साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नफुरेसी के लेख्नु !

सार्वजनिक सरोकार, लोकाचार, पोकापार, संस्कार, लम्पसार, उत्तानोपार, अन्याय, अत्याचार, लुटतन्त्र, भ्रष्टाचार, सबै चारतिर आफ्नो बुद्धि विचारले उहिल्यै चहारिसकेको, अब कहाँ पो थचारिनु होला ।

Nepal Telecom ad

रेहित सैजु :

यसो केही लेख्न पर्‍यो भनेर घोत्लिन्छु, अहँ दिमागबाट केही फुर्दै फुर्दैन । फुरोस् पनि के त… फल नै नभएको बोटमा झटारो हान्दैमा फल झर्छ त ? झर्दैन नि । हो, कहिलेकाहीँ त दिमाग पनि यस्तै शुन्य हुँदोरहेछ । शुन्यताको सङ्गीतमा मस्त रमिरहेको बेला विभिन्न पत्रिकाका सम्पादक सरहरू मेसेज गर्न थाल्छन्, ‘रेहितजी नमस्कार, एउटा घच्चीको व्यङ्ग्य निबन्ध चाहियो पत्रिकामा प्रकाशनको लागि… यति दिन भित्रमा यति शब्दसम्मको पठाइदिनु है ? यस्तो आदेश उर्दी भएपछि मैले हुन्छ नभनी धरै पाउँदिनँ र ‘हुन्छ सर, म कोशिस गर्नेछु ।’ भन्दै जवाफ फर्काउँछु । नभन्दै तारन्तार उताबाट मेसेज तेर्सिहाल्छ, ‘लु रेहितजी कोशिसले सार्थकता पाओस्, म कुरेर बसेको हुन्छु’ । ‘हुन्छ सर’ भनेर म कुरा टुङ्ग्याउँछु । हाम्रो देश सानो छ तर पत्रिकाहरू कति धेरै । झन् अनलाइन पत्रिकाहरू त कति कति । गनेरै नसकिने । यदि सर्भे नै गर्ने हो भने जति लेख्ने मान्छे छन् त्याे भन्द बढी त पत्रिकाहरू नै होलान् । अनि लेख्न बानी परेकाहरूलाई चटारो पनि किन नआइलाग्नु त… हैन त हजुर ! लेखकहरूको सङ्ख्यामा ह्वात्तै वृद्धि किन नहुनु त… !

अब आफैँले ‘हुन्छ म पठाइदिनेछु’ भनिसकेपछि लेख्न त बस्नै पर्‍यो । गजल, मुक्तक, कविता, लघुकथा भएको भए पो यता उताबाट तानतुन गरेर भए पनि झट्टै लेखी पठाइहाल्नु । कुरो निबन्धको छ, भनेजस्तो सजिलो पक्कै छैन नि । लेख्न समय छुट्याउनै पर्‍यो । लेख्न पाउने भनेको बिहान एकछिन र बेलुका सुत्नु अगाडिको समयमा हो । दिनभरि त अफिस दौडिनै पर्‍यो । त्यति नगरे भान्सामा चुल्हो बल्दैन पनि । हाम्रो देशमा साहित्य लेखेर पैसा आउँदैन उल्टै जान्छ मात्र । साथीहरू सदस्यता ग्रहण गरिदिनु पर्‍यो भनेर ज्यादै उल्लीबिल्ली पार्छन् । हुन त म त्यस्तो ठूलो जागिर भएको मान्छे त होइन तर साथीहरूको प्रस्तावमा ल्याप्चे नठोके आफैलाई गाह्रो पर्ला भन्ने डर । फेरि एउटाको सदस्य बनिसकेपछि अर्कोको पनि बन्दिनु पर्ने रे… हरे भन्न थाल्छन् ‘फलानाको चाहिँ बन्ने अब मेरो पत्रिकाको चाहिँ बन्नुभएन भने पाप लाग्छ है रेहितजी !’ हत्तेरिका, कस्तो दिनमा साहित्य लेखनमा लागेँछु । ताकेता गर्न पनि कत्ति जाग्न सकेका होलान्… कोही तारन्तार रचना मागेर, कोही जबरजस्ती सदस्य बनाउन लागेर । यस्तो पनि लाग्छ ‘साहित्य लेखनको पथमा आफ्नो रथ कुदाउनु भनेको एकखालको सजाय जस्तै हो’ ।

