साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गधा र सुप्रसिद्ध लेखकहरूको भेटघाट

उनले हाँस्दै भने- “होइन । अहिले त तपाईं गएर हाम्रो सङ्गीतकारबाट ‘गुणकली’ सुन्नुहोस् ।” मैले भनें- “पर्खनोस्, अलिकति घाँस खाऊँ, फेरि खान पाइने हो हैन ।”

Nepal Telecom ad

अनुवाद : आर.सी. रिजाल

(कृष्ण चन्दरको लोकप्रिय व्यङ्ग्य उपन्यास ‘एउटा गधाको आत्मकथा’ मा मान्छेको भाषामा बोल्ने एउटा गधालाई माध्यम बनाएर समाजका विभिन्न क्षेत्रमा भएका विसङ्गतिमाथि लेखकले तिखो व्यङ्ग्य प्रहार गरेका छन् । जसमा सरकारी भ्रष्ट अफिसर, लाइसेन्सको चक्करमा घुम्ने व्यापारी, चुनावमा जोडतोडले लागेको नेता, साहित्यका मठाधीश, मोर्डन आर्टको नाममा जनतालाई चक्करमा पार्ने कलाकार, क्लासिक सङ्गीत, सुन्दरी प्रतियोगिता आदि स्थानमा बोल्ने गधा पुगेर कुराकानी, बहस, मूल्याङ्कन जस्ता कार्य गर्छ । यस आत्मकथाबाट गधाले साहित्य एकेडेमीका सुप्रसिद्ध लेखकहरूसँगको भेटघाटसम्बन्धी अंशमात्र अनुवाद गरी यहाँ प्रस्तुत गरिएको छ । – अनुवादक

म त्यहीँ उभिएर बडो चनाखो भएर सोचिरहेको थिएँ- अब कता जाऊँ ? यत्तिकैमा के देख्छु भने कपाल गर्धनसम्म झुन्डिएको एउटा लेखकजस्तो अनुहार परेको व्यक्ति हातमा इट्टा लिएर मलाई हिर्काउन आइरहेछ । उसको अनुहार विद्वान्को जस्तो थियो, निधार चम्किलो र सेतो दाह्री । पहिला त ऊ मभन्दा टाढा रह्यो र डराउँदै भन्न लाग्यो- “म अहिंसामा विश्वास गर्छु, नत्र अहिले यही इट्टाले हिर्काउँथेँ । तेरो भलाइ यसैमा छ कि तँ सिधै यहाँबाट गइहाल् ।”

मैले भनेँ- “मेरो पछाडिपछाडि धेरै मान्छे मलाई हिर्काउन लाठो लिएर आइरहेका छन् । त्यसैले उता फर्कन सक्तिनँ चाहे तिमी हिंसा गर या अहिंसा ।” मैले बोलेको सुनेर त्यो व्यक्तिको हातबाट इट्टा झर्‍यो । ऊ हेर्‍याहेर्‍यै भयो, अनुहार कालो निलो भयो र दाह्रीको रौं यस्तरी काम्न लाग्यो कि मलाई त डर लाग्यो, कतै उसको दाह्री अनुहारबाट उछिट्टिएर भुँइमा खस्ने त हैन ! कुनै तरिकाले एकछिनपछि त्यो महानुभावले आफूलाई सम्हालेर बडो मुस्किलले बोल्यो- “तिमी को हौ ?”

“गधाको भेषमा आएको म गालिब । दुनियाँको अनौठो तमासा हेर्न ।”

यति सुन्नासाथ त्यो व्यक्ति त्यहाँबाट फरक्क फर्कियो । आफ्नो कुर्सीमा पुगेर अरू लेखक साथीहरूलाई भन्न लाग्यो- “मित्रहरू । अचम्म भयो ।”

धेरै लेखकहरूले एकैसाथ सोधे- “के भयो ?”
“काका गालिब गधाको भेषमा हामीलाई भेट्न आउनुभएको छ ।”
“फटाहा कुरा ।”
“यदि नपत्याए आफ्नै आँखाले हेर्नू, आफ्नै कानले सुन्नू उहाँ अगाडि नै उभिनुभएको छ ।” त्यो महानुभावले मतिर सङ्केत गर्‍यो ।

“यत्तिकैमा पाले, साहित्य एकेडेमीको सदस्य सचिव र उनका सहायक जसको नाम पछि मलाई थाहा भो, श्री डी डी गुडच । उनीहरू सबै लाठो उठाएर मलाई खेद्न आए । तर उही महापुरुषको हातको सङ्केतले उनीहरूलाई रोकेनन् मात्र उल्टै मेरो लागि स्पेसल कुर्सी ल्याउने आदेश भयो ।

