साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अब कुरा काट्ने कि त ?

वास्तवमा कुरा गर्दागर्दै कुरा त चिप्लिएर गई वामपन्थीहरूलाई नै घोच्न पो पुग्दो रहेछ । के गर्ने र, जीवनभर व्यंग्य लेख्दालेख्दा त म त चिल्ला, चिप्ला, मीठा र चेपारे कुरा त गर्नै नसक्ने भएछु ।

Nepal Telecom ad

केशवराज पिँडाली :

रस लिन फल नै काट्नुपर्छ भन्ने छैन । रस त कुरा काट्दा पनि आउँछ । क्या मजाको छ यो कुरो भन्ने कुरो । धेरै रस लिन मन लाग्छ लामा कुरा काट्नोस् र थोरैले पुग्छ भने छोटा कुरा काट्नोस् ।

‘दिउँसो तेल दिँदा नखाने तर राति भने कोल चाट्न जाने’ भनेझैँ गरी काट्ने बेलामा चाहिँ चुटीचुटी कुरा काट्ने तर भन्ने बेलामा भने म त कुरा काट्दिनँ भनेर कुरा नलुकाउनोस् ।

कुरा काटेर रस नलिने मान्छे यस संसारमा बिरलै हुन्छन् । तर एउटा कुरामा चाहिँ तपाईंहरूले होस राख्नुपर्दछ । त्यो के त भने रसवाला फलका रूख तथा बोटहरूमा काँडा भएझैँ कुरामा पनि काँडा हुने गर्दछ । जथाभाबी काट्न थाल्यो भने कुरो बिझ्ने पनि गर्दछ ।

यो कुराको काँडा एक बाजि मैलाई पनि बिझेको छ । प्रजातन्त्र आउनुभन्दा अघिल्लो पटकको एकेडेमीको पुनर्गठन हुने ताकको कुरा हो । शिक्षामन्त्रीले “जरुरी कुरा छ, एक बाजि आउनोस् न” भने ।

भोलिपल्ट म शिक्षा मन्त्रालय गएँ र मन्त्रीसँग भेटेँ । मन्त्रीले कुरा बिछ्याउँदै भने, “एकेडेमीको पुनर्गठन हुँदैछ । सदस्यहरूमा नाम सिफारिस गरी पठाउन मलाई भनिएको छ । म तपाईंको पनि नाम सिफारिस गरूँ कि ?”

कुरो मेरो लागि नराम्रो थिएन, राम्रै थियो । मैले स्वीकृति दिएँ ।

यसको १४–१५ दिनपछि एक दिन बिहान सहायक शिक्षामन्त्रीले फोनैबाट बधाई दिए । यसको दुई–चार दिनपछि रेडियोबाट एकेडेमीका सदस्यहरूको नाम घोषणा भयो ।

शिक्षा सहायक मन्त्रीको बधाई त फोस्रो पो सिद्ध भयो । यसपछि सुनेँ शिक्षामन्त्रीलाई चाहिँ मलाई मुख देखाउन लाज लाग्यो रे ।

उनले एक जना मित्रसँग भनेछन्, “हेर्नोस् न, पिँडालीको नाम त्यत्रो सिफारिस गरेर पठाएँ तर दरबार पुगेर नाम काटिएछ ।”

दरबारले मेरो नाम काटेको कुरा च्वास्स गरेर भित्रसम्म बिझ्न पुग्यो । त्यस कुराले अझै पनि मलाई बराबर च्वास्स–च्वास्स घोच्ने गर्छ ।

आ, छाडिदिऊँ यो कुरा यहीँ । कुरा काट्ने कुरा गर्दागर्दै म त आफ्नै कुरो पो तुन्न थालेछु । बुझ्नुभयो त कुरा काट्दा रस आउँछ, मजाले आउँछ । पत्यार लाग्दैन भने तपाईं आफ्ना हित्तचित्त मिलेका तीन–चार जना बसेर जसको कुरा काट्न मन लाग्छ काट्न थाल्नोस् त, अनि थाहा पाउनुहुनेछ कुरा काट्दा कसरी रस आउँदो रहेछ भन्ने कुरो ।

म त अझ के भन्दछु भने कुरा नकाट्ने मान्छे त यस संसारमा हुँदै हुँदैन । हाम्रा घरघरमा सासूचाहिँ बुहारीको कुरा काटिरहेकी हुन्छे भने बुहारी सासूको कुरा काटिरहेकी हुन्छे । यस्तै, भाइले दाजुको कुरो काटिरहेको हुन्छ त दाजुले भाइको कुरा काटिरहेको हुन्छ ।