अरु दिन यी र यस्तै गञ्जागोलमा फँसेपछि घरायसी व्यवहारलाई छलेर भए पनि शनिबार चाहिँ पक्कै लेख्छु भनेर अठोट गर्छु । र लेख्न बस्छु पनि । दिमाग पर्गेल्न मात्र पाएको हुन्छु, फ्याट्ट कुन चाहिँ साथीले फोन गरेर भन्न थाल्छन्, ‘रेहितजी आज यस्तो ठाउँमा विमोचन, रचना वाचन कार्यक्रम छ, जसरी पनि जानु पर्छ है’ । हुन्छ भन्नै पर्‍यो । ‘हुन्न, आज भ्याउँदिनँ मित्र’ भनियो भने त आफू फेरि साहित्यकारमा नदरिएला भन्ने डर । लेखेर मात्र पनि हुन्न, यताउता कार्यक्रममा पनि दौडियो भने झुक्किएर भए पनि कुनै न कुनै पुरस्कारमा सिफारिस गर्छन् कि भन्ने आशको राश मनभरि । के गर्नु लेख्न छोडेर भए पनि दौडिनै पर्‍यो । भरे फेसबुकमा फोटो हालेर लाइक, कमेन्ट पनि त कमाउनै पर्छ । बधाईंको ओइरो खाने जो बानी परिसकेको छ । बाहिर निस्के पछि दिन गएको पत्तै हुन्न । पहिलो चोटी हलोमा नारिएको बहर झैँ लखतरान भएर साँझ फर्किन्छु । त्यसपछि श्रीमतीजीको गन्थन । सुने पनि नसुने झैँ गरी खाना खायो, एकछिन सञ्जाल चहार्‍यो, घुपुक्कै निद्रा आइहाल्छ । लु हेर्नुस् त बिदाको दिन पनि यस्सै जान्छ । अब कतिखेर, कुनबेला पो लेखेर सम्पादकलाई लेख पठाइदिनु ।

दिनहरू यसरी नै गुज्रिरहन्छन् । सम्पादकको दुईचारवटा मेसेज आइसकेको हुन्छ, ‘रेहितजी पत्रिका अन्तिम तयारी अवस्थामा आइसक्यो, हजुरको रचनालाई पर्खिएर नै रोकिरहेका छौँ, अलि चाँडो गर्नु पर्‍यो’ । म मेसेज देखेर पनि नदेखे झैँ गरिदिन्छु । सम्पादक फोनमा घण्टी बजाउँछन् । म जानाजानी उठाउँदिनँ । फेरि अर्कोचोटी बजाउँछन्, म हस्याङफस्याङ गर्दै उठाउँछु । उहाँको कुरा उही हुन्छ । म झारा टार्नलाई भए पनि ‘सर, घान हालिसकेको छु, अलिअलि व्यवहार नमिलेर हो, एकदुई दिन समय दिनुहोस् म जरुर पठाइहाल्नेछु । विचरो सम्पादक ढुक्क भएर फोन राख्छन् ।

अब त अत्ति भयो । लेखन क्षेत्रमा आफूलाई सक्रिय बनाइदिई राख्ने सम्पादकलाई यसरी ढाँट्न हुन्न । अरुलाई ढाँट्न सकिएला तर स्वयंलाई ढाँट्न त सकिन्न नि । अब लेखेर दिनैपर्छ । सम्पादकको अघि बोल्न, मुख देखाउनै लाज भइसक्यो । लाजलाई छोपछाप गर्न भए पनि केही न केही त कथुर्नै पर्छ । आफ्नो फेरि ठूलो समस्या फुर्सदमा बसेको कसैले देखिसहन्न्, कान निमोठी उठाउन आइहाल्छन् । लु भएन अब जुक्ति लगाएर भए पनि आफ्ना घन्टाउके साथीहरूको बेतुके बोलावटबाट मुक्ति पाउन डायरिया भएको नाटक गरेर सम्पादकको फोन आउनु अगावै रचना पुर्‍याइदिन्छु । यति नगरे सम्पादक सरले खैराँत बाँकी राख्ने पनि देखियो ।

पर्खिँदा पर्खिँदै बल्ल शनिबार आयो । आज चाहिँ पक्कै लेख्छु भनेर कम्मर कस्दछु । लेख्न घान हाल्न मात्रै गाह्रो हो । बाटो पहिल्याएपछि त छोड्नै मान्दैन नि । लेख्नु पो के विषयमा । आफ्नो लेखन क्षेत्र फेरि व्यङ्ग्य निबन्ध नै पर्‍यो । जुनै विषयवस्तुमा अडिग भएर लेखे पनि व्यङ्ग्यको चटनी चटाउनै पर्छ । राजनीतिक व्यङ्ग्य पनि कति लेख्नु । म आफूलाई राजनीति नगर्ने तर राजनीतिको सही परिभाषा बुझेको जानकार भन्ठान्छु । तर हाम्रोमा राजनीति बुझाई र गराईको ग्याप आकाश र पाताल जस्तै बनेको छ । मेरा केही हितैषी मित्रहरूले मलाई राजनीतिक व्यङ्ग्य नलेख्न सुझाउँछन् । उनीहरू भन्छन्, ‘रेहितजी, अहिलेको नेपालको राजनीति दिसा जस्तै हो, यसलाई जति चलाउन थाल्यो त्यो भन्दा ज्यादा आफैलाई गन्हाउँछ, बरू चुपचाप टाढा बस्दैमा राम्रो हुन्छ’ । यसो सुन्दामा त हो कि झैँ पो लाग्छ, तर के गर्नु मनले मान्दैन । मानोस् पनि कसरी… आँखा खोल्यो कि यत्रतत्र सर्वत्र राजनीतिको उथलपुथल, काण्ड, प्रकाण्ड देख्छु/छ । यसको दोहोलो नकाडी आफूलाई खाएको नपच्ने भइसक्यो । भैगोन्त राजनीतिक व्यङ्ग्य नलेखूँला ।

राजनीतिलाई छोडेर साहित्यिक व्यङ्ग्य लेखूँ कि सोच्छु । अहो ! यसको त नकुरा गरौँ । फेरि आफू स्वयं साहित्य पढी लेखी टोपल्ने । आकाशतिर थुकेको थुक आफ्नै अनुहारमा फर्केला भन्ने डर । हैट ! साहित्यको त व्यङ्ग्य गर्नु नै हुन्न । साहित्यको त भक्तिगान पो गाउनुपर्छ । साहित्यास्तुति गाउनेहरू यहाँ चमत्कार गर्न खप्पिस छन् । फेरि म आफैले पनि गोडेक चार जति साहित्यिक पुरस्कारको अपेक्षा राखेको छु । अपेक्षा राख्न पाउनु हर कोहीको अधिकार हो र अधिकारलाई संरक्षण गर्नु एकखाले अवसर र चुनौती हो । अब यस्तो हुँदा हुँदै साहित्यिक व्यङ्ग्य लेख्ने त कुरै आएन । त्यसो त अहिले जे लेख्न थाल्दै छु, त्यो प्रेषित हुने पनि साहित्यिक पत्रिकामै हो । साहित्यिक सम्पादक साहित्यकारका लागि भगवान् नै हुन् भन्दा खासै फरक नपर्ला तसर्थ मैले मैले जुन थालमा खान्छु त्यही थाललाई चुठेल्नो बनाउन खोज्नु न्यायसङ्गत हो जस्तो म आफैँलाई पटक्कै लाग्दैन । र लेख्नको लागि यतातिरको ढोका पनि बन्द गरियो ।

राजनीतिक, साहित्यिक क्षेत्रलाई पन्छाएपछि लेख्ने भनेको आफ्नै बारेमा हो । आफ्नै खैँजडी कति बजाउनु । दुब्लो गान, लोकसेवाले नपत्याएको मान्छे, देखि विभिन्न इच्छा, रहरहरू सबै, अन्तस्करणका कुनाकाप्चा, छेउभित्ता खोतलखातल गरी लेखिसकियाे । अब बाँकी छ पनि के र ! मादल धेरै बजेपछि त्यसको खरी झर्छ भन्ने त सबैलाई थाहा भएकै कुरा हो । आफ्नो भान्जा भान्जी दशैँमा मामाको हातको सम्म टीका लगाउन मन नलाइनलाई आउँछन्, त्यो पनि पूर्णेको अघिल्लो दिन हतार हतार गर्दै । श्रीमतीजीको गथासो व्यङ्ग्य लेखमा के उल्लेख गर्नु… । अब लेख्नु चाहिँ के… ! यसो सामाजिक परिवेशतिर रुमलिन्छु । सार्वजनिक सरोकार, लोकाचार, पोकापार, संस्कार, लम्पसार, उत्तानोपार, अन्याय, अत्याचार, लुटतन्त्र, भ्रष्टाचार, सबै चारतिर आफ्नो बुद्धि विचारले उहिल्यै चहारिसकेको, अब कहाँ पो थचारिनु होला । बडो उदेकलाग्दो भएर पो ल्यायो ।

सम्पादकलाई समयमा पत्रिका छापिएला/नछापिएला भन्ने डर । लेख नपठाएको झोँकमा आफूलाई सम्पादकले मुङ्ग्रो बजाउने हो कि भन्ने डर । डर दुवैलाई छ । मलाई लेख फुरेकै छैन, पत्रिकाको इमेलमा रचना घुसाउने साइत जुरेकै छैन । ‘आफूसँग केही नभए दुकी फ्याँक्नु’ भन्ने हाम्रो बुढापाकाको भनाइलाई शिरोधार्य गर्दै केही प्रकाशनको लागि मुक्तक र लघुकथाहरू पठाउने जमर्को गर्नु पर्ला । सम्पादक सर, रिसानी माफ होस् । यो पटक यस्तै भयो । रोचक र घोचक विषयमा व्यङ्ग्य लेख फुर्दै नफुरेसी के गर्नु । अर्को पटक कनेरै भए पनि घच्चीको व्यङ्ग्य लेख फुराएर पठाउने विश्वास दिन चाहन्छु ।

०००
रामेछाप, हाल काठमाडौं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
गाेपालप्रसाद दाहाल
गाेपालप्रसाद दाहाल
1 year ago

याे रचना पढेर मलाई सारै चित्त बुझ्याे।व्यवहारिक जीवनमा लेखकले लेखमा प्रस्तुत गर्नुभएका कुराहरु नै वास्तवमा छताछुल्ल भइरहेका हुन्छन्।तसर्थ लेखक सानुलाई कराेडौं कराेड बधाई ज्ञापन गर्दै कलम चलाइरहन शुभकामना समेत अर्पण गर्दछु।

Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
मान्छे महान्

मान्छे महान्

रेहित सैजु
क्रान्ति

क्रान्ति

रेहित सैजु
चटकवाद

चटकवाद

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
1
0
Would love your thoughts, please comment.x
()
x