साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डगी

मेरो अध्ययनको आधारमा म के भन्छु भने घरमा महङ्गो न महङ्गो दामको डगी पालेर स्वाङ ढर्रा पार्नु भन्दा बरू एकजना नेता पाल्नुहोस् । बस उसलाई कमिशन, घूस, नोकरी छोकडी मात्रै दिनुहोस् भुस्याहा कुकुरले भन्दा खतरनाक पाराले घरको रखवारी गर्छ ।

Nepal Telecom ad

नगिता लेप्चा राई :

हिजोआज कुकुरलाई कुकुर भन्न मिल्दैन । भुस्याहा कुकुरको कुरा छोड्दिऊँ घरमा आदरसाथ पालिने कुकुरलाई कुकुर भन्यो भनेर तपाईंको चाकडी जान सक्छ । तपाईंको नाममा थानामा नालिश दर्ता हुनसक्छ । होसियार ! हिजोआज छरछिमेकमा भीआईपीको दर्जा दिएर पालिने कुकुरलाई तपाईंंले कुकुर भनी बालाउनुभयो भने सर्वनाश ! ‘डगी’ भनेर बोलाइदिनुहोस्.. तपाईंको प्रेष्टिज कहाँ माथि पुग्छ ।

यसैले ता घरमा महङ्गो महङ्गो पालिएको कुकुरलाई माई डगी, माई स्वीट डगी भनी म्वाइँ खानेहरूको सङ्ख्या बढेको देखिन्छ । अचेलको म्वाइँ डग म्वाइँ भन्नु नै मुनासिब होला । हिजोआज आफ्नो लोग्नेलाई भन्दा बढी आफ्नो डगीलाई ध्यान दिन थालिएको देखिन्छ । यसैले डगीको निम्ति महङ्गो महङ्गो गलैँचा ल्याइएको हुन्छ । बरू लोग्ने भुइँतिर वा सोफातिर सुते चल्छ तर मेरो डगी मेरो बेडमा मैसित सुत्नुपर्छ । डगीबिना म सुत्नै सक्दिनँ भन्ने रमणीहरू पनि नदेखिएको होइन ।

डगीलाई घरमा भीआइपी ट्रिटमेण्ट हुन्छ । सबैभन्दा बरू लोग्ने अटेरी हुन्छ तर घरको डगी मालिकको आदेशबिना एक डेग हल्लिँदैन न दिएको लञ्च वा डिनर नै सेवन गर्छ ।

हाम्रो गाउँतिर पनि डगी पाल्ने फैशनै भएको छ हिजोआज । घरमा पूजा कोठा वा पूजा थान नहोस्..चल्छ तर डगी नभए जीवन नै चल्दैन भनेजस्तो छ । स्वामीभक्ति हुन्छन् यी डगी भन्ने चारखुट्टे प्राणीहरू । मालिकले दह्रोसित समातेको साङ्लोमा आफू बाँधिएर हिँड्दा डगी गाउँको बाटो, गल्छिँडासित धमासले हिँडेको देख्दा भूस्याहा कुकुरहरू वास्तै गर्दैनन् । उनीहरूता एक ठाउँमा गुजुल्टिएर जुलेबी जस्तो भई मस्त निदाउँछन् । भूस्याहाहरूलाई कसैको वास्ता छैन । सामान्य जूठो भात खाइदिएको भेटीस्वरूप दिनभरि गुजुल्टिएर रातभरि जागो बसेर गाउँमा नचिनेको कसैलाई ढिम्किन दिँदैनन् । तर यी साङ्लोमा बाँधिएर हिँड्ने डगीलाई गाउँमा हात्ती आवोस् कि चोर लुतो नकाइ केही हुँदैन । उसलाई त मालिकनीको दङ्दङ्ती गन्हाउने काखी सुँघ्दै छातीमै टाँसिएर सुत्नु पाए अरु गाउँमा जेसुकै होस्, ड्याम केयर ।

घरमा पालिने यस्ता डगीहरू अङ्गेजी बाहेक अरु भाषा बुझ्दैनन् । अङ्ग्रेजीको देशानले भेटेका हाम्रा नानीहरूलाई नेपाली भाषा शब्द उच्चारण गर्न गाह्रो परेको कुरा मैले यहाँ भनिरहन पर्दैन । त्यस्तै भीआइपी ट्रिटमेण्ट पाएका यी भीआइपी डगीलाई पनि मालिकनीले अङ्ग्रेजी शब्द सिकाएर पासपोर्ट हराएको ब्रिटिश नै बनाएको देखिन्छ । गो दियर, कम टाइगर, सिट ग्रेसी, अप स्याण्डो, स्लिप डेजी । एउटा टेनिस गोली पर तिर घुइँकाइँ दिन्छन् अनि मालिक वा मालिकनीले आदेश गर्छन्, गो…गो ब्रिङ्ग द बल ।

