हेम अधिकारीधनमहिमा
पैसा हो प्रतिभा बिछट्ट सँगले काव्यादि वर्षाउँछ पैसाले पुरुषार्थ पाउँछ यहाँ यो लोक हर्षाउँछ पैसा हो गुणवन्त साधक ठुलो शास्त्रादिको कुञ्जिका पैसाको महिमा बढेर अहिले भो मानवी पञ्जिका ॥
हेम अधिकारी :
पैसाको, धनको छ मान मनको आदर्शको साधना
पैसाका रहभित्र पौडिन सधैँ हुन्छन् यहाँ कामना
पैसा उच्च छ ज्ञान,मान सजिने सम्मान नै वर्षिने
पैसा मस्त भए भने गजपले उत्फुल्ल भै हर्षिने ।
पैसा तन्त्र विशाल मन्त्र गतिलो संसार जान्ने अनि
द्रव्यै ख्वामित हो र भक्तजनले सम्पूज्य मान्ने पनि
पैसा टन्न भए हुने पद ठुलो के हुन्छ के हुन्छ नि
पैसा मस्त भए सबै जितिलिने जे हुन्छ जे हुन्छ नि ।
पैसै हो गुरु साधना रकमको गर्ने सँगै सान छ
ज्ञानी साधन गर्छ ज्ञानरसको सातत्यको पान छ
पैसाले सब जित्छ ज्ञानरस त्यो लण्ठै भए तापनि
पैसाको ढिकुटी भए अजङको ज्ञानीगुनी सद्गुणी ।
राम्रो सज्जन होस् सबै गुण रहुन् सद्ज्ञानको साधन
गन्दैनन् गतिलो भनेर कहिल्यै रित्तो भएमा धन
बाँझो वृक्ष फलेर झुप्प नुहिने सम्पत्तिका तापले
मूर्खै होस् तर ऊ महाजन हुने सम्पत्तिका रापले ॥
पैसा आयु बढाउने छ जनको केही भए तापनि
पैसा नै नभएर आयु सकिने बाँच्ने भएमा पनि
साँच्चै उच्च विचार उत्तम गुणीको सान के हुन्छ र
गर्दैछन् महिमा छ सम्पत्ति ठुलो कुन् शब्दले पुग्छ र !
पैसा हो प्रतिभा बिछट्ट सँगले काव्यादि वर्षाउँछ
पैसाले पुरुषार्थ पाउँछ यहाँ यो लोक हर्षाउँछ
पैसा हो गुणवन्त साधक ठुलो शास्त्रादिको कुञ्जिका
पैसाको महिमा बढेर अहिले भो मानवी पञ्जिका ॥
०००
दमक, झापा
Subscribe
Login
0 Comments
Oldest







































