ईरानराईअ, आलोचना
शुक्रवार अतिरिक्त क्रियाकलापको बहानामा स्कुलमा पढाइ शून्य; नाचगान र खेलकुदका नाममा करायो, उफ्रियो, कुनामा लुकेर चन्द्रमाको गफ चुट्यो, आधादिने छुट्टी उत्सव ।

ईरान राई :
विद्यार्थी जीवन स्वर्णकाल हो । विद्यार्थी भएर जुन जीवन जिइन्छ, त्यो एउटा मान्छेका लागि हिराजत्तिकै टल्कने, ताराजत्तिकै चम्कने, श्वासजत्तिकै महत्त्वपूर्ण र प्रकृतिजत्तिकै सुन्दर हुन्छ । जसले विद्यार्थी जीवनको अवसर र गरिमा बुझ्दछ, उसले जीवनमा उच्च प्रगति, ठुलो प्रतिष्ठा र गहिरो सुख प्राप्त गर्दछ । हुन पनि, हाम्रा अभिभावकहरूले धेरै मेहनत गरेर, अरूको गाली सहेर, भोकै-तिखै बसेर कमाएको (जुमाएको होइन) थोरै रकमबाट घरखर्च टारेर हाम्रो पढाइमा लगानी (खर्च होइन) गरिरहनुभएको छ । तर हामी कतिपय विद्यार्थीहरूचाहिँ प्रशस्त धनसम्पत्तिवाला अभिभावकका छोराछोरीहरूझैँ अनावश्यक खर्च गर्ने, मेहनत गरेर नपढ्ने, अनुशासन र आज्ञाकारितालाई राजा-महाराजाका सन्तानहरूले झैँ स्कुलका शुल्कले खरिद गरेको ठान्ने गर्दछौँ ।
जतिवेला हामी कक्षाकोठामा पढ्न पाइरहेका हुन्छौँ, त्यतिबेला संसारका करौडौँ बालबालिकाहरू कोही हिमाली चट्टानमा खाली खट्टै भारी बोकिरहेका हुन्छन्, कोही फॉटिला जङ्गलहरूमा निगुरो, च्याउ र वनफल खोज्दाखोज्दै हिंस्रक जनावरहरूको सिकार बनिरहेका हुन्छन्, कोही कारखानामा पेलिएर खटिरहेका हुन्छन्, कोही घरेलु तथा कोही होटल-बालश्रमिक भएर पसिना चुहाइरहेका हुन्छन् ।
हामी धेरैले देखेकै छौं, हामीले स्कुलमा खाजा खाइरहेका बेला, नाचगान सिकिरहेका बेला वा स्कुलबाट वनभोज, शैक्षिक भ्रमण गइरहेका बेला हामीजस्तै स्कुले उमेरका बालबालिकाहरू साना गाडी, टेम्पो आदिमा खलासी बनिरहेका हुन्छन्, सडकतिर फोहोर टिपिरहेका हुन्छन् । त्यसैले हाम्रा आमाबुवा, अभिभावक जे-जस्ता रूप, रङ, उचाइ र स्वभावका हुनुहोस्, हामीलाई स्कुल पठाउनुभएकाले उहाँहरू महान् हुनुहुन्छ । हाम्रो घरको आर्थिक अवस्था जे-जस्तो होस्, हामीले पढ्न पाएका छौं, तसर्थ हामी अहो भाग्यमानी हौँ । तर हामी कलियुगका कक्षा छदेखि दशसम्मका अधिकांश विद्यार्थीहरू चाहिँ तलका उल्लिखित म र मेरा कक्षागत साथीहरू जस्ता प्रकारका छौँ । विद्यार्थी साथीहरू हो, गलत सोच, बानी र बेहोरालाई हामी आफैँले सुधार गर्नुपर्दछ है ।