बस् आदेश सुन्ने बित्तिकै उ…पर… पुगेको टेनिस बल मुखमा च्यापेर मालिक मालिकनीलाई सुम्पन्छ । अन्य कसैले त्यसको मुखबाट बल खोस्ने प्रयास गरे डगीले मुखबाट बल छोडे त के ? अर्कालाई बल नदिँदा मालिक वा मालिकनी बुरुक बुरुक उफ्रन्छन् । त्यसो गरेको खण्डमा फेरि मालिकनीको पक्षबाट एक म्वाइँ च्वाक्कै !
गाउँका भूस्याहालाई गो पाङरे, कम राते, सिट राति भनेको कसैले सुनिँदैन । सोझै चिरुवा दाउरा निकालेर ताक्यो भने सब भूस्याहा टाप । कथङ्क गाउँका भूस्याहाहरूलाई गो जेरी, स्लिप टाटे कसैले भन्यो भने सोझे दारा ङिच्याएर यस्तो कुकुर तर्साउने भाषा नबोल भनेर आक्रमण गर्ने बेर लाउँदैन । तँ नेपाली गाउँमा जन्मेका होस् नेपाली भाषामै बोल्…नेपाली भाषाको अपमान नगर् भनी आँखा तर्ने भूस्याहरू पनि कम्ति छैनन् गाउँघरतिर ।

भूस्याहाहरू बिजुली चम्किँदा पनि तर्सिन्छन् । र ता भनिन्छ अगुल्टो हानेको कुकुर बिजुली चम्किँदा पनि तर्सिन्छ। जीवनमा यी भूस्याहाहरू कति चोटि अगुल्टो हनाइमा परेर कतिले ढाँढ भाँचिपठाएको छ… कतिको पूच्छर डढेर ठुटे भएको छ । तर यी भीआइपी डगीहरू बिजुली चम्किँदा पटक्कै डराउँदैनन् । उनलाई कसले अगुल्टोले हानेको होस् न बिजुली चम्किँदा तर्सिन परोस् । बरू उल्टा बिजुली चम्किँदा मालिकनीले पो डगीलाई बाहुपाशमा कसी मेरो डगीलाई डर लाग्यो (?) भनी श्वास न वास बनाउनु मात्रै होइन अरट्ठै पारेर हुरुक्कै पार्छिन् । बिजुलीको चम्काइ त होइन बरू मालिकनीको काखीको ह्वास्स् ह्वास्सै गन्धले उल्टी आउला जस्तो हुन्छ । हाम्रा नेताहरूलाई पनि अचेल अगुल्टोको झटारो हान्नु पर्दैन । नेता महोदयलाई त क्याटको क्याट नोटको बिटाले हान्नुहोस्, कमिशनको सिर्कनुले सोर्क्याउनुहोस् डगी जतिकै तपाईंलाई टेर्छ ।

तर डगीको चालामाला बेढङ्गको हुन्छ । डगीको फुर्के, अहम्, घमण्ड देख्नुभयो भने तपाईंको टाउको तातिन्छ । एकदमै पलापिएको हुन्छ । घरमा वा बाहिर लनमा चोर बदमाश आए डगी भन्ने भीआइपी जन्तुले वास्तै गर्दैन । मालिकको घर फोरियोस् कि मालिकको गाडी उडाइदेवोस् । डगीलाई वास्तै हुँदैन । उसलाई त मालिकनीको काखमा सुत्न पाए भइगयो ।

मेरो अध्ययनको आधारमा म के भन्छु भने घरमा महङ्गो न महङ्गो दामको डगी पालेर स्वाङ ढर्रा पार्नु भन्दा बरू एकजना नेता पाल्नुहोस् । बस उसलाई कमिशन, घूस, नोकरी छोकडी मात्रै दिनुहोस् भुस्याहा कुकुरले भन्दा खतरनाक पाराले घरको रखवारी गर्छ ।

नेतालाई डगी भन्दा पनि हण्ड्रेड पर्सेण्ट केयर गर्नुहोस्… सके डगीलाई जस्तै खाटमा सँगै सुताउनुहोस्… हेर्नुहोस् नेता कति वफादारी हुँदोरहेछ । कतिको मालिकनी भक्ति हुँदोरहेछ ।

मलाई भोट दिनुपर्‍यो भने घरमा डगी होइन नेतालाई डगीको दर्जा दिनुहोस् भनी भोट हाल्छु ।

०००
भारत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तन्किने कुरा

तन्किने कुरा

नगिता लेप्चा राई
अनुहार

अनुहार

नगिता लेप्चा राई
‘तानतुने’ कवि

‘तानतुने’ कवि

नगिता लेप्चा राई
रिस र आह्रिस

रिस र आह्रिस

नगिता लेप्चा राई
युग ब‌दलियो

युग ब‌दलियो

नगिता लेप्चा राई
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x