साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वासुदाइ ! सानो श्रद्धाञ्जली

सही अर्थमा ‘मा फलेसु कदाचन’ का अद्वितीय उदाहरण हुनुहुन्थ्यो वासुदाइ । सम्मानको त कुरै छाडौँ, राष्ट्रले उहाँलाई चिन्नसम्म पनि सकेन अब त उनी गइसके । केवल सम्झना नै मात्र सआदर रहिरहेको छ र रहिरहनेछ मेरो हृदयमा ।

Nepal Telecom ad

मनुजबाबु मिश्र

‘सिस्नोपानी’ का सकृय भाइ माणिक (स्व. वासुदेव लुइँटेल दाइका पथ ‘झ्याइकुटी’) ले एक दिन आ-जा बाट “हामी फित्कौलीको वासु स्मृति अङ्क निकाल्दैछौँ । दाइले पनि केही लेखेर उहाँसँगका कुनै क्षणको स्मरण गरिदिनुपर्‍यो” भन्ने अनुरोध गरे । म धर्मसङ्कटमा परेँ । स्वास्थ्यको कारण म केही लेख्न सक्ने थितिमा थिइनँ एकातिर भने अर्कोतिर वासुदाइ जीवनको अन्तिम घडीतिर पुगिसक्दा पनि आफू वासुदाइकहाँ पुग्न नसकेकोमा मन भारी भएर कुँडिइरहेको थियो । तैपनि ‘झ्याइँकुटी’ भाइलाई स्वीकृति दिएँ । आफूभित्र वासुदाइप्रति भरिँदै आएको अति आदर र श्रद्धाभाव व्यक्त गर्न पाउने एउटा अवसर दिएकोमा धन्यवाद पनि दिएँ ।

वासुदाइसँग मेरो कहिलेदेखि परिचय भयो- म सम्झन सक्दिनँ । २०३५ सालतिर हुनुपर्दछ- नेपाली भाषासेवी कमलमणि दीक्षित ज्यूसँग उहाँ एकचोटी मेरो कुटीमा आउनुभएको थियो । सायद महादेव पछिपछि हिँड्ने गण सम्झे हुँला उनलाई मैले, त्यतिबेला उति वास्ता पनि गरिनँ हुँला । उहाँले केही बोल्नुभयो होला । त्यो पनि सम्झन्न । उहाँका विषयमा केही पढ्ने अवसर दिने पहिला व्यक्ति भने नेपाली हास्यव्यङ्ग्य विधाका महानायक स्व. भैरव अर्याल लिए । अनि २०३२ सालतिर पोखराका नेपाली इतिहासका अन्वेषक विद्वान् श्री पूर्णप्रकाश नेपाल ‘यात्री, ले वासुदाइकी छोरी सुषमा आचार्य र ज्वाइँ पद्मकुमार आचार्यसँग मेरो परिचय गराइदिएका थिए । त्यतैबाट मैले वासुदेव शर्मा लुइँटेलका बारेमा अझ बढी श्रद्धेय कुराहरू सुन्ने-जान्ने अवसर पाएको थिएँ । तत्पश्चात वासुदाइलाइ नै भेट्न भनेर म बरोबर पाटनढोका नजिक रहेको उहाँको अड्डामा गइरहन्थेँ । पछि उहाँ जागिरबाट निवृत्त हुनुभयो । २०४६ साल आयो । सबै बाहिर निस्किए । म भने गुफाभित्र पसेँ । उहाँसँग शारीरिक रूपमा भेट हुन छाड्यो ।

के गर्नु- छातिनै भरिएर आउँछ वासुदाइलाई सम्झँदा पनि । दिनको एक पटक ‘आ-जा, मा कुरा भइरहन्थ्यो । उहाँको आवाज सुनिरहने बानी नै परिसकेको थियो । वासुदाइसँग कुरा गर्दा मलाई कताकता महर्षि-कर्मयोगी-वीर कर्णसँगै पो कुरा गरेको हुँ कि जस्तो लाग्दथ्यो । तर क्रमिक रूपमा उहाँको स्वास्थ स्थिति बिग्रँदै गएको सुन्न लागेँ । अनि आ-जाको कुराकानी क्रम पनि दुई-चार-छ दिनपछिका दरले घट्दै जान लाग्यो । आफ्नै शारीरिक कारणले गर्दा म ढुङ्गेअड्डासम्म पुग्न पनि सक्दैनथेँ । उहाँसँग सम्पर्क राख्ने कुनै आधार पनि भएन मसँग । मन भने कुँडिई रह्यो ।

एक दिन उहाँकी छोरी डा. सुषमा आचार्यले आफूले वासुदाइको एउटा श्रव्य-दृष्य चलचित्र बनाउने चाँजो मिलाएको र खिच्ने दिनमा वासुदाइकै ईच्छाअनुसार- साह्रै थोरै मान्छे बोलाउने, रोचक घिमिरे, नगेन्द्रराज शर्मा, शिव रेग्मी र मनुजबाबुलाई समावेश गर्ने कुरा आ-जाबाट सुनाउनु- भयो । त्यति बेला नगेन्द्र भारत भ्रमणमा रहनुभएको हुँदा हामी तीनजना वासुदाइ कहाँ पुगेका थियौँ ।

