सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बाढ पैह्रो डेटिङमा

प्रत्येक सडकको सीमित भार वहन गर्ने क्यापिसिटी हुन्छ तर यी मान्छे भन्ने अबुझ प्राणीले गाडीमा परिमाणभन्दा धेर भारी वहन गरेर वा ओभरलोड गरेर गाडी गुडाउँदा सडक आधापिल्ठो बनाइसकेको छ ।

Nepal Telecom ad

नगिता लेप्चा राई :

(पहाडबाट आएको भेलले खोला-नाला, नदी डम्म भरेको छ । उर्लँदो भेलले सोहोरेर रुख-पात गाई-वस्तु, गाडी-कार मात्र होइन नदीलाई मिचेर बनाएका बडेमाका बिल्डिङहरू बगाएर ताण्डव मच्चाएको छ भने बाढले रणचण्डिकाको भूमिका वहन गोरिरहेको छ । पहाडी इलाकामा जताततै पैह्रोले सखाप पारेको छ। मधेसतिर बाढ । पैह्रो र बाढ दुवै बग्दै-बग्दै बगर छेउमा वर्षाैँ देखि बसेको बडेमाको चट्टानमा भेट हुन्छ । चट्टानमाथि दुवैको डेटिङ चल्छ ।

बाढ – (अत्तालिएर) हाय ! यो कस्तो हाम्रो डेटिङ ?
पैह्रो – (भावुकतामा) कस्तोल डेटिङ र अब ! तिम्रो र मेरो डेटिङ गर्ने गोल्डेन चान्स ।
बाढ – डेटिङ ! अरुले देखे भने के भन्लान् ?
पैह्रो – के भन्छन् र? परेवाका भाले पोथी कति सुन्दर जोडी भन्छन् नि ।
बाढ – मलाई डर लाग्छ नि । यी मान्छे भन्ने दुइखुट्टे प्राणीसित ।
पैह्रो – तिमी सो मच डरछेरुवा हौ । यी दुइ खुट्टे प्राणीहरू हाम्रो डरले ज्यान-माल जोगाएर भाग्नमै व्यस्त छन् यसघडी । हाम्रो डेटिङ चियो चर्चा गर्ने फुर्सद नै कहाँ छ र डियर । फेरि भएन वर्षमा एकपल्ट मात्रै त हाम्रो डेटिङ गर्ने चान्स हुन्छ । तर चक्षलज्जा भन्ने कुरो पनि त छ नि होइन र ?
बाढ – के को लाज डियर ? के को शरम ? अरे प्यार किया तो डरना क्या ? जब तक मानिस नदीको बगर मिचेगा, भीर पहाड में प्लाष्टिक फ्याँकेगा तब तक पैह्रो बाढ चलता रहेगा हम दोनो प्रेमिका का डेटिङ चलता रहेगा । तपाईं त आग्राको कुरा गर्दा गर्दै गाग्राको कुरा पो गर्न थाल्नुभयो त हन…..
पैह्रो – हेर डार्लिङ ! यो कुरो र कुलो भन्ने एउटै हो। जनताको छेउमा चाहिँ ठिक्क पार्‍यो अनि भित्र-भित्रै फोनमा वा मोबाइलमा सुटुक् सुटुक् बात मारेर आफ्नो फायदा लुट्न खोज्ने नेता जस्तो म चाहिँ होइन क्या ! पैह्रो जानु मेरा धर्म हो । कसैलाई काखा र कसैलाई पाखा गर्ने मेरो बानी छैन । मान्छेले पर्यावरण बिगार्छ… हामी उनीहरूलाई बिगार्छाैँ । गिभ एण्ड् टेक । नेताहरूले जस्तो किसिम किसिमकोक आश्वासन दिएर जनतालाई भीरको चिण्डो उँधो न उँभो पार्ने मेरो बानी छैन… संस्कार पनि छैन । मानिसले बिगारेको ठाउँमा पानि पर्‍यो कि विकराल रुप लिएर ताण्डव मच्चाउन थालेपछि हामीलाई बिल्लीबाँठ पारेजस्तै बिल्लिबाँठ पारिदिन्छु । यसै चान्समा त तिमीसित मेरो डेटिङ हुन्छ ।
