साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई नम्बरतिर

सम्पूर्ण पक्षलाई पराधीन गरी आफ्नेै अनुकूल प्रभाव उत्पन्न गर्न सक्षम यस दुई नम्बरे गिदीले केवल राष्ट्रिय स्तरमा मात्र नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत ठूला–ठूला र महत्वपूर्ण संगठनहरु स्थाापित गर्न सकेको छ ।

Nepal Telecom ad

मधु पाेखरेल :

यस शीर्षकले मानव मस्तिष्कको भित्री गुदी नै खल्बलिएर व्यवहार र चिन्तनको गोरेटोलाई नै दुई दिशातिर उन्मुख हुन बाध्य गराउला जस्तो लाग्छ, किनकि दुई नम्बरतिर भन्नासाथ सायद नेपालको पूर्व दुई नम्बर अथवा पश्चिम दुई नम्बरको यात्रा संस्मरण होला भन्ने कुरा देशका अधिकांश साधारण, सोझा र एक नम्बरे गिदी भएका जनताको हृदयमा पर्न जान्छ भने दुई नम्बरे गिदी लिएर देशको अर्थतन्त्रमा योगदान दिन कम्मर कस्नेहरुको लागि भने यस शीर्षकको अभिप्राय बुझ्न सायद गाह्रो नपर्ला, किनकि यो त्यही दुई नम्बर हो, जसले आज एउटा सानो गाउँ, जिल्ला तथा राष्ट्रदेखि लिएर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

कति ठाउँ धोका खाएर पछारिएको छ रपनि यसको प्रतिष्ठा, इज्जत र महत्वको अगाडि आज सम्पूर्ण मानवीय प्रतिभा, नैतिकता र आदर्शहरु नतमस्तक हुन बाध्य भएका छन् । यस्तो सर्वमान्य र महत्वपूर्ण दुई नम्बरले आज कुन–कुन ठाउँमा बढी योगदान दिँदै आएको छ भन्ने कुराको विवेचना नगरी यसको गुदी केलाउन, यसको बास्तविकता पर्गेल्न र यसको महत्तामाथि प्रकाश पार्न असजिलो मात्र हैन, असम्भव पनि हुन जान्छ । यस‌ कारण अब हामी यस विश्वव्यापी दुई नम्वरले कुन–कुन स्थानमा प्रभाव र भूमिका खेल्दै आएको छ, त्यसको छलफलतिर लागौं ।

(१) पारिवारिक विकासमा – सर्वप्रथम दुई नम्वर नै एउटा यस्तो मार्ग हो, जसले आजको जस्तो महङ्गी र जटिल स्थितिमा पनि आफ्नो पारिवारिक भरण–पोषणको जिम्मेवारीलाई हाँसी–हाँसी बहन गर्न सक्छ । नपत्याए आफ्नै वरिपरि हेर्नुहोस्, जति–जति महङ्गी बढ्दै जान्छ, जति–जति समाजमा वस्तुको दुर्लभता बढ्दै जान्छ, त्यति–त्यति हाम्रा दुई चार–दुई नम्बरे गिदीहरु रमाइरहेका हुन्छन्, भवनमा तल्लाहरु थपिँदै जान्छन् अनि पारिवारिक ठाँट–बाँट र जीवनस्तर चुलिँदै जान्छ ।

(२) सामाजिक प्रतिष्ठानमा – आज विश्वको जुनसुकै ठाउँको महत्वपूर्ण कार्य संचालन, सम्पादन र निर्माणजस्ता कार्यहरुमा यिनै दुई नम्बरे गिदीहरुको उपस्थिति तथा रासन–भाषणको अपेक्षा गरिन्छ, किनकि यो त्यही दुई नम्बर हो, जसले आफने थालको भात खोसेर जुठो मात्र फालिदिँदा पनि हामीले समाजसेवी र उदारवादी, विकासप्रेमी र राष्ट्रवादी खिताब चढाउने गरेका छौ, किन भने हामीलाई जुठो भात नै काफी छ ।

(३) नोकरी विकासमा – दुई नम्बरे गिदी जो, एक रातमै कङ्गालबाट करोडपति बन्न सक्ने क्षमता राख्न सक्छ भने उसको लागि नोकरी विकास त देब्रे हातको खेलौना हुन्छ, किनकि यही गिदीको सहयोग र सिफारिस बिना आजको यो व्यवसायमूलक विश्वमा नोकरी र आफ्नो तरक्की हुनु विश्वको आठौं आश्चर्यभित्र पर्ने कुरा हो भन्ने कुरालाई आदर्शवादी र नैतिकताका खोल ओढेकाहरुले बाहिरबाट जतिसुकै नकारे पनि अन्तरआत्माले नकार्न सक्दैन भन्ने तथ्य घाम जत्तिकै उज्यालो छ, ऐना जत्तिकै टड्कारो छ ।

