साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ॐ ठगठाग युगाय नमः

अधर्मीको सङ्ख्या चुलिएको छ । बेरोजगारीले मुलुक ढाकेको छ । हिजोका मगन्ते आज धनाढ्य कहलिएका छन् । न्यायालय समेत भ्रष्टमुक्त छैन । संविधान निर्माण चेस खेल भएको छ । हुनुपर्ने केही भएको छैन । नहुनुपर्ने अघोरै भएको छ ।

Nepal Telecom ad

नन्दलाल आचार्य

सखडेश्वरी भगवती माता !
म भगवती पुत्रीको भक्तिभाव स्विकार गर !

–निवेदन गर्छु । सभक्ति शिर झुकाउँछु । मनमा स्वार्थ छ, त्यसैले पाउ पर्छु । जसो भन्छेऊ, त्यसै गर्न तत्पर छु ।

देवीका चरणमा सविनय नम्र निवेदन यो छ कि म भक्तिनी हुँ । मनोकाङ्क्षाका केही मीठा कुरा, केही तीता कुरा राख्दै छु । जानी नजानी गन्थन गाँसेर पत्र पठाउँदै छु । प्रत्युत्तर लेखे पनि नलेखे पनि पत्रान्ततिरका मेरा कुरा स्विकार गर र मलाई उभिएर संसार थाम्न देऊ । भन्नु यत्ति नै हो । त्यत्ति भन्न छोटो बाटो हिँड्दा हुन्न । थोरै कुरा राख्दा मन भरिन्न । धेरै राख्दा नै संसार विचरणको स्वाद पाइन्छ । अहिलेलाई ठगठागको युग भन्दा रहेछन् ! भएकाले पनि गुजारा चलाउन तिमीसँगै माग्दा रहेछन् । कहिल्यै कसैको झोली भरिएको देखिनँ । तिम्रा अगाडि झुटोबाहेक अर्थोक बकेको सुनिनँ । तर, म सत्यको वरपर छु । धरोधर्म रिठ्ठो नबिराउने सोचमा छु ।

– म पनि कस्ती ! तिमीले केही नठानेजस्ती ! खान केही माग्दिनौ । जे दिए पनि ठीक छ भन्दिनौ । अरू केही माग तेर्साउदिनौ ।

देवी भगवती ! लहरो लामो छ । त्यसलाई तान्दा पहरो गर्जने मात्र हैन, साथै आउँछ । अनि म त्राहीमाममा पर्छु । म पनि छोरी मान्छे हुँ । भनौँ भने म समेत विष्णु र भगवती पुत्री हुँ । म पनि तिमीजस्तै छु । नाम पनि मिल्छ । तर, सम्मान मिल्दैन । घर पनि मिल्छ तर घरको प्रकृति मिल्दैन । म बोल्छु । तिमी चुप छ्यौ । म विपना भोग्छु । तिमी सपना भोग्छ्यौ । म विपनाको संसारले अराएको गर्छु । तिमीले सपनामा भनेअनुसार भक्तहरू गर्छन् रे । तिमी शिरविहीनकी तर म शिरसहितकी ! तिमीलाई बलि चाहिन्छ, मलाई भोजन । म तिमीलाई खोज्छु । तिमी मलाई खोज्दिनौ । तिमी मेरो इच्छापूर्ति गर्छर्यौ, म तिम्रो गर्दनि । किनकि तिम्रो इच्छा मलाई थाहा छैन । र, यो पनि भन्छु– मझैं अरूलाई पनि थाहा छैन ।

–फरकको फराकिलो खोपिल्टो देख्छु । चित्रविचित्रको वर्तमान भोग्छु । खराब दुनियाँ चिरञ्जीवी भेट्छु । म त बेमेल जगत् देख्छु ।

