सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बाह्यक्रिया

अलिक परतिर एक दिग्गज लेखकले आफ्नो गिलासको पेयपदार्थ घुट्क्याउँदै भने- ‘भोज... यो भोजले... केवल, चिया, बिस्कुट, समोसाको जलपान गराउने साहित्यकारहरूलाई ठूलो चुनौती दिएको छ ।’

Nepal Telecom ad

विमल भौकाजी :

निम्तो गरिएको समयभन्दा झन्डै आधा घन्टापछि कार्यक्रमस्थलमा पुग्दा पनि त्यहाँ कार्यक्रम सुरु भइसकेको थिएन । कारण थियो, प्रमुख अतिथिज्यूको अनुपस्थिति ।

त्यहाँ उपस्थित सबै सहभागीका साथ म पनि प्रमुख अतिथिको प्रतीक्षामा समावेश भएँ । कार्यक्रमको तालिका नाघेर करिब एक घन्टापछि कार्यक्रमस्थलमा प्रमुख अतिथिज्यूका पदार्पणसँगै उद्घोषकले कार्यक्रमको थालनी भएको घोषणा गरे ।

सर्वप्रथम ‘ड्यास’मा आसनग्रहण गराइयो ।
त्यसपछि प्रमुख अतिथिको बाहुलीबाट पानसमा बत्ती बालेर कार्यक्रमको समुद्घाटन भयो । ‘कार्यक्रमको मुख्य आकर्षण… ।’ उद्घोषण भयो, ‘अब सुरु हुन्छ नेपाली साहित्यमा एउटा विशिष्ट पुस्तकको अन्तरक्रिया कार्यक्रम ।’

प्रमुख अतिथि आफ्नो आसनमा बस्न जानु हुँदाहुँदै फेरि फर्किएर उहाँले झलल्ल झल्किएको एउटा प्याकेट खोल्नुभयो र त्यसबाट एउटा पुस्तक निकाल्नुभयो । अनि, अत्यन्त गर्वका साथ पुस्तकको अघिल्लो र पछिल्लो आवरण सबै दर्शकलाई देखाउनुभयो ।
क्लिक !
क्लिक !!
क्यामेराहरूको फोटो खिचाइसँगै तालीको गडगडाहटले कार्यक्रमस्थल गुञ्जायमान भयो ।

कार्यक्रमको दोस्रो चरणमा सुरु भयो । उक्त पुस्तकको बारेमा समीक्षा, विश्लेषण, समालोचना…। सबैभन्दा पहिले एक विद्वान्लाई बोल्नका लागि आह्वान गरियो । उनी उठे र आफ्नो विद्वत्ता छाँट्न थाले, ‘यो किताब कति राम्रो छ भने… ।’ उनको विद्वत्ताले यही व्यक्त गरिरहेको थियो, मानौँ यस्तो किताब नेपालमा छापिएकै छैन ।

उनी भन्दै गए, ‘यति राम्रो छपाइ… यति आकर्षण… वाह । जति गुणगान गाए पनि सकिँदैन ।’ फेरि अर्को विद्वान्को पालो आयो । उनी भन्न लागे, “पूर्ववक्ता मित्रलाई झैँ मलाई पनि यो किताबले साह्रै लोभ्यायो । त्यसैले, अति व्यस्त हुँदाहुँदै पनि किताबको बारेमा बोल्नका लागि आएँ । म छक्क परेको छ- साहित्यको किताब पनि यति सुन्दर हुँदो रहेछ । कति खर्च भयो होला ?…निकै नै महँगो पर्‍यो होला ।’ र, उनी किताब हातमा लिएर तौलन लागे ।

