सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जामुनोको रुख

“बधाई छ कविजी, मिठाई खुवाउनुहोस्, हाम्रो सरकारी साहित्य प्रज्ञाप्रतिष्ठानले तपाईंलाई केन्द्रीय सदस्यमा चुनेको छ । ल लिनोस् यो चुनिएको पत्र ।” “पहिला मलाई रुखको तलबाट त निकाल्नोस् ।” थिचिएको मान्छेले पीडायुक्त स्वरमा वेदना पोख्यो ।

Nepal Telecom ad

कीर्तिशेष कृष्ण चन्दर

अनुवाद : आर.सी. रिजाल

हिन्दी तथा उर्दू भाषाका सुप्रसिद्ध भारतीय साहित्यकार कृष्ण चन्दरको जन्म सन् १९१४ मा भएको हो । उनी प्रगतिशील कित्ताका यथार्थवादी साहित्यकार हुन् । उनका विभिन्न विधाका ४० भन्दा बढी कृतिहरू प्रकाशित भएका छन् । फिल्मी कथालेखन र निर्देशनमा पनि उनको योगदान रहेको छ । भारतका सबै भाषाहरूका साथै विश्वका अनेक भाषामा उनका कृतिहरू अनुवाद भएका छन् ।

‘अन्नदाता’, ‘हम वहशी है’, ‘एक गधे की आत्मकथा’, ‘तूफन की कलियाँ’, ‘जब खेत जागे’, ‘बावन पत्ते’, ‘एक वायलन समन्दर के किनारे’, ‘कागज की नाव’, ‘मेरी यादों के किनारे’, ‘एक करोड की बोतल’, ‘गरजन की एक साम’ आदि कृतिहरूका रचयिता चन्दरको निधन सन् १९७१ मा भएको हो । – अनुवादक

राती बेजोडले आँधी चल्यो । सचिवालयको मैदानमा एउटा जामुनोको रुख ढल्यो । सबेरै मालीले त्यो रुखले एकजना मान्छे थिचिएको देख्यो । यो घटनाको खबर दिन माली दौडँदैदौडँदै चौकिदारकहाँ गयो चौकिदार दौडँदै कारिन्दाकहाँ पुग्यो, कारिन्दा दौडदै निरीक्षककहाँ पुग्यो, निरीक्षक दौडँदै बाहिर कम्पाउन्डमा आयो । केही मिनेटमै रुखले थिचेको मानिसको वरिपरि भिड लाग्यो ।

“बिचरा जामुनोको रुख, कस्तोसँग फल्थ्यो ।” एउटा कारिन्दाले भन्यो ।
दोस्रो कारिन्दाले सम्झँदै भन्यो- “यो रुखको जामुनो कस्तो रसिलो हुन्थ्यो ।”
तेस्रो कारिन्दाले झन्डै रुँलाझैं गरी भन्यो- “म जामुनोको मौसममा झोला भरिभरि घर लान्थेँ मेरा बालबच्चा यो रुखको जामुनो खुब खुसीले खान्थे ।”

“तर यो मान्छे ?” मालीले थिचिएको मान्छेतिर इसारा गर्दै भन्यो । “हो यो मान्छे !” भन्दै निरीक्षक र्‍सोचमा डुब्यो ।

एउटा चौकिदारले भन्यो- “के थाहा मरेको छ कि बाँचेको ?” अर्को चौकिदारले भन्यो- “मर्‍यो होला, यत्रो अजङ्गको रुखले जसको पिठ्युमा थिचेको छ, त्यो कसरी बाँच्न सक्छ ?”

“हैन, म जिउँदै छु ।” थिचिएको मान्छेले बडो कष्टपूर्वक वेदना सुनायो ।

“जिउँदै छ ।” एउटा कारिन्दाले अचम्म मान्दै भन्यो ।

“रुखलाई हटाएर यसलाई चाँडै निकाल्नुपर्‍यो” भन्दै मालीले सुझाव दियो । एउटा सुस्त, कामचोर मोटे पालेले भन्यो- “मुस्किल होला जस्तो छ रुखको फेद धेरै मोटो र गरुङ्गो छ ।”

मालीले भन्यो- “के मुस्किल छ ? यदि निरीक्षक सा’बले आदेश दिनुभयो भने अहिल्यै पन्ध्रबीस माली, चौकिदार र कारिन्दा लागेर रुखले थिचेको मान्छेलाई निकाल्न सकिन्छ ।” धेरै कारिन्दाले एकै स्वरमा भने- “मालीले ठीक भन्यो, रुख उचाल्ने भए लगाऔं जोड, हामी तयार छौं ।”