देवीजी ! स्पष्ट छ– म आफ्नै झुपडीमा छु । तिमी अरूले बनाइदिएको महलमा छ्यौ । म जमिनमुनिको शुद्ध जल पिउँछु । तिमी सतह माथिको पोखरीजल लिन्छ्यौ । म तिमीकहाँ पुग्छु । तिमी मकहाँ कहिल्यै आउँदिनौ । तिम्रो शक्ति अपार छ रे । मेरो भने भुसुनोको जति पनि छैन । किनकि एउटा भुसुनोसँग मत्ता हात्ती रुवाउने तागत छ । ह्वेल माछालाई तर्साउने हिम्मत छ । बडेमानको कटकटे रेल उल्टाउने क्षमता छ । विचित्र दशा ल्याउन भुसुनो सक्षम हुन्छ । मसँग त्यो शक्ति छैन । हात्ती, ह्वेल र चालकको आँखामा परेर अस्तव्यस्तता ल्याउने भुसुनो शक्ति मसँग बन्दै छैन ।

खबरदार देवी ! तिमीसँग नभएका अनगिन्ती कुरा मसँग छन् । म बुहार्तन सहनमा एक नम्बरमा छु । म पति परमेश्वरको भोग्या वस्तु बन्न अर्को नम्बरमा छु । त्यत्ति मात्र कहाँ हो र १ म सन्तानोत्पतिको भरपर्दो मेसिन हुँ । मेरो हातमा चुलाचौकादेखि बाहिरफेरो कमाउन सक्ने क्षमता छ । आफ्नो आँसु लुकाएर अरूको हाँसोमा फिस्स हाँसिदिने सामथ्र्य छ । पहिले अरूको पेटपूजा, त्यस पछि रहे आफ्नो गर्नुपर्ने, नरहे चुप हुनुपर्ने बाध्यता मसँगै छ । पति परमेश्वर भाङ्, धतुरो सेवन गरेर, मद्यपान–सुरासुन्दरी रसमा भुलेर राती अबेर घर फर्कंदा कुरेर बस्नुपर्ने जाति हुँ । दाइजोले नपुरिए बरोबरको टोकसो सहन बाध्यताकी पुजारी हुँ । म कोमल हृदयकी धनी छु । दुःख पिउने, बाध्यता पचाउने र त्रास घाँटीमा पहिरिने मान्छे नामको नारी हुँ ।

अहँ देवी ! तिमीमा मैले त्यस्तो केही गुण देखिनँ । धरोधर्म भन्छु– देवी, म तिनै सासू–ससुरा, पतिसँग जिन्दगी बिताइरहेकी छु तर तिमी दुई घण्टा पनि टिक्न सक्दिनौ । खासमा तिमी म भएर जिउन सक्दिनौ । तिमी बुहार्तन सहन सक्दिनौ । तिमी पीडा खान र पचाउन सक्दिनौ । मुस्कान बेचेर छहारीमा ओत लाग्न सक्दिनौ । मलाई त लाग्छ– तिमी हिन्दु नारी भएर चिनिनै सक्दिनौ ।

–समालिन गाह्रो छ । बुझ्झकी संसारमा टिक्न साह्रो छ । तातेको कराईमा पलेँटी कसी बस्नु अझ दर्दनाक छ । तापनि सबैलाई पचाउनुछ ।

देवी ! समय बलात्कार गर्न तम्सदै छ । फरिया समाल्न पाइन्न । बलत्कारीको प्रतिकार गर्न पाइन्न । प्रतिकार गर्ने कानुनी बाटो भएर पनि के गर्नू ! एक जना हैन, दुई जना हैन । नौरदशजनाका राक्षसी मनलाई ध्वस्त पार्न केवल एक नारीको के सामथ्र्य ! संसार त रमितेहरूको सङ्ग्रहालय भयो । यहाँ द्रोपदीको चित्कारमा आनन्द मान्ने दुर्योधन र दुशासनहरूको राज्य छ । अझ सामुहिक बलत्कारको शिकार पनि हुनुछ । प्राण पनि उनीहरूकै अहङ्कारलाई दान दिनु छ । र, पनि अन्त्यमा नारीले शरीर ढाकिन भन्ने आरोप खानु छ । गल्ती त युवतीको पनि हो भन्ने सुन्नु छ ।

अचम्म ! आजसम्म संसारमा कुनै त्यस्ती युवती जन्मेकी नहोली जसले भनोस्– “ए लक्का–जवानहरू हो ! आऊ । सामुहिक रूपमा आऊ । मेरा कोमल अङ्गप्रत्यङ्ग खेलाऊ । बेस्कन मोज गर । मेरो पीडाको क्रन्दनलाई सङ्गीतको मङ्गल धुन सम्झ । मलाई लुछ, चुँड, फर्काऊ, मर्काऊ । जसरी तिमीहरूको सामुहिक मन खुसी र आनन्दित हुन्छ, त्यही गर । म प्राण दिएर भए पनि तिमीहरूको यौनपिपासु मन बुझाउन चाहन्छु । यसैमा आफ्नो जन्म सफल भएको ठान्दछु ।”

देवी भगवती ! के तिमी त्यस्तो अवस्था भोग्न सक्थ्यौ ? अहँ ! तिमी त मूर्तिवत् जहाँको त्यहीँ छ्यौ । कहिल्यै ठीक पनि भनिनौ । बेठीक भयो भनेर बोलिनौ । म एसएलसी फेल हुँदा हण्डर खाएर भाकल गरेँ । नभन्दै पास पनि भएँ । भाकल पूरा गर्छु भन्दाभन्दै मात्रै पन्ध्र वर्ष बिताएँ । आज आएर एकतीस सयमा बोको किनेँ । त्यसैलाई लगेर तिम्रो अघि छिनाल्न भनेँ । पूजारीले टाउको लिन्छु भन्यो । ठीकै छ भनेँ । आधा ह्याकुलो सहितको टाउको तिम्रो पाउमा राख्यो । पछाडिको भाग मतिर फाल्यो । त्यही लिएर जाऊ र प्रसाद बनाएर खाऊ भन्यो । (आधा ह्याकुलो सहितको टाउको देखाउँदै) यो चाहिँ भगवतीलाई प्रसाद चढ्छ भन्यो । सखडेश्वरी भगवतीले तिम्रो रक्षा गरून् । मनका हर इच्छा पूरा होऊन् । पुजारीको अर्ति सुनेर मख्ख परेँ । पछि कुरा बुझ्दा पो छक्क परेँ । देवी ! तिम्रो भोजन भनी रगत चढाएँ । त्यो त मेरो भाकल थियो । आधा ह्याकुलो सहितको टाउको पुजारीलाई चढाउने भाकल थिएन । उत्तिखेर विरोध गर्ने विचारै आएन । अहिले आएर के गर्नु ! अरू कुरा के भन्नु !?

–नाम तिम्रै छ । काम चाम्रो छ । खुट्टाले सगर थाम्छु भन्छन् । ‘मै राज्य हुँ’ भनी घोषणा गर्छन् । ॐ ठगठाग युगाय नमः ।

भगवती ! तिम्रो नाममा एउटा पोखरी छ । रगत त्यहीँ जान्छ । फोहोरमैला जम्मा हुन्छ । नुहाउने र चढाउने जल त्यही हुन्छ । गोडा धोएको, दिशा पखालेको पानी अभिषेक गरी भक्ति देखाइन्छ । पवित्र–अपवित्र के छ, त्यो विचारिन्न । मात्र हात जोड्नु पर्याप्त मानिन्छ । मनका कर्तुत मनमै राख्नुछ । अघिपछि जालझेलको नेतृत्व लिनुछ । देवीजी ! तिमीलाई पनि भुसुक्कै ठग्नु छ । फूलमाला, प्रसाद, अबिर देखाउनु छ । आउँदा जाँदा बाटोभरि मान्छेलाई बोकाई अहङ्कार देखाउनु छ । तिम्रा अघि चाहिँ दानी भई टोपल्नुछ । बेलाबेलामा ‘ॐ ठगठाग युगाय नमः’ महामन्त्र सम्झनु छ । मान्छेको अवस्था यस्तै छ । तिम्रो चालढाल जस्ताको तस्तै छ ।

हेर ! तिम्रो नाममा भेटी चढ्छ । बलि दिँदा भेटी लिइन्छ । हिसाव राखिन्न । कसैले खोजे पाइन्न । तिमीमा श्रद्धा राखी सुनचाँदी चढाइन्छ । पैसोभेटी सामान्य ठानिन्छ । त्यो तिमीले पाउने हैन । तिम्रो नाम बेचेर धेरै आम्दानी भएको छ । तर, तिम्रो कल्याणमा खासै काम भएको छैन । भक्तजनहरूले चढाएका हरेक वस्तु प्रसादका नाममा मान्छेकै पेटमा पुग्छ । नाम तिम्रो छ, पेट हाम्रो छ । रगत नपिउने हो, टाउको नखाने हो, फूलपाती ग्रहण नगर्ने हो र चढाइएको भेटी स्वीकार नगर्ने हो भने देवी ! सपनामा त्यसकहाँ पुगिदेऊ । मान्छेको लोभी मनलाई खबरदारी गरिदेऊ । असहिष्णुहरूको कुभलो हुने चेतावनी देऊ ।

–कामना एकै हो । चाहना एउटै हो । हित्तबेगर कोही चित्त बुझाउँदैन । लाभांशको भाँडो सित्तै आउँदैन । बिना काम, माम हाम गर्न पाइँदैन ।

परमेश्वरी ! तिमीसँग सामथ्र्य छ रे ! मान्छेहरू भन्छन्– तिमी दयाकी खानी हौ । तिमी दुःख–पीडा हरणदेवी हौ । मनोकाङ्क्षा पूरा गरिदिने साक्षात् परमेश्वरी हौ । शिरोच्छेदन भएर पनि, आफू पीडाको आहालमा डुबेर पनि भक्तजन कल्याणमा समर्पित छ्याौ रे ! भलै, मेरो मेहनतले होस् या तिम्रो कृपादृष्टिले होस् । मैले एसएलसी मात्र हैन, दश जोड दुई पनि गरेँ । जागिरे दुलाहा समेत भेटेँ । छोरो पनि जन्माएँ । एक किसिमले सफलतै, सफलता पाएँ । त्यसैले त अधैर्य छैन । तर, सधैँ धैर्यवान् भइरहन सकेकी छैन ।

आज आएर अर्को इच्छा मनमा उब्जेको छ । त्यो तिमीमा सविनय निवेदन गर्दै पत्रान्त गर्दछु– “मेरो भुइँ रोइरहेको छ । रक्षकहरू पहलमानी युद्धमा छन् । जनता रमिते भएका छन् । थरीथरीका मौखिकयुद्ध भोग्न पाइन्छ । द्वन्द्वको नियम भङ्ग छ । मङ्गलले नेटो काटेको छ । अमङ्गलले सगरमाथा छोएको छ । अधर्मीको सङ्ख्या चुलिएको छ । बेरोजगारीले मुलुक ढाकेको छ । हिजोका मगन्ते आज धनाढ्य कहलिएका छन् । न्यायालय समेत भ्रष्टमुक्त छैन । संविधान निर्माण चेस खेल भएको छ । हुनुपर्ने केही भएको छैन । नहुनुपर्ने अघोरै भएको छ ।

यस्तो बखतमा सम्पूर्ण अमङ्गल हटेर राष्ट्रिय स्वाभिमानको जगेर्ना गर्दै जनसंविधान, समृद्धि र दिगो शान्ति मेरो हातमा देऊ । विकासका सम्पूर्ण द्वार खोलिदेऊ । बेरोजगारीको महसुस कसैले गर्न नपरोस् । अशान्तिको श्वास कसैले फेर्न नपरोस् । मेरो यही चाहना र कामना फत्ते गर्दिए म तिम्रा पाउमा मनोवाञ्छित फल टक्र्याउनेछु । भक्तिको मार्गमा अर्को इँट थप्नेछु । धन्यवाद !”

०००
लिटिल फ्लावर उच्च मा.वि., राजविराज– ९, सप्तरी ।
(याे व्यङ्ग्य सिर्जना फित्काैली डटकममा २०७१ वैशाख १२ गते पहिलाेपटक प्रविष्ट गरिएकाे थियाे ।)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
tanka bahadur alemagar
tanka bahadur alemagar
1 year ago

sundar ra kadalekhan badhai sr.

Nepal Telecom ad
बाजी

बाजी

नन्दलाल आचार्य
छलकपट

छलकपट

नन्दलाल आचार्य
आधुनिक नेता चालिसा

आधुनिक नेता चालिसा

नन्दलाल आचार्य
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
1
0
Would love your thoughts, please comment.x
()
x