कृष्णदेव रिमालशहीद पसल
शहीद स्मृति काउली फर्म खोल्न सक्नुहुन्छ । शहीद स्मृति उखु फर्म खोल्न सक्नुन्छ । शहीद स्मृति गाई फर्म खोल्न सक्नुन्छ । अझ शहीद स्मृति सहकारी खोल्न सक्नुन्छ । शहीद स्मृति व्याज काउण्टर खोल्न सक्नुहुन्छ ।

कृष्णदेव रिमाल “शब्दसेना” :
शहीद दिवसको विदा भएकाले आज काममा जान परेन मुक्तिलाई । सरकारी उर्दीमा सामेल भएर प्रभातफेरि लाउन र शहीदका नाममा मौन धारण गर्न बिहानभरी पनि लागेन । दिन सिङ्गै बाँकी थियो । अव के गर्ने? उसको खाने बानी छैन, खेल्न आउँदैन । त्यसैले साथीभाइले विदा मनाउने कार्यक्रममा उसलाई सम्झन्नन् । विदाका दिनहरूमा ऊ प्राय एक्लै पर्छ ।
त्यसैले निरुद्देश्य बरालिन निस्कियो मुक्ति । खडेरीमय माघको मधूरो घाम ताप्दै खेत खलियान, सडक, पार्क आदि छिचोल्दै बजारतिर पुग्यो । मोटरसाइकलमा गोरूजस्तै एकोहोरो गुड्ने गरेको बानी थियो उसको । आज पैदल हिंड्दा नौलोनौलो लाग्दै थियो । त्यत्तिकैमा यस अघि कहिल्यै नदेखिएको एउटा अचम्मको पसल देख्यो । साइनबोर्डमा ठूला अक्षर लेखिएको थियो-
“शहीद पसल ।”
के पाइँदो हो यहाँ ! मनले सोच्दै ऊ त्यतै सोझियो । नजिकै पुगेपछि अटोमेटिक र रंङ्गीन शीशाको ढोका खुल्यो । ऊ भित्र पस्यो । “आउनुहोस्” टाइसुटमा सजिएको एउटा सेल्सव्वाइले मुस्कान सहितको स्वागत गर्यो ।
“हजुरलाई कुन कवल देखाउँ?” मझेरीमै उभिएर सेल्सव्वाइले सोध्यो । ऊ जिल्ल पर्यो । कुन कवल? यसको अर्थ खोज्यो सेल्सव्वाइको अनुहारमा । सेल्सव्वाइ निक्कै चतुर थियो । ग्राहकको मनोभाव बुझ्न उसलाई पलभर लागेन। आजको दिन आएको पहिलो ग्राहक अल्मलिएको देखेर सेल्सव्वाई आफैं विकल्पहरू दिन थालिहाल्यो ।
“हजुर हाम्रो यहाँ थुप्रै कवलहरू छन् । यो कवलतिर एकीकरणपूर्वका शहीदका मूर्तिहरू सजाइएका छन् । अनि यता एकीकरण ताकका शहीदहरू छन् । यता राणाकालीन , यता बहुदलकालीन, यता पञ्चायतकालीन, यता द्वितीय बहुदलकालीन/जनयुद्धकालीन र यता गणतन्त्रकालीन सहीदहरू सजाएर राखिएका छन् । अव भन्नुहोस् हजुरलाई कुन कवलका शहीदका भावनाहरू खरीद गर्ने इच्छा छ ?”
