साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नामको अर्थको अनर्थ

आरम्भमै ‘यो हो चन्द्रज्योति’ जस्तो हास्यव्यङ्ग्य निबन्ध लेखेर यो फेटमा प्रवेश गरेका पिँडालीका ‘खै खै’ (२०१६), ‘प्रशन्न हुनुहोस्’ (२०....), ‘फेरि उल्टै मिल्यो’ (२०३२), ‘व्यङ्ग्यै व्यङ्ग्य’ (२०४५) हास्यव्यङ्ग्य कृति प्रकाशित छन् । पिँडाली जयन्तीका अवसरमा  उनीप्रति शब्दश्रद्धा व्यक्त गर्दै फित्काैली प्रस्तुत गर्दछ पिँडालीकाे याे व्यङ्ग्य  निबन्ध ‘नामको अर्थको अनर्थ’ । 

Nepal Telecom ad

केशवराज पिँडाली :

युगमञ्जरी र कृष्णराज लामिछाने सुपुत्रका रुपमा केशवराज पिँडालीको जन्म वि.सं. १९७१ साल माघ १६ गते काठमाडौंको क्षेत्रपाटीमा भएको हो । पुर्ख्याैली थलो धादिङको गजुरी पिँडा भएकाले केशवराजले आफ्नो नामका पछाडि पिँडाली लेख्ने गरेका हुन् । स्कूले शिक्षामात्र उत्तीर्ण गरेका पिँडालीको साहित्ययात्रा १९९३ सालमा शारदामा ‘गुण्टे र चरी’ शीर्षकको कथा प्रकाशनसँगै भएको देखिन्छ । आरम्भमै ‘यो हो चन्द्रज्योति’ जस्तो हास्यव्यङ्ग्य निबन्ध लेखेर यो फेटमा प्रवेश गरेका पिँडालीका ‘खै खै’ (२०१६), ‘प्रशन्न हुनुहोस्’ (२०….), ‘फेरि उल्टै मिल्यो’ (२०३२), ‘व्यङ्ग्यै व्यङ्ग्य’ (२०४५) हास्यव्यङ्ग्य कृति प्रकाशित छन् । त्रिभुवन प्रज्ञापुरस्कार, बासुदेव लुइँटेल पुरस्कार, बालचन्द्र पुरस्कार, वेदनिधि पुरस्कार, भैरव पुरस्कार र रत्नश्री स्वर्ण पदक प्राप्त पिँडालीको २०५५ साल जेठ २६ गते काठमाडौंमा निधन भएकाे हाे । पिँडाली जयन्तीका अवसरमा  उनीप्रति शब्दश्रद्धा व्यक्त गर्दै फित्काैली प्रस्तुत गर्दछ पिँडालीकाे याे व्यङ्ग्य  निबन्ध ‘नामको अर्थको अनर्थ’ ।  -सम्पादक

धेरै मानिसहरूको भनाइ छ नामको ठूलो महिमा हुन्छ र नामले सबैमा ठूलो प्रभाव पार्ने गर्दछ । तर म भने यस मान्यतासँग सहमत छैन । वास्तवमा महिमामय हुने र प्रभाव पार्ने त व्यक्ति हो, नाम होइन । नाम त केवल व्यक्तिको चिनारीका लागि मात्र राखिने गरिएको हो । नाम नै ठूलो हुने भइदिएको भए अन्धोको नाम नेत्रनाथ हुने थिएन, कर्णसिंह नामको मान्छे बहिरो हुने थिएन र लक्ष्मीप्रसाद र ऐश्वर्यमान नामका व्यक्ति गरिब हुने थिएनन् ।

मानिसहरूका नामले कहिलेकाहीँ उपद्रो पनि गर्ने गर्दछ र अन्योलको स्थिति पनि पैदा गर्ने गर्दछ । यस पङ्क्तिको लेखक २०१७ सालदेखि २०३६ सालसम्म नेपाली काङ्ग्रेसको प्रचार विभाग सम्हालेर कलकत्ता बसेको थियो र ‘नेपाल आह्वान’ नामक समाचारपत्रको प्रकाशन तथा सम्पादन पनि गर्ने गर्दथ्यो ।

‘नेपाल आह्वान’ मा खास गरेर नेपालमा प्रजातन्त्रको पुनर्बहालीका लागि नेपाली काङ्ग्रेसको नेतृत्वमा चलेको आन्दोलनको बढी चर्चा हुने गर्दथ्यो । एक पटक त्यसमा माया गिरीको निकै ठूलो चर्चा प्रकाशित भएको थियो । तीन-चार दिनपछि नै एक दिन बिहान एक जना युवक नाडी सुर्कदै मेरो कोठाभित्र पसे र भन्न थाले- “मान्छेको लिङ्ग परिवर्तन गराउनमा त बडा सिपालु हुनुभएछ नि त ?” मैले कुरा बुझिनँ र ट्वाल्ल उनैको अनुहार हेरिरहेँ । त्यो व्यक्ति भने अझै पनि मसँग उफ्रँदो थियो । यस्तैमा दाङका गणेशकुमार शर्मा हाँस्दै मेरो कोठाभित्र पस्नुभयो र मसँग झगडा गरिहेको व्यक्तितिर फर्केर भन्न थाल्नुभयो– “पाएनौ के स्वाद अब ? मैले कैयौँ बाजि भनेको होइन तिमीलाई, यो ‘माया’ भन्ने जनानी नाम फेर भनेर; टेरपुच्छर लगाएनौ । यो परिणाम अब अहिले भोगिहाल्यौ ।”

