बद्रीप्रसाद दाहाल ‘भस्मासुर’अग्ला मूल्य र मान्यता दिनदिनै पाताल पुुग्ने भए !
आस्था मूूल्य र मान्यता जति भुली, आफै र आफ्ना जुटे । नाता चाकर औ धनाढ्य जनकै, भाषा र भाका खुटे ॥ फेटातन्त्र अशक्त बन्दछ जहाँ, थिच्दा सबैका मत । त्यस्तो तन्त्र अशान्त पार्छ मुलुकै हुन्नन् कसैको जय ॥

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’ :
पाक्दा बेल ‘विषाद—हर्ष’कहिल्यै, ठान्दैन है वायस ।
सन्यासी जनले प्रपञ्च भवको, मान्दैन है खायस ॥
हारून् वा विजयी बनून् जुनकुनै, उत्साहमा छैन क्वै ।
फिक्का भो जनतन्त्र स्वाद नहुँदा, कुर्लेर भन्छौँ सबै ॥
मात्रै छन् गफका पहाड भुसका, त्यै ड्याङका हुन् मुला ।
बिर्सन्छन् जनता ‘जनार्दन’ भनी, नेतृत्व स्वार्थी लुला ॥
भेटिन्छन् निज स्वार्थपूरक सबै, जेता विजेता मन ।
दिक्कै दिक्क र वाक्क छन्, मत दिने यो देशमा सज्जन ॥
आस्था मूूल्य र मान्यता जति भुली, आफै र आफ्ना जुटे ।
नाता चाकर औ धनाढ्य जनकै, भाषा र भाका खुटे ॥
फेटातन्त्र अशक्त बन्दछ जहाँ, थिच्दा सबैका मत ।
त्यस्तो तन्त्र अशान्त पार्छ मुलुकै हुन्नन् कसैको जय ॥
छैनौँ हर्ष खुसी प्रफुल्ल मनमा जो भोटदाता जन ।
लामो काल बिते नि सुुध्रन कबै, जानेन जेता मन ॥
झन्झन् देश गरीब जर्जर हुँदै, सङ्कष्ट पर्ने भयो ।
अग्ला मूूल्य र मान्यता दिनदिनै, पाताल पुुग्दै गयो ॥
०००
धादिङ
Subscribe
Login
0 Comments
Oldest








































