साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हराउनुको पनि हद हुन्छ

अनसन बस्दा बस्दा अनसनकारीको दिउँसो लाग्ने भोकै हरायो । देशको विकास र जनताको विश्वास नेताकै बेइमानीपनले हरायो । निमुखालाई नङ्ग्याउने टाउकेका नाडी, नसा, नाता, नाम र नाक एकैचाटी हराए ।

Nepal Telecom ad

घिमिरे मैदेली :

हाम्रो देशको हाल, हविगत हैसियत र हबला हेर्दाहेर्दै हराउने, होहल्ला गर्नेहरूकै हालिमुहालिको हैकम आठ आश्चर्यका रूपमा देखिएको छ । हरेक कुरा नहराउने ठाउँबाट पनि हराउनेको नै देखिएको छ । हरेक कुरा हराउने ठाउँबाट पनि हराएका छन्, हराएको पत्याउनै नसिकने ठाउँबाट पनि हराएका छन् ।

घुमाउरो पाराले घूस खाने घुस्याहा कर्मचारीको घर बनाउँदा उसको अफिसको बजेटै हरायो । हवाइ विभागको भागबण्डामा सहभागी हुने हाकिमहरूको लाउडाको लफडाले होसै हरायो । महंगीको चपेटामा परेका जनताको मुखबाट मुस्कान हरायो । पार्टीपार्टीका नेताहरूको मनमुटावले तल्लास्तरका कार्यकर्तामा विश्वास हरायो । अनेकन् वाचा र कबुल गरेर जनतालाई आश्वासन दिई भोटको पोको चोर्ने नेता खोरबाट बोको हराए हरायो, मानौँ हुस्सुको हत्केलाबाट हात्तीको बयानै हरायो बुद्धि त नहुँदा नामर्दको अङ्गालोबाट जीवनसाथी हराएसरह ‘लभ’ गरेर ल्याएकी श्रीमतीको पोल्टाबाट प्रेमको पोको भोलिपल्टै हरायो । समाजबाटै आस्था र विश्वास पनि हरायो । जमिनदारको जमीन हरायो । कमैयाको काम माम र ठाम (ठाउँ) पनि हरायो ।

हराउने रोग राष्ट्रमै लागेपछि कसको के हराएको छैन र ? जताततै जे जे पनि हराएकै सुनिन्छ । ट्युसन सेन्टरतिर मात्र लाग्ने गुरुको गरिमा हरायो । चेलाको चरित्र र चेलीको चुरीफुरी छाप्दाछाप्दैको प्रश्नपत्र हरायो । गाउँघरमा थोत्रा ट्रकको प्रवेशले भरियाको भारी हरायो । हर्दम हरिण बस्ने हरिया जङ्गल हराउँदा पशुपंक्षीको बासस्थानै हरायो । पशुपतिनाथलाई चढाएको दक्षिण भट्टका भुँडीमा हराएसरह बाग्मती विष्णुमतीको दुर्गति भएर सुन्दरता र पवित्रता नै हरायो । कर्मचारीका लुच्याइँ र छुच्याइँले गर्दा सुशासन हरायो । डन्लप र डसनाले कुशासन हरायो । सुरक्षित हुन नसकेर सुरक्षास्थलबाटै सुरक्षाकर्मी हरायो । प्रहरीमा सरुवा भएर भरुवा बन्दुक भिरेर जाने छोरालाई देख्दा आमा बाबुको होसै हरायो । दरिद्रताले गर्दा इमानदारिता र सत्यता हरायो ।

शान्ति र सुरक्षा दिन्छु भन्ने सरकारको अन्तरकलहले उसको बोलीचाली नै हरायो । हुकुमी शासनको हैकम हराए में हवा नेताको हविगत हरायो । भन्नै लाज लाग्ने गरी प्रजातन्त्रबाटै प्रजातन्त्र हरायो । भन्सारका मालसामान गोदामबाटै हरायो । हराएका कुराका हुलिया खोज्न जाने व्यक्ति हराएका वस्तुभित्रै पुरिएर हरायो । मानव मानवबाट मानवता हरायो । कुकुर र बिरालाका कुस्तीले घरपतिका निद्रा हरायो । थाहा पाएका यति थाहा नपाएका त कति कति हराए । राष्ट्रभित्रबाट राष्ट्रियता हरायो । हराउने पनि एउटा रोग रहेछ क्यारे ! यसको उपचारै हरायो ।