एकैसाथ धेरै मान्छे रुख उचाल्न तयार भए । निरीक्षकले भन्यो- “पर्खनोस्, म उपसचिवलाई सोध्छु ।”

निरीक्षक उपसचिवकहाँ गयो । उपसचिव सहसचिवकहाँ गयो । सहसचिव सचिवकहाँ गयो । सचिव मुख्य सचिवकहाँ गयो । मुख्य सचिव मन्त्रीकहाँ गयो । मन्त्रीले मुख्य सचिवलाई केही भने । मुख्य सचिवले सचिवलाई केही भने । सचिवले सहसचिवलाई, सहसचिवले उपसचिवलाई केही भने । फाइल अगाडि बढ्दै गयो । यतिकैमा आधा दिन बित्यो ।

दिउँसोको खानापछि रुखले थिचिएको मान्छेको वरिपरि हेर्नेको भिड लाग्यो । मान्छे आआफ्नै पाराले गफ गर्दै थिए । केही साहसी कारिन्दाले यो समस्यालाई आफैँ समाधान गर्न खोजे । उनीहरू आधिकारिक निणर्यलाई नपर्खी रुखलाई आफैँले हटाउने निश्चय गर्दै थिए, ठीक त्यहिबेला निरीक्षक फाइल लिएर छिटोछिटो आयो र भन्यो- “हामी आफैँ यो रुखलाई हटाउन सक्तैनौँ । हामीहरू वाणिज्य विभागसँग सम्बन्धित छौं र यो रुखको समस्या हो, जो कृषि विभागको अधीनमा पर्छ । म यो फाइललाई ‘अत्यन्त जरुरी’ लेखेर कृषि विभाग पठाउँदै छु । त्यहाँबाट जवाफ आउनासाथ यो रुखलाई हटाइदिन्छौं ।”

दोस्रो दिन कृषि विभागबाट जवाफ आयो- “रुख वाणिज्य विभागको मैदानमा ढलेको छ । त्यसैले रुख हटाउने वा नहटाउने जिम्मेवारी वाणिज्य विभागकै हुन्छ ।” यो उत्तर पढेपछि वाणिज्य विभागलाई खुब रिस उठ्यो । वाणिज्यले तुरुन्त जवाफ लेख्यो- ” रुख हटाउने वा नहटाउने जिम्मेवारी कृषि विभागको हो । वाणिज्य विभागको यससँग कुनै सम्बन्ध छैन ।”

दोस्रो दिन पनि फाइल घुमिरहयो । साँझपख कृषि विभागबाट जवाफ आयो- “हामीले यो मामला ‘वागवानी निर्देशनालय’ लाई जिम्मा लगाएका छौं किनकि यो एउटा फलदार रुखको मामला हो । कृषि विभागको अधिकार अन्न र खेतीपातीबारे निर्णय गर्नु हो । जामुनोको रुख भएकोले ‘वागवानी निर्देशनालय’ अन्तर्गत नै पर्छ ।”

एक सिपाहीको हृदयमा दया जाग्यो र दोस्रो रात मालीलाई खाना खुवाउने आदेश दियो । राती मालीले रुखले थिचिएको मान्छेलाई दाल भात खुवायो । जनताले कानुन आफ्नो हातमा लिएर रुखलाई त्यो स्थानबाट हटाउने निणर्य गर्लान् कि भनी चारैतिर पुलिसको पहरा थियो । मालीले थिचिएको मान्छेलाई भन्यो- “तिम्रो फाइल घुम्दै छ, आशा गरौं भोलिसम्ममा फैसला हुन्छ ।” थिचिएको मान्छे केही बोलेन ।

मालीले ढलेको रुखको फेदलाई ध्यानसँग हेरेर भन्यो- “राम्रो भयो, यो रुख तिम्रो गर्दनभन्दा तल पर्‍यो । यदि कम्मरमा परेको भए मेरुदण्ड नै भाँचिन्थ्यो ।” थिचिएको मान्छेले फेरि पनि केही बोलेन । मालीले फेरि भन्यो- “तिम्रो यहाँ कोही नातागोता छ ? छ भने त्यसको ठेगाना देऊ ।