यसपछि मलाई बडो आदरका साथ लेखकको सभामा बसाए । धेरै मान्छे मलाई आँखा तरितरी हेरिरहेका थिए । आखिर मलाई असह्य भयो र भनेँ- “किन सज्जनवृन्द के आजसम्म तपाईंहरूले कुनै गधा देख्नुभएको छैन र यसरी रिसाएर हेर्नुहुन्छ ?” एक सज्जनले भने- “हामीलाई सब थाहा छ भन्नोस् तपाईंले आफ्नो यस्तो दशा किन बनाउनुभयो ? केका लागि ?” मैले भनें- “यो माटोको पुत्लाको शरीरलाई कुनै तरिकाले छोप्नु त हो ।”

“भन्नोस् कसरी आउनुभयो ? जहाँ तपाईं हुनुहुन्छ त्यहाँबाट त मुस्किलले नै कोही आउन सक्छ ।” हजुर ठीक कुरा सोध्नु भो । म बडो मुस्किलले आएको हुँ । अहिलेसम्म कानमा ती मान्छेका आवाज गुन्जिरहेछ, जो मेरो पछिपछि आउँदै थिए ।”

एक मरन्च्याँसे लेखकले एकदम मसिनो स्वरमा भन्यो- “हे महानुभाव तपाईंको सेर जसले एकपटक सुन्छ, सर्वौचोटि तपाईंको पछि लाग्छ ।”

“सेर !” म आश्चार्यचकित भएँ । उही पहिलो महानुभावले मेरो कानमा भने- “मैले गालिब गधाको भेषमा आउनुभएको कुरा सबैलाई भनिसकें ।”
“गालिब ! वाहियात !”
मैले आँखा तरेर उतिर हेर्दै भनें- “महाशय । म त एक मामुली गधा हुँ, जसलाई अलिअलि लेखपढ गर्नेसम्मको ज्ञान छ । कहाँ म, कहाँ गालिब ।”

एकेडेमीको सदस्य सचिवले भने- “ठीक छ । ठीक छ ! मैले बुझिसकेँ, तपाईं नै हो । त्यो बोल्ने गधा, जसको फोटो समाचारपत्रमा छापिएको छ ।”
“हजुर, बोल्नेवाला गधा त दुनियाँमा धेरै छन् । फोटो कसैकसैको छापिन्छ ।”
अनि मैले शिर झुकाएर भनें “कृपापूर्वक मलाई भन्दिनु म कुनै समारोहमा नबोलाएको पाहुना जसरी आएको छु ?” सदस्य सचिवले भने- “यो साहित्य एकेडेमी, कलाकेन्द्र र सङ्गीत नाट्य एकेडेमीको मिलीजुली सभा हो । तपाईं यहाँ भारतको विशिष्ट लेखक, कलाकार सङ्गीतकार तथा नाटककार भेट्नुहुन्छ त्यो कुर्सीमा बस्ने महानुभावको नाम श्री गणेन्द्रनाथ नागपाल हो, उहाँ हिन्दीको सबैभन्दा ठूलो उपन्यासकार हुनुहुन्छ । उहाँले दस उपन्यास लेख्नुभएको छ । उहाँको उपन्यासको विशेषता के छ भने जुन कुरा एक उपन्यासमा भन्नुहुन्छ, अर्को उपन्यासमा आफैँ त्यसको खण्डन गर्नुहुन्छ उहाँको पूरै साहित्यिक जीवन आफैँले भनेको कुराको खण्डनमै व्यतीत भएको छ । त्यसैले त हिन्दी साहित्यमा उहाँको विशेष स्थान छ । उहाँ हाम्रो कार्यकारिणी सदस्य हुनुहुन्छ ।”

“उहाँसँग परिचय गरौं- ओभरकोट लाएका चुस्स दाह्री पालेका, टोपी लगाएका, बूढा उर्दू साहित्यकार उहाँको कमाल के छ भने विगत पन्ध्र वर्षदेखि उर्दू साहित्यको कुनै पुस्तक पढ्नुभएकै छैन । उहाँ पनि समितिको सदस्य हुनुहुन्छ ।

उहाँसँग परिचय गरौँ- उहाँ सुन्दरसिंहजी हुनुहुन्छ उहाँ न लेखक, न दार्शनिक, न कवि न सायर तर उच्च श्रेणीका धर्मोपदेशक हुनुहुन्छ उहाँ पनि कार्यकारिणी समितिको सदस्य । अब उहाँसँग परिचय गरौं श्री डी डी गुडच गुजराती लेखक हुनुहन्छ । तर गुजराती अतिरिक्त अन्य भाषाका लेखक तथा उनीहरूका साहित्यमा उहाँका दृष्टि बढी गहिरो छ उहाँ हुनुहुन्छ – प्रोफेसर अब्दुल सिकुर यद्यपि उहाँ पनि साहित्यकार हुनुहुन्न तैपनि विगत पन्ध्रबीस वर्षदेखि यस कुरामा अनुसन्धान गरिरहनु भएको छ कि उर्दूको वणर्मालामा ‘अलिफ’ को स्थानमा ‘ये’बाट सुरू भए कस्तो होला ? मैले सोधें “के कस्तो होला ?”

