सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

वासुदाइ ! सानो श्रद्धाञ्जली

सही अर्थमा ‘मा फलेसु कदाचन’ का अद्वितीय उदाहरण हुनुहुन्थ्यो वासुदाइ । सम्मानको त कुरै छाडौँ, राष्ट्रले उहाँलाई चिन्नसम्म पनि सकेन अब त उनी गइसके । केवल सम्झना नै मात्र सआदर रहिरहेको छ र रहिरहनेछ मेरो हृदयमा ।

Nepal Telecom ad

मनुजबाबु मिश्र

‘सिस्नोपानी’ का सकृय भाइ माणिक (स्व. वासुदेव लुइँटेल दाइका पथ ‘झ्याइकुटी’) ले एक दिन आ-जा बाट “हामी फित्कौलीको वासु स्मृति अङ्क निकाल्दैछौँ । दाइले पनि केही लेखेर उहाँसँगका कुनै क्षणको स्मरण गरिदिनुपर्‍यो” भन्ने अनुरोध गरे । म धर्मसङ्कटमा परेँ । स्वास्थ्यको कारण म केही लेख्न सक्ने थितिमा थिइनँ एकातिर भने अर्कोतिर वासुदाइ जीवनको अन्तिम घडीतिर पुगिसक्दा पनि आफू वासुदाइकहाँ पुग्न नसकेकोमा मन भारी भएर कुँडिइरहेको थियो । तैपनि ‘झ्याइँकुटी’ भाइलाई स्वीकृति दिएँ । आफूभित्र वासुदाइप्रति भरिँदै आएको अति आदर र श्रद्धाभाव व्यक्त गर्न पाउने एउटा अवसर दिएकोमा धन्यवाद पनि दिएँ ।

वासुदाइसँग मेरो कहिलेदेखि परिचय भयो- म सम्झन सक्दिनँ । २०३५ सालतिर हुनुपर्दछ- नेपाली भाषासेवी कमलमणि दीक्षित ज्यूसँग उहाँ एकचोटी मेरो कुटीमा आउनुभएको थियो । सायद महादेव पछिपछि हिँड्ने गण सम्झे हुँला उनलाई मैले, त्यतिबेला उति वास्ता पनि गरिनँ हुँला । उहाँले केही बोल्नुभयो होला । त्यो पनि सम्झन्न । उहाँका विषयमा केही पढ्ने अवसर दिने पहिला व्यक्ति भने नेपाली हास्यव्यङ्ग्य विधाका महानायक स्व. भैरव अर्याल लिए । अनि २०३२ सालतिर पोखराका नेपाली इतिहासका अन्वेषक विद्वान् श्री पूर्णप्रकाश नेपाल ‘यात्री, ले वासुदाइकी छोरी सुषमा आचार्य र ज्वाइँ पद्मकुमार आचार्यसँग मेरो परिचय गराइदिएका थिए । त्यतैबाट मैले वासुदेव शर्मा लुइँटेलका बारेमा अझ बढी श्रद्धेय कुराहरू सुन्ने-जान्ने अवसर पाएको थिएँ । तत्पश्चात वासुदाइलाइ नै भेट्न भनेर म बरोबर पाटनढोका नजिक रहेको उहाँको अड्डामा गइरहन्थेँ । पछि उहाँ जागिरबाट निवृत्त हुनुभयो । २०४६ साल आयो । सबै बाहिर निस्किए । म भने गुफाभित्र पसेँ । उहाँसँग शारीरिक रूपमा भेट हुन छाड्यो ।

के गर्नु- छातिनै भरिएर आउँछ वासुदाइलाई सम्झँदा पनि । दिनको एक पटक ‘आ-जा, मा कुरा भइरहन्थ्यो । उहाँको आवाज सुनिरहने बानी नै परिसकेको थियो । वासुदाइसँग कुरा गर्दा मलाई कताकता महर्षि-कर्मयोगी-वीर कर्णसँगै पो कुरा गरेको हुँ कि जस्तो लाग्दथ्यो । तर क्रमिक रूपमा उहाँको स्वास्थ स्थिति बिग्रँदै गएको सुन्न लागेँ । अनि आ-जाको कुराकानी क्रम पनि दुई-चार-छ दिनपछिका दरले घट्दै जान लाग्यो । आफ्नै शारीरिक कारणले गर्दा म ढुङ्गेअड्डासम्म पुग्न पनि सक्दैनथेँ । उहाँसँग सम्पर्क राख्ने कुनै आधार पनि भएन मसँग । मन भने कुँडिई रह्यो ।

एक दिन उहाँकी छोरी डा. सुषमा आचार्यले आफूले वासुदाइको एउटा श्रव्य-दृष्य चलचित्र बनाउने चाँजो मिलाएको र खिच्ने दिनमा वासुदाइकै ईच्छाअनुसार- साह्रै थोरै मान्छे बोलाउने, रोचक घिमिरे, नगेन्द्रराज शर्मा, शिव रेग्मी र मनुजबाबुलाई समावेश गर्ने कुरा आ-जाबाट सुनाउनु- भयो । त्यति बेला नगेन्द्र भारत भ्रमणमा रहनुभएको हुँदा हामी तीनजना वासुदाइ कहाँ पुगेका थियौँ ।

