कृष्णदेव रिमालगणतन्त्रका देवता
आजको नेपाली समाजमा वाद र विवाद त भएकै छ तर तेस्रो र महत्वपूर्ण अवयव संवाद भने न्यून छ । हुन चाहिँ सम्वाद नै अत्यावश्यक छ । अब गणहरू बीच सहनौभुनक्तुको शिद्धान्तमा आधारित संवादको आवश्यकता छ ।

कृष्णदेव रिमाल :
केहि दशक अघिदेखि हाम्रो देशमा गणतन्त्र व्याप्त छ । गणतन्त्र प्रदत्त व्यवस्था हो कि आर्जित व्यवस्था हो भन्ने विषयले मानिसहरूको मन मडारिई रहेको छ । यसको मूल स्रोत कहाँ होला ? गणतन्त्रका देवता को होलान् ? उनको निवास मन्दिरमा छ कि मस्जिदमा छ ? चर्चमा छ कि गुम्बामा छ ? कता छ ? उनको उपासना कसरी गर्ने ? केहि दिनदेखि यहि प्रश्नले मथिङ्गल छड्काइरहेछ । कसलाई सोधुँ ? एकभन्दा अर्को घगडान विद्वान छन् यहाँ । यसो ध्यान दृश्यले हेर्दा थाहा होला कि भन्ठान्छु बरु ।
पद्मासन लगाएँ । आँखा चिम्म गरेँ । बिचारहरूको बाढी आयो । मन नपर्ने बिचार आए र बाटबाटै गए । प्रभावी विचारहरू ध्यानस्थ भएको मभित्र संक्रमित हुन थाल्यो । सुनेको थिएँ- संसार शक्तिले चल्छ । अङ्ग्रेजीमा भन्दा इनर्जीले चल्छ । अङ्ग्रेजीमा भनिएन भने एक तप्काले पत्याउँदैन फेरि । साधारणतया इनर्जी अदृश्य रुपमा काम गर्छ । दृश्य कर्म साधनाका लागि पनि अदृश्य शक्तिको उपासना गर्नु पर्दछ । राजनीतिमा पनि यस्ता अदृश्य शक्तिले भित्रभित्रै काम गरिरहेको हुन्छ । गणतन्त्रभित्र राजतन्त्र र राजतन्त्रभित्र गणतन्त्रको छाया देखिन्छ अचेल । त्यसैले उपासकहरू अलमलमा छन् । तैपनि निजकर्ममा तल्लीन छन् । एक अर्कामा आकर्षित छन्, इलेक्ट्रोन प्रोटोन र न्युट्रोन जस्तै ।
इलेक्ट्रोन, प्रोटोन, र न्युट्रोनको समन्वयात्मक कार्यले नै परमाणुले निजसंरचना निर्धारण गर्छ। यही आधरभूमिमा राजनीतिक शक्ति संरचित भएको हुन्छ । बिचारको गहिराइतिर पुग्दैछु । तीनकुनेमा ड्याङ्ग गोली चलेको आवाज आयो । आँख पुलुक्क खुल्यो । ध्यान भङ्ग भैहाल्यो । फेरि जबरजस्ति चिम्लिएँ । होइन होइन कोमल बन्द गरें । उही केन्द्रीय बिचार जोड्ने प्रयत्न गर्न थालें ।
टाढाबाट हेर्दा यो पृथ्वीको एउटा सानो फोगटामा के के हुन्छ देखिदैन होला । नजिक भएर मात्र देखिएको हो । सुनिएको हो । जसरी बार्तलीबाट हेर्दा बारीमा कमिला र फट्याङ्ग्रोको युद्ध भएको देखिदैनथ्यो । कमिलाहरूले फट्याङ्ग्रोको लाश बोकेर हिंडेको र दुलोदरबारतिर कुदाएको पनि देखिदैनथ्यो । नजिकै पुगेर गौर गरेर हेरे देखिन्थ्यो । मानिसको कर्म पनि उस्तै हो । ईश्वरका लागि यो मानव समाज पनि टाढाको