नगिता लेप्चा राईदिक्कलाग्दो छिमेकी
डल्ले दलिएको लिपस्टिक मैले नै अफिस जाने हतारमा दली पठाएँ भने ? मेरो सर्वनाश हुँदैन ? आई ब्रोमा पनि त्यस्तै होला... मैले नै आँखामा दल्दा डल्लेले भेटे आइब्रोको रिएक्सन कस्तो होला ?

नगिता लेप्चा राई :
मेरे छिमेकी खाउँ भने दिनभरिको शिकार, नखाउँ भने कान्छाबाको अनुहार भने झैं नै भएको छ। छिमेकी भनेको देवतै बराबर हो। दुःख-सुखमा, केही सारो गारो पर्दा रातविरातमा पनि साथ दिने सहयोग गर्ने नै छिमेकी हुन्छन्। यसैकारण छिमेकीसित राम्रो भद्र व्यवहार गरिन्छ। शुरु शुरुमा छिमेकीसित हाम्रो परिवारको सम्पर्क सारै निको थियो। घरमा केही पाक्यो कि एक बटुको नपुऱ्याइ के के नै बिरायो जस्तो लाग्ने । छिमेकीले पनि उनको घरमा मिठो मसिनो जे पाक्छ बटुकामा हालेर ल्याइदिने। कति राम्रो कति मिठो आदान प्रदान।
माथि बस्तीबाट कसैले सब्जी ल्याइदियो कि आधा जति नै छिमेकीलाई नदिइ मेरा श्रीमान सञ्चोले नबस्ने। उनको घरमा पनि कसैले केही ल्याइदियो भने त्यो यता आइहाल्ने। पछि पछि मेरो छिमेकीको बानी बिग्रिँदै गएको थाह पाउन थालेँ।
म सरकारी दफ्तरमा काम गर्ने सरकारी मान्छे। तलब पायो कि महिनाभरिलाई पुग्ने सर सामान ल्याएर थुपार्ने मेरो बानी। ठूलो मिलिटेरी बक्साभरि डम्म चामल। चौदह लिटरे टिनमा खानेतेल, पाँच लिटरे भुल्डुङमा रिफाइन तेल, घिउ, पापड़ महिनाभरिलाई। विशेष बिग्रिने र कुहुने सामान बाहेक अन्य सामानहरू जस्तै लसुन, अदुवा, बेसार, नून आदि महिनाभरिलाई। तीन तीनवटा ग्यास सिलिण्डर। फ्रिजमा महिनाभरिलाई नबिग्रिने आइटमहरूको थुप्रा।
छिमेकीका पति भने बेसरकारी कर्मचारी। उनको कुनै काम निश्चित थिएन। लुटी ल्यायो भुटी खायो को संसार उनीहरूको। पछि पछि छिमेकीको आदत बिग्रेको थाहा पाउन थालियो। छिमेकीकी छोरी आएर भन्थी, आण्टी आमाले भन्नुभएकी….दुइ तीन केस्रा लसुन र सानो अदुवाको टुक्रा दिनुहोस् अरे नरिसाइकन। शुरु शुरुमा त जे मागे पनि दिइन्थ्यो। तर कुनै दिन यस्तो भएन जुन दिन नरिसाइकन दिनुहोस् अरे शब्दले हामी जम्मै परिवारको कान पाकिसकेको थियो। पछि पछि सधैँ दिन नबिराई आमाले भन्नुभएको नरिसाइकन दस बाह्रवाट सुक्खा खोरसानी, एक डबका चिनी, प्याज आदि के के हो के नि। यसैले छिमेकीकी नवौं श्रेणी पढ़्ने नानीको डेग हाम्रो घरतिर बढ़ेको देख्यो कि मेरो छोरो भन्थे, नरिसाइकन आइपुग्यो है। भनँत भने, उनको नाम हामी जम्मै परिवारले नरिसाइकन राखिदिएका थियौं।
कुरा के हो भने, म सरकारी मान्छे। सखारै अफिस जानुपर्ने। श्रीमान हजूर पनि सखारै अफिसमा मसितै। छोरो सखारै स्कूल जाने। तर छिट्टो स्कूलबाट फर्किने हुनाले हामीले घरके साँचो छिमेकीलाई नै जिम्मावारी लाएर जाने गर्थ्यौं। पछि बुझ्दै जाँदा दिनभरि हामी तीनै परिवार घरमा नहुने। साँझ पख मात्र हामी दुइ लोग्ने स्वास्नीको घर पसाइ हुन्थ्यो। छोरो दिनभरि स्कूलमा।
