अर्जुन निराैलालुतेको आत्मकथा
‘आङमा मासु नभए भाग्येमा सासु हुँदैनन्’ भन्ने कुरालाई चैँ झुटो पार्दिस् । जोडी बाँधेपछि बुढीलाई मोसो लाग्छ बुढालाई बोसो लाग्छ भन्थिस्; थुक्क सुके, झन् चाउरिस् । साले लुतेका देशको राजा । अन्तर्राष्ट्रिय लुते सङ्घको सभापति ।

अर्जुन निरौला :
सुन् है अर्जुन, तँलाई लुते भन्छन् । ठिकै भन्छन् । जस्तो छस् त्यस्तै भन्छन् । जस्तो देखे, नढाँटी भने । रिस त उठ्छ होला होइन ? उठ्नु ठिकै हो । भुँडेलाई भुँडे, बहिरालाई बहिरो भन्दा रिसाउँछन् भने लुतेलाई लुते भन्दा पनि रिसाउनु स्वाभाविक हो । रिसा । के लोर्प्याउँछस् ? भुँडेलाई भुँडे भन्न आँट पुग्दैन, बहिरालाई बहिरो भनेर लाभै छैन । सुने पो ! लुतेलाई लुते भन्न कत्ति सजिलो ! के गर्लास् ? फुकिदिँदा पल्टिइहाल्छस् !
बुझ है अर्जुन, निकै व्यङ्ग्य लेख्न तम्सिन्छस्, तँ आफैँ सृष्टिकर्ताको सिङ्गो व्यङ्ग्य होस् । तँ लुतिएको कारण छ बुझिस् ? तँलाई पृथिवीमा पठाउने बेलामा ईश्वरले सोधे- “तँ पृथिवीमा गएर के गर्छस् ?” तइँले भनिस्- “म मान्छे हँसाउन चाहन्छु ।” भगवानले भने- “तथास्तु । तेरो इच्छा पूरा हुनेछ । मान्छेलाई हँसाउन खोजेको होइनस् ? जा, तँलाई देख्नेबित्तिकै मान्छे हाँस्नेछन् ।” यसो भन्दै हड्डी र छालाका बिचमा केही नखाँदि पठाइदिए । हे क्षीणकाय, तँ धन्य छस् । ईश्वरको वरदान लिएरै पृथिवी झरिस् । बाटाको किनारमा उभिँदा चाहिँ होस गर्नु । कुकुरले खाँबो भन्ने सोच्ला ।
तँ चिन्ता नगर् अर्जुन, ‘मोटा देखकर डरो मत, पतला देखकर लडो मत’ भन्ने पनि भनाइ छ । मोटो देखेर आत्तिनु हुँदैन, लुते देखेर तात्तिनु हुँदैन रे । तैपनि हेप्न त हेप्नुसम्म हेप्छन् । के गर्छस्, जिसकी बीवी मोटी, लम्बी, गोरी, काली भन्दै उनीहरूको भूमिका बताइदिने बच्चन साहाबले पनि लुती बिवीको कुरै गरेनन् । लुते भनेरै हेपे । दुःख नमान् । अपना टाइम आएगा भनेर बस् अब के गर्छस बाबै ।
गल्ति आफैँ गरिस अर्जुन, टोपी र खुकुरी भिरेर हिँड्थिस भने त अलिक दह्रोखरो देखिन्थिस् क्यारे ! नाङ्गिएपछि करङ् त देखिन्छन नै बुझिस् ? तेरो त मन नै लुते, कलेजो नै लुते, रगतै लुते । लोतिखरेलाई पत्याएनन् भनेर पौरख देखाउन लठारिएका जुङा राखिस। चाउरिएका गाला झन छोपिए। तेरो अनुहारमा जुङा छ कि जुङामा अनुहार छ ठम्याउनै सकिँदैन । स्याक्तरे पनि तेरा जुङामै समाउँछ । के खान पालेको ?
तर बाबु चिन्ता नगर् । लुतेको पनि उपकार छ । तँ द्वारा केही पनि छेलिँदैन । सबैलाई ढुक्क छ । रिक्सावाला पनि तँसित खुसी छ । बसबाट ओर्लिएर तँ जुन रिक्सातर्फ जान्छस् त्यो मुसुक्क हाँस्छ । तँ रिक्सामा कतै गइरहेका बेला रिक्सावाला किन बिच बिचमा फर्किएर तँलाई हेर्छ जान्दछस् ? रित्तो रिक्सा हाँकेझैँ लागेर ‘कतै उछिट्टिएछकि क्याहो’ भन्दै हेरेको । बधाईं है अर्जुन, पुण्य चैँ मनग्गे कमाइस् । कुल्चिएर कीरा-कमिला पनि मरेनन् । चालै पाउँदैनन् । सोर्ग तेरै हो । तर मान्छे किलोग्रामका हिसापमा बिक्नुभने तेरो त डेढसए रुपियाँ पनि बन्दैन । धन्न !
सानामा हाफपेन्ट लगाएर गल्लीमा क्रिकेट खेलेको बिर्सिस् ? तइँले ब्याटिङ् गरेका बेला बोलर बल फ्याँक्न दगुरेर आएर ठिङ्ग उभिएको के त ? पाँचओटा स्टम्प देखिएर गडबड भो रे । तेरा नलीखुट्टा र स्टम्प उस्तै देखेछ ! चिन्ता नगर् अर्जुन, तँलाई त मछरले पनि टोक्दैन । उसको रस चैँ तँतिर तानिन्छ भनेर डराउँछ ।
लुतेले बिहे गर्न केटी पनि पाउँदैन भन्थे, तइँले चैँ कसो कसो उछिट्याइछस् । ‘आङमा मासु नभए भाग्येमा सासु हुँदैनन्’ भन्ने कुरालाई चैँ झुटो पार्दिस् । जोडी बाँधेपछि बुढीलाई मोसो लाग्छ बुढालाई बोसो लाग्छ भन्थिस्; थुक्क सुके, झन् चाउरिस् । साले लुतेका देशको राजा । अन्तर्राष्ट्रिय लुते सङ्घको सभापति । छाला काढेको रुद्र बराल । क्या माल छस् यार तँ ! डाक्टरलाई एक्सरे रिपोर्ट चाहियोभने एक्सरे गरिरहनै पर्दैन । उतिबेलै कुर्ता उतारेर मोबाइलले खिचिक्क पारेर डाक्टरलाई देखाउँदा भइगो । छर्लङ्गै । क्या आङ भेटिस् !
तँलाई देखेर दुइटा मच्छर तीव्रवेगमा आउँदै थिए । एउटा मच्छर चैँ हतार हतार तेरा जीउमा बसिहाल्यो, अर्को चैँ पछि परेर उसलाई चिच्याउँदो रैछ- ‘ओइ, सप्पै नसक् है मलाई पनि अलिकति राखिदे’ !
बुझिस् अर्जुन, तेरो खिल्ली उडाएको होइन, साँच्चो कुरो चैँ भनेको । नरिसा । म ऐनाभित्रको तेरो प्रतिविम्बले भन्दैछु । म तँ नै हुँ । मलाई थप्पड हान्न तइँले आफ्नै गालामा हान्नुपर्छ । अरू कुनै उपाय छैन तेरो ।
०००
आसाम, भारत








































सादर धन्यवाद…