“अब्दुल सिकुरले भने- “मेरो विचार यस्तो छ यदि एउटा बच्चा उर्दूको नियमलाई ६ महिनामा सिध्याउँथ्यो भने उसलाई त्यही पूरा गर्न ६ वर्ष लाग्छ ।” मैले सोधें “यसबाट फाइदा के हुन्छ ?” उनले भने- “यसबाट बच्चाको सम्झने क्षमता दृढ हुन्छ र उसलाई अर्को भाषा सिक्न महाकठिन हुँदै जान्छ ।”

“जटिल भाषाबाट फाइदा के छ त ?”

“सही ज्ञान कठिन भाषामा नै सम्भव हुन्छ ।” अब्दुल सिकुरजीले फेरि भन्नुभयो- “हाम्रो यहाँ त सरल भाषा लेख्ने साहित्यकारहरूको प्रवेश नै हुँदैन । हामीले आफ्नो साहित्य एकेडेमीमा यस्तो कुराको विशेष इन्तजाम गरेका छौं कि कुनै त्यस्ता साहित्यकार यहाँ घुस्न नपाऊन् जसले बितेको पन्ध्र बीस वर्षमा कुनै कुरा, कुनै कामका कुरा, सहज भाषामा भनेका हुन् । हाम्रो अगाडि फ्रान्सको एकेडेमी उदाहरणको रूपमा छ, जहाँ रुसो, भोल्टियरजस्ता साहित्यकारलाई सामेल गरिएको छ ।”

मैले भनें “तपाईंले यस कुरामा गर्व गर्नुको सट्टा लाज पो मान्नुपर्ने ।” श्री गणेन्द्रनाथ नागपालले एउटा रसबरीतिर हेरेर योगाभ्यास गर्दै भने- “आआफ्नो विचार हो ।”

मैले अन्तै कुरा मोड्दै भनेँ- “भैगो छाडौं यो कुरा, मलाई केटाकेटीदेखि नै पढ्नेलेख्ने सौख छ । के म एकेडेमीको सदस्य बन्न सक्छु ?”
“हो, यही त हो खराबी ।” श्री गुडचले हुँदैन भनी टाउको हल्लाउँदै इसारा गरे ।
“किन ?”
“यही कि तपाईंलाई पढ्ने लेख्ने सौख छ ।” गुडचले मलाई सम्झाउँदै भने- “वास्तवमा हाम्रो एकेडेमीको सदस्य हुन धेरै कठिनाइको सामना गर्नुपर्छ । पहिलो कुरा पचास वर्षभन्दा कम आयुकालाई हामी सदस्य बनाउँदैनौं । किनकि यो समयसम्म उसलाई वास्तविक शब्दमा जिम्मेवार भन्न सकिन्न । तपाईं हाम्रो एकेडेमी सदस्य हेर्नोस् एकसेएक बूढा छन् । जसले बर्षौंवर्षदेखि पुस्तक पढेनन्, न पढ्नका लागि इच्छुक नै छन् । पुस्तकभन्दा बढी हाम्रो कार्यकारिणी समितिमा रोगव्याधको चर्चा हुन्छ । कोही हृदयघातको, कोही दमको, कोही आँखा दुख्ने, कोही मूत्र रोगको आदि । हो, यदि तपाईं कुनै भयानक रोगबाट ग्रस्त हुनुहुन्छ भने म सदस्यता बारे विचार गरौंला ।”

