ईरानराईसुतुवा
मलाई थाहा छ, मन्त्रीबाट खुस्किएको दिनदेखि त्यही मास्टर, त्यही सहसचिव, त्यो एसपी पनि बोलाइनसक्नुका हुनेछन् । तिनीहरूमाथि हक र रोब जमाइराख्न मन्त्री पद छाड्नु भएन । नपाइहाले पनि पाइहाल्छ कि, पाउने सूचीमा चाहिँ छ भन्ने भान पार्नैपर्छ ।

ईरान राई :
म सुतुवाले पनि यत्रो प्रगति गरेको, मन्त्री भयो भनेर तपाईंहरू आश्चर्यचकित हुनुभयो होला । तर आश्चर्य मान्नुहुन्छ भने त्यो नै महाचम्म बन्नेछ । म सुतुवा भएकैले अहिले मन्त्री छु । फुर्तिलो, जाँगरिलो भएको भए यतिबेला म शहीदहरूको सूचीमा हुन्थेँ । म शहीद वा मन्त्रीमध्ये के हुँदा मेरी श्रीमतीलाई नाफा हुन्थ्यो होला ? भन्ने दोधारमा म पनि पटक्कै नअलमलिएको भने होइन, अहिले हिसाब गर्दा मन्त्री भएकै नाफा भएछ । शहीद भएको भए, मेरी श्रीमतीले जम्मा दश लाख पाउने थिइन् । त्यसमध्ये १ लाख धाउँदा, १ लाख कमिसन र ३ लाख पार्टीलाई सहयोग दिँदा पहिलो किस्ता ५ लाख सक्थिन् । दोस्रो किस्ता पखँदा १ लाख, फेरि दौडधुप गर्दा १ लाख, चन्दा, ऋण गर्दाओर्दा हातमा त्यही १/२ लाख हातमा बचाउँथिन् । अहिले मैले मन्त्री भएर राहत रकम बाँड्दा प्रति शहीद भागमा ५० हजारका दरले पनि ५० जना शहीदबाट २५ लाख आर्जन गरें । मैले बाँचेरै फाइदा लुटेँ । यो भयो बिहेपछिको स्वाद ।
बिहेअघि म बाँच्नुको सानो तर ऐतिहासिक वैज्ञानिक रोचक कारण छ । त्यो भूमिगत बैठकका लागि गोक्ते, झोले र क्रान्तिदेखि बाहेक केही नदेख्ने साथीहरू बैठकस्थलमा पुगिसकेका रहेछन् । म पनि अलिक अघि नै पुग्नुपर्ने, तर त्यही साँझ एक जना गरिब किसानकामा सेल्टर थियो, बिचराले आफ्नो मुक्ति हुने भ्रममा रातो दुम्से भालेको बली चढाइदियो । जाडाको बेला, तातो भात र रातो मासु, निद्राले झपक्कै छोपेछ, भुसुक्कै निदाएँछु । उठ्दा, ढिलो भइसकेको थियो । एक छिनमा त बैठकमा भेला भएका साथीहरूमध्ये सेनाले कसैलाई शहीद बनाएछ, बाँकीलाई खच्चड । त्यस साँझको खाना खुवाउने त्यही गरिब किसानकी सुन्दरी सुपुत्रीले खाना खुवाएकाले बाँचेँ र त्यही अमूल्य गुणलाई आजन्म स्मरणयोग्य बनाउन उनीलाई नै अहिले पत्नीका रूपमा सजाएको छु । त्यो सुताइले भुँडे भए पनि, अल्छे भए पनि मेरो करोडौँको ज्यान बचायो; आहरिसे, लालची, अन्धविश्वासी, रुढिवादी, घमन्डी, मुखाले भए पनि पत्नी दियो ।