वासुदाइको अस्थिपञ्जर शरीर अगाडि हामी- उहाँकै छोरी-बुहारी-भाइ आदि सबै बस्यौँ । फोटु खिच्ने भाइ पनि क्यामरा लिएर तयार भए । वासुदाइले हात हल्लाएर- वेदनापूर्ण आवाज निकालेर धेरैबेरसम्म “हवाम्मय…..” आदि वेदका ऋचा कण्ठस्थ पाठ गर्नुभयो । उहाँको विगतका केही रोचक प्रशङ्गहरू पनि सुनाउनुभयो । एकातिर उहाँलाई जति सकेको बढी बोल्न लगाएर “रिकर्ड” गर्ने इच्छा थियो भने अर्कोतर्फ धेरै बोल्न नदिने पनि । डा. विद्या- उहाँको छोराले भने केही हदसम्म बोल्दा खराबी नहुने औषधि दिएको पनि थाहा भयो । चलचित्र कलाकार भाइले त्यहाँका सम्पूर्ण श्रव्य-दृष्य एवम् परिवेशलाई आफ्नो क्यामराभित्र समेटे । वासुदाइ दिवङ्गत हुनुभन्दा झण्डै डेढ महिना अगाडि, ढुङ्गेअड्डास्थित वासु-प्रासादकै वासु कक्षमा भएको भेटघाट कार्यक्रम थियो त्यो । त्यही नै मेरो लागि “आदरणीय वासुदाइ” को अन्तिम दर्शन हुन गयो ।

हास्यव्यङ्ग्य विधाका पितामह वासुदेव लुइँटेल मैले अतिनै आदर गर्ने गरेको राष्ट्रकै एक उदाहरणीय महापुरुष थिए । उनले नेपाली हास्यव्यङ्ग्यमूलक साहित्यिक क्षेत्रमा, अनि नेपाली साहित्य कलाको समुन्नतिमा पुर्‍याएको निश्वार्थ र निजी योगदानलाई अतुलनीय-अद्वितीय मानिन्छ भन्ने विषयमा धेरै चर्चा र सगौरव परिचर्चा भइसकेका छन् । व्यक्तिगत रूपमा म जस्तो गुफावासी एउटा निरीह चित्रकारले समेत पनि वासुदाइबाट धेरै प्रेरणा एवम् सहयोग प्राप्त गर्दै आएको थियो । उहाँ कहिले “तपाईंले भेट्नैपर्ने मान्छे, भनेर कतिपय विद्वानलाई मेरो ‘हर्मिताज’ सम्मनै पठाइदिनुहुन्थ्यो । अनि कहिले त्यस्ता व्यक्तिसँग आ-जामा कुरा गराइदिनुहुन्थ्यो । कहिले “तिमीले मनुजका चित्रहरू हेर्नैपर्छ” भनेर कतिपय जिज्ञासु व्यक्तिहरूलाई मेरो अनकन्टार गुफासम्मै पठाइदिने अनि कहिले “तपाइँले पढ्नै पर्ने पुस्तक” भनेर मेरो घरसम्मनै पठाइदिने गर्नुहुन्थ्यो । उहाँकै तर्फबाट मेरो जीवनी र निबन्धसङ्ग्रह दुईवटा पुस्तक प्रकाशित गरिए- एकल कला प्रदर्शनी अयोजित भए । प्रत्येक कार्यमा उहाँ आफ्नो नाम अगाडि आउनै नदिने प्रयत्न पनि गर्नुहुन्थ्यो ।

वासुदाइको अनुहारलाई घण्टौँ घण्टासम्म हेरेर मैले उहाँका थुप्रै रेखाचित्र, जल रङ्ग-तेल रङ्ग चित्र रचना गरिसकेको छु । उहाँ वाह्य अनुहार-सतहबाट पसेर भित्री हृदयसम्मको परिभ्रमण र उत्खनन् क्रममा मैले उहाँभित्र रहेका उदारता- प्रेम-दया-माया-सद्भाव-सहयोग आदि अमूर्त मानवीय पक्षका वृहद् रूपलाई समेत केही हदसम्म देख्ने अवसर पाएको छु । सही अर्थमा ‘मा फलेसु कदाचन’ का अद्वितीय उदाहरण हुनुहुन्थ्यो वासुदाइ । सम्मानको त कुरै छाडौँ, राष्ट्रले उहाँलाई चिन्नसम्म पनि सकेन अब त उनी गइसके । केवल सम्झना नै मात्र सआदर रहिरहेको छ र रहिरहनेछ मेरो हृदयमा ।

०००
हर्मिताज
‘फित्कौली’, पूर्णाङ्क १२, हास्यदेव वासुदेव स्मृति विशेष- फागुन २०६३ बाट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
रेलयात्रा

रेलयात्रा

शरद जाेशी
पैसा ! पैसैपैसा !!

पैसा ! पैसैपैसा !!

डा. सुकराज राई
गाँस

गाँस

ढाकामाेहन बराल
भोक माफिया

भोक माफिया

डा. विदुर चालिसे
परनिर्भरता

परनिर्भरता

सृजन लम्साल
छेपारोको रङ्ग

छेपारोको रङ्ग

रामप्रसाद पन्थी