मैले भनें- “मेरो स्वास्थ्य त एकदमै राम्रो छ र पचास वर्ष पुग्न अझ धेरै वर्ष बाँकी छ ।” श्री गुडचले हाँसेर भने- “त्यसो भए एकेडेमीको सदस्य पनि आकाशको फल सम्झनोस् त्यसको अतिरिक्त हाम्रा सदस्यले पढ्ने लेख्नेभन्दा बढी सोच्ने, सम्झने गरोस् भन्ने चाहन्छौं । वास्तवमा हामी उत्कृष्ट विचारक पैदा गर्न चाहन्छौं । हाम्रो कार्यकारिणीमा लेखक कम चिन्तक धेरै पाउनुहुन्छ । यहाँ पाँच वर्षदेखि एउटा किताब नलेख्ने, पन्ध्र वर्षदेखि एउटा किताब नलेख्ने र जिन्दगीभर एक पुस्तक पनि नलेख्ने हाम्रो एकेडेमीमा प्रमुख सदस्य छन् । किन ? एक लेखक हुनुको नाताबाट हैन कि, एक प्रमुख चिन्तक हुनुको नाताले उनीहरूले आफ्नो पढ्ने लेख्ने समयमा आफ्नो जीवनको धेरै समय सोच्ने, विचार गर्ने, विचार गर्दागर्दै झुल्ने र झुल्दाझुल्दै निदाउनमा व्यतीत गरेका छन् ।”
“क्या भन्नुभो ।” मेरो मुखबाट अकस्मात् निस्कियो ।

“फेरि हाम्रो एकेडेमीमा नयाँनयाँ आन्दोलनलाई राम्रो मानिँदैन, जो विगत तीस वर्षमा भारतका विभिन्न साहित्यहरूमा आए र हेर्दाहेर्दै देशभर छाए ।”
“तपाईंले भन्न खोजेको …. ?”
“मेरो सङ्केत मानवतावादी, जनतन्त्रवादी, साम्यवादी, प्रगतिवादी, लेखकका विभिन्न सङ्घसंस्थाप्रति हो । उनीहरूको कामबाट, उनीहरूको साहित्यबाट । तपाईंले ती सङ्घका कुनै व्यक्तिलाई हाम्रो एकेडेमीको सदस्य भएको पाउनुहुन्न ।”
“किन ?” मैले आश्चर्य मान्दै सोधें ।
“बस हामी मन पराउँदैनौ, अरू के ?“

भारतभन्दा बाहिर दर्जनौं भाषामा ती रचनालाई आदरसम्मानका दृष्टिबाट “तर उनीहरूको रचना भारतभर लोकप्रिय छन् । अन्य भाषामा उनीहरूका रचना हेरिन्छ ।”
“हेरिन्छ होला तर …. ।” सदस्य सचिवले बीचैमा आएर बोल्न सुरु गरे- “यो भारतीय साहित्य एकेडेमी हो । यहाँ प्रगतिशील लेखक पस्न सक्तैनन् ।”

श्री सुन्दरसिंहले घोचपेचको भाषालाई नरम स्वरमा भने- “कुरा वास्तवमा यो हो श्रीमान् हामीहरू पुरातन साहित्यलाई मन पराउँछौं उर्दूमा गालिबसम्म, हिन्दीमा भारतेन्दुसम्म संस्कृतमा कालिदाससम्म ।”

मैले सोधें “यसको मतलब यो भयो कि यसपछि आजसम्म जेजति विभिन्न भाषामा लेखिएका छन्, जेजति संसारभरमा लेखिएका छन्, संसारमा जो नयाँ आन्दोलन चलेको छ, जो घटनादुर्घटना भएको छ, जसले केवल राजनीतिमात्र होइन पूरा जीवनको धार नै बदलिदिएका छन् । उनीहरूसँग तपाईंहरूको केही सम्बन्ध छैन ।”

सदस्य सचिवले मुस्कुराएर सोधे- “तपाईंले घाँस त खानु भएन ?”
मैले भने- “खाएको छैन, खान चाहन्छु ।” सदस्य सचिवले आफ्नो आतिथ्य प्रेम दर्साउँदै भने- “अहिले नै लिन पठाउँछु” भन्दै उनी त्यहाँबाट गए । मैले टाउको घुमाएर गुडचलाई सोधें- “मेरो त साहित्यकार एवम् साहित्यानुरागीसँग मिलनको यो पहिलो अवसर हो यसभन्दा पहिले तपाईंहरूका पुस्तक पढ्थेँ । अब भन्नोस्- तपाईंहरू, मेरो मतलब- साहित्य एकेडेमीको उपस्थित सदस्यले साहित्य र साहित्यकारको सहायताको सम्बन्धमा के कार्य गर्दै हुनुहुन्छ ? श्री गुडचले भने- “अहिले त हामी एउटा लामो सूची तयार पार्दै छौं ती समस्त लेखक र उनीहरूका समस्त पुस्तकका जो बितेका सयवर्षमा लेखिएका थिए ।”