सुताहा नभएको भए, एसएलसी पास गर्दै, अनि क्याम्पस पढ्थेँ । पास हुँदै जान्थेँ र अधिकृत हुन्थेँ, बढीमा उपसचिव वा सहसचिव किनकि मेरो कक्षाको दौँतरी अहिले सहसचिव छ मेरै मन्त्रालयमा । स्कुल पढ्दा उसले मलाई हेप्थ्यो । मलाई वास्ता गर्दैनथ्यो । अरु साथीहरूले पनि मलाई साहै जिस्क्याउँथे । मलाई गोबरगणेश भन्थे, गधा भन्थे, गोरु भन्थे । दिउँसै कक्षाकोठामै निदाउने भएकाले ‘लाटोकोसेरो’ उपनाम पनि राखे । सबै सहेँ र मनमनै सम्झिएँ समय चक्रीए छ, एक युगमा एक दिन अवश्य आउँछ, उथलपुथल, उलटपलट ल्याउँछ नै । नभन्दै १२ वर्षको साटो २४ वर्षमै भए पनि खोलो फर्कियो । बबुरो, अहिले ऊ मेरो सहसचिव, म मन्त्री, माने उसको हाकिम । भित्रभित्र लाजले, ग्लानिले भुतुक्कै हुन्छ तर बाहिर ङिच्च गर्छ, पेसागत धर्म निभाउँछ । म पनि पुरानो इतिहास बिर्सिएझै मधुर स्वरमा उसलाई कामको सुमेरु पर्वत नै बोकाउँछु । ठसठस कन्दै बोकिटोपल्छ । तर बच्चाले के सकोस् । न कहिल्यै भोको बसेको पेट छ उसको, न कहिल्यै ८/१० कोस हिँडेको शरीर । मेरोजस्तो अभ्यास र अनुभूति पटक्कै छैन उसमा । यो कुरो उसलाई पनि थाहा छ कि म जानीजानी उसलाई कठिन बोझ बोकाइराखेको छु । तर बोल्न सक्दैन अर्थात् बोल्न मिल्दैन उसले । मेरा लागि यस कुरामा बढी स्वाद भएकोचाहिँ मेरा मन्त्रालयका सचिव दाहिना भएर पनि हो । सचिवसँग बाठो भएर घुस खाने कुरामा असहमत भएछ । १ करोड घुस, तल सुब्बासम्म १०, उसलाई १०, मन्त्रीलाई ५० दिन्छु, बिस खान्छु भनेको रहेछ सचिवले, राष्ट्रसेवक कर्मचारीले घुस खानु हुँदैन भनेर ठाडै नकारे छ । त्यहाँदेखि सचिव यसको विपक्षमा भएको रहेछ । अहिले त्यस मनमुटावको मज्जा मलाई भएको छ । जबसम्म यो सहसचिव मेरो पार्टीमा, त्यसमा पनि मेरो गुटमा प्रवेश गर्दैन तबसम्म यसलाई पुरस्कृत गर्ने नाममा सताउन छाड्नेवाला हुइनँ म ।
सुताहा बानीले मैले एसएलसी गर्न सकिनँ । पहिलो पटक त टेस्टमै अनुत्तीणर् भएँ । घरपरिवार, नातागोता, छरछिमेकी, साथीसँगी सबैले छिःछिः र दुरदुर गरेर न बसिसक्नु न कतै हिँडिसक्नु बनाएपछि इखले धेरै मेहनत गरेर पढे तर झुल्ने बानीले पार चलेन । एक विषयमा झुन्डिहालेँ । अर्को वर्ष पनि त्यस्तै भयो । आफूभन्दा सानाहरूले पनि एसएलसी गर्न थाले, आफू अन्डरएसएलसीलाई टेर्नै छाडे । ठ्याक्क निर्दल बहुदलका बिच चरम राजनीतिक प्रतिस्पर्धा सिर्जना भयो । म भागेर राजधानी छिरेँ – भेटे काम गर्न नत्र सडकमै सही, भौतारिन । काठमाडौँ टेकेको भोलिपल्टै एक्लै हिँडिरहेको थिएँ, तीन/चार जना खागी पोसाक ओढेका प्रहरीहरू आए र च्याप्प पक्डे । एकछिन त म डरले थररर काँपेँ । जुँगामुठे हवलदारले जुँगामा ताउ लगाउँदै मुस्कुराएर भन्यो “यो लाठे गाउँबाट आएजस्तो छ, यसलाई भर्ती गर्नुपर्छ हा हा हा ।” मतिर फर्किएर सोध्यो “एइ केटा, पुलिसमा जागिर खान्छस् ?” ‘के खोज्छस् कानो ? आँखो ।’ भनेझै कति व्यायाम गर्दा पनि प्रहरीमा जागिर खान नपाएका गाउँका लायक तन्नेरीहरू एउटा गाई, दुइटा खसीका लागि घाँस र भाततिहुनका लागि दाउरा गर्छन् । म कति भाग्यमानी । हुन्छ भन्ने सङ्केतको टाउको हल्लाएँ । “हुर्रे, ५ जना पुग्यो, अब हाम्रो कोटा पुग्यो” भनेर प्रहरीहरूले खुसी मनाउँदै झानापुल्टुङनापुल्टुङ पार्दै मलाई प्रहरी कार्यालयतिर लगे । भएको चाहिँ के रहेछ भने पञ्चायत विरोधी बहुदलवादीहरूको आन्दोलन बढ्दै गएछ र तिनीहरूलाई दबाउन थप जनशक्ति चाहिएछ । त्यसैले गाउँबाट आएका ठिटाहरूलाई एक-चारको समूह अर्थात् एक हबलदारको आदेशमा चल्ने चार जना जवानहरूको समूहले ५ जना, माने एक प्रहरीले अर्को एक जना नयाँ लाठे ल्याउनुपर्ने माथिको आदेश थिएछ । चार जनालाई बिचराहरूले एउटा स्टाफ होटलमा स्टाफखाना, स्टाफखाजा खुवाएर राखेका रहेछन् । ती चार जना त एकै दिनमा चार दिनअगाडि नै भेटेछन् । त्यहाँदेखि पाँचौँ दिनमा मात्र मलाई भेट्न सकेछन् । हामीलाई लगेबापत उनीहरूले बक्सिस पाए । हिसाब गरेको सुनियो । स्टाफ होटलमा राखेको खर्चभन्दा २/२ सय घाटा लागेछ तर जागिरबाट हात धोएर छोराछोरी, श्रीमतीलाई ढुङ्गा उसिनेर खुवाउनुभन्दा २ सय घाटालाई उनीहरूले राहत नै महसुस गरे ।
म झुलाहा, सुताहाको जहाँ गए पनि झुल्ने र निदाउने काम नै हो । बन्दुक त के दिन्थे, विदेशी प्रभुमित्रसँग मागेका थोरै, पुराना र धेरैजसो नपड्कने बन्दुक कति जनालाई दिनु र, पुरानैलाई पुगेको थिएन । तर पनि ‘हतियार मगाइएको छ, सरकारले भनेको, अहिले यही कटबाँस चलाउने तालिम गर केटा हो’ भनेर बाँस काट्न, ताछन र घिसार्न लगाए । त्यही बाँससँग खेल्यो, बाँससँगै खाना खायो, बाँस बोकेरै तलब पनि थाप्यो । त्यसो गर्दा आफूलाई एकातिर अल्छी, अर्को निजी बानीले गर्दा झुल्दो रहेछु, कवाज गर्दागर्दै निदाएँछु । मेरो कमजोरी चाल पाएपछि लिखुरे हाकिमले जागिरबाट मलाई निष्कासन गरिएको घोषणा गर्यो । त्यतिबेला त रुन मन लाग्यो तर अहिले खुसी छु । निष्कासित नभएको भए, आज यो चैनमा चयन हुन असम्भव थियो । फेरि गाउँमै फर्किएर उमेर काट्दै थिएँ । विद्रोह सुरु भयो, विद्रोह क्रान्तिमा रूपान्तरित भयो । सरकारका दिन