अघिसम्म सिंहजस्तो बनेर मलाई दपेटिरहेको त्यो मान्छे गणेशकुमारको झापु खाएपछि अब मुसाजस्तो भएको थियो । मैले आइमाई सम्झेर खूब फर्माइवरी ‘नेपाल आह्वान’ मा समाचार छापेको त्यो व्यक्ति माया गिरी यही जुँगामुठे पो रहेछ भनी सम्झन गाह्रो परेन । गणेशकुमार र म खूब हाँस्यौँ । तर माया गिरी भने चुपचाप नै बसिरहे ।

मलाई यसरी माया गिरीको नामले धोका दिएझैं केही वर्षअघि महालेखा परीक्षक कार्यालयका हाकिम, कारिन्दा सबैलाई पनि जेठी मैयाँ र शरणहरि टण्डन डुकूलन्ठन दुइटा नामले पिर्नुपिरेको थियो । २०१७ साल लगत्तैपछि नेपाली काङ्ग्रेसको जननिर्वाचित सरकारले गरेका अनियमित कार्यहरूको लेखापरीक्षण गरी केही अनियमितता भेटिए त्यसलाई प्रकाशमा ल्याएर बी.पी. तथा नेपाली काङ्ग्रेसको बदनाम गराउने उद्देश्यले यावत् कामकारबाहीहरू खोतल्न लगाइएको थियो ।

लेखापरीक्षणले खोतल्दै जाँदा दुइटा शङ्कास्पद अनियमितता फेला पायो । एउटा जेठीमैयाँ काण्ड र अर्को शणरहरि टण्डन डुकूलन्ठनकाण्ड । श्री ५ को सरकारको निमन्त्रणामा भारतबाट २०१७ साल मङ्सिरमा जेठी मैयाँ नामकी एक महिला नेपालको तीनदिने भ्रमणमा आएकी थिइन् र सिकार खेल्न उनी ठोरी पनि गएकी थिइन् । को थिइन् ती जेठी मैयाँ ? राणाहरूका निकै चेलीबेटीहरूको विवाह भारतका राजारजौटाहरूसँग भएको त छ तर देशमा प्रजातन्त्र आइसकेपछि निर्वाचित सरकारले तिनलाई निम्त्याएर तिनको आतिथ्यमा तीन दिनमा २५ हजार फुक्ने प्रश्नै उठ्दैन । नत्र यत्रो सम्मान दिएर सरकारी आतिथ्यमा बोलाइएकी ती गरिमामयी नारी जेठी मैयाँ को हुन् त ? यी रहस्यमयी जेठी मैयाँले लेखापरीक्षकका हाकिम, कारिन्दा सबैको टाउको खाइन् ।

टाउको खानेमा अझ जेठी मैयाँभन्दा सरकारकै आतिथ्यमा बेलायतबाट आएका शरणहरि टण्डन डुकूलन्ठन झन् तीन बित्ता माथिका निस्के । फेरि मान्छे पनि साना नभएर ठूलै रहेछन् । उनले त अझ झन् श्री ५ महाराजाधिराजको दर्शनभेट पनि गरेका रहेछन् । र ठोरीमा सिकार खेल्न गएर बाघ पनि मारेका रहेछन् । आतिथ्य पनि भव्य दिइएको रहेछ रु. १ लाख खर्च गरेर । नाम भने डुकूलन्ठन (बेकम्मा र बेइलमी) सम्मानचाहिँ भी. भी.आई.पी. को ? पत्तै लगाउन नसकेर साराको दिमाग सडक्यो । सारा विमूढ भए ।

परराष्ट्रमन्त्रालयमा गएर सोधें– “को हुन् यी जेठी मैयाँ र यी शरणहरि टण्डन डुकूलन्ठन ?” अहँ, कसैलाई थाहा छैन । परराष्ट्रका मानिस पनि त्यत्तिकै ‘पजल्ड’ भए । एक जनाले सल्लाह दिए ।

तपाईंहरू नारायणप्रसाद (चित्तरञ्जन नेपाली) का पिताज्यूकहाँ जानोस् । उहाँ लामो समयसम्म मुन्सीखाना (परराष्ट्र विभागको पुरानो नाम) मा बसेर अवकाश प्राप्त व्यक्ति हुनुहुन्छ; ज्यादै अनुभवी र सिपालु ।

उनीहरू त्यहीँ गए र समस्याको निराकरण गरिदिन बिन्तीभाउ गरे । कुरा सुनेर उनको ओठमा मधुर मुस्कान फैलियो । भने– “यो सब चारपासे कारिन्दाहरूको बुद्धिको फेर हो । कुरो जटिल नभएर साधारण नै छ । जेठी मैयाँ भनिएका भारतका तत्कालीन स्थल सेनाध्यक्ष ज. थिमैया हुन् र शरणहरि टण्डन डुकूलन्ठनचाहिँ सर हेनरी विलिङटन ड्यूक अफ लन्डन हुन् ।” यो सुनेर सबैको टाउकोबाट त्यो भारी बोझ हट्यो । सबै दङ्ग परे ।

०००
(२०४३ असोज)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
माथि पर्ने तरिका

माथि पर्ने तरिका

केशवराज पिँडाली
गोदीप्रसाद वदेहाम

गोदीप्रसाद वदेहाम

केशवराज पिँडाली
अब कुरा काट्ने कि त ?

अब कुरा काट्ने कि...

केशवराज पिँडाली
यमपुरीको यात्रा

यमपुरीको यात्रा

केशवराज पिँडाली
शूरवीरहरूको नरकयात्रा

शूरवीरहरूको नरकयात्रा

केशवराज पिँडाली
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
जेल

जेल

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x