साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नीर-वाचन

हे मेरा प्यारा जनगण, तपाईंहरूले कृपा गरेर टाउको थापिदिए म टेकेर माथि पुग्ने थिएँ। माथिबाट तलका मान्छे ससाना देखिन्छन्, तर धन्दा नमान्नुस् । म दूरबीनले हेर्ने छु । हजुरहरूको रुञ्चे मुख देख्ने साथै आँसु झार्ने बेला भएछ भन्ने थाहा पाइहाल्ने छु ।

Nepal Telecom ad

अर्जुन निराैला :

हे मेरा प्यारा जनगण। मेरा भाग्यविधाता ! मलाई बोट हाल्नुहोस् यसपालि पनि। पन्ध्र वर्ष मैले हजुरहरूको सेवा गरें र सेवा गर्ने बानी बसिसकेको छ । सेवा नगरी चित्तै नबुझ्ने भइसक्या छ । बोट माग्न नयाँनयाँ तन्नेरीहरू पनि आएर चिप्लो घस्नान् । नपत्याउनू । म भएँ पुरानो मान्छे । थोत्रो नभए नि थेत्तरो छु । तपाईहरूले खोजेको र रोजेको नपाएर जत्ति नै गाली गरे पनि रिसाउँदिनँ । मेरो ट्रेडमार्क मुस्कान हजुरहरूकै लागि समर्पित छ । वित्थामा चम्केका नयाँ नेताहरू गाली खप्न सक्तैनन् । झनक्क भइहाल्छन् । तर मलाई चैं डम्म अघाउन्जेल गाली गर्न सक्नुहुन्छ । गाली गर्न पाउने हजुरहरूको मौलिक अधिकार हुनेछ । म पर्याप्त मात्रामा गाली गर्न सक्ने निहुँ र क्षेत्र तैयार गरिदिनेछु । कोही निराश हुनुपर्ने छैन । निर्वाचन अघिको यो मेरो नीर-वाचन हो । नीर-वाचन अर्थात् पानी छोएर हालेको किरिया ।

मैले मेरा लागि पर्याप्त भेला पारें । बितेका पन्ध्र वर्षमा मैले यति सोहोरें, अब आफ्नो र आफन्तका लागि केही गर्नु छैन । अब मैले गर्ने भनेको सबै तपाईहरूकै लागि हो । यसबाहेक मेरो अब कामै छैन । नयाँहरूको चिप्लोमा चिप्लिनुभो भने पछुतो होला । पाँच वर्षमा उत्तीहरूले आफ्नै ढिकुटी ढड्याउन नभ्याउलान् । कुन फुर्सतमा बिरामी समाजको कुशल वार्ता लेलान् ? यो पाँच सालमा आफू उक्सिएर परवर्ती पाँच सालमा आफन्तलाई उकास्लान् । हजुरहरूलाई माछो माछो भ्यागुत्तो । उनीहरूको पञ्चवार्षिक परिकल्पना हुनै छ । मेरो त्यो झमेला छैन । मेरो त पन्ध्रवर्षीय पनि भइसक्यो । अब त हजुरहरू नै मेरा आफन्त । पुरानो भनेको पुरानै हो । नदाएका बहरमा भर परेर भरे पुर्पुरामा हात राख्नु पर्ला । बुढो गोरुले नै विस्तारो बिस्तारो भए पनि खेती उतार्छ । तपाईहरूका लागि नौला नेताले गरेको परिकल्पनाको ‘परि’ चाहिँ उछिट्टिएर ‘कल्पना’ मात्रै रहने छ ।

र, नै भन्छु, बोट मलाई हाल्नुपरयो । हाल्ने परयो । मिठा मिठा काले माग्दैखेरि नै हालेको राम्रो । हप्कीयकी गरेर बोट लिने स्थिति नआवोस् भन्ने बिन्ती गर्छ । म शान्तिप्रिय, परिष्कृत चरित्रको मान्छे, डराउनु धम्काउन त्यति मन पर्दैन । मन नलागी नलागी मात्रै त्यसो गरिन्छ । हज्रले त्यत्रो बाह्र बहत्तर नसोची मलाई वोट दिँदा भैगो नि, हैन ? म तपाईंहरूकै त हो नि ! पुरानो भनेको पुरानै हुन्छ । नयाँ कम्पनीको के विश्वास ? नचिनेको मित्रभन्दा चिनेको शत्रु नै ‘बेस रे !