म उनलाई खबर गर्ने कोसिस गरौंला । “ बढो मुस्किलले थिचिएको मान्छेले भन्यो- “म बेवारिस हुँ ।” माली खेद प्रकट गर्दै त्यहाँबाट हिँड्यो ।

तेस्रो दिन वागवानी निर्देशनालयबाट जवाफ आयो । जवाफ एकदम कडा र व्यङ्ग्यपूणर् थियो ।

वागवानी निर्देशनालयको सचिव साहित्यप्रेमी मान्छेझैं लाग्थ्यो । उसले लेख्याथ्यो-
“आश्चार्य छ, यो समय जब हामी ‘रुख रोपौँ’ भन्ने अभियानलाई उच्चस्तरका साथ चलाइरहेका छौं हाम्रो देशमा यस्ता सरकारी अफिसर पनि छन्, जो रुख काट्ने सुझाव दिन्छन् र त्यो एउटा फलदार रुख, त्यसमा पनि जामुनोको, जसको फल जनताले खुब स्वादिलो मानेर खान्छन् । हाम्रो विभाग कुनै पनि हालतमा यो फलदार रुख काट्ने आदेश दिनै सक्दैन ।”

“अब के गर्ने ?” यसैबेला एउटा रसिकले भन्यो- “यदि रुख काट्न सकिँदैन भने यो मान्छेलाई काटेर निकाल्ने ।”

“यता हेर्नोस्” त्यो मान्छेले इसारा गर्दै भन्यो- “यदि यो मान्छेलाई ठीक बीचमा अर्थात् कम्मरमा काटिदियो भने आधी मान्छे एकातिरबाट र आधी मान्छे अर्कोतिरबाट निकाल्न सकिन्छ र रुख जहाँको तहीं रहन्छ ।” थिचिएको मान्छेले आपत्ति प्रकट गर्दै भन्यो- “हुँदैन, यसरी त म मर्छु ।”
“यसले पनि ठीक भन्छ ।” एउटा कारिन्दाले भन्यो ।

मान्छे काट्ने युक्ति प्रस्तुत गर्नेले एकदमै विरोध गर्‍यो- “तपाईंहरूलाई थाहा छैन, आजकाल प्लास्टिक सर्जरीले कत्रो उन्नति गरिसक्यो मलाई थाहा छ, यदि यो मान्छेलाई बीचमा काटेर निकालियो भने त्यही स्थानमा प्लास्टिक सर्जरीले फेरि कम्मर जोड्न सकिन्छ ।”

यसपटक फाइललाई स्वास्थ्य निर्देशनालय पठाइयो । फाइल प्राप्त हुनासाथ स्वास्थ्य निर्देशनालयले तुरून्त एक्सन लियो । जुन दिन फाइल विभागमा आयो त्यसको भोलिपल्ट आफ्नो विभागमा रहेको सबैभन्दा योग्य प्लास्टिक सर्जनलाई छानविन गर्न पठायो । सर्जनले थिचिएको मान्छेको शरीर राम्रोसँग छामछुम गरे । उसको ब्लडप्रेसर, नाडीको चाल, मुटु र फोक्सोको चाल आदि जाँचेर रिपोर्ट पठाए- यो मान्छेको प्लास्टिकसर्जरी हुनसक्छ र अप्रेसन सफल पनि हुन्छ, तर मान्छे मर्छ । त्यसैले यो फैसला पनि रद्द गरियो ।

थिचिएको मान्छेलाई मालीले राती खिचडी खुवाउँदै भन्यो- “अब मामला माथि गयो, सुनिन्छ भोलि सबै मन्त्रालयका सचिवहरूको बैठक हुन्छ । त्यहाँ तिम्रो समस्या राखिन्छ । आशा गरौं सबै काम ठीक हुन्छ ।”

विचिएको मान्छेले लामो सास तानेर बिस्तारै भन्यो- “ल यो त मानेँ, तिमी ढिलो नगरी । तिमीले खबर पाउन्जेल त म मरुँला ।” मालीले अचम्म मान्दै दाँतले औँला टोक्यो र चकित भावले भन्यो “के तपाईं सायर हो ?” थिचिएको मान्छेले विस्तारै “हो” को भावमा मुन्टो हल्लायो ।