यसै प्रकार, धेरै वक्ताहरूले बोलिसकेपछि प्रमुख अतिथिज्यूलाई केही शब्द बोल्नका लागि आग्रह गरियो । उहाँ आफ्नो आसनबाट उठ्नुभयो र सुस्त-सुस्त पाइला चाल्दै माइक्रोफोन समात्न पुग्नुभयो । अनि, सुरु भयो उहाँका केही शब्दहरू, ‘धेरै-धेरै धन्यवाद छ आयोजकलाई यहाँ मलाई बोल्न दिएकोमा । र, बधाई छ, पुस्तकका लेखकलाई । अँ, के रे लेखकको नाम ?… यति राम्रो किताबको उपलब्धि नेपाली साहित्यमा भएकोमा हर्षले गद्गद् भएको छु म ।’

उहाँले अझै थप्नुभयो, ‘वास्तवमा बाहिरैबाट हेर्दा त यति आकर्षक छ भने भित्र झन् कति आकर्षक अक्षरहरूले सुन्दर पारिएका होलान् पृष्ठहरू ? किताबको पानाहरू पल्टाउँदै नपल्टाई म भन्न सक्छु, यो पुस्तक नेपाली साहित्यको अमूल्य रत्न हो । ठोकुवा गर्न सक्छु म, यस्तो अनुपम कृति भविष्यमा तुरुन्तै आउने सम्भावना छैन ।’

करिब दुई घन्टाको कार्यक्रमपछि त्यहाँ अध्यक्षता ग्रहण गरेका महानुभावप्रति मुखरित हुँदै उद्घोषक बोले, ‘आफ्नो मन्तव्यसहित यो अत्यन्त ऐतिहासिक कार्यक्रम समापनका लागि सभाका सभापतिज्यूसमक्ष निवेदन गर्दछु । साथै, आजको यो पुस्तक एक-एक थान वितरणको व्यवस्था गरिएको छ । यो पुस्तक लिनुहुन सबैलाई आग्रह गर्दछु ।’

उद्घोषकले अगाडि भने- ‘यो कार्यक्रमको समाप्तिपश्चात् यहाँ उपस्थित सम्पूर्ण निमन्त्रित-आमन्त्रितहरूका सम्मानार्थ आयोजना गरिएको दिवाभोजमा समेत सरिक हुन उपस्थित सबैलाई विनम्र अनुरोध गर्दछु ।’
त्यसपछि, सभापतिज्यू आफ्नो आसनबाट यसरी उठ्नुभयो मानौँ यतिन्जेल उहाँ गहिरो निद्रामा हुनुहुन्थ्यो । उठ्दाउठ्दै पुस्तकलाई ओल्टाइपल्टाई हेर्दै भन्न लाग्नुभयो, ‘वास्तवमै हो, यत्तिको वजनदार किताब आजसम्म नेपाली साहित्यको भण्डारमा आएकै छैन भन्नेमा मलाई विश्वास भएको छ । लेखकलाई म स्वयम् चिन्दिनँ, तर पहिलो पटकमै यत्तिको गहकिलो किताब लिएर आउनुभएको रहेछ । सबै जनाले यसै भन्नुभयो, म त्यसको हार्दिक समर्थन गर्दछु ।’

परर्र… तालीको पर्रा छुट्यो । र, कार्यक्रम सम्पन्न भयो अनि सुरु भयो दिवाभोज, बाहिरपट्टि ।

‘खाना त गजबकै रहेछ । जय होस् लेखकको !’ एक नामी पत्रकारले खुट्टा लडखडाउँदै भने ।

उनकै अर्का पत्रकार मित्रले उनलाई सँभाल्न खोज्दै भने-‘यस्तो भोज पो भोज त ।’ उनका पनि खुट्टा लडखडाइरहेका थिए ।

अलिक परतिर एक दिग्गज लेखकले आफ्नो गिलासको पेयपदार्थ घुट्क्याउँदै भने- ‘भोज… यो भोजले… केवल, चिया, बिस्कुट, समोसाको जलपान गराउने साहित्यकारहरूलाई ठूलो चुनौती दिएको छ ।’