महिनावारी चामल महिना नमिरै नै सिद्धिन थालेको देखेर हामी छक्क पऱ्थ्यौं। तेलको टिन हेर्नु उस्तै। दाल पनि आधा नै। महिनावारी पुग्ने ग्यास महिना मर्नु सात आठ दिन अगावै सकिने। दुइ तीन महिना यस्तै भयो। हाम्रो बजेटले फेल खान थालेके थियो।
एकदिन छोरोको फर्स्ट पिरियडमै छुट्टी भएछ। त्यो दिन छोरो छिट्टै घरमा पसेको बेला छिमेकी आण्टीले हाम्रै चूल्हामा पो उनको खाना पकाउँदै गरेकी देखेछ। चामलदेखि दाल, दालदेखि तेल, नून , बेसार, खोरसानी प्याज अथवा यसो भनुँ उनीहरूको पाँच परिवारलाई पकाउने खाना हाम्रै घरमा पो पकाउँदारहिछन्। हाम्रै चूल्हामा खानेकुरो पकाएकी देखेर छोरोले भनेछ पनि, अप्पुइ….आण्टी के गर्नुभएकी?
छोरोको यो प्रश्न भन्दा पनि छोरो घरभित्र पस्ने बित्तिकै छिमेकी आण्टी अत्तालेर के गरुँ कसो गरुँ भइन अरे ! छोरोको मुख छिटो, भनेछ, हाम्रो चूल्हामा हाम्रै सामान लिएर पकाउनुभएकी आण्टी (?)…
छिमेकी आण्टीको अनुहार लाजले हो वा केले हो कोनि,…रातो न पिरो भइसकेको थियो अरे। अत्तालिँदै आण्टीले भनिछन्, होइन हौ…तिम्रा आमा र आपा ढिलो आउँछन् भनेर पकाइदिएकी नि। विचाराहरू साँझपख थाकेर आउँछन्।
छोरोको जवाफ, होइन जस्तै थाकेर आए पनि आमाले बेलुकी खाना आफै पकाउँछिन्। छिमेकी आण्टीले छोरोको गाली निंमोठ्दै भनिन् रे….होस् न त उनीहरूले खाएनन् भने मै लान्छु नि।
यति भनेर हाम्रो चूल्हामा पकाएकी सबै खानेकुरा तुइँतुइँ बोकेर आफ्नो घरतिर लिएर गइन् अरे।
हामी साँझ घरमा खुट्टा मात्र के टेकेका थियौं, छोरोले सुनायो राम कहानी। श्रीमान जङ्गिए। तर मैले थम्थमाएँ। जङ्गिएर वा झगड़ा परेर पनि के गर्नु। दिउँसो साँचो उनै छिमेकीलाई जिम्मा नलाई हुन्न। यस्ता खपिनसक्नुको छिमेकीबाट जोगिनु सारो। अझ मैले खास कुरा त भनेकै छैन। मेरो मेक अप सामग्री किन छिटो सकिन्छ भनेको त उही खपिनसक्नुको छिमेकीकै करामती हो भन्ने अहिले भने स्पष्टै बुझ्न थालेकी छु। श्रीमान भन्छन्, लिपस्टिकको टुप्पोमा कुन दिन डल्ले खोरसानी दलेर राखिदिन्छु। ठैट त्यस्तो कहाँ हुन्छ र ? डल्ले दलिएको लिपस्टिक मैले नै अफिस जाने हतारमा दली पठाएँ भने ? मेरो सर्वनाश हुँदैन ? आई ब्रोमा पनि त्यस्तै होला… मैले नै आँखामा दल्दा डल्लेले भेटे आइब्रोको रिएक्सन कस्तो होला ?
भन्नु उसो होइन. मेरो छिमेकी हामीलाई खपिनसक्नु भएको छ। तर गर्ने के ? उपाय नै के छ र ? अहिले मेरो दिक्कलाग्दो छिमेकी मलाई भालुको कन्पट नै भएको छ।
000
खोलाचन्द फाप्री, जलपाईगड़ी (भारत)
Subscribe
Login
0 Comments
Oldest






