गए, जनताका दिन फिरे । त्यही ज्वालामुखीको म्याग्मा भएर लुकी लुकी भागिरहेको थिएँ, स्वर्णिम मौका पाएँ अनि फुत्त लाभा भएर म पनि बाहिर निस्किएँ । गर्भको तातो म्याग्मा, लाभा भएपछि बाहिरी वातावरण अनुकूल हुनुपर्यो, बिस्तारै सेलाउने अभ्यास गरियो, अझसम्म गरिँदै छ । यही गतिमा चिसिने क्रम रह्यो भने हिउँ भएर जमिने हो कि भनेर डर पनि लाग्छ । हिजो पृथ्वीको गर्भमा म्याग्मा भएर तातियो, आज पृथ्वीको टुप्पोमा पुगेर जमिने हो कि भन्ने सैद्धान्तिक खतरा बढेर गएको तितो यथार्थलाई नकार्न सकिँदैन । जेहोस्, अत्तालिनु हुँदैन । प्रहरीमै रहेको भए, बढीमा असई हुने थिएँ । एसएलसी गरेरै, पढेरै भए पनि एसपी, एसएसपी मात्र त हुने रहेछु । त्यतिबेलाका होनहार छात्र साथीहरू अहिले तिनै पदमा मस्त छन् । आफू मन्त्री, मर्यादाक्रमलाई हेर्ने हो भने उनीहरूको स्थान र मेरो स्थानमा कञ्चनजङ्घा शिखर र चुरेडाँडाको उचाइझै भिन्नता छ । म सुताहा नभएको भए, पढ्थेँ । पढेपछि पढाइमा उन्नति गर्दै जान्थेँ । पढाइमा प्रगति गर्दै गएपछि जागिर खान्थेँ । जागिरमा के हैसियत हुन्थ्यो भन्ने कुरा माथि नै उल्लेख गरिसकेँ ।
अँ, शिक्षाक्षेत्रमै नोकरी गरेको भए, तीन/चारपुस्ते मास्टर बन्थेँ । अस्तिका दिन हाम्रो चारपुस्ते शिक्षकलाई घरमै बोलाएँ । उनी दोधारमा परे । उनी चेलाको घरमा छन् कि मन्त्रीको भन्ने बिलखबन्दमा परे । मलाई भाइ भन्ने कि मन्त्रीज्यू भनेर निकै बेर घोरिए, अकमकिए । मेरा पीए, पाले, सुरक्षाकर्मी, सुसारे, केही भुसुन्डे तरुण तथा केही तिघे र लेघे तरुणी कार्यकर्ताहरूले घेरिएको म, स्कुलमा जस्तो सरले मुख खोल्नै सकेनन् । चार/चार पुस्तालाई अक्षर चिनाउने गुरु, मन्त्री भएको घडीमा म पुरानो विद्यार्थी भएको नाताले एक छाक मिठोमसिनो गुरुभोज खुवाऊँ भनेर निम्त्याएको थिएँ । उनी घरदेखि बाटासम्म पूर्वविद्यार्थीकै घर हिँडेका थिए, तर जब उनी पूर्वछात्रको क्वार्टरभित्र छिरे तब पूर्वछात्र एक्कासि परिवर्तित भएर एक शक्तिशाली र नवधनाढ्य मन्त्री बन्यो । अनि एक जना असल, प्रभावशाली र अनुभवी शिक्षक खस्किएर झोलेमास्टरमा बदलिए । उनले मलाई हेरे, मेरा मान्छेहरूलाई हेरे, कोठा र कोठाभरि सजिएका सजावटहरूलाई नियाले अनि गला अवरुद्ध पार्दै सोधे, “मन्त्रीज्यू, यहाँ पाँच मिनेट जाने चर्पीचाहिँ छैन ?” सबै गललल हाँसे, म पनि त्यही सुरमा बहुलाएँछु, हाँसेँ तर हत्तपत्त सम्हालिएँ । मैले शौचालय देखाएँ । उनले बसीबसी लेखेको पढे, र त्यहाँ त रेस्टरुम पो लेखेको छ त” भने ।