अर्को दिन मालीले चौकिदारलाई, चौकिदारले कारिन्दालाई, कारिन्दाले अफिसरलाई भन्यो । थोरै समयमै सचिवालयमा थिचिएको मान्छे कवि हो भन्ने समाचार हावासरि फैलियो । बस् अब के थियो, कविलाई हेर्न मान्छेहरूको भिड लाग्यो । यो चर्चा सहरमा पनि फैलियो र साँझसम्ममा टोलटोलबाट कविहरू जम्मा भए । सचिवालयको मैदानमा तालतालका कविहरू जम्मा भए । थिचिएको मान्छेको वरिपरि कवि सम्मेलनको वातावरण उत्पन्न भयो । सचिवालयका केही कारिन्दा र अफिसरहरू जसलाई साहित्य वा कवितामा रुचि थियो तिनीहरू सबै जम्मा भए । केही कविहरू थिचिएको मान्छेलाई कविता र मुक्तक सुनाउन लागे । केही कारिन्दा उसलाई आफ्नो कवितामाथि आलोचना गर्न बाध्य पार्न लागे ।

जब थिचिएको मान्छे कवि हो भन्ने पत्ता लाग्यो । तब सचिवालयको सबकमिटीले फैसला गर्‍यो- थिचिएको मान्छे एउटा कवि हो । त्यसैले यो फाइलको सम्बन्ध न कृषि विभाग न वागवानी निर्देशनालय सिर्फ संस्कृति विभागसँग मात्र सम्बन्धित छ । संस्कृति विभागसँग अनुरोध गरियो- छिटोभन्दा छिटो यो मामलाको फैसला गरेर त्यो अभागी कविलाई जामुनोको रुखबाट निकाल्न पर्‍यो ।

फाइल संस्कृति विभागका विभिन्न शाखा हुँदै प्रज्ञा प्रतिष्ठानको सचिवकहाँ पुग्यो । बिचरा सचिव तुरुन्तै आफ्नो गाडी चढेर सचिवालय मैदान पुगे र थिचिएको मान्छेको अन्तर्वार्ता लिन थाले ।

सचिवले सोधे- “तपाईं कवि हो ?”

“हजुर ।” थिचिएको मान्छेले भन्यो ।
“के उपनामले सुशोभित हुनुहुन्छ ?”
“शीत !”
‘शीत ।’ भनेर सचिव जोडले चिच्यायो । के तपाईं त्यही ‘शीत’ हो जसको गद्यसङ्ग्रह ‘शीतको फूल’ हालसालै प्रकाशित भएको छ ? थिचिएको मान्छेले भयभीत स्वरमा टाउको मात्र हल्लायो ।

सचिवले सोधे- “के तपाईं हाम्रो प्रतिष्ठानको सदस्य हो ?”
“हैन ।”
“आश्चर्य लाग्छ ।” सचिवले ठूलो स्वरले भने- “यत्रो ठूलो कवि ‘शीतको फूल’को लेखक तर हाम्रो प्रतिष्ठानको सदस्य हुनुहुन्न ? ओहो ! कस्तो भूल भयो हामीबाट । यस्तो ठूलो कवि अज्ञात अर्थात् ओझेलमा परेका रहेछन् ।

“ओझेलमा परेको हैन, रुखले थिचिएको छु, कृपया मलाई यो रुखमुनिबाट निकाल्नुहोस् ।”
“अहिले बन्दोबस्त गर्छु ।” भन्दै सचिव तुरुन्त गयो र आफ्नो विभागमा रिपोर्ट गर्‍यो ।

अर्कोदिन सचिव छिटोछिटो हिँड्दै कवि भएको ठाउँमा आएर भने- “बधाई छ कविजी, मिठाई खुवाउनुहोस्, हाम्रो सरकारी साहित्य प्रज्ञाप्रतिष्ठानले तपाईंलाई केन्द्रीय सदस्यमा चुनेको छ । ल लिनोस् यो चुनिएको पत्र ।”

“पहिला मलाई रुखको तलबाट त निकाल्नोस् ।” थिचिएको मान्छेले पीडायुक्त स्वरमा वेदना पोख्यो । ऊ मुस्किलले सास फेर्दै थियो । उसको आँखाबाट थाहा हुन्थ्यो ऊ भयङ्कर कष्ट र पीडामा छ ।

सचिवले भन्यो- “यो हामी गर्न सक्तिनौं, जे हामीले गर्न सक्थ्यौँ त्यो सबै गरिसक्यौँ । अझ हामी त यतिसम्म गर्न सक्छौँ कि तपाईंको मृत्यु भयो भने तपाईंकी श्रीमतीलाई आर्थिक सहायता दिन सक्छौँ, त्यो पनि यदि तपाईंले दरखास्त दिनुभयो भने ।”