नजाने के भएर हो एउटै विद्यालयमा पढ्ने दर्जनौँ छात्राहरूको होसै हरायो । जाबो चराले ठक्कर दिँदा पनि जहाजमा बस्नेहरूको बँच्ने आस हरायो । पकेटमारा हराउला भनेको त पकेटै पो हरायो । बाहुनका जनै र टुप्पी हराएकै ठाउँबाट जातभातका कुरा हराए । बुद्धले छाडेर गएका शान्ति बम र बारुदको दुर्गन्धले माटोभित्रै हरायो ।

जहाँ-जहाँ जे जे आवश्यक कुरा छन् त्यहाँ-त्यहाँबाट त्यही त्यही चीज हराए । नक्कली प्रमाणपत्रको भरमा परेर जागिर खानेका जागिरै हराए । इमान, जमान, मान, सम्मान, विश्वास र विनय त पहिले नै हराए । क्लिनिकका कोठैपिच्छे डाक्टर अस्पतालबाट हराए । केटाकेटीभन्दा बढी सङ्ख्यामा युवती नै हराए । पाउने कोही छैन । ल्याउने कोही छैन । हुलिया कोही दिँदैन । हराएका हरायै छन्, हराउनेको मुलुकमा, कसैका दुलही हराए, कसैका छाता र सुराही हराए । राजनीतिको दुनो सोझ्याउनेतिर सोच्दासोच्दा कसैका तालुका रौं हराए । न्यायालयबाट कपडामा पोको पारेको न्यायको पोकै हरायो । अनसन बस्दा बस्दा अनसनकारीको दिउँसो लाग्ने भोकै हरायो । देशको विकास र जनताको विश्वास नेताकै बेइमानीपनले हरायो । निमुखालाई नङ्ग्याउने टाउकेका नाडी, नसा, नाता, नाम र नाक एकैचाटी हराए ।

होटेल बन्द हुँदा पैसा दिने खालका पर्यटक हराए । राजश्व सर्वस्व भएर विकासका बजेटै हराए । अब त अपराधमाथि कारबाही गर्ने कुरै हराए । पसलेका पसल भित्तामा टाँसेका मूल्यसूची हराए । निःशुल्क विद्यालयका शुल्क कताकता हराए हराए । चियो र चासो राख्नेले बेस्करी कराउँदा गुरुहरूको गुरुत्व नै हरायो । करोडौँका मूल्यमा बिक्ने सांसदको मूल्य र मान्यता नै हरायो । पान पण्डितका छाताभित्रका छातेहरू छाताभित्रै हराए । हस्ताक्षरको हैरानीबाट अविश्वासमा असफल हुनेहरू गिरिको गुफाभित्रै हराए । एसएलसीका अङ्क गडबढ गरिदिने भ्रष्टाचारीले गर्दा मेधावी विद्यार्थीलाई सर्वोत्तम हुन्छु भन्ने आशै हरायो ।

०००
ट्याब्लेटको मान्छे (२०५८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
टाउकाकै खेल, टाउके नै खेलाडी !

टाउकाकै खेल, टाउके नै...

घिमिरे ‘मैदेली’
धन्य नेता नेपालका !

धन्य नेता नेपालका !

घिमिरे ‘मैदेली’
सुशासन कि घुशासन ?

सुशासन कि घुशासन ?

घिमिरे ‘मैदेली’
कुर्सी, कमिसन र प्रशासन

कुर्सी, कमिसन र प्रशासन

घिमिरे ‘मैदेली’
मलाई मनपर्ने दलको दाल

मलाई मनपर्ने दलको दाल

रामप्रसाद अर्याल ‘अविराम’
माथिको आदेश

माथिको आदेश

राजेन्द्र पुडासैनी
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x