कमिलाजस्तै नै हो । हाम्रो दृश्यमा परमाणुजस्तै समाजको केन्द्रमा प्रोटोन अर्थात पोजेटिभ चार्ज रहन्छ । त्यसलाई थिङ्कट्याङ्क पनि भन्न सकिन्छ । गणतन्त्रमा त्यसलाई गणपति पनि भन्दछन् । गणैपिच्छे गणपति हुन्छन् । त्यसैले गणतन्त्रका देवता भन्नु नै गणपति हुन् । विनायक हुन् । को हुन् ? को उत्तर खुल्यो । मन रमायो । आँखा पनि खुल्यो । तीनकुनेको उत्तेजित भीड जस्तै छ आँखा । मालामिलिक गरिहाल्छ । फेरि ढकनीले पुतली छोपें । गणपति शब्दब्रह्मका प्रवर्तक पनि हुन् ।
राजनीतिको केन्द्रमा अर्थात नाभीस्थलमा त्यहि विनायक तत्व अर्थात प्रोटोनतत्व रहन्छ। राजनीतिको एउटा दृश्य गणतन्त्र हो । अझ गणतन्त्रको मणिपुर चक्रमा मन पुर्याउँदा प्रोटोन चम्किरहेको देखिन्छ । त्यो चम्काइले गणतन्त्रमा सल्बलाउने जीवतत्वको पहिचान गर्दछ । त्यहाँ विद्यमान शक्ति प्रकाशित गर्दछ ।
न्युट्रोनले आफ्नो आवरणमा रहेको प्रोटोनसँग मिलेर इनर्जी बनाउन मद्दत गर्छ। त्यसैले गर्दा हो नेताले कार्यकर्तालाई आफ्नो वरिपरि घुमाइरहन सकेको पनि । नेताले कार्यकर्तालाई सन्तुलन गर्न सक्नुको कारण पनि त्यहि हो । नाभी नेता हुन् भने कार्यकर्ता हातगोडा हुन् । नाभीसँग बिच्छेद हुनासाथ अरु अंग अकर्मण्य भैहाल्छ । नाभीले स्थिरता र सन्तुलन दिन्छ । विज्ञानले भन्छ- समान चार्ज भएका प्रोटोनहरू बीचको विकर्षणलाई न्युट्रोनले सन्तुलन गर्छ।
गणतन्त्र लगायतका राजनीतिक व्यवस्थाहरूको बाह्य आवरणमा इलेक्ट्रोन परिवेष्टित हुन्छन् । इलेक्ट्रोनले निजतन्त्रको बाहिरी तहमा परिक्रमा गर्छ। प्रोटोनको पोजेटिभ चार्ज र इलेक्ट्रोनको नेगेटिभ चार्जले एकअर्कालाई आकर्षित गर्छ, जसले गणतन्त्र सम्हालिन्छ। गणपति र तिनका उपासक धर्म अनुसार आकर्षित या विकर्षित हुने गर्दछ । संसदीय राजतन्त्रको पनि सञ्चालन र विन्यास चाहिं उस्तै हो । यो पनि त्यसैगरि सम्हालिन्छ, आकर्षित वा विकर्षित हुन्छन् । भलै शब्दभेदले गर्दा सत्व रज तम गरेर त्रैगुण्य उच्चारित किन नहोस् ।
यहाँ थुप्रै वादहरू छन् जस्तै राजावाद, माओवाद, लेनिनवाद, मार्क्सवाद, वीपीवाद, मदनवाद, प्रचण्डवाद, रविवाद, बालेनवाद, हर्कवाद आदि । यी वादहरू आन्तरिक र बाह्य रुपमा संघर्षरत छन् । इलेक्ट्रोन र प्रोटोनजस्तै आकर्षित वा विकर्षित हुन्छन् । ती वाद वा बिचारहरूले नेगेटिभिटी वा पोजेटिभिटी धर्म अनुसारको परमाणुलाई बाँधेर राख्छ।
