हृषीकेश बरालवर्तमान
एकजुट अब भई, जननी हँसाउनै छ दुश्मन जति घरका, अहिले हटाउनै छ । हे शिव हरि भगवान्, अविलम्ब जाग्नुपर्छ भ्रष्ट असुर मतिका, जति शीघ्र नास्नुपर्छ ॥

हृषीकेश बराल :
प्रौढ र युवकहरू, श्रम बेच्न छन् विदेश
वृद्ध र शिशु घरमा, असहाय छन् स्वदेश ।
जीवन कठिन भयो, जिउने उपाय छैन
शान्ति र सुख कहिल्यै, धनले दिँदै दिँदैन ॥१
वृद्ध जनक जननी, विचरा ! भए निराश
रुग्ण तन छ तिनको, अब बाँच्न छैन आश ।
कष्टकर दिन बिते, यसरी भए निराश
हिम्मत पनि सकिई, सब छन् यहाँ उदास ॥२
दैनिक ऋण थपिँदा, अनुदान पाइँदैन
सञ्चित जति ढुकुटी,सहयोग सिद्धिँदै छ ।
द्वन्द्व कलह झगडा, घटना बढाइँदै छ
सज्जन अनि निमुखा, पथमा ठटाइँदै छ ॥३
वैदिक नियम यहाँ, नित नासिँदै गएछ
नूतन चलन भने, घर भित्रिँदै रहेछ ।
उच्च पद र तहमा, खलको रजाइँ हुन्छ
धर्म विधि विगतको, लिइँदा सजायँ हुन्छ ॥४
एकजुट अब भई, जननी हँसाउनै छ
दुश्मन जति घरका, अहिले हटाउनै छ ।
हे शिव हरि भगवान्, अविलम्ब जाग्नुपर्छ
भ्रष्ट असुर मतिका, जति शीघ्र नास्नुपर्छ ॥५
नीति नियम विधिका, विपरीत बोल्छ धूर्त
हैसियत सब भुली, बदनाम गर्छ धूर्त ।
जागरण अब नयाँ, घरभित्र देखिने छ
दानव मति यदि छन्, पदबाट खेदिने छ ॥६
०००
पोखरा -२६, कास्की
Subscribe
Login
0 Comments
Oldest






