मैले सोधें- “त्यस्ता पुस्तकको सूची कसले बनाउँछ ? जो बितेका सय वर्षमा लेखिएनन् । लेखकको गरिबीको कारण, ती समस्त कविता, ती समस्त चित्र, चित्रकलाका सुन्दर कलाकृतिहरू, ती महान् सङ्गीत, जुन कलाकारको दिमागमा दबिएर रहे, किनकि ऊसँग खानेकुरा केही थिएन, उसका बच्चा भोकभोकै मर्दै थिए । उसकी पत्नी क्षयरोगले मरेकी थिई ती समस्त पुस्तकहरू, कविताहरू, चित्र, गीतको सूची कसले बनाउँछ, जो हुनसक्थ्यो तर हुन सकेन ।” श्री गुडचले निहुरिएर “यो हाम्रो काम हैन” भने ।

“त्यसो भए यो कसको काम हो ? कुनचाहिँ भारतीय एकेडेमीले यस्तो काम आफ्नो हातमा लिन्छ ? त्यो कुन एकडेमी होला, जो लेखकको हृदयको चोटमा मलम लगाउँछ जो उनको पुस्तकको रक्षक बन्छ । जसलाई उसले आफ्नो हृदयरक्तले लेख्या’ हुन्छ त्यो कुन एकेडेमी होला जो लेखकलाई उचित जीविका जुटाएर उसबाट उपन्यास, कथा, कविता लेख्न लगाउला । उनीहरूलाई समाजको सम्मानित व्यक्ति सम्झेर छुट्टी, पेन्सन, आर्थिक सहायता देला । उनीहरूका बच्चाको शिक्षादीक्षाको प्रबन्ध मिलाउला । त्यो कुन एकेडेमी होला जो लेखकलाई मानिस सम्झन्छ उनीहरूलाई कल्पनामा उड्ने, शून्यमा रहने अमानवी व्यक्ति सम्झनको लागि विवश नहोला ।”

सदस्य सचिवले छिटोछिटो भने- “लिनुस् तपाईंको घाँस आइपुग्यो ।” उसको कृत्रिम हाँसोको पछाडि रिसले मुर्मुरिएको प्रस्ट देखिन्थ्यो । यदि एकेडेमीका नियममा कुनै अतिथि रिसाउँदा गोली हान्ने प्रावधान भएको भए त्यसले मलाई निश्चय नै गोली हान्थ्यो । तर के गरोस् । घाँस प्रस्तुत गर्न विवश थियो ।

मैले यताउति हेरेँ । यो बहसमा भाग लिन कोही तयार थिएनन् । श्री गणेन्द्रनाथ नागपालजी रसबरी निलिसकेर निद्रादेवीको काखमा गैसकेका थिए । श्री अब्बु अदिव उङ्दाउङ्दै निदाइसकेका थिए । सुन्दरसिंहजी बारम्बार दाह्री कन्याइरहेका थिए, लाग्थ्यो उनलाई कुनै नयाँ विचारले सताइरहेको छ । तर त्यो चिलाएको भन्दा अरू केही थिएन । जब मैले देखें कोही लेखक यो खतरनाक बहसमा भाग लिन तयार थिएनन् तब मैले पनि उचित ठानें अब घाँस खान सुरु गर्दिऊँ । एक गधाले योभन्दा बढी गर्न पनि के सक्थ्यो ? विशेष गरेर यस्ता व्यक्तिको फेला परियो जो आफ्नो प्रकृतिले लेखक कम मठका महन्त ज्यादा भान हुन्थे । मैले घाँस खान सुरु गरेँ । एक बुजो चपाएको मात्र थिएँ अर्कोतिरबाट ढोकाको छेस्किनी खोलेको आवाज आयो । त्यता हेरेको त धोती लगाएका एक भलादमी काँधमा दोसल्ला राखी तानपुरा लिएर मुस्कुराउँदै मतिर आउँदै थिए । नजिकै आएर भने- “हामीले सुनेका छौं- तपाईंलाई गाना सुन्ने सोख छ रे ?”

मैले भनें- “हजुर म आफैँ एकदम राम्रो गाना गाउँछु चाहनुहुन्छ भने म अहिले दरबारी विलम्बित (लामो समय लगाएर बिस्तारै गाउने गाना) मा गाउन सुरु गरूँ ?” उनले हाँस्दै भने- “होइन । अहिले त तपाईं गएर हाम्रो सङ्गीतकारबाट ‘गुणकली’ सुन्नुहोस् ।” मैले भनें- “पर्खनोस्, अलिकति घाँस खाऊँ, फेरि खान पाइने हो हैन ।”

०००
‘भोलारामको आत्मा’ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जामुनोको रुख

जामुनोको रुख

कृष्ण चन्दर
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
0
Would love your thoughts, please comment.x
()
x