“अहो कति व्यवस्थित पसल रहेछ । मलाई त सबै हेर्न मन छ ।” मुक्तिको मन धेरै नै जिज्ञासु भयो ।
त्यो त सम्भव छैन सर । प्रत्येक कवलभित्र छिरेपछि शहीदका संख्या बमोजिमका भूमिगत सात दश तला छन् । एक दिनमा एक कवल मात्र हेर्न भ्याइन्छ ।
यति सुनेपछि मुक्तिको दुविधा कम भयो । सोच्यो कि “अरु शहीदहरूको बारे त अलिअलि पढिएकै छ । गणतान्त्रिक शहीद पो कस्ता होलान् ! लोकसेवाको परीक्षा दिन छोडेको पनि आठ्दश वर्ष भयो । यहि गणतान्त्रिक कवलतिर छिर्न पर्यो” मुक्तिको मनले भन्यो । तुरुन्तै गणतान्त्रिक कवल देखाउने गाइडलाई बोलाइयो । मुक्ति उसैको पछि लाग्यो । गाइड भनौं कि सेल्सव्वाइ भनौं, उसले दुबै भित्ताका तखताहरूमा सुन्दर शैलीमा सजाइएका भिन्दाभिन्दै अनुहार भएका शहीदका विग्रह स्वरुपलाई परिचय गराउँदै लग्यो । यस कवलमा चाहिंँ पछिल्लो सम्बिधान जारी भए पछि शहादात प्राप्त गरेका शहीदहरू छन् सर !
पहिले यो हेर्नुस् – यो अग्लो कद भको चाहिँ सम्बिधान प्रदत्त मौलिक हक कार्यान्वयन होस् भन्दै गरिएको आन्दोलनमा शहीद भएको । सम्बिधानमा स्वास्थ्य र शिक्षा सम्बन्धी अग्रगामी व्यवस्था छ नि त । तर व्यवहारमा छैन । अनि यो पुक्क मुख भएको चाहिँ कुन्नि कसलाई हो मुख छोडेको केशमा त्यस्तै त्यस्तै भयो । अनि त्यो माथिल्लो तखताको चाहिँ कर्मचारी शहीद रे ! ऊ भरखरै शहिद भएको हो ।
कर्मचारी शहिद भनेको सुन्नासाथ मुक्तिको खरायोको जस्तो ठाडा कान अझ ठाडो भए । उसले भन्यो
– ” ऊ……. त्यो तखताको बत्ती बाल्नु त गौर गरेर हेर्छु । को रहेछ त्यो ? चिनेको जस्तो लाग्यो । “बत्ती बलेपछि उसले उक्त मूर्तिलाई चिनिहाल्यो । त्यो तीन वर्ष अघि मोटरसाइकल दुर्घटनामा परेको उसकै सहकर्मी साथी थियो ।
“यो त मोटरसाइकल दुर्घटनामा परेको होइन र ?” मुक्तिले सोध्यो ।
-“हो । चिन्नुहुन्छ र ! ” गाइडले शंका गर्यो ।
-“अनि यो शहीद कसरी भो त ? ” मुक्तिले प्रश्न गर्यो ।
यी शहीदका बारेमा गाइड अलि खुलेर बोल्न थाल्यो ।
-“एकपटक कार्यालयमा कुनै सेवाग्राहीले अनधिकृत काममा यसको हस्ताक्षर गराउन दश लाख अफर गरेछ । उसले म पैसामा बिक्ने खाले कर्मचारी होइन भनेछ । पछि उपल्लो पदलाई बिभिन्न संस्थाबाट प्रभावमा पारेर बीस लाखमा कुरो मिलेछ । पछि यसले पनि सब कुरो थाहा पाएछ । यसलाई देशको माया लागेर आएछ । सब सार्बजनिक गरिदिने बिचारले पत्रकार सम्मेलनको तयारी गरेछ । कुन्नी कसरी हो विपक्षीले चाल पाएछ । ,उक्त सम्मेलनको अघिल्लो रात घर फर्कंदा उसले शहादत प्राप्त गरेछ ।”
मुक्तिले साथीको मृत्युको असली कारण थाहा पायो । मनमनै साथीलाई श्रद्धाञ्जली दियो । पलभर मौनधारण गर्यो ।