अझ राजनीतिमा त कुरा झन् काटिन्छ । पल्टाएर यसो हेर्नोस् त अन्तरिम कालमा सत्तासुख भोगेर निर्वाचनपछि सत्ताविमुख भएका वामपन्थीहरू सत्तारूढ नेपाली कांग्रे्रेसको कुरा काटिरहेका हुन्छन् भने नेपाली कांग्रे्रेस पनि प्रजातन्त्रको सुदृढीकरणमा सहयोग नगरी वामपन्थीहरू खालि विरोध मात्रै गरिरहेछन् भनी कुरा काट्दो छ ।

अरू त अरू नै भए तीस–तीस वर्षसम्म निर्दलीयताको कीर्तन गरीगरी जनताका टाउकामा झापताल र त्रिताल ठटाउनेहरू पनि जनताले स्वीकार्छन् स्वीकार्दैनन्, त्यतापट्टि सोच्दै नसोची कांग्र्रेसको कुरा काटेर प्रतिपक्षी त हामी नै हौँ भनिरहेछन् ।

मेरो आफ्नै कुरा पनि म भनिरहेछु । कुरा काट्नमा त म झन् सबका गुरु माधवदास नै छु । तर मेरो कुरा कटाइमा चाहिँ फरक के छ त भने अरूहरू कुरा काटेर आफू–आफू मात्र रस लिन्छन् भने मचाहिँ कुरा काटेर आफू मात्र होइन अरूलाई पनि रिसमा निथ्रुक्क पारिदिन्छु ।

मैले समाजका विकृति, विसङ्गति आदिलाई लिएर जुन व्यंग्य गर्ने गर्दछु ती सब कुरा काटेको होइन र !

वास्तवमा नेपाली भाषामा यो कुरो भन्ने कुरो यति अद्भुत र विलक्षणको छ यसलाई तपाईं जसरी पनि प्रयोग गर्न सक्नुहुन्छ । यस कुरालाई तपाईं काट्न सक्नुहुन्छ, लुकाउन सक्नुहुन्छ, यो बिझ्छ पनि भन्ने कुरो त माथि भनिसकेँ ।

यसका अतिरिक्त पनि यस विलक्षण कुरोलाई तपाईं बटार्न पनि सक्नुहुन्छ र बंग्याउन पनि सक्नुहुन्छ । देखिहाल्नुभएको छ गिरिजाबाबु प्रधानमन्त्री हुनुभएपछि मित्रराष्ट्र भारत गएर त्यहाँका नेताहरूसँग वार्ता गरी सम्बन्ध सुधारेर फर्कनुभयो ।

वाणिज्य सन्धि भयो, पारवहन सन्धि पनि भयो, जलविद्युत् योजना बन्ने कुराहरू भए र अवरुद्ध सम्बन्ध सामान्य भयो । यस सरल र सोझो कुरालाई वामपन्थीहरूले बटारे, बंग्याएर भन्न थाले, ‘गिरिजाले नदी बेचे, गिरिजाले देश बेचे ।’

सके अब तपाईं भन्नुहुनेछ, ‘आ, तेरो यो कुरो पनि एकोहोरो कुरो भयो । खालि वामपन्थीहरूलाई घोच्ने कुरा मात्र गरिरहन्छस् ।’

हो, तपाईंले भनेको पनि ठीकै हो । कुरो एकोहोरो मात्र हुँदैन कुरो दोहोरो पनि हुन्छ । वास्तवमा कुरा गर्दागर्दै कुरा त चिप्लिएर गई वामपन्थीहरूलाई नै घोच्न पो पुग्दो रहेछ । के गर्ने र, जीवनभर व्यंग्य लेख्दालेख्दा त म त चिल्ला, चिप्ला, मीठा र चेपारे कुरा त गर्नै नसक्ने भएछु ।

कुरा काट्न थाल्यो कि मेरो मुखबाट त खालि खस्राखस्रा, टेढाटेढा कुरा मात्र पो निस्कँदा रहेछन् । त्यसैले म कुरा नलुकाईकन भन्छु– मैले कुरा काटेर पस्किदिएको छु, खान मन लाग्छ खानोस् मन लाग्दैन नखानोस् । मेरा कुरा खानैपर्छ भनेर कर म गर्दिनँ ।

मेरा कुरा खाएनन् भनेर म कुरा लाउन पनि कतै जान्नँ, किनभने कुरा फाँड्ने र भाँड्ने बानी मेरो छैन ।

०००
प्रशन्न हुनुहोस् (हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
माथि पर्ने तरिका

माथि पर्ने तरिका

केशवराज पिँडाली
गोदीप्रसाद वदेहाम

गोदीप्रसाद वदेहाम

केशवराज पिँडाली
नामको अर्थको अनर्थ

नामको अर्थको अनर्थ

केशवराज पिँडाली
यमपुरीको यात्रा

यमपुरीको यात्रा

केशवराज पिँडाली
शूरवीरहरूको नरकयात्रा

शूरवीरहरूको नरकयात्रा

केशवराज पिँडाली
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
जेल

जेल

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x