“सर, त्यही हो आधुनिक शौचालय ।” फेरि सबै हाँसे, मेरी पीएले अवसरको फाइदा उठाइहाली “गुरुज्यू, हजुरको अङ्ग्रेजी यति उत्कृष्ट भएरै पो माननीय मन्त्रीज्यूको पनि अङ्ग्रेजी भाषा र संस्कृतिमा विशाल दखल रहेछ । माननीय मन्त्रीज्यू, हजुरले पनि पहिलो दिनको घटना याद गरिसिनुभयो होला अहिले ।”
वास्तवमै मन्त्रीक्वार्टरमा सरेको साँझ दिसा लागेपछि पीएलाई सोधे, उनले त्यही रेस्टरुम लेखेको कोठा लजाउँदै देखाइन् तर मैले पत्याइनँ बरू तर्क गरे त्यो त आराम गर्ने कोठा पो हो त भनेर । उनले हो त हजुर भनिन् । अझ कुरा बुझिनँ ।
“तपाईंले विश्राम-कक्षलाई कसरी शौचालय भन्नुभएको हो ? अङ्ग्रेजी राम्रो छ भनेर पीए बनाएको, म अन्डर-एसएलसीको भन्दा पनि बढी नाजुक छ कि क्या हो तपाईंको अङ्ग्रेजी ?” व्यङ्ग्य गरेँ ।
उनले अलिक रिसाएझै तर मुस्कुराएरै सम्झाइन् “हजुर, आजभोलि ट्वाइलेटलाई रेस्टरुम नै भनिन्छ । भनिस्योस् त, दिसापिसाबले चेपेपछि हामीलाई कति छटपटी हुन्छ, अनि दिसापिसाब गरिसकेपछि कति आनन्द प्राप्त हुन्छ । दिसापिसाब गरेपछि थकान मेटिएको जस्तै स्फूर्ति प्राप्त गरिने भएकाले नै पाइखानालाई रेस्टरुम भनिन्छ माननीय मन्त्रीज्यू ।” लजाउँदै, डराउँदै बोल्ने पीए, एक्कासि निर्धक्क भएर बोलेपछि हाम्रो मित्रता पनि त्यही खुलस्त वार्तालापबाटै गहिरिएको छ ।
सुताहा नभएर परिश्रमी भएको भए, पढेर मास्टर बन्थेँ र बढीसे बढी आफूलाई लट्ठी लगाएर पढाउने बुढा मास्टरहरूलाई क्याम्पस वा विश्वविद्यालयमा वचनले घोच्दै पढाउँथेँ । खाजाघर वा भट्टीहरूमा मास्टरहरूकै मास्टर हुन पाएकोमा गुड्डी हाँक्थेँ । तर मेरो सुताहा बानीले नै देशको मन्त्री भएको छु । यहाँ असफल भएँ भने राज्यमा गएर मुख्यमन्त्री बन्छु । त्यही भएर मैले र हाम्रो पार्टीका बहुमत साथीहरूले भविष्यलाई हेरेरै सुरक्षित राज्यको माग बढाइरहेका छौँ । मलाई थाहा छ, मन्त्रीबाट खुस्किएको दिनदेखि त्यही मास्टर, त्यही सहसचिव, त्यो एसपी पनि बोलाइनसक्नुका हुनेछन् । तिनीहरूमाथि हक र रोब जमाइराख्न मन्त्री पद छाड्नु भएन । नपाइहाले पनि पाइहाल्छ कि, पाउने सूचीमा चाहिँ छ भन्ने भान पार्नैपर्छ । यो ज्ञानको चेत ममा भएको गोपनीयता अहिलेसम्म कसैलाई खोलेको छुइनँ किनकि म पनि सुताहा नै भए पनि निकै धूर्त नेता हूँ ।
०००
‘कट्टु’ (२०७७)






































धेरै राम्रो लाग्यो