बाढ – तर तपाई त नेताभन्दा पनि लास्ट खतम हुनुहुन्छ । मलाई भेट्ने सानु बहानामा तपाईंले साधारण जनतालाई बिल्लीबाँठ पार्नुहुन्छ । यसै पनि तपाईका ठाउँमा जनताहरू राजनैतिक पैह्रोले, भाइ-भतिजावादको प्रकोपले, फोस्रो आश्वासनको बिग टकले धोती न टोपी भएका छन् । अझ तपाईले ताण्डव मच्चाएर विचारा ती जनताहरूलाई मरौमाथि कात्रो…..
पैह्रो – (कुरा काट्दै)….प्रिये ! तिमी यहाँका हाम्रा जनताको नाक थाप्छौ! यहाँका जनता जति सबै एकसा एक साँढे छन् ।
बाढ – विचाराहरूलाई त्यस्तो अबगाल नलगाउनुहोस् न प्लिज ।
पैह्रो – ओके। बट म तिमीलाई सानु इक्जाम्पल दिन्छु (अङ्गालो हाल्दै) …. ऊ…. पारीको डाँडा हेर राम्ररी…
बाढ – (अङ्गालोबाट फुत्किने प्रयास गर्दै) प्लिज हग् नगर्नुहोस् न ।
पैह्रो – के हुन्छ र हग् गर्दा ? डरछेरुवी डार्लिङ ! तिमीलाई हग् नगरी कसलाई हग् गर्नु ? भन त । तिमी नै त हौ मेरो सहारा, मेरो हार्ट बिट । मेरो इन्सिपरेसन । हेर डार्लिङ ! मलाई बिगार्ने मेरै इलाकाकै वासिन्दाहरू हुन् ।
बाढ – मलाई प्लिज हग् चाहिँ नगर्नुहोस् । मलाई कसैले हग् गरेको पटक्कै मन पर्दैन ।
पैह्रो – ओ माई गड ! मैले मेरो हार्ट बिटलाई त हग् गरेँ । अरे पोलिटिक्सको डेटिङमा रगतको होली खेलेर हजारौं जनताहरूलाई फुटबल खेल्ने तिम्रा मेरो पोलिटिकल लिडरहरू ‘पोलिटिकल किस्’ गरेर मज्जा लुटिसके भने मैले मेरै हार्ट बिटलाई हग् गर्दा के अन्याय हुन्छ र ?
बाढ – लु तपाईंलाई चाहिँ पत्याएँ है ।
पैह्रो- थ्याङ्क यू । लभ यू सो मच मलाई पत्याइदिएकीमा । मलाई कसले पत्याउँछ र डार्लिङ ! यो पहाडले पत्याएन । यहाँ जनताले पनि पत्याउन छोडिसके । नपत्याए ऊ माथिको भित्ता, पारीको डाँडा ब्लाष्टिङ पडकाएर-पडकाएर थिलथिलो पारी बिल्डिङ ठहराउन थाले। जङ्गल मासेर घर बनाउन थाले । जङ्ल पातलो भइसक्यो। बाक्लो जङ्गल हुँदा जस्तै हात्तीसूँढे पानी आए पनि रुखपातले पानीलाई काबुमा ल्याउँछ, भित्ता पाखा सुरक्षित राख्छ। तर मान्छेले जङ्गल नाङ्गो पार्‍यो। जमिन खिइँदै गएर जताततै पैह्रो जानु बाध्य भएको हो । यो पहाडको जनतालाई पोलिटिकल लिडरले बिगार्यो, जनताले यहाँको भित्ता पाखा, नदीको बगर बिगार्‍यो ।
बाढ – आफूले खनेको खाडलमा आफै जाँकियो भन्नुहोस् न बरू ।
पैह्रो – आफ्नो खाडल आफैले खनेकै हुन् यहाँकाहरूले। तर तिमी पनि आतङ्कवादी नै छौ नि ।
बाढ- अप्प्ई ! आतङ्कवादी चैँ कसरी भएँ। अरे! सो नट्टी हौ ।
पैह्रो – पहाडतिर पानी पर्‍यो कि तिमी भेल बनेर मानिसको जीवन नै फेल पार्न तम्सिन्छौ ।
बाढ – हेर्नुहोस् हजूर ! मेरो शाखा सन्तानको काम वा धर्म बग्नु हो । हामी आफ्नै तालमा मस्त भएर बग्न चाहन्छौँ । तर बग्ने ठाउँ नै ढाकेर वा छेकेर वा मिचेर घर-बिल्डिङ ग्यारेज बनायो भने हामी आफ्नो बाटो खोज्छौँ नि । बग्नलाई बाटो खोज्दा हाम्रो ब्लक एरिया सोहोरेको मात्रै हौं…नथिङ मोर द्यान द्याट ।
पैह्रो – यू आर एब्सुलेटली राइट डार्लिङ । तर याद राख… यस्तै पाराले जनताले भित्ता पाखा भत्काएर घर बिल्डिङ बनायो भने इन फ्यूचर सबै सोत्तर हुनेछ ।
बाढ – तपाई किन सुर्ताउनुहुन्छ मेरो हजूर ! तपाईंहरूका देवी-देवताहरूले सबैको रक्षा गर्नेछन् ।
पैह्रो – उफ्… देवी देवताहरूले पनि कति पो सेभ गरुन् भन त ।
बाढ – यसपालि चैं हजूरले भित्ता पाखा मात्र होइन घर-गोठ, ग्यारेज, फुटबल मैदान सोहोरेर रेकर्ड ब्रेक गर्नुभयो । तपाईंको यो वीरतालाई म स्यालुट गर्छु । तर बाटा-घाटा सडक चर्काएर, चुँडेर किन त्यस्तो उपद्रो गर्नुभएको ?
पैह्रो – (फुर्के भएर) यहाँ नेताहरूले उपद्रो गरेजस्तै मैले पनि उपद्रो गरिदिएको नि !
बाढ – उफ….! उपद्रो अरे ?
पैह्रो – अभियसली उपद्रो मात्र होइन विरोध पनि । राष्ट्रिय राजमार्ग होस् कि मेन रोड होस्… त्यसलाई चिरा चिरा पारेर विरोध जनाएको एउटै कारण हो, हेर डार्लिङ ! सडकको पनि एउटा जीवन छ… यसका छात्तीभरि एभ्रि डे हजारौं हजारौं गाडाहरू गुड्छन् । प्रत्येक सडकको सीमित भार वहन गर्ने क्यापिसिटी हुन्छ तर यी मान्छे भन्ने अबुझ प्राणीले गाडीमा परिमाणभन्दा धेर भारी वहन गरेर वा ओभरलोड गरेर गाडी गुडाउँदा सडक आधापिल्ठो बनाइसकेको छ ।
(पारी पाखामा गड्याम्म आवाज सुनिन्छ । ढुङ्गा-मूढा, बडे बडे चट्टान खसेको आवाज सुनिन्छ । ठूला ठूला रुखहरू ढलेर गाडलाम् गुडलुम् भएको आवाज सुनिन्छ । त्यस पाखामा रहेका घर, बिल्डिङ, ग्यारेज, गोठ सोहोरिन्छन् । नानी केटाकेटी बूढा बूढीको आर्तनाद सुनिन्छ । खैलाबैला मच्चिन्छ । गाई वस्तु कराएको आवाज पारी पारीसम्म सुनिन्छ ।
यतिबेलै अर्कै पार्टीको ठूलो भेल आएर दुइ युगलप्रेमी बसेर डेटिङ गरिरहेको चट्टानलाई सोहोरेर लान्छ… पैह्रो र बाढ एकाअर्कालाई कसिलो हग गर्छन्) ।

०००
खोलाचन्द फाप्री, जलपाईगुडी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लोकार्पण फोबिया

लोकार्पण फोबिया

नगिता लेप्चा राई
तपाईं नभनी मपाई

तपाईं नभनी मपाई

नगिता लेप्चा राई
एक हातले दिएको दुई हातले देखाउनू

एक हातले दिएको दुई...

नगिता लेप्चा राई
माइला दाइको फुर्फुर

माइला दाइको फुर्फुर

नगिता लेप्चा राई
चारो

चारो

नगिता लेप्चा राई
प्रजातन्त्रको दीर्घायु कामना

प्रजातन्त्रको दीर्घायु कामना

कृष्णचन्द्र सिंह प्रधान
भरी खल्ती जता पनि चल्ती

भरी खल्ती जता पनि...

कृष्ण शर्मा सुमु
मलाई गाह्रो छ

मलाई गाह्रो छ

अशोककुमार शिवा
0
Would love your thoughts, please comment.x
()
x