वासुदाइको अस्थिपञ्जर शरीर अगाडि हामी- उहाँकै छोरी-बुहारी-भाइ आदि सबै बस्यौँ । फोटु खिच्ने भाइ पनि क्यामरा लिएर तयार भए । वासुदाइले हात हल्लाएर- वेदनापूर्ण आवाज निकालेर धेरैबेरसम्म “हवाम्मय…..” आदि वेदका ऋचा कण्ठस्थ पाठ गर्नुभयो । उहाँको विगतका केही रोचक प्रशङ्गहरू पनि सुनाउनुभयो । एकातिर उहाँलाई जति सकेको बढी बोल्न लगाएर “रिकर्ड” गर्ने इच्छा थियो भने अर्कोतर्फ धेरै बोल्न नदिने पनि । डा. विद्या- उहाँको छोराले भने केही हदसम्म बोल्दा खराबी नहुने औषधि दिएको पनि थाहा भयो । चलचित्र कलाकार भाइले त्यहाँका सम्पूर्ण श्रव्य-दृष्य एवम् परिवेशलाई आफ्नो क्यामराभित्र समेटे । वासुदाइ दिवङ्गत हुनुभन्दा झण्डै डेढ महिना अगाडि, ढुङ्गेअड्डास्थित वासु-प्रासादकै वासु कक्षमा भएको भेटघाट कार्यक्रम थियो त्यो । त्यही नै मेरो लागि “आदरणीय वासुदाइ” को अन्तिम दर्शन हुन गयो ।

हास्यव्यङ्ग्य विधाका पितामह वासुदेव लुइँटेल मैले अतिनै आदर गर्ने गरेको राष्ट्रकै एक उदाहरणीय महापुरुष थिए । उनले नेपाली हास्यव्यङ्ग्यमूलक साहित्यिक क्षेत्रमा, अनि नेपाली साहित्य कलाको समुन्नतिमा पुर्‍याएको निश्वार्थ र निजी योगदानलाई अतुलनीय-अद्वितीय मानिन्छ भन्ने विषयमा धेरै चर्चा र सगौरव परिचर्चा भइसकेका छन् । व्यक्तिगत रूपमा म जस्तो गुफावासी एउटा निरीह चित्रकारले समेत पनि वासुदाइबाट धेरै प्रेरणा एवम् सहयोग प्राप्त गर्दै आएको थियो । उहाँ कहिले “तपाईंले भेट्नैपर्ने मान्छे, भनेर कतिपय विद्वानलाई मेरो ‘हर्मिताज’ सम्मनै पठाइदिनुहुन्थ्यो । अनि कहिले त्यस्ता व्यक्तिसँग आ-जामा कुरा गराइदिनुहुन्थ्यो । कहिले “तिमीले मनुजका चित्रहरू हेर्नैपर्छ” भनेर कतिपय जिज्ञासु व्यक्तिहरूलाई मेरो अनकन्टार गुफासम्मै पठाइदिने अनि कहिले “तपाइँले पढ्नै पर्ने पुस्तक” भनेर मेरो घरसम्मनै पठाइदिने गर्नुहुन्थ्यो । उहाँकै तर्फबाट मेरो जीवनी र निबन्धसङ्ग्रह दुईवटा पुस्तक प्रकाशित गरिए- एकल कला प्रदर्शनी अयोजित भए । प्रत्येक कार्यमा उहाँ आफ्नो नाम अगाडि आउनै नदिने प्रयत्न पनि गर्नुहुन्थ्यो ।

वासुदाइको अनुहारलाई घण्टौँ घण्टासम्म हेरेर मैले उहाँका थुप्रै रेखाचित्र, जल रङ्ग-तेल रङ्ग चित्र रचना गरिसकेको छु । उहाँ वाह्य अनुहार-सतहबाट पसेर भित्री हृदयसम्मको परिभ्रमण र उत्खनन् क्रममा मैले उहाँभित्र रहेका उदारता- प्रेम-दया-माया-सद्भाव-सहयोग आदि अमूर्त मानवीय पक्षका वृहद् रूपलाई समेत केही हदसम्म देख्ने अवसर पाएको छु । सही अर्थमा ‘मा फलेसु कदाचन’ का अद्वितीय उदाहरण हुनुहुन्थ्यो वासुदाइ । सम्मानको त कुरै छाडौँ, राष्ट्रले उहाँलाई चिन्नसम्म पनि सकेन अब त उनी गइसके । केवल सम्झना नै मात्र सआदर रहिरहेको छ र रहिरहनेछ मेरो हृदयमा ।

०००
हर्मिताज
‘फित्कौली’, पूर्णाङ्क १२, हास्यदेव वासुदेव स्मृति विशेष- फागुन २०६३ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x