‘अर्को कर्नाली’ कवितासङ्ग्रह (२०८०)
Subscribe
Login
0 Comments
Oldest