काेमलप्रसाद पोखरेलदृष्टि मैले गुमाएँ
न देब्रे छिमेकीसँगै मीत लाएँ, न ता दाहिनेको लुकी गीत गाएँ । न साँडे कुनैको हुँडाल्नो कन्याएँ न ता दाम राखेर ढोगी रमाएँ ।

कोमलप्रसाद पोखरेल :
न ता संसदीय प्रथा चाख्न पाएँ,
न नेता बनी नाम ठूलो कमाएँ ।
अरूकै तमासा नियाल्दा नियाल्दै
दुवै नेत्रका दृष्टि मैले गुमाएँ ।
न ता वानप्रस्थी भई बन्धुवृक्ष,
जथाभाबि छ्याँसेर साफै बनाएँ
न तत्काल फर्की गृहस्थी बनेर
विरोधी सबै पणर्शाला धपाएँ ।
न भान्से भई देश सिङ्गै पकाएँ,
न आफैं अघाएर बन्डा लगाएँ ।
न ता भ्रष्ट निर्मूल पार्ने भनेर
स्वयं भ्रष्टको बीज रोपी बढाएँ ।
न माता पिता वृद्धशाला पठाएँ,
घरैमा बसाई न नाङ्लो ठटाएँ ।
अरूकै तमासा नियाल्दा नियाल्दै
दुवै नेत्रका दृष्टि मैले गुमाएँ ।
न देब्रे छिमेकीसँगै मीत लाएँ,
न ता दाहिनेको लुकी गीत गाएँ ।
न साँडे कुनैको हुँडाल्नो कन्याएँ
न ता दाम राखेर ढोगी रमाएँ ।
न ता बाघ भै जन्तु सारा भगाएँ,
न छाली झिकी आफू मात्रै अघाएँ ।
अरूकै तमासा नियाल्दा नियाल्दै,
दुवै नेत्रका दृष्टि मैले गुमाएँ ।
०००
झापा
‘म फर्केर आएँ’ (२०७८)
Subscribe
Login
0 Comments
Oldest







