जब कुनै बाह्यवाद ऊर्जा बनेर नेपाली मनमा संक्रमित हुन आउँछ त्यसले स्थानीय वाद वा इलेक्ट्रोनलाई परास्त गर्छ यसरी नै हो जीवमा आन्तरिक र बाह्य ऊर्जा प्रवाह हुने । गणतन्त्र गणहरूको सामुहिक अनुशिलन हो । सँधै बाह्य वा अन्तरवाद मात्र उन्नत हुने होइन । परिस्थिति अनुसार हुन्छ ।
हाम्रा गणहरूले निजतन्त्र सुसञ्चालन गर्ने अभिप्रायले ऊर्जा उत्पन्न गरी बाँडफाँड समेत गर्छन् । त्यसपछि विचार आदान-प्रदान गर्दछन् । तर आज त्यो प्रकृया कुटनैतिक भएकाले द्वन्दात्मक देखिएको हो । यी बिचारहरूबीच रासायनिक तत्वहरूको बन्धन र प्रतिक्रियाले महत्त्वपूर्ण असर पार्छ। तर असमझदार व्यक्तिले पैसा उडाएजस्तै गणपतिहरूले आफ्नो बिचार उडाइरहेछन् । ती बिचारहरू द्वन्दात्मक रसायन बनेर देशमा प्रतिकृया देखाइरहेका छन् ।
आजका गणपति पार्वतीनन्दनजस्तो अगणित शब्द लेखिरहने होइनन् । तिनीहरू त माइक लगाएर विभुभर शब्द प्रवाह गर्दछन् । कुनै गणको शक्ति क्षय हुँदा अर्को गण ऊर्जावान बनेको हुन्छ । ऊर्जावान गणले तटस्थ विचारहरूलाई पनि आफूतर्फ आकर्षित गर्दछ । जसरी न्युट्रोन-प्रोटोन अन्तरक्रियाबाट चुम्बकीय आकर्षण र विकर्षण जस्ता क्रियाहरू घटित हुन्छन्, त्यसैगरी राजनीतिक गणहरूको पनि संलयन र विखण्डन भैरहन्छ । संलयनमा गणपतिहरूको ओज वृद्धि हुन्छ भने विखण्डनमा उनीहरूको तेजोबध हुन्छ ।
गणतन्त्रको मूल स्रोत गणका सदस्यहरू नै रहेछन् । तर जसैजसै गणहरूबाट अग्लिंदै गणसदस्यबाट गणनायक बन्दछन् उसैउसै उनीहरूको बसाई सुदूरबाट सदरतिर पुग्दछ । त्यो पनि मन्दिर मस्जिदमा होइन, दिउँसो गणसदनमा र राति निजमहलमा हुने गर्दछ । यस्ता गणपतिहरूको उपासना विधी पनि पृथक छ । दुबो र मोदकले आधुनिक गणनाथ प्रफुल्लित पार्न सकिन्न । उहाँको प्रसन्नताका लागि परदेशी सोमरसका साथ स्वदेशी अर्गानिक जीवमंश समर्पण गर्नुपर्दछ ।
अन्त्यमा, परमाणुमा निहित इलेक्ट्रोन प्रोटोन र न्युट्रोन यी तीन कणहरूबीचको समन्वय भएजस्तै समाजमा पनि गण गणपति र बाह्यवादले राजनीतिक संरचना निर्माण गरेको हुन्छ । यसमा कायम रहने स्थायित्व र अस्थायित्व चाहिं वादविवाद र संवादहरूले सम्भव बनाउँछ। आजको नेपाली समाजमा वाद र विवाद त भएकै छ तर तेस्रो र महत्वपूर्ण अवयव संवाद भने न्यून छ । हुन चाहिँ सम्वाद नै अत्यावश्यक छ । अब गणहरू बीच सहनौभुनक्तुको शिद्धान्तमा आधारित संवादको आवश्यकता छ । यसो गर्न सके मात्र गणतन्त्र राजतन्त्र र यसभित्रका देवताहरू खुशी रहन सक्नेछन् ।
अस्तु ।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest








