कविले रोकिइरोकिइ भने- “म अहिले जिउँदो छु मलाई बचाउनुहोस् ।” सरकारी साहित्य प्रतिष्ठानको सचिवले हात मोल्दै भन्यो- “हाम्रो विभाग सिर्फ संस्कृतिसँग सम्बन्धित छ, समस्या यो छ कि रुख काट्ने काम कलम चलाउनेबाट हुँदैन, आरो, बन्चरो चलाउनेसँग सम्बन्ध हुन्छ । त्यसको लागि हामीले वन विभागलाई अत्यन्त जरुरी चिठ्ठी लेखिदिएका छौं ।”

साँझमा माली आएर थिचिएको मान्छेलाई भन्यो- “भोलि वन विभागका कर्मचारी आएर यो रुख काट्छन् र तिम्रो ज्यान जोगिन्छ ।” माली खुब खुसी थियो । थिचिएको मान्छेको स्वास्थ्य स्थिति हेर्दा ऊ आफ्नो जीवनको लागि कुनै न कुनै तरिकाले सङ्घर्षरत थियो, भोलिसम्म भोलि सबेरैसम्म …. कुनै न कुनै हालतमा उसलाई जीवित रहनु छ ।

अर्को दिन जब वन विभागको मान्छे आरो र बन्चरो लिएर पुगे । तर उनीहरूलाई रूख काट्नबाट रोकियो । रुख नकाट्नको लागि परराष्ट्र विभागबाट आदेश आएको थियो । कारण के थियो भने यो रुखलाई १० वर्ष पहिले पिटोनिया राज्यका प्रधानमन्त्रीले सचिवालयको मैदानमा वृक्षारोपण गरेका थिए । अब यदि यो रुख काटियो भने यसमा आशङ्का गर्ने स्थान रहन्छ- त्यो हो पिटोनिया सरकारसँग हाम्रो कूटनीतिक सम्बन्ध सदाको लागि विग्रने छ । एउटा कारिन्दा चिच्यायो- “यहाँ एउटा मान्छेको ज्यानको सवाल छ ।”

दोस्रो कारिन्दाले पहिलोलाई सम्झायो- “यहाँ दुई देशको सम्बन्धको कुरा छ कुरा पनि बुझ्नुपर्‍यो नि पिटोनिया सरकारले हाम्रो राज्यलाई कति सहायता दिन्छ- के हामी उसको मित्रताको लागि एउटा मान्छेको जीवनको बलिदान गर्न सक्तैनौ ? कवि त मर्नैपर्छ ।”
“निःसन्देह ।”

स्वकीय सचिवले निरीक्षकलाई भन्यो- “आज सबेरै प्रधानमन्त्री भ्रमणबाट फर्के । आजै चार बजे परराष्ट्र विभागले यो फाइल प्रधानमन्त्रीसमक्ष पेस गर्छ । उनले जस्तो फैसला गर्छन् त्यो सर्वस्वीकार्य हुन्छ ।”

साँझ पाँच बजे निरीक्षक स्वयम् कविको फाइल लिएर उसलाई भेट्न आए ।
‘सुन्छौ ?’ आउनासाथ खुसीले फाइल हल्लाउँदै ठूलो स्वरमा भने- “प्रधानमन्त्रीले यो रुख काट्ने आदेश दिनुभयो र यस घटनाको सारा अन्तर्राष्ट्रिय जिम्मेवारी आफ्नो थाप्लोमा लिनुभयो । भोलि यो रुख काटिन्छ र तिमी यो सङ्कटबाट पार पाउँछौ । सुन्या छौँ आज तिम्रो फाइलले पूणर्ता पायो ।”

तर कविको हात चिसो थियो, आँखाका नानी निर्जीव थिए र कमिलाको लामो ताँती उसको मुखभित्र पसिरहेको थियो …. ।

उसको जीवनको फाइल पनि पूणर् भैसकेको थियो ।

०००
‘भोलारामको आत्मा’ (२०६६)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे
क्वालिटी एजुकेसन

क्वालिटी एजुकेसन

देवीप्रसाद घिमिरे
आइडिया

आइडिया

भोजराज रेग्मी ‘मुखाले’
फेसले देखाएको फुइँ

फेसले देखाएको फुइँ

ठाकुरप्रसाद अधिकारी