-“यो मान्छेलाई शहीद घोषणा गरेको त थाहै थिएन त । यी हाम्रै विभागमा काम गर्थे । मैले पनि थाहा पाउनुपर्ने हो ।” मुक्तिले प्रसङ्ग थप कोट्याए । गाइडले यस प्रश्नको छोटो उत्तर दिए -“यी जन शहीद हुन् । औपचारिक घोषणा पछि हुन पनि सक्छ नहुन पनि सक्छ। ” त्यसपछि क्रमश अरू शहीदको वर्णन शुरु भयो ।
-“यी चाहिँ सहकारी पिडित आन्दोलनको शहीद ।” पीडित ले क्षतिपूर्ति नपाउँदै भोकभोकै शहीद भए बिचरा।
-“यी मिटरब्याज पिडित आन्दोलनको शहीद । यिनी पनि मोटरसाइकल दुर्घटनामै शहीद भएछन् ।”
-“यी उखु किसान शहीद । यी चाहिँ घम्साघम्सीमै परे ।”
-“यी शिक्षक आन्दोलनका शहीद । ” यिनको कथा लामो छ । यसको स्पेशल क्लास हुन्छ ।
-“यी दुध किसान आन्दोलनका शहीद । यिनलाई सडकमा दुध पोखेको आरोप छ ”
-“यी तरकारी किसान आन्दोलनका शहीद । यिनलाई गोलभेंडा काउली सडकमा पोखेको आरोप लागेको छ ।”
गाइडका मुखारबिन्दबाट यस्ता सयौं अध्याय शहीद पुराण सुनेर मुक्ति साँझ्पख बङ्करबाट निस्किएझैं बाहिर निस्किए । रिसेप्सनमा आइपुगेपछि पहिलो सेल्सव्वाइ फेरि भेट भयो । उसले मुक्तिलाई शहीदको बील थमायो र भन्यो-
“यो लिनुस् हजुरको आठ सय भयो । ”
-“के को नि ? मैले त एक थान शहीद पनि किनेको छैन ” मुक्ति बील सुनेर तिल्मिलायो ।
“चार घण्टा शहीद किन्नुभाको होइन र !” सेल्सव्वाइको स्वर अल्लि ठूलो भयो ।
“घण्टा शहीद ? यो भके के हो नि ? ” झन अल्मलियो मुक्ति ।
“घडी हेर्नुस् त!” सेल्स व्वाइ कड्कियो ।
मुक्तिले घडी हेर्यो । चार बजेछ । ऊ बाह्र बजेतिर आएको सम्झ्यो । तर पनि पैसा झिक्न मानेन । साहुजी फेरि कड्कियो ।
– “हाम्रो यहाँको शहीद आइडिया लिएर तपाइँ शहीद स्मृति गोलभेंडा फर्म खोल्न सक्नुन्छ । शहीद स्मृति काउली फर्म खोल्न सक्नुहुन्छ । शहीद स्मृति उखु फर्म खोल्न सक्नुन्छ । शहीद स्मृति गाई फर्म खोल्न सक्नुन्छ । अझ शहीद स्मृति सहकारी खोल्न सक्नुन्छ । शहीद स्मृति व्याज काउण्टर खोल्न सक्नुहुन्छ ।
शहीद सम्बन्धी आइडिया भनेको सानो आइडिया हो ? यस्तो आइडिया त अक्स्फोर्ड गए पनि पाउनुहुन्न । नेपाल भएर मात्र आठ सयमै विहङ्गम आइडिया पाउनुभयो । छिटो निकाल्नुहोस् शहीद चार्ज ! ढिला गर्नुभो भने बाउन्सर चार्ज पनि जोडिन सक्छ । सोह्र सय हुन सक्छ। ”
यति सुनेपछि मुक्तिले टाउको अलि ठाडो गरेर हेर्यो । वरिपरी चारजना गठिला ज्यान भएका अग्ला उस्तै पोशाक लाएका मान्छे देख्यो । अनुहार रिसाहा देखिन्थ्यो । घुस्सा नै बजार्लान् कि जस्ता । शायद वाउन्सर भनेका यिनै होलान् , मनमनै सोच्यो । हतार हतार हजारको नोट थमायो र दुई सय फिर्ता लिन पनि सुद्दी नपाएर बाहिर निस्कियो । बाहिर निस्कदै गर्दा शिशामा शिर पनि बजार्यो ।
०००
काठमाडाैं









































कथा प्रकाशन गरिदिनुभएकोमा हार्दिक आभार