मेरा प्यारा भाइबन्धु ।, बोट पाउने आशा रह्यो। हजुरहरूको बोटले मलाई शक्तिशाली बनाउने छ । जति शक्तिशाली भएँ, त्यति माथि तपाईहरूलाई उचाल्न सक्ने छु । जत्ति माथिबाट थेच्चारियो, उत्ति धेर दुख्छ भन्छन्। तर मलाई निरन्तर परिपुष्टि प्रदान गरेर दद्बोखरो बनाउनुभो भने थेच्चारिने डर हुँदैन ।

साथी हो, एउटा कहानी याद आयो । एउटा राजाले सिंहासनको छेउमा लड्डुको ठुलो भाँडो राख्तथ्यो। सबै प्रजा दरबारमा भेला भएपछि भाँडाबाट लड्डु झिकेर प्रजातर्फ हुत्याइदिन्थ्यो । हुत्याएका लड्डु टाढासम्म नपुग्ने । चतुरे र पाखुरेले मात्रै लड्डु उछिन्दा रैछन् । राजा पनि अलिक झिल्के रैछ क्यार, तन्नेरी तरुनी भएतिर लड्डु धेर हुत्याउँदो रहेछ । लड्डुको समवितरण नभएकोमा एउटा सभासद्लाई खस्खस् भएछ, राजालाई सल्लाह दिन्छ-‘गुस्ताखी माफ पाऊं महाराज, राजकर्मचारी कतिपय छानेर लड्डु बाँड्ने पवित्र दायित्व उनीहरूलाई सुम्पिबक्सियोस्, उनीहरूले प्रजा बसेकै ठाउँमा लड्डु पुऱ्याइदिने छन् । यो अभाजनले रेखदेख गर्नेछ ।’ राजालाई कुरो चिटिक्क परेको लाग्यो । चालमा फस्यो । ‘लड्डुबाँड’ समितिमा भित्रिन राजाका कर्मचारीमा होडबाजी आरम्भभयो । कत्रो सेवाभावना । राजा गदगद भयो । समितिले लड्डु बाँड्न थाल्यो । राजाले हुत्याउँदा पाएजतिले त सगत्तै लड्डु पाउँदै थिए, ‘लड्डुवाँड’ समितिले त फुटाएर लड्डुकाे धुलो मात्रै छर्किन थालेछ । सिङ्गो पाउनेले पनि बुस्ता चुस्ता गरेको खल्लो चैं फेला पारेछ । दुईसेर जनङ्गीका दरले रमाउँदै निस्केका लड्डु आधा पाउका दरले टुङ्गामा पुगे । अरू लड्डु खै ? बाँदरका थुतुनो मन्तिर झोलुङ्गो हुन्छ, त्यहीँ पसे । कतै कतै त मोलभाउ पनि चल्यो रे ।

त्यसैले भन्दैछु मेरा प्यारा जनता, मलाई बोट हाल्नुहोस् । म आफैँ लड्डु हुत्याउने छु । मलाई मिठो मसिनो खुवाएर दह्नो पार्नुहोस् । टाढासम्म हुत्याउन सक्ने पाखुरा बनाइदिनुहोस् । लड्डु सबैले भेट्ने छन् । मेरा आफन्त लड्डुले अघाएका छन् । पन्ध्रवर्ष हसुरे । ढुंडी परे परोस् भन्दै चौध पुस्ता पुग्ने गरी पनि थन्काए । पुग्यो । अब तपाईंहरूको पालो । मेरो योग्यतामा सन्देह नगर्नुस् । मेरो क्यापासिटी छ । तिर्ताल छु । जागिर दिएर पनि देखाएको छु । मेरो मीत मामाससुराको म्याट्रिक फेल ख्याउटे सालालाई त जागिर दिने क्षमता ममा छ भने झन् हजुरहरूबिचका शिक्षित तेजस्वी युवालाई जागिर दिलाउन मलाई कत्ति बेर ? आफूहरूले हैंसे गर्दै मलाई उचालेर कुर्सीमा राखिदिनु पर्यो । त्यो कुर्सीमा बस्ने मजा नै अलग्गै छ । पुच्छरमा न्यानो हुन्छ । निन्द्रा पो लाग्छ । निदाए पनि फिक्री मान्नु हुन्न । पाँचवर्ष पुग्दा नपुग्दै अदृश्य घन्टीले ब्यूँझाइहाल्छ नि । फेरि एकचोटि मलाई अजमाएर हेर्नुहोस् । ममा दिने हुनर छ । हजुरहरू त झन् जरुरतमन्द । दिल्लीतिरका एक दुइटा शब्द बोलीमा मिस्सिन्छन्, झर्को नमान्नु होला । लड्डुकै कमाल हो क्यारे । त्यसै ‘दिल्लीका लड्डु’ भनेको हो त !