उनीसँगैका एक स्तम्भकार पनि आफ्नो हातको गिलास रित्याउँदै बोले- ‘अब भोलिका लागि गजबकै स्तम्भ लेखिने भइयो । यो दिवाभोजको पेयपदार्थबाट निकै ठूलो ऊर्जा प्राप्त भएको छ मलाई ।’

पुस्तकको विषयमा अघि मञ्चमा बोल्ने एक समीक्षकज्यू जिब्रो लरबराउँदै बोल्न लागे, ‘जसको किताबको पनि किन नकारात्मक मात्रै लेखिदियो भनेर गुनासो आउने गर्दाे रहेछ । त्यसको खास रहस्य बुझेका खोइ साहित्यकारहरूले ? यसरी खुवाउनु-पिलाउनु पनि त पर्‍यो नि हामीजस्ता पुस्तक समीक्षकलाई । अब हेर्नू नि पर्सि आइतबार, कसरी प्रशंसा गरेर लेखिदिन्छु यो किताबको बारेमा !’

बोल्दाबोल्दै उनले आफ्नो नजिकको अर्का उस्तै अवस्थामा उभिएर पनि उभिन नसकिरहेका साथीलाई कोट्याउँदै आफ्नो हातमा रहेको झोला समात्न लगाए । त्यहाँ एउटा ‘बोतल’ बेरिएको थियो कागजमा ।
‘फुट्ला है फुट्ला, राम्रोसँग समात ! भरे राति फेरि तिम्रो कोठामा मज्जाको रात्रिभोज गर्नुपर्छ ।’ उनी भन्दै थिए ।

…पूरै दिवाभोजभरि म सरिक भइरहेँ, जबसम्म त्यहाँ पिइएका पेयपदार्थहरूले आफ्नो असली रङ देखाउन सुरु गरेनन् । एक-आपसमै मुख छाडाछाड र हात हालाहालको स्थिति भएपछि मैले त्यहाँबाट आफ्ना पाइला अगाडि बढाएँ, आफ्नो घरतर्फ ।

कार्यक्रमबाट फर्कंदै गर्दा सबैको हातमा झैँ मेरो हातमा पनि अघि त्यहाँ प्रशंसा गरिएको किताबको एक प्रति थियो ।

र, मैले फर्कंदाफर्कंदै एक पटक कार्यक्रमस्थलपट्टि आफ्नो दृष्टि घुमाएँ, जहाँ मञ्चको भित्तामा एउटा ब्यानर टाँगिएको थियो, जसमा लेखिएको थियो- ‘अन्तरक्रिया कार्यक्रम’ ।
अन्तरक्रिया कार्यक्रम ?…
म अनि पो झसङ्ग भएँ, के म अन्तरक्रिया कार्यक्रममै सहभागी हुन आएको हुँ ?

किताबभित्र लेखिएका सिर्जनाका बारेमा एक शब्दै नबोली पनि किताबको अन्तरक्रिया हुँदो रहेछ ?

अन्योलग्रस्त थिएँ म, कतै यो ब्यानरमा ‘बाह्यक्रिया कार्यक्रम’ भनेर लेखिनुपर्नेमा गल्तीवश ‘अन्तरक्रिया कार्यक्रम’ लेखिएको त होइन ? मभित्र प्रश्न उठिरह्यो… ।

०००
सुलेख, पूर्णाङ्क १३५ हास्यव्यङ्ग्य अङ्क २०८०
bimalbhaukajee@hotmail.com

इलस्ट्रेसन श्राेत : न्युज डबली

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
गिलास

गिलास

विमल भौकाजी
अर्थशास्त्र

अर्थशास्त्र

सञ्जय साह मित्र
टाउकोमा टुटिलो

टाउकोमा टुटिलो

मुक्तिनाथ शर्मा
सत्य मर्दैन

सत्य मर्दैन

अशोककुमार शिवा
समानता अभियान

समानता अभियान

सुरेशकुमार पाण्डे
जिब्रो

जिब्रो

रमेश समर्थन