साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गिलास

मलाई थाहा छैन, किन हिजोआज गिलासहरूले रगतलाई यस्तरी मन पराउन लागेका होलान् ! ‘.. म देखिरहेछु, गिलासहरू बन्दुकमा अनुवाद भैरहेछन् । र, सोंचिरहेछु, बन्दुक बनेका मान्छेको कहिले अन्त होला !

Nepal Telecom ad

विमल भौकाजी :

कति अनौठो छ गिलास ! सानो फेदबाट फैलिँदै टुप्पोतिर गएको । तर आफैँमा सन्तुलन मिलाएर बस्न कत्ति जानेको !
– चिया राख्नोस्
– पानी राख्नोस्
– दूध राख्नोस्
– बियर राख्नोस्
– रक्सी राख्नोस्

जेसुकै राख्नोस् गिलासमा, गिलास कुनै विरोध गर्दैन । मानौँ पिउनकै लागि जन्मेको हो गिलास । अहँ, अलिकति पनि अल्छी गर्दैन, हरपल हरक्षण गिलास उभिएर बसिरहन्छ ।
मैले धेरैपटक देखेको छु, पिउन पाएपछि गिलासले यसरी पिउँछ यसरी पिउँछ.., आफ्नो र अर्काको पनि चिन्दैन र कतिसम्म पिउनुपर्छ – त्यो पनि जान्दैन ।
थरीथरीका छन् गिलासहरू, बुट्टाबुट्टामा सजिएका- रङबिरङ्गी
– कुनै स्टिलका,
– कुनै माटाका,
– कुनै काँचका,

तथापि आफू सकेसम्म नफुट्ने नटुट्ने कसम खाएर हरहमेसा पिउने कर्तव्य निभाइरहेका हुन्छन् गिलासहरू ।
तर पिउने क्रममा यदि त्यस्तै अवस्था आइपर्‍यो भने,
– गिलास आफू जोगिएर अरुलाई फुटाउन खोज्छ,
– आफू सिङ्गो रहेर अरुलाई टुक्र्याउन खोज्छ,
– आफू तातिएर अरुलाई पोल्न खोज्छ ।

खतरनाक छन् गिलासहरू । जब धेरै पिएर मात्तिन्छ गिलास, कसैलाई चिन्दैन त्यसले, आफूजस्तै अर्को गिलासलाई चिन्दैन । पिउँदै गएपछि गिलासले आफ्नो परिभाषा बिर्सन्छ, बेहोस नबनुन्जेलसम्म पिइरहन्छ ।
– गिलासले मोटरभित्र पिउँछ,
– अफिसभित्र कुर्सी बसेर पिउँछ
– घरघरमा/ होटलहोटलमा
– कोठा कोठामा/चोटा चोटामा ।

कहाँ मात्रै पिउँदैन गिलासले ! पिउने कला जानेको छ त्यसले । सुर्क्याईसुर्क्याई पिउँछ, फुर्क्याईफुर्क्याई पिउँछ ।
साह्रै नरम, साह्रै भद्र, साह्रै चिल्लो, साह्रै सफा, साह्रै उज्यालो, साह्रै चम्किलो । आहा, गिलास !!
कुनै पनि गिलास हेरेर तपाईंलाई पत्याउनै मुस्किल पर्छ कि, के गिलास जो आफू जोगिएर अरुलाई फुटाउन टुक्र्याउन खोज्दा आफू सग्लै बसिरहन सक्छ ! के अरुलाई पोल्न खोज्दा आफू नजलीकन बस्न सक्छ !
तर तपाईंले पत्याए पनि नपत्याए पनि गिलासले त्यसो गर्न सक्छ । बाहिरी रूपमा जति असल स्वभावको देखिए पनि वास्तवमा गिलास त्यस्तो छैन । भनेँ नि, खतरनाक छन् गिलासहरू ।

-मौका परे आफूजस्तो अर्को गिलासलाई लडाइदिन्छ, खसाइदिन्छ, फुटाइदिन्छ, टुक्र्याइदिन्छ गिलासले ।
त्यसो त गिलास सधैँ अरुलाई पछार्ने दाउ खोजेर बसिरहेको हुन्छ ।

‘… एउटा कुरो तपाईंलाई थाहा नहुन पनि सक्छ । त्यो के भने, गिलास आफू गिलासकै समाजभित्र रहेर पनि त्यसको हेलमेल भने गिलासहरूसँग नभै चम्चाहरूसँग बढी छ ।’.. गिलासको खास सम्बन्ध नै हुन्छ चम्चाहरूसँग ।

गिलासले चौबीसै घण्टा चम्चाहरूलाई आफ्ना वरिपरि घुमाउने वातावरण तयार गरिराखेको हुन्छ ।
– गिलास खुसामद चाहन्छ चम्चाहरूबाट,
– चाप्लुसी चाहन्छ,
– चाकडी चुक्ली चाहन्छ ।
र यिनै चरित्रमा तल्लीन गिलास कहिलेकाहीँ उपद्रैसँग बौलाउँछ पनि ।

हो, मैले देखेको छु, चम्चाहरूमार्फत् गिलासले आफूजस्तै अर्को गिलासको रगत घुट्क्याएको छ ।
तपाईं सोध्नुहोला, गिलाससँग रगत कहाँ हुन्छ – “हुन्छ, गिलाससँग रगत हुन्छ – एकदम रातो रातो” तपाईं हाम्रैजस्तो ।

जब कहीँ सुदूर पश्चिमको ‘रण-मैदान’मा ढल्छ एउटा कुनै सुन्दर गिलास- तब त्यसबाट छताछुल्ल पोखिन्छ रगत, ‘पोखिन्छ मात्रै होइन धरर बग्छ, र गिलास घुटुघुटु पिउँछ त्यसको रगत ।
– रमाउँछ…
– उफ्रन्छ…
– नाच्छ…
– गाउँछ…
मानौँ, गिलासको लागि एउटा क्रीडास्थल हो रगतको आहाल ।

हो, रगतको आहालमा चुर्लुम्म डुबी-डुबी पौडन्छ गिलास । एउटा ब्वाँसाले झैँ मुख गाडेरै रगत पिउँछ ।
पिउने सन्दर्भमा, अहिले गिलासका लागि सबैभन्दा प्रिय तरल पदार्थ नै रगत भएको छ । हो, रगतबाहेक आजकल केही मनपर्दैन गिलासलाई ।
– रगतको रङ मन पर्छ गिलासलाई,
– रगतको स्वाद मन पर्छ,
– रगतको तरलता मन पर्छ ।

मलाई थाहा छैन, किन हिजोआज गिलासहरूले रगतलाई यस्तरी मन पराउन लागेका होलान् !
‘.. म देखिरहेछु, गिलासहरू बन्दुकमा अनुवाद भैरहेछन् ।
र, सोंचिरहेछु, बन्दुक बनेका मान्छेको कहिले अन्त होला ! यो गिलासप्रवृत्ति !!

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाह्यक्रिया

बाह्यक्रिया

विमल भौकाजी
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x