हस् त । अब धेर बोल्दिनँ। प्यारा जनता !, म काम गर्ने मान्छे। बात धेरै गरिरहन भ्याउँदिनँ। अघि बात मानें, पछि लात मार्ने मान्छे म हैन र मलाई जिताउनुहोस् । हजुरहरूलाई सुम्सुम्याउन मेरा हात सक्सकाइरहेका छन् । तपाईंहरूको यो बोटाकाङ्क्षी सेवकलाई आशीर्वाद वर्षाएर निथ्रुक्कै पार्दिनुहोस् । हाम्रा कान्छाहरूले दिल्ली बाङ्गालुरु गइरहनु पर्ने छैन । यसै ठाउँलाई म दिल्ली बनाइदिने छु । अलिक पर्तिर बाङ्गालुरु पनि बनाइदिने छु। कमाउने साधन – यतै पाइने छ । बिहेमा धोएका गोडा पनि मजाले नओभाई – ताजा बेहुली घरमा छोडेर चेन्नाइमा विरह र शशका रात पनि बिताउनु पर्दैन । ममा भरोसा राख्नुहोस् । उमेर ढल्के पनि ममा जोस त जवानीकै छ। ढाँटेको हैन, भित्री उदाहरण – धेरै छन् । अल्छी नगरी सबैले बोट हाल्नुपर्छ। जांगरे आड – तानेर काम जान्छ, अल्छे भाङ् तानेर धाम जान्छ ।
तन्नेरी नेता आएर बोट चिप्ल्याउने बल गर्ने – छन् । चहकमहक देखेर ठ्याम्मै नसल्किन् । अहिले – झिलिक्क, पछि मिलिक्क । आएर मेरो दुर्नाम पनि गाउन सक्लान् । मेरा बारेमा झुटो बखान्दै हिँड्न सक्छन् । त्यसमा डराउने मान्छे म हैन (साँचो बखान्दै हिँडे भने पो डर त !)। चिच्याउँदै बोट माग्ने छन्, तर नबिर्सिनू-चिच्याउनेले ङिच्याउँछ ।

हे मेरा प्यारा जनगण, तपाईंहरूले कृपा गरेर टाउको थापिदिए म टेकेर माथि पुग्ने थिएँ। माथिबाट तलका मान्छे ससाना देखिन्छन्, तर धन्दा नमान्नुस् । म दूरबीनले हेर्ने छु । हजुरहरूको रुञ्चे मुख देख्ने साथै आँसु झार्ने बेला भएछ भन्ने थाहा पाइहाल्ने छु । हजुरहरूको दुःखमा अरू केही गर्न नसके पनि आँसु झारेको झारै कीर्तिमान स्थापित गर्दिने छु । मेरा कुरा नभुल्नू । थोरैमा चित्त बुझाउन सक्नु नै सुखी जीवनको मूलमन्त्र हो । भाग्यमा भएको कहीं जाँदैन । भाग्यबाहिरको कसैले पाउँदैन । सबैलाई धन्यवादसहित भाषण टुङ्ग्‌याउँछु । देश निर्माणमा सहयोग गर्नू । घाँटीको साङ्लोलाई गहना सम्झिनू । धन्यवाद ।

०००
समकालीन साहित्य- ९० (२०७६)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तँलाई केको खोजी ?

तँलाई केको खोजी ?

अर्जुन निराैला
लुतेको आत्मकथा

लुतेको आत्मकथा

अर्जुन निराैला
घोच्नुअघि सोच्नुपर्छ

घोच्नुअघि सोच्नुपर्छ

अर्जुन निराैला
आफ्नो दुनो

आफ्नो दुनो

अर्जुन निराैला
0
Would love your thoughts, please comment.x
()
x