सबैभन्दा पहिला म मेरो मिल्ने साथी रामको कुरा गर्छु । राम सुन्दर अक्षर लेख्छ । पाठलाई सस्वर वाचन पनि राम्ररी गर्दछ तर अटेरी छ । शिक्षकले दिएको गृहकार्य कहिल्यै गर्दैन, गरिहालेको छ भने पनि साथीको जस्ताको तस्तै सारेको हुन्छ । उसलाई स्कुल लाग्नुभन्दा अगाडि र छुट्टीपछाडि स्कुल पढ्न छाडेका भुस्याहा केटाहरूसँग गाउँ डुल्न नै फुर्सद हुँदैन । परिणामः ऊ पढाइमा कमजोर छ । त्रेतायुगका आज्ञाकारी र पराक्रमी रामजस्तै बनोस् भनेर आमाबुवाले ‘राम’ नाम राखिदिएका थिए तर कलियुगमा अर्थ उल्टो हुँदोरहेछ । ऊ बानीबेहोरामा हराम, पढाइमा विराम र नैतिकतामा चाँडै नै ’आशाराम’ (एक भारतीय चर्चित साधु ?) हुँदै छ ।
अब अप्सराको कुरा गरौँ । अप्सरा रूपमा राम्री, स्वरमा मधुर र उचाइमा सुहाउँदिली छे । उसको ठुलो सोख भनेको अझ धेरै सुन्दर बन्नु हो । स्कुले जीवनमै ओठमा गुराँसे रङको लाली दल्नु, कपाललाई परीपरीको सजावट गरेर जगटा बनाउनु, गालामा फुयै पाउडर दल्नु, छोटो फ्रक, कसिलो सर्ट र अग्लो जुत्ता लगाउनु उसको दैनिकी हो । सकभर नङ पाल्नु, नङमा पालिस लेप्नु, हातमा फलामको बाला र घाँटीमा बजारे माला लगाउनु उसको बहादुरी हो । गुरुमाले कुन पाठ पढाउनु हुँदै छ भन्ने भन्दा पनि गुरुमाले कुन लुगा कसरी लगाउनु भएको छ, कुन शब्दलाई कसरी उच्चारण गर्दा कस्तो देखिनुहुन्छ भन्नेमा बढी ध्यान दिन्छे । आफ्नो सुन्दरताको प्रशंसाको खुसीले सर्किनुको पनि सीमा हुन्छ तर उसले यस्ता सीमाहरूलाई सजिलै तोड्छे । कसैले उसलाई तँ त स्कुलकै केटीहरू (छात्राहरू होइन) मध्ये सबैभन्दा राम्री छेस् भन्यो भने, कक्षामा पढिरहेकी छे भने अत्तालिएर तल-माथिबाटै ग्यास्ट्रिक पड्काउँछे, चमेनागृहमा खाजा खाँदै छे भने खुसीले चपाइरहेको खाजा वरिपरि रहेका सबै जनाका मुख-मुखमा उसको खाजाको छर्रा बर्साउँछे र शौचालयमा छे भने हर्षको हिलो-पानीले भित्तै पोत्छे ।
उसको नाम बजरङ्ग हो । उसका पाखुरा र छेपारी जलगैँडाको झैँ बटारिएका छन् । दिमाग एकसिङ्गे गैँडाझैँ मोटो र बाक्लो छ । ज्यान हात्तीझैँ ठुलो छ । कक्षाभरिको मात्र होइन, ऊ स्कुलभरिकै सबैभन्दा मोटो र अग्लो छात्र हो । कतिपय शिक्षकहरू ऊभन्दा होचा हुनुहुन्छ भने सुन्दरी गुरुमादेखि बाहेक सबै गुरुमाहरू उसका काँधसम्म मात्र पुग्नुहुन्छ । उसको काम स्कुलमा अरू विद्यार्थीहरूलाई गोद्ने हो, गोदिरहन्छ । आफै जिस्क्याउँछ, अनि गोद्छ । अरुले जिस्क्याउँछन्, अनि उसले गोदिहाल्छ । अनाहकमा कुरा लगाइदिन्छन्, सत्यतथ्य के हो, सोधी-खोजी नगरी गोदिहाल्छ । कार्यालय जाँदा जाँदा, घुँडा टेकेर आँगनमा बस्दा र शिक्षकहरूले इँटा बोकाएर उभ्याउँदा-उभ्याउँदै उसको पढ्ने समय सकिन्छ ।
