अर्जुन निराैलाआफ्नो दुनो
सामग्री किन्ने त हामी नै हौँ । कम्पनीहरूले पनि विज्ञापन देखाएर फुस्लाइ फुस्लाइ वस्तु किनाउँछ, अनि हाम्रै पैसाले भोलि फेरि फुस्ल्याउँछ । हामी पनि फुस्लिनुसम्म फुस्लेका छौँ ।

अर्जुन निरौला :
प्रजाले यातना भोग्छ, राजाले प्रजालाई भोग्छ । योग्यजनले मात्रै भोग गर्न सक्छन् रे । योग्य भोग्या वसुन्धरा भन्थे, तर अहिले मनुस्सेले पृथिवीलाई जसरी चुसेको छ, ‘योग्य भोग्या वसुन्धरा’ लाई नवीकरण गरेर ‘भोगयोग्या वसुन्धरा’ पारेको छैन त ? भोग गर्ने होडमा त आँखा चिम्लेर दगुरेको छ नि मान्छे । “तँलाई यसले बिगार् गर्छ बाबु” भन्दै धर्ती माताले प्लास्टिक खाल्का पदार्थहरू गर्भभित्रै लुकाएर राखेकी थिइन्, केको टेथ्र्यो मान्छेले । उधिनेको उधिनै छ !
भोग्ने र भोजन गर्ने प्रक्रिया दुईटा सगोत्री हुनाले मान्छेले भोजन प्रक्रियालाई आदिकालदेखि नै महत्व दिएर ‘सर्वभक्षी’ को होडमा सबै प्राणीलाई जितेर शिखरमा अवस्थान गरेको छ गजधम्म । अरू प्राणीले नपत्याए पनि मान्छेले आफूलाई जीवश्रेष्ठ भनिहाल्यो र भोग गर्ने अधिकार प्राप्त गरिहाल्यो । मान्छेले आफ्नो भोग गर्ने प्रवृत्तिको शिलान्यास गर्छ-आफ्नो जुन दुनो छ, त्यसलाई सोझ्याएर ।
हुन त अरू प्राणीमा पनि दुनो सोझ्याउने प्रवृत्ति नभा’को होइन । आफ्नो खाद्यमा अर्को अंशीदार आयो भने कुकुरले ड्यार..र गर्छ, परेवा पनि लड्छन्, साँगुरो भाँडामा दाना दिने हो भने गाईले पनि आफ्ना बाछाको मुखधरि घँचेड्छ । मान्छेले त यी सबैलाई जित्नु परेको छ । अन्य प्राणीहरूले खाद्य मात्र खान्छन । मान्छेको खाद्य पदार्थको लिस्ट त अचम्मको छ (अरूलाई उछिन्नमा त श्रेष्ठ छँदै छ) । मानिसले माटो, इँट, ढुड्गा, पैसा, सबैथोक खान्छ । नपत्याए कतिपय वक्तव्य सुनौं-
कार्यालय भवन बनाएर अलिकति इँट उब्रेका थिए, फलानाले खाइदियो…
पुस्तकालयका दामी कितापजति सेक्रेटेरीले खाइहाल्यो… (अघि अघि त मुसोले मात्रै किताप खान्थ्यो !)
उलाउपछि कृषकलाई सरकारले मल दिएको थियो, मुखियाहरूले खायो….
रिपेयरिंगका पैसा फलानाले खायो, काठ आर्कैले खायो.. निर्वाचनको बेलामा एउटाले साठी लिटर पेट्रोल खायो रे !
के के खान सकेका । रुचेको हो । त्यतिमात्रै हो र ? खेत माटो अँधिया दिएर एक गाडी गोबर पठाएको थिएँ, गोबरजति सप्पै उसैले खाएछ । के नखाँदोरैछ मानिसले ! अब त देखाइ देखाइ खान थाले । लुकेर खाने सुकेर मर्छ रे।
खाने कुरो मात्रै हो र ? सेरोफेरो सबै मेरो । तपाईं कहीँ जाँदै हुनुहुन्छ । अचानक पानी पर्न थाल्यो । अलिक पर्तिर जसैतसै एकजना मात्रै ओत्तिन सक्ने ठाउँ देख्नुभो । अरू पुग्नै नभ्याइ हतारहतार आफू पुगेर विश्वविजयी सास फेर्नुहुन्छ । अरू भिजेकोमा दुःखी नभएर अरूलाई उछिन्न सकेकोमा खुशी हुनुहुन्छ ।
हुन त यो प्राकृतिक हो । छिटो मान्छेले बिटो पार्छ । तर आफ्नो पेटभित्रको हावा हल्का पार्दा छेउछाउका अरूको नाक चर्किएकोमा अलिकति पनि अफ्ट्यारो नमान्नेखाल्को प्रवृत्तिचाँहि अचम्मै बढ्न थालेको छ । हिजोआज देशको विकासका लागि स्कीमहरू बनाउँदा पनि टाउकेहरूको गोजीपूर्तिजनक स्कीम मात्रै लागु गरिन्छ । जनता तल छन्, घिउचैँ माथिकाहरूसँग छ । कोल्ट्याउन सके पो अलि अलि झथ्र्यो । बरु नाङ्गो हुन्छ, बाङ्गो हुँदैन । साना मान्छेलाई सँधै दाउरो काँचो हुन्छ, बाल्न खाँचो हुन्छ ।
एउटा स्कीम यस्तो पनि बनाइएछ अरे- आफ्नो नाम लामो भएकोमा आफूलाई, अरूलाई भन्न र लेख्न छरितो पार्नका लागि दुइचारजना मिलेर प्रस्ताव पारित गरिहालेछन् कि नाम, थर आदिको आद्याक्षर मात्रै व्यवहार गर्नु पर्छ । जस्तै- गोविन्दकुमार लम्साल- गो-कु-ल-गोकुल, नारद मिजार- ना-मि- नामि, प्रणव भुजेल-प्रभु इत्यादि सबैको लागि यस्तो हुनै पर्छ नभनेर आफ्नो नाम मात्रै छोटकरीमा लेख्थे भने त केही कुरै थिएन, धेरैले लेख्छन् पनि र यो स्वाधिकार पनि हो । तर अरूको नसोची यसको प्रस्तावै पारित गरी दिनाले त हलचल मचाइहाल्यो नि । सबैले कसरी पो मान्थे र ! कसैलाई ओखती हुने वस्तु कसैलाई विष हुन्छ पेटको हावा जस्तै । आपत्ति गर्नेहरूमा प्रमुख थिए- विरेन्द्र नाथ शर्मा-वि-ना-श-विनाश, खगेन सिरुवाल- खसि, भार्गव लुइटेल आदि । खगेन सिरुवालले जब आपत्ति गर्यो, बोधन कोइरालाले त मान्ने कुरै आएन । आनन्द लुइटेलले (आलु) पनि मानेन, भार्गव लुइटेलले झन् के मान्थ्यो । चम्पक लाल निरोलाले नाम नछोट्याउने भयो । त्यसै गरी उमेश लुइटेल, बिष्णु राम लोहार, राघव लम्साल, आकाश कार्की, चिन्ता मणि राउत, माधव सिग्तेल आदिले पनि प्रस्तावको घोर विरोध गरे । महिला समितिबाट पनि यसको विरोधमा जुलुस निकालियो । नेतृत्वमा थिए- शारदा लिम्बु (शालि), लावण्य उप्रेति, धन माया काप्ले, लुना तिवारी, मोहिनी रिजाल, झुमा त्रिवेदी आदि । सर्वसाधारणको कुरो नसोची योजना बनाउँदा सधैँभरि हुन्छ र ? आफ्नो जीउ, आर्काको घिउ । सधैँ दल्न पाइन्न क्या ।
दरिद्र सीमारेखाभन्दा तल रहेका मान्छेको सङ्ख्या कसरी घटाउने ? बुद्धि दिने व्यक्तिगत सल्लाहकार ठिक्क छ- सर, त्यो सीमारेखालाई अझ तल झारिदिऊँ न, तलका मान्छे त्यो भन्दा माथि गइहाल्छन् नि । लौ हेरौँ त ! आफ्नो कार्यकालमा दरिद्रता निवारणको मादल ठोक्न रेखा नै तल झार्न खोज्छन् । दुनो त सोझ्याउनै पर्यो । त्यस्तै त छ नि ।
भारतवर्षका सबै मानिस शिक्षित छन् है भनेर दुनियाँलाई देखाउनका लागि केटाकेटीलाई विद्यालयमुखी बनाउन मध्याह्न खिचडीको चारो थापो, अनि खुरु खुरु उपर कक्षामा घँचेड्दै पण्डित बनाइ राखिएकै छ । जनताले त जताततै टेक्स तिरिरहेको छ । माटाको पनि तिर्छ, बाटाको पनि तिर्छ । गाडीको पनि तिर्छ, साडीको पनि तिर्छ । आमदानिकृत मालको लागि ठुला व्यवसायीले नाना तरहका चेकपोष्ट, गेट आदिमा मुठो तिर्छन् अनि हामीसँग निचोरी निचोरी लिन्छन् । सामग्री किन्ने त हामी नै हौँ । कम्पनीहरूले पनि विज्ञापन देखाएर फुस्लाइ फुस्लाइ वस्तु किनाउँछ, अनि हाम्रै पैसाले भोलि फेरि फुस्ल्याउँछ । हामी पनि फुस्लिनुसम्म फुस्लेका छौँ । चिकित्साको क्षेत्रमा त हामी सर्वाधिक लुटिएका छौँ क्यारे के गर्नु । आफूले जानेको छैन, जसो गर्न भनो त्यसै गर्नु पर्यो, जति भनो त्यति दिनै पर्यो । ज्यान त माया मार्नु भएन ! औषधि कम्पनी, चिकित्सा सामग्री, शरीरका नाना परीक्षा, दुनो सोझ्याउने डाक्टर धेरै छन् ।
०००
कोमलिया पानी भण्डार, तेजपुअर असम
‘चित्रगुप्तको गुप्तचित्र’ बाट
Subscribe
Login
0 Comments
Oldest






