(४) निर्वाचनमा – जहाँ सामाजिक र आर्थिक प्रतिष्ठाको भण्डार विद्यमान छ, त्यहाँ सम्पूर्ण विपक्षीले धराशायी हुनुपर्छ, किनकि हरेक दुई नम्वरे गिदीमा यस्तो मनोवैज्ञानिक शक्ति हुन्छ, जसले हरेकको मस्तिष्क परिवर्तन गर्न सक्छ । यस्तो सम्मोहन गर्न सक्ने क्षमता हुन्छ, जसले सेतोलाई रातो र कालोलाई सेतो देख्न बाध्य तुल्याउँछ । संसारको जुनसुकै कुनामा पनि दुई नम्बरे गिदीले नै विजय प्राप्त गरेको छ । भलै आफ्नो कमाइको असी प्रतिशत विदेशी बैंकमा राखेको किन नहोस्, उसमा जस्तो राष्ट्रवाद अरुमा पाउन दुर्लभ हुन्छ । आफ्नाे सम्पूर्ण सेवा र समय आफ्नै नाता र सम्प्रदायको विकासमा लगाएको किन नहोस्, ऊ जस्तो समाजसेवी अरु पाइँदैन ।

त्यसकारण आज सबैले यो स्वीकार्न बाध्य हुनुपर्छ – यही दुई नम्बरे गिदी नै महत्वपूर्ण र ओजनदार छ, जसले सामाजिक, राजनैतिक र अन्य सम्पूर्ण पक्षमा अनुकूल प्रभाव उत्पन्न गर्न सक्छ । भौतिक रुपमा मात्र नभएर प्राकृतिक स्रोत र साधनलाई पनि आफ्नै इशारामा नचाउन सक्छ । ‘कहिल्यै घाम नअस्ताउने देश’ निर्माण गर्ने यही दुई नम्बरे गिदी हो, उसकै विशेषता हो ।

यति मात्र नभएर यस गिदी भएकाहरूलाई त्रिनेत्रधारी महादेवसँग तुलना गर्न सकिन्छ । महादेवको दुई नेत्रले मात्र सफल हुन नसकेको कार्य तेस्रो नेत्र उघारिदिँदैमा पूर्ण हुन्थे अरे । त्यसैगरी दुई नम्बरे गिदी भएकाहरूसित पनि तीनवटा आँखा हुन्छन् । दुईवटा अगाडि अनि एउटा पछाडि, किनकि अघिल्लो आँखाले एक नम्बरभन्दा चोखो र पवित्रताको उदाहरण प्रस्तुत गरिसकेको हुन्छ भने पछिल्लो आँखाले अघि नै दुई नम्बरे कार्य समाप्त गरिसकेको हुन्छ, जुन कुरा तपाईं–हामी जस्ता एक नम्बरे गिदी र दुईवटा आँखा मात्र भएकाहरूले थाहै पाउन सक्दैनौ ।

त्यति मात्र होइन, यो तेस्रो आँखा यति तेज बल्ने र उज्यालो हुन्छ, जसलाई दिउँसोभन्दा राती प्रयोगमा ल्याउन सकिन्छ । यही गिदीबाट उत्पन्न तेस्रो आँखाले गर्दा यस गिदी भएकाहरू दिउँसोको सूर्यभन्दा रात्रिका ताराहरु मन पराउँछन् र त्यही ताराको सहायता र सहयोगले एकै रातमा कङ्गालबाट करोडपति बन्न सक्छन् ।

यसरी सम्पूर्ण पक्षलाई पराधीन गरी आफ्नेै अनुकूल प्रभाव उत्पन्न गर्न सक्षम यस दुई नम्बरे गिदीले केवल राष्ट्रिय स्तरमा मात्र नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत ठूला–ठूला र महत्वपूर्ण संगठनहरु स्थाापित गर्न सकेको छ । आज विश्वकै आर्थिक तथा राजनीतिक पक्षका पछाडि यस गिदीले नै महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ ।

त्यस‌ कारण आज सम्पूर्ण विश्वका मानव समुदायमा आह्वान गर्दै के घोषणा गर्दछु भने हे विश्वका दुई नम्बरे गिदी नभएका जनावरहरू हो । तिमीहरु एकपल्ट नियालेर आफू र आफ्नो वरिपरि हेर त ! कति साह्रो खिइसकेका छौ । यसै गरी खिइने हो भने एक दिन तिमीहरु खिइएरै सकिनेछौं । त्यसकारण तिमीहरूको यस दुई नम्बरे विश्वमा बाँच्ने अधिकार तबसम्म हुँदैन जबसम्म आफ्नो गिदी परिवर्तन गरी दुई नम्बरतिर जाँदैनौ, किनकि यहाँ एक नम्वर खोटो सिक्का भइसकेको छ । दुई पुनिउँ जस्ता हात, बैसाखी जस्ता खुट्टा र भकुण्डो जत्रो टाउको लिएर मात्र मान्छे बन्ने जमानामा आज खिया लागिसकेको छ ।

यहाँ त गिदीमा साँध लगाएर दुई नम्बरे हावाभरी चम्किलो र धारिलो नपारेसम्म आफूलाई मान्छे ठान्नु चमेराले आफूलाई पशु सम्झेजस्तो मात्र हुनेछ भन्ने कुरा प्रत्येक एक नम्बरे गिदीमा घुसोस् र गिदी परिवर्तनतिर लागोस् भन्ने शुभकामना र शुभेच्छा चढाउँदै तपाईहरुको यो एक नम्बरे साथी विदा चाहन्छ । जय दुई नम्बर ।

०००
जुही अङ्क–४, हास्यव्यङ्ग्य अङ्क (२०३८)
विराटनगर–१० (मो. नं. : ९८४२२४५०११

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
0
Would love your thoughts, please comment.x
()
x