रामायणको हनुमानले त रामलाई सहयोग गरेका थिए तर यो एक्काइसौँ शताब्दीको हनुमानले अरुलाई सहयोग गर्नु त कता हो कता, दादागिरीमा समय खेर फालेर गर्वले फुलेको हुन्छ । उसलाई सिक्नुभन्दा स्कुलमा हाजिर मात्र हुनुमा रमाइलो लाग्छ । अनौठो तथ्य र सत्यचाहिँ वार्षिक हाजिरीमा ऊ नै पहिलो हुन्छ तर परीक्षाको नतिजा अङ्क-तालिकामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षकको भन्दा बढी राता ताराहरू भिरिरहन्छ । प्राप्ताङ्कको राता गोलो घेराको निसानी उसको दज्र्यानी निसानीजस्तै बनिसकेको छ । रमाइलोचाहिँ के हो भने प्रत्येक विषयको ती ताराका फुलीहरूले न उसको बेइज्जत भएको छ, न कसैलाई उसले उत्तर नै दिनुपरेको छ । मरुभूमि सुख्खा हुनु र उसको लब्धाङ्कपत्रमा राता घेराहरू सजिनु प्राकृतिक नियम नै हो जस्तो लाग्छ ।
उसको बोलाइने नाम हो – ख्याउँटीकुमारी (लेखिने नामचाहिँ ख्यामकुमारी) । उसको काम साथीहरूलाई चटपटे, पानीपुरी र काँचो चाउचाउ खान उक्साउने हो । जे जति पैसा छ, त्यसैले भक्कु तिनै आइसक्रिम, चकलेट र चुइगम खायो, अनि साथीहरूलाई उकास्यो र आफूसँगै बिमारीको खाल्डाभित्र जाक्यो । यी वस्तुहरू खाँदा, स्वास्थ्यमा हानि-नोक्सानी हुन्छ भन्ने उसले सुनेकी छे, पढेकी छे । खाना रुच्दैन, पेट अघाउँदैन, पाचन प्रणाली कमजोर हुन्छ, गानो-गोला बढ्छ भन्यो, टेर्दिन । भात खाए मोटी भइन्छ रे । उसलाई स्वस्थ होइन, स्लिम बन्न मन पर्छ रे । खाद्यविज्ञान र स्वास्थ्यविज्ञानले उसलाई घोषणा गरिदिइसके – नानी, चटपटे र पानीपुरी मात्र खायौ भने स्लिम त होइन, चाँडै चिलिमचाहिँ अवश्य हुन्छ्यौ । नत्र पैतिस/चालिस पुगेपछि अस्पताल र डाक्टरहरूकामा फिलिम मात्र हेर्छौ । त्यतिखेर न तिम्रा पति, बालबच्चा, सासूससुरा, आमाबुवा खुसी रहन सक्छन्, न तिमीले उपचार खर्च नै तिर्न सकौली । उसले सजिलै भन्दिन्छे – म बिहे नै गर्दिनँ । बिहे नगर्ने जतिले अपौष्टिक खाना खानुपर्छ भन्ने मान्यता नै उसका साथीहरूमा स्थापित गर्न लागिसकी । यो लक्ष्य- प्राप्तिको सन्निकट छे ऊ ।
पारस खर्चालु छ । पढाइ पनि राम्रो गर्दैन । ऊ जे भेट्यो, त्यही खान्छ । उसले आमाको थैली, बुवाको गोजी र आफ्नै खुत्रुकेबाट पैसा चोरेको छ । पहिला पहिला म पनि आफ्नै खुत्रुकेबाट पैसा निकाल्नु चोरी होइन भन्थेँ । तर बैङ्कबाट आफ्नै खाताको रकम निकाल्न पनि चेक काटेर अनुमतिका लागि लेखापाल वा प्रबन्धकको सही चाहिँदो रहेछ । ऊ जर्दा मधु खान्छ, खैनी चुस्छ र चुरोटको धुवाँ निल्छ । लुकी लुकी रक्सी दन्काउँछ । उसको एउटा विशेष भङ्ज्याहा समूह छ । उसले भाङ खाने, गाँजा तान्ने र हप्ताबारी सुईले आफैलाई घोच्ने गर्छ । उसको रोगी बुवा सुके आन्द्रालाई तन्काउँदै र छालाबाहिरै निस्किएका नसाहरूलाई फुलाउँदै रिक्सा कुदाउँछन् । उसकी होची होची, दुब्ली आमा भोकै-तिखे बनीबुतो गर्छिन् । उसका तीनओटी बहिनीहरू र एउटा सानो भाइ पनि छन् । ऊ भने आफूलाई एक्लो राजकुमार ठान्छ । आमाबुवालाई नोकर-नोकरनी भन्छ । भान्सामा खाने भुटुन छैन, कपालमा जेल दल्छ । पालेका हाँस-कुखुराले चारो-पानी खाउन् कि भोकै-तिखे मरुन्, उसलाई कुनै मतलब र चिन्ता छैन । कहिल्यै आफूले लगाउने लुगा धुँदैन, खाएको थाल-बटुको माझ्दैन । आमाबुबाले घरको दुःख र समस्याको कुरा निकालेर सम्झाउन खोज्यो भने किन जन्मायौ त भनेर उल्टै निहुँ खोज्छ । भाइबहिनीहरूलाई भेट्टायो कि विनाकारण लातले हान्छ । बिचरो कुन दिन कलिलै उमेरमा बैकुण्ठ जान्छ । नत्र पनि प्रहरी मामाघरभित्र पाहुना लागेर मामा-माइजूहरूको चड्कन खान्छ, अनि स्कुल र साथीहरूको इज्जत पनि नर्कमा आफूसँगै लान्छ ।
उनको नाम सम्पदा हो, अर्थात् सम्पत्ति । आमाबुवाकी एक्ली सन्तान, बाजेबजुकी एक्ली नातिनी । फुपुकी एक मात्र भदैनी । उसको पढाइका अतिरिक्त कामहरू थुप्रै छन् । बत्तिस लक्षणसहित ऊ बयालिस लक्षणले युक्त छे । उसको पहिलो गुण हो ईर्ष्या । कसैले नयाँ स्कुल-पोसाक लगायो, कि कपालमा नरिवल तेल लगाएर आयो भने, उसको अधा त्यहीँबाट सुरु हुन्छ, ईर्ष्याले भुतुक्कै जल्छे । भोलि उसले त्यसै नगरी हुन्न ।
दोस्रो – अरु छात्राहरूले खाजाका लागि बिस रुपियाँ ल्याएका छन् भने ऊसँग पचास हुनुपर्यो । अरूसँग पचास भए, उससँग सय र अरुले सय ल्याए भने, ऊसँग पाँच सय र अरूसँग पाँच सय भए, ऊसँग हजार रुपियाँ चाहियो चाहियो । अरुले हजार ल्याएको देखी भने आफै रिसाएर एक/दुई दिन स्कुल नै आउँदिन किनकि त्योभन्दा ठुलो रुपियाँ-नोट हुँदैन ।
तेस्रो गुण हो – कुरा काट्ने । साथीहरूले जतिसुकै राम्रो व्यवहार गरे पनि उनीहरूलाई होच्याउने र कुरा नकाटी हुन्न उसलाई । कुरा काट्न पाइन भने उसलाई रातभरि निद्रै लाग्दैन, चिन्ता बस्छे ।
