अर्जुन निराैलाघोच्नुअघि सोच्नुपर्छ
हाम्रै हक, हाम्रै शासन । हामी नै रैथाने, हामी नै भूमिपुत्र । हाम्रै बसुन्धरा, हाम्रै म्यादी पट्टा । महाविद्यालय-विश्वविद्यालयमा हाम्रै भाषा राजा ! समस्यै रहँदैन । समस्या नभएपछि समाधानका लागि लडिबडी गरिरहनु पनि पर्दैन !

अर्जुन निरौला :
भागवत पुराणका आयोजनाहरू असमतिर यतिबेला जताततै भुटेका मकैका फुलसरह भए भनेर गुनासो र चर्चा गर्नेहरूलाई अलिक नहप्काइ भएन क्या ।
उद्देश्यको गहिराइसम्म नपुगी खोतल्न थाल्नुभयो अनि ? घोच्नुअघि सोच्नुपर्छ नि त ! गोर्खाहरूमा भागवत वाचन, श्रवण, गायन, नाचन, डिजे बजायन अतिमात्रा भयो भन्दै नमिठो मानेर आलोचना गर्नुभयो । तर- जे हुँदैछ ठिकै हुँदैछ, जे हुनेछ ठिकै हुनेछ भन्ने श्वाश्वत कुरो साबित नगरी सकिएन क्या। त्यसैले अब हजुरहरूले अखण्ड मनोयोगसहित निरोलियन तत्त्व श्रवण गर्नुपर्यो-
धेरै आन्दोलन गरियो । गोर्खाल्याण्ड गोर्खाल्याण्ड भन्दै धेरै वर्ष घाँटी सुकाइयो, बोली भस्साइयो । धेरैलाई नेता पनि बनाइयो। के पाइयो ? भ्यागुतो । दिएन सरकारले । रैथाने, हक, अधिकार, नागरिकता, आधार, बायोमेट्रिक भन्दै भक्कु नारा लगाइयो, स्मारक कोच्च्याइयो । भ्यागुतो । इश्वरले पो भक्तले चढाएको नैवेद्य हर्षित हुँदै थपक्क ग्रहण गरिहाल्नुहुन्छ त । हाम्रा पापी आँखाले नदेखेर के भो ? यता राजनीतितिर त त्यस्तो हुँदैन बा । तपाईंले चढाएका स्मारक पत्र वर्षौँ अनाथ रहेपछि बल्ल धमिरादेव, साङ्लादेव प्रसन्न हुन्छन् अनि कृपा गरेर भोजन गर्दिन्छन् । परिणाम भ्यागुतो । पाँच वर्ष मुख बायो, हावा मात्रै खायो !
जब सारा गोर्खा जनताले भागवत आयोजना गरेर सबैले एकचित्त भइ भागवत कथा श्रवण गर्छन्, अध्यात्ममा लीन हुन्छन् तब उनीहरूलाई वैकुण्ठमा स्थान प्राप्त हुन्छ । जब सबै गोर्खे वैकुण्ठका निवासी हुन्छन्, त्यहाँ गोर्खाहरूको मेजोरिटी बन्दछ कि बन्दैन ? अनि वैकुण्ठ स्वतः गोर्खाल्याण्ड बन्दछ नि त ! कुरो बुझ्नुपर्छ क्या । भागवत धेर भयो भनेर त्यसै हल्ला गर्न पाइन्न बुझ्नुभो ?
त्यसै कारण गोर्खेले गाउँ गाउँमा, गल्ली गल्लीमा, सके घर घरमै भागवत यज्ञ आयोजना गर्नु उचित छ । त्यसो हुँदा वैकुण्ठमा गोर्खाल्याण्ड त सानो कुरा, पूरै वैकुण्ठ नै गोर्खाहरूको आधिपत्यमा रहने छ । सरकार हाम्रै हुनेछ, फोर्स हाम्रै हुनेछ । सारा समस्या समाधान भएन त ? अनि कोटा, अधिकार, नागरिकता, बायोमेट्रिक, बसुन्धरा यी सबै हल भएनन् त ? बित्थामा मर्तेलोकमा किन लड्डी गरिरहनु ? किन लिँडेढिप्पी गरिरहनु ? किन आन्दोलन गरेर शहीद भइरहनु ? शहीद हुँदा वैकुण्ठ पुगिन्छ पुगिँदैन के ग्यारेन्टी ? शास्त्रमा लेखेको छैन क्यारे !
अब उसो हाम्रा गोर्खे सङ्गठनहरूले पनि निष्फल नारा-आन्दोलनतिर नलागेर, सरकार-हाइकोर्ट-सुप्रिमकोर्टको घित्रो निमोठ्नुतिर नलागेर उपरोक्त विकल्पको चिन्तन गर्न सक्छन् । नारा जुलुस गर्दै व्यर्थको बुर्कुसी नमारिकन बरू बसेर भक्तिपूर्वक थपडी मार्नुनि । जातिको उद्धार पनि हुने, सरकार पनि ढुक्कले निदाउन पाउने। कहिले सुध्रिने हुन् कुन्नि !
यो ब्रह्माण्डमा धरती माता मात्रै छिन् र ? होइन ? धरती मातालाई बाइ-बाइ भन्दै वैकुण्ठमै आधिपत्य जमाएर बसेपछि हामी नै जनता, हामी नै राजा । हाम्रै हक, हाम्रै शासन । हामी नै रैथाने, हामी नै भूमिपुत्र । हाम्रै बसुन्धरा, हाम्रै म्यादी पट्टा । महाविद्यालय-विश्वविद्यालयमा हाम्रै भाषा राजा ! समस्यै रहँदैन । समस्या नभएपछि समाधानका लागि लडिबडी गरिरहनु पनि पर्दैन !
हामीलाई कसले पछार्न सक्छ? पहिल्यै सुतिदिएपछि कसरी पछार्छ होइन ? त्यसैले भनेको, कुरो नबुझी तात्तिनु हुँदैन । तात्तिएर गयो भने आत्तिएर फर्किनुपर्छ ! यत्ति नै ।
०००
आसाम








































फित्कौली परिवारमा आभार…