साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गोलमाल गरेर मालामाल बनौँ

नाथे कुरामा नाफा खाए भनेर रोइलो गर्नु हुँदैन । अलिअलि गोलमाल नगरी कोही मालमाल हुुँदैन । मालमाल नभएसम्म देशले कोल्टे फेर्दैन । देशले कोल्टे नफेर्दासम्म सुखी नेपाली समृद्ध नेपाल बन्नै सक्दैन ।

Nepal Telecom ad

रामप्रसाद पन्थी :

कसैले अकस्मात् कुनै खास उपलब्धि प्राप्त गर्‍यो भने मालामाल भयो भन्ने गरिन्छ । मालामाल हुने सौभाग्य सबैलाई प्राप्त हुँदैन । कुरा प्रष्ट मात्रै होइन छरपस्ट छ । मालामाल फालाफाल छैन । हुन्थ्यो भने मानिसहरूमा हातखुट्टा हालाहाल हुन्थ्यो ।

मालामाल हुनलाई माल पाउनुपर्छ । म्यारिज खेलमा मालको महत्व तपाईंलाई थाहै छ । माल अड्डामा जागिर खानेहरूको सान र मान पनि देख्नुभएकै होला ! माल अड्डा भनेर अहिलेको मालपोत भनेर भ्रममा नपर्नु होला । अहिले माल अड्डाका शाखा सन्तान धेरै भइसकेका छन् । भन्सार छलेर धन्सार भर्नेहरू र राजश्व झ्वाम पारेर खाजश्व गर्ने काममा खालका खेलाडीहरूले माल पारिरहेका छन् ।

नेपालमा केही यस्ता माल अड्डाहरू छन् जसका प्रचलित नामहरू समय सापेक्ष संशोधन गर्ने प्रस्ताव पेश गरेको छु । देशमा जति पनि आयोगहरू छन् तिनलाई खायोग बनाइनुपर्छ । बेलबखत बनाइने छानबिन आयोग खानपिन खायोगमा रूपान्तरण गर्नुपर्छ । निगमलाई निलम् बनाउदा फरक पर्दैन ।

कसैले व्यक्ति र तिनका पेशालाई माल पार्ने जाल भनेको पनि सुनियो । जसमा कालो कोटलाई हरिया नोटको बोट भनेको सुनियो । सबैभन्दा बढी मालामाल दबाईखानामा आफैले देखियो । यो वा त्यो नाममा दबाई काण्डमा धेरैपटक सेकियो । सफा सफेद कोटले दबाएर दबाई लेखिदिएपछि कसको के लाग्दो रहेछ र ? बीस रुपियाँको सागको मुठा किन्दा बार्गेनिङ गर्नेहरू सेता कोटको फेला परेपछि लतालुतुक्क गल्नु पर्दोरहेछ ।

संसारलाई सजिलैसँग छिटै मालामाल हुनु छ । सबैलाई सगरमाथाको चुली छुनु छ । त्यसका लागि माललाई गोलमाल नगरी कहाँ हुन्छ ? व्यापार भनेकै गोलमाल हो । गोलमाल नगरी व्यापार हुँदैन भन्ने कुरा लाटा गिद्धले पनि सिद्ध गरिसकेको छ । दैनिक उपभोगका धेरैजसो वस्तुहरू गोलमालका सिकार भएका छन् । हलेदो भनेर जानेपछि कोट्याउनु पर्दैन । अकबरी सुनलाई कसी लाउनु पर्दैन । यस्ता उखानहरू गोबरको घिउ र भक्किम्लाको तरबारसित साटिइसकेका छन् । गाई भैँसीको घिउसित वनस्पति घिउले सम्धेलो लगाएको उहिलेदेखि हो । जनावरको बोसो पनि चोखो घिउ बनेर धूपदीप बन्न गएको हल्ला सुनिन्छ । अहिले बजारमा दूधमा युरिया, वाशिङ पाउडर र धुलो घोलिन्छ । सुकुटीमा सडेगलेका मासु पोलिन्छ । खसीमा राँगो मोलिन्छ । कुराउनीमा बिस्कुट र मैदा घोलिन्छ । यसैगरी धुलो खुर्सानीमा इटाको धुलो परेको छ । महमा चिनीको चास्नी चलेको छ । मरिचका दानासँग मेवाका दाना बस्छ । केरामा कार्वाइड पस्छ । मिति सकिएर मक्किएको चामल मिलमा पालिस लगाएर बडो इज्जतका साथ आन्द्रामा खस्छ । तपाईं आफै भन्नुहोस् गोलमालबिना बेमौसमी फलफूल, तरकारी फलेका छन् ? बजार चलेका छन् ?

देश भनेको आफैमा विशाल बजार हो । यसको सञ्चालन सरकारले गर्छ । सरकारले वैधानिकता प्राप्त गर्न निर्वाचन गर्छ । सरकार सत्ता पक्ष बनेर होलसेल व्यापर गर्छ । प्रतिपक्षले सडकमा बसेर खुद्रे व्यापार गर्छ । व्यापारीको धर्म नाफा कमाउनु हो । बोल्नेको पिठो बिक्छ । नबोल्नेको चामल पनि बिक्दैन । त्यसैले नेताले झुठो बोले भनेर भन्न झनै मिल्दैन ।

व्यापारमा झुठो बोल्नु र ठगठाग गर्नुलाई सामान्य मानिन्छ । चुनावी प्रक्रियाबाट जनप्रतिनिधिका नाममा घनप्रतिनिधि धनप्रतिनिधि बनेका छन् । जो आफैमा व्यापारिक घरानियाँका सदस्य हुन । यी कुनै मारवाडीभन्दा कम छैनन् । त्यसैले त प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको नाममा गन्जागोल गरेर गोलमाल गरेका छन् । व्यापारी बनेका छन् । व्यापार गरेका छन् । यिनको भाटभटिनीबाट बिक्री नहुने वस्तु नै छैन । युवाहरूको विदेश निर्यात सबैभन्दा बढी चलेको धन्दा हो । वाइड बोडी, लाउडा, धमिजा, ललिता, बालुवाटार, टनकपुर, महाकाली, भुटानी, लुटानी, सुन, सहकारी… सामान्य कारोबारका विषय हुन् । यस्ता नाथे कुरामा नाफा खाए भनेर रोइलो गर्नु हुँदैन । अलिअलि गोलमाल नगरी कोही मालमाल हुुँदैन । मालमाल नभएसम्म देशले कोल्टे फेर्दैन । देशले कोल्टे नफेर्दासम्म सुखी नेपाली समृद्ध नेपाल बन्नै सक्दैन । कुरा स्पष्ट छ ।

मालामाल हुनलाई गोलमाल हुनैपर्छ । यस कुरालाई माथिका कथ्यहरूले मात्रै होइन तथ्यहरूले पनि प्रमाणित गरिसकेका छन् । त्यसैले गन्जगोल गरौँ । भद्रगोल गरौँ । गोलमाल गरेर मालामाल बनौँ । मालामालका लागि गोलमाल अपरिहार्य सर्त हो । यस तथ्यलाई सबैले मनन गर्नुहोस् । मालामाल हुन अघि सर्नुहोस् । निर्धक्क भएर गोलमाल गर्नुहोस् ।

०००
रेसुङ्गा न पा २ छापटोला, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आफनि घाेल आफुइ धेकुन

आफनि घाेल आफुइ धेकुन

रामप्रसाद पन्थी
शहीद ?

शहीद ?

रामप्रसाद पन्थी
म त दान दिन्नँ

म त दान दिन्नँ

रामप्रसाद पन्थी
जेन्जी छाेरीलाई चिठी

जेन्जी छाेरीलाई चिठी

रामप्रसाद पन्थी
प्रभु ! नाक काटेर नकटाे बनाऊ

प्रभु ! नाक काटेर...

रामप्रसाद पन्थी
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x