चौथो – कुरा लगाउने । भए-नभएका कुरा सुनायो, साथीहरूबिच झगडा लगायो, लाप्पा खेलायो, आफूचाहिँ पछाडिबाट ताली बजाउँछे । आवश्यकता परे, कुस्तीमा आफैँ पनि भिड्छे । यी सबै कर्महरूलाई व्यवस्थित गर्न खर्च चाहिने भएकैले उसलाई अरूलाई भन्दा बढी पैसाको जरुरत पर्छ । निर्वाचनमा मासु, रक्सी र चुरोट खान नपाए भोट नदिने, चुनावचिह्न नै च्यातिदिने बालिग मतदाताहरूजस्तै त हुँदारहेछन् नि कोही कोही विद्यार्थीहरू पनि । उसलाई साथी साट्न र साथी किन्न मात्र होइन, साथीहरूको घेरामा सुरक्षित रहन पनि पैसा चाहिन्छ ।
पाँचौ – सिट साट्ने । उसलाई एउटै सिटमा एक वर्ष त के, एक महिना, एक साता मात्रै पनि बस्नुपर्यो भने, उसका दिमागका किराहरू सलबलाउन थालिहाल्छन् । एक फन्को नमारी एउटा घण्टी बिताउन वर्षौँ तड्पिए झैँ अनुभूत गर्छ । साथीहरूलाई पछाडिबाट चिमोट्नु पर्ने, डेक्समुनि जुत्ताले साथीहरूको खुट्टामा हिर्काउनुपर्ने, औँलाहरू पड्काइमाग्नुपर्ने, कपाल सुम्सुमाइमाग्नुपर्ने, कानेखुसी गर्नुपर्नेजस्ता राजकुमारीको बानी बसालेकी हुनाले बस्ने ठाउँ फेरिरहनुपर्छ उसले । वर्ग-शिक्षकले पहिलो बेन्चको बिचमा राखिदियो, घण्टीपिच्छे घडीको काँटाजस्तो सरेको सरेकै, दोस्रो, तेस्रो हुँदा हुँदै कहिलेकाहीं त केटाहरू बस्ने बेन्चमा सम्म पुग्छे ।
छैटौं – शौचालय जाँदा एक्लै नजाने, सकभर कक्षा-प्रमुख (Monitor) लाई फकाउने, नत्र हप्काइ-दप्काइ गरेर दुई/तीनओटी साथीहरू लिएर निस्किछे । त्यो सम्भव नभए, आफूभन्दा तल्ला कक्षाका तीन चारओटी बिहानै तयार पारिसकेकी हुन्छे, तिनैलाई इसाराले बोलाएर शौचयात्रा र संवाद गर्छे ।
सातौँ – शौचालयभित्र पसेर चुइगम चपाउने उसको रोचक बानी र अदभूत शक्ति छ । त्यहाँको फोहोर दृश्य र दुर्गन्धले उसलाई पटक्कै छुँदैन ।
आठौँ – शिक्षालयमा लेख्ने कामको ठेक्का दिएर साथीहरूलाई जिन्सी ज्याला दिन्छे । उसका गृहकार्य, परियोजनाकर्म र नोट (सम्पूर्ण अभ्यासलेखन) को टाकटुक ठेक्का साथीहरूलाई दिन्छे । उस्तै त्यस्तै शिक्षक- शिक्षिका परे भने कक्षाकार्य पनि छेउको साथीलाई जिम्मा दिन्छे । मुखस्थ भन्नुपर्ने भयो भने ऊ बिरामी छे भनेर साथीलाई भन्न लगाउँछे । शिक्षिक शिक्षिकाहरूलाई सामुन्नेमै उल्लु बनाउँछे । यी सबै धूर्त्याइँ का बारेमा विद्यालय प्रशासनले अभिभावकसँग गुनासो पोख्यो भने विद्यालयमा त प्रधानाध्यापकका अगाडि भोलिदेखि सुध्रन्छु, राम्ररी पढ्छु भन्छे तर घरमा पुगेपछि आँगनबाटै किताब फालेर आमालाई कराउँछे – “बाठी भएर किन स्कुल जानु ? न हिँड्न आउँछ, न लुगा लगाउन, न बोल्न नै आउँछ । भ्याउँदिन भन्नुपर्दैन सरलाई ! यस्तो हो भने, खाना पनि खान्न, स्कुल पनि जान्नँ । अझै धेरै गर्नु भयो भने नि आमा – तपाईंकै पटुकाको प्यारासुट बनाउँछु नि… ।” हुन पनि स्वास्थ्य विधेयकबारे डा गोविन्द केसीको सोह्रौँ अनशनभन्दा बढी पटक भोक हडतालमा बसिसकेकी छे ।
