साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यमपुरीको यात्रा

म नभन्दै कुकुरमा परिणत भएको थिएँ । म एउटा बुद्धिजीवीको आज यो अवस्था । हृदयैदेखि भक्कानो फुटेर आयो । म आकाशतिर थुतुनो फर्काई ‘कुइँ-कुइँ’ रुन थालेँ ।

Nepal Telecom ad

केशवराज पिँडाली :

भीडले टन्न भरिएको बसमा ढोकातिर उभिएर म शहीद ढोकातिर जाँदैथिएँ । पानीपोखरीको घुम्तीनगिचै पुगेपछि के देख्दछु त भने हातमा घन र डोरी लिएको यमदूत बसमा चारैतिर आँखा घुमाउँदै कसैको खोजीमा छ । यो देखी मेरो आङ ढक्क फुल्यो । अनि देखेको नदेख्यै गरी म बाहिरतिर हेर्नै थालेँं । बस दौडिरहेको थियो ।

“ए ! तँ लेखक हैनस् ?” यस्तैमा कसैले मेरो कुममा हात राख्दै सोध्यो । फरक्क फर्केर हेरेँ, उही यमदूत । मेरो आठअठिङ्एर खुकुला हुँदैगए । म लेखक हैन भन्नुपर्थ्याे नि । तर यमदूतले सोद्धा पनि मेरो लेखकको अहंले लेखक भन्न दिएन र भनेँ- “हो म लेखक हुँ, किन हँ ?”

अब उसले डोरी फुकाउँदै भन्यो- “किन अब हिँड् बेला भयो जाने ।” यो सुनी मलाई त हगूँ-हगूँ मुतूँ मुतूँ भयो । आमै र बाबै गर्दै बसेको ढोका खोली के फाल हानेको थिएँ बजायो उसले घनले तालुमा, ड्याम्म सडकमा पुगेर पछारिएँ- जुरमुराएर उठेर हेर्छु त आफू त त्यहीँ टूस भइसकेको ।

अब यमदूतले मलाई त्यहीँ गाँजेर बाँधबुँध पार्‍यो र उडाएर एक क्षणमै यमपुरी पुर्‍यायो । अनि उसले यमराजको इजलासमा मलाई ठड्याउँदै भन्यो- “काठमाडौँबाट ल्याएको लेखक । मान्छे अलि बदमास रहेछ, भाग्न खोजेथ्यो । नर्क दिनुपर्छ ।”

बाँचुञ्जेल अनि अभावमा मैले प्रायः नर्क नै भोगेँ । मरेपछि त सुख पाउँला भन्ने ठानेको, यो यमदूत मेरो त्यति अपराधमा नर्क दिने सिफारिस गरिरहेछ । अनि मैले सफाई दिँदे भनेँ- “म भाग्नै खोजेको चाहिँ हैन । मेरा स्वास्नी, छोराछोरी हिजोदेखि भोका छन् । त्यसैले म एउटा प्रकाशित लेखको पारिश्रमिक लिन गइरहेको थिएँ । त्यो लिएर स्वास्नीको हातमा राखिदिन पाएको भए केही भुलुक्क तातो तिनका पेटमा पथ्र्यो । अनि त म खुशीसाथ आउँथेँ । वास्तवमा त्यस्तो दुःख र कष्ट सहेर अब त मलाई त्यहाँ बस्नै पनि मन थिएन ।”
बिलौना गाएर केही सहानुभूति पाउँला भन्ने ठानेको त चित्रगुप्त त झन् झपार्न पो थाले- “फटाहा कहिँका ! जनमभरजस्तो अदालतमा जागिर खाएर जोडजाम त गरेकै छस् नि । खानै नपाउने कहाँ छस् र यो कन्था तुन्छस् हाम्रा अगाडि ।”

“म अदालतमा जागिरे थिएँ ? के भन्नुभएको यो ? मैले त आजसम्म अदालतको ढोका पनि देखेको छैन । वास्तवमा मैले खान नपाएको आज दुई छाक भयो । पेट त्यहीँ छुट्यो नत्र म उधारेर देखाइदिन्थेँ ।” मैले छक्क पर्दै दुःखको स्वरमा भनेँ ।

अब छक्क पर्ने पालो चित्रगुप्तको थियो । सोधे- “को होस् तँ ?” “म ? म पिँडाली ।” मैले भनेँ ।
अब चित्रगुप्तले फतक्क हुँदै भने- “मोराले गलत मानिसलाई पो बोकेर ल्याएछ ।” “हँ, गलत मानिस ?” उता यमराजले पनि छक्क परेर सोधे ।

“प्रभु ! गलत मानिस । लेखक मैनालीलाई लिन पठाएको त लेखक पिँडालीलाई पो मुन्ट्याउन पुगेछ” चित्रगुप्तले जवाफ दिए । “गधा कहीँका ! सोमरस धोकेर गएको थिइस् कि क्या हो ?” यमराजले यमदूतलाई झपार्दै भने ।
“गल्ती भएछ प्रभु ! क्षमा पाऊँ । म अहिल्यै यसलाई पुर्‍याइदिन्छु र मैनालीलाई लिएर आउँछु ।” यमदूतले भन्यो र मलाई समात्न लम्क्यो ।

यमपुरी नपुग्नु पुगेपछि मलाई अब फेरि यो भुक्तमान खान मृत्युलोक फर्कने मन भएन । त्यसैले म छड्केर यमराजको सिंहासननिर पुगेँ र भनेँ- “म जान्न प्रभु ! अब मृत्युलोक । यमपुरीमै बस्न पाऊँ ।”

“अहँ, यो पनि हुन सक्दैन । तँ मरेको छैनस् । जिउँदालाई यहाँ ठाउँ छैन ।” यमराजले भने । मैले फेरि विनीत हुँदै भनेँ- “म कहाँ जिउँदो छु र प्रभु ! म त उहिल्यै जिउँदै मरिसकेको छु । मेरी स्वास्नीले चिनेजानेकाहरूमा कसैले उड्ने खालको नयाँ घर देखी भने मलाई मुर्दा भन्थी र कसैको गुड्ने खालको घर देखी भने पनि मलाई जिउँदो लाश भन्थी । यसको अतिरिक्त जुन दिन त्यसका आन्द्रा छुत्ती खेल्न थाल्दथे (यस्तो महिनाको दस दिन हुन्छ) त्यसदिन पनि त्यसले मलाई मरेको मान्छे भन्दथी । यसर्थ वास्तवमा म त मरिसकेको छु । म उहिल्यै यहाँ आइसक्नुपर्थ्याे । तर आउन बल्ल आज पाएँ ।”

“जिउँदो र मरेकाको तेरो परिभाषा यहाँ लागु हुन सक्दैन । हाम्रो ढड्डाअनुसार तँ मरेको छैनस् । यस स्थितिमा तँलाई न त स्वर्गमा राख्न मिल्दछ न नर्कमा नै तैँले फर्कनुपर्छ-पर्छ ।” यमराजले भने । मैले तर पनि हार मानिनँ र बिन्ती गर्दै भनेँ- “मैले त्यहाँ दुःख पाएर बसेको पचास वर्ष भइसक्यो प्रभु ! म अब अरू दुःख पाउन त्यहाँ जान चाहन्नँ । मलाई हाल तपाईंको स्वर्ग-नर्क केही नमिल्ने भए बरु मङ्गलमानकै भान्छेमा राखिदिनोस् । उहाँसँग मेरो राम्रो परिचय छ ।”

‘हुँदैन भन्दा पनि तँ त बडो लिँडेढिपी गर्दो रहिछस् । जा अब खुरुक्क नि । जिउँदालाई राख्न नियमले दिँदैन ।’ यमराजले झर्केर भने । यत्रो विन्ति-भाउको केही कदरै नहुने ! मलाई पनि रीस उठेर आयो र भनेँ- “नियम नियम, खुल्क्यो तपाईंको नियम । जिउँदालाई ल्याउन नियमले छेकेन अब चाहिँ नियमले छेक्यो । आफैँ आएँ कि तपाईंहरूले ल्याएको ?’

यमराजले मेरो कुराको कुनै जवाफै नदिई चित्रगुप्तसँग सोधे- “यो त यमपुरीको व्यवस्था र नियमलाई पनि हाँक दिन खोज्दोरहेछ । के छ यो त्यहाँ ? र के गर्दछ ?” चित्रगुप्तले फेरि ढड्डा पल्टाए र भने “केही छैन प्रभु ! यो त्यहाँ । धेरै वर्षदेखि यसको नाम हल्लनतिवारीमा दर्ता छ । यो भोको छ, त्यसै हुनाले कू-खाएर यो व्यङ्ग्य-वाण छोड्ने गर्छ- व्यङ्ग्यका छर्रा हान्छ र व्यङ्ग्यले सिरुले घोचेझैँ च्वास्स-च्वास्स-च्वास्स घोच्ने गर्छ ।”

“मरेर आएको भए यस व्यङ्ग्य-लेखकको औषधी मसँग थियो । के गर्नु जिउँदै आइपुग्यो, केही नलाग्ने भयो” यमराज भुतभुताए र अनि यमदूतलाई अह्राए- “जा लागिहाल, नराख अब यसलाई एक क्षण पनि ।” क्षण त के झण्डै आधा जतिकै ढिलो भएछ मलाई फर्काउन । यमदूतले मलाई यहाँ लिएर आइपुग्दा त मेरो शरीर चितामा आधै डढिसकेको । यमदूत एक छिन त विमूढ बनी त्यो हरेको हेर्‍यै गरिरह्यो । अनि मैले नै उसलाई घचघच्याउँदै भने- “दूतजी ! जाऊँ हिँड्नोस् अब यमपुरी नै ।” ऊ झसङ्ग भयो र अनि पुग्यो फेरि मलाई च्यापेर यमपुरी ।

यमराज त्यस समय अर्कै एउटा मृतात्माको मुद्दा सुनिरहेका थिए । तर मलाई देख्नासाथ दूतको सातो जाने गरी झपार्दै भने- “ए गजधम्मे ! तेरो बाबुलाई फेरि किन बोकेर ल्याइस् ?” “प्रभु ! यसको लाशको त दाह-कर्म पनि भइसकेको छ ।” यमदूतले विनीत भएर भन्यो ।

यमराजले भने- “फेरि अर्को समस्या ! पर्ख एक छिन । यस झ्याउलोलाई लगेर राख ऊ त्यो कुनातिर । यो मुद्दा छिनिहालूँ ।’ म कुनातिर लगिएँ । उता चित्रगुप्त भन्न थाले- “तर जेहोस् प्रभु ! मोती निकै धर्मात्मा रहेछ । नर्क दिन मिल्दैन । गणपतिले यसलाई स्वर्गमा स्थान दिने प्रमाङ्गी पठाउनुभएको छ । यो नित्य अशोक विनायकको दर्शन गरेर प्रसाद लिने गर्दथ्यो रे ।”

“तथास्तु, स्वर्गमा विशिष्ट श्रेणीमा ससम्मान पठाऊँ र अनि त्यो झ्याङ्लो व्यङ्ग्य-लेखकलाई त्यस मोतीको शरीरमा घुसारिदेऊ ।” यमराजले भने । अब मलाई फेरि यमदूतले उडाएर मर्त्यलोक ल्याइपुर्‍यायो । देखेँ नयाँ सडकको पेटीमा त्यो काठमाडौँ गणेशको सूँडतिर सधैँ गएर ल्याप-ल्याप मनभोग चाट्ने कुकुर मरेर तेर्सिएको छ । यमदूत त गएर त्यसैलाई पो सुमसुम्याउन थाल्यो ।

“छि ! यस्तो लुते कुकुरलाई पनि के सुमसुम्याइरहेको ?” मैले भनेँ । यमदूतले भन्यो- “स्वर्गमा विशिष्ट श्रेणी पाउने यो मोती पुण्यात्मा यही त हो नि । म तँलाई यसैमा घुसार्दो छु ।” “छि ’ छि ! छि ! छि !” मैले भनेँ र पुलुक्क आँखा हेरेँ, त्यहाँ यमदूत-स्यमदूत कोही थिएन र म नभन्दै कुकुरमा परिणत भएको थिएँ । म एउटा बुद्धिजीवीको आज यो अवस्था । हृदयैदेखि भक्कानो फुटेर आयो । म आकाशतिर थुतुनो फर्काई ‘कुइँ-कुइँ’ रुन थालेँ । यस्तैमा अगाडिको पसलेले एक नोल डँडाल्नामा बजार्दै भन्यो- “लाै मर् अलच्छिना डाँग्रे । अघि नै मर्‍यो भनेर छाडेको त फेरि बाँचेछ !”

ढाडमा असाध्य पीडा भएबाट बिउँझेँ । स्वास्नी फतफताइरहेकी थिई- “लौ त, बजाइदिएँ ढाडमा एक मुड्की । के के सपना देखेर स्मशाने कुकुर नै रोएझैँ रोएर घरभरिकालाई सुत्न दिएको हैन । न त बोलाउँदा बिउँझने ।”

०००
‘फेरि उल्टै मिल्यो’, तेस्रो सं. (२०५०) 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
माथि पर्ने तरिका

माथि पर्ने तरिका

केशवराज पिँडाली
गोदीप्रसाद वदेहाम

गोदीप्रसाद वदेहाम

केशवराज पिँडाली
नामको अर्थको अनर्थ

नामको अर्थको अनर्थ

केशवराज पिँडाली
अब कुरा काट्ने कि त ?

अब कुरा काट्ने कि...

केशवराज पिँडाली
शूरवीरहरूको नरकयात्रा

शूरवीरहरूको नरकयात्रा

केशवराज पिँडाली
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
जेल

जेल

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x