नवौँ – मोबाइल फोनमा फेसबुक, इन्स्टाग्राम, इमो, भाइबर, यु-ट्युब सबै चलाउने र घण्टौँ भुलिने । आँखाको दृष्टिशक्ति कमजोर भएर चस्मा लगाइसकी तर साइबर क्राइम (१८ वर्ष कट्न त होइन, पुग्न नै ३/४ वर्ष अझैँ बाँकी छ) गर्ने छाड्दिन । यसले उसको मनोविज्ञान र उर्वर जीवन दुवै नष्ट पारिरहेको छ, तर ऊ पानी परेको बेला ठुलो पाहाको बाइएको हाब्रे मुखभित्र ओतिन बसेको भिंगा भइसकेको कुरा बुझ्न सक्दिन, र मख्ख पर्छ ।
दसौँ – उत्सवहरूको मोहनी । उसको जन्मदिन विक्रम संवत् र इसा संवत् नमिल्दा दुवै दिन मनाउँछे । नयाँ वर्ष – दुवै मनाउँछे । हिन्दु, किरात, बौद्ध, प्रकृति, जैन, इस्लाम र इसाइ, जे जति धर्महरू छन्, ती सबै- सबैका चाडहरूलाई उत्सवको रूपमा धुमधामसँग मनाउँछे । स्कुल लाग्यो, उत्सव, स्कुल छुट्टी भयो, झनै उत्सव । दिनैपिच्छे उत्सव । आइतबार साताको पहिलो दिन, त्यसै उत्सव । सोमवार ठुलो बजारको दिन, झन् रमाइलो उत्सव । मङ्गलवार मङ्गलग्रहमा पुग्ने इच्छा भएकोले भाकल- उत्सव । बुधवार उसको जन्मबार, उसै महान् उत्सव । बिहीवार गुरुवार, शिक्षक-शिक्षिकाहरूको बार, शिक्षक-शिक्षिकाहरूलाई आलोपालो खानपान र उपहार, गुरुवार उत्सव । शुक्रवार अतिरिक्त क्रियाकलापको बहानामा स्कुलमा पढाइ शून्य; नाचगान र खेलकुदका नाममा करायो, उफ्रियो, कुनामा लुकेर चन्द्रमाको गफ चुट्यो, आधादिने छुट्टी उत्सव । शनिवार पूरै छुट्टी, साथीहरूसँग भोज उत्सव, डुलाइ उत्सव, कम्तीमा पनि फेसबुक उत्सव, च्याटिङ उत्सव… आदि आदि ।
अन्तमा, मचाहिँ कस्तो विद्यार्थी भनेर तपाईंहरूलाई जिज्ञासा लाग्छ नै । म त पढिरहनुभएको छ – आफू पढ्नु, कथा-कविता लेख्नु, चित्र कोर्नु, आमाबुवालाई सघाउनु, छरछिमेकमा, समुदायमा काम गर्नु, नयाँ र राम्रा पुस्तक-पत्रिकाहरू पढ्नुभन्दा पनि मेरा साथीहरू कस्ता कस्ता छन् भनेर बखान गर्ने, के-के गर्छन् भनेर चियोचर्चा गर्ने र मौका पर्दा उनीहरूको गोप्य कुरा सार्वजनिक गर्ने कुरौटे र छुच्चो विद्यार्थी हुँ भन्छु । बाँकी मूल्याङ्कन गर्ने जिम्मा तपाईंहरूलाई सुम्पन्छु ।
जय विद्यार्थी काल, जय जय स्वर्ण काल, जय जय जय अ, आलोचना काल ।
०००
(‘विराटवाणी’, विराट साहित्य समाज, मोरङ असार, वर्ष-४, अङ्क-१, पूर्णाङ्क